बाल नेत्ररोग विशेषज्ञ डा. सञ्जय- ‘उपचारपछि दृष्टविहीन बालबालिकाले आफूतिर हेरेर बाइबाइ गर्दा कम्ता आनन्द आउँदैन’

बाल नेत्ररोग विशेषज्ञ डा. सञ्जय- ‘उपचारपछि दृष्टविहीन बालबालिकाले आफूतिर हेरेर बाइबाइ गर्दा कम्ता आनन्द आउँदैन’

डा. सञ्जय कुमार सिंह बाल नेत्ररोग विशेषज्ञ हुन्।

नेत्ररोग (अपथाल्मोलोजी) विषयमा ‘एमडी/एमएस’ गरेयता उनले ७५ हजारभन्दा बढी व्यक्तिको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइसकेका छन्।

तीमध्ये करिब सात हजार बालबालिका हुन्, जसको मोतिविन्दु, जलविन्दु र डेरोपनाजस्ता जटिल समस्याको शल्यक्रिया गरेर उनी नयाँ दृष्टि दिन सफल भएका छन्।

उनै डा. सञ्जयले चिकित्सकीय पेसाका क्रममा भोगेका र अनुभव गरेका केही रोचक प्रसङ्गहरू उकेरासँग साटेका छन्:

चार महिनाका बालकको ज्योति फर्काएपछिको त्यो क्षण...
डा. सञ्जयले ३-४ महिनाका दृष्टिविहीन शिशुहरूको समेत शल्यक्रिया गरी आँखाको ज्योति फर्काएका छन्। जन्मजात आँखा नदेख्ने ती शिशुहरू शल्यक्रियापछि आँखा देख्ने हुन्छन्।

जब उनीहरू फलोअपका लागि अस्पताल आउँछन् अनि उमेरसँगै टुकुटुकु हिँड्ने र ‘टाटा... बायबाय’ गर्दै हात हल्लाउँछन्, त्यतिबेला डा.सञ्जयलाई कम्ता खुसी लाग्दैन। उनी कहिलेकाहिँ यस्तै कुरा सम्झेर भावुक पनि बन्छन्।

डा. सञ्जयले जन्मजात नै दुवै आँखा नदेखेका एक बालकको ज्योति फर्काएको प्रसङ्ग सम्झिए। प्रसङ्ग केही महिनाअघिको हो।

करिब दुई महिनाको बालकलाई लिएर करिब २२ वर्षकी आमा लहान आँखा अस्पताल पुगेकी थिइन्। जन्मिएको दुई महिनापछि बालकको आँखामा सेतो टाटा देखिएपछि उनी जाँच गराउन आएकी रहिछन्। डा. सञ्जयले परीक्षणका क्रममा मोतिविन्दुका कारण बालकले जन्मजात नै आँखा नदेखेको पत्ता लगाए।

कारण खोज्दै जाँदा ती बालककी दिदीमा पनि जन्मजात मोतिविन्दुकै समस्या रहेको र शल्यक्रियाबाटै ज्योति फर्काइएको खुल्यो। यसबाट ती बालकमा पनि वंशाणुगत कारणले नै जन्मजात मोतिविन्दु भएको पुष्टि भयो।

बालकको दृष्टि फर्काउन दुवै आँखाको शल्यक्रिया गर्नुपर्ने भयो। आवश्यक सबै तयारीपछि डा. सञ्जयको टिमले बालकको दुवै आँखाको सफल शल्यक्रिया गर्यो। यसरी ती बालकले चार महिनाको उमेरमा पहिलोपटक बाहिरी संसार देखे।

बालकलाई एक वर्षपछि फलोअपमा बोलाइएको थियो। जब आमाले चस्मा लगाएका ती बालकलाई लिएर पुनः अस्पताल आइन्, बालक डेढ वर्षका भइसकेका थिए र टुकुटुकु हिँड्न सक्थे। डा. सञ्जयले आवश्यक जाँच र औषधि उपचार गरेपछि उनीहरू फर्कन लागे। फर्कने क्रममा ती बालकले डा. सञ्जयतिर हेरेर मुस्कुराउँदै ‘टाटा... बायबाय’ गर्दै हात हल्लाए।

जन्मजात बाहिरी संसार नदेखेका ती अबोध बालकले संसार देखेर हात हल्लाएको त्यो क्षण सम्झँदा डा. सञ्जयलाई अहिले पनि उत्तिकै आनन्द र सन्तुष्टि मिल्छ। यो त एउटा प्रसङ्ग मात्रै हो, उनले यस्ता समस्या भएका सयौँ बालबालिकाको जीवनमा उज्यालो भरिसकेका छन्।

वयस्क व्यक्तिको तुलनामा साना बालबालिकाको आँखाको समस्या पहिल्याएर शल्यक्रिया तथा उपचार गर्नु निकै चुनौतीपूर्ण हुने डा. सञ्जय बताउँछन्।

साना बालबालिकाले आफूलाई भएको असजिलो भन्न नसक्ने र उनीहरूको शारीरिक अङ्गहरू निकै संवेदनशील हुने भएकाले उपचार सहज हुँदैन। शल्यक्रियाका क्रममा थोरै मात्र त्रुटि भए पनि बालबालिकाको दृष्टि सधैँका लागि गुम्ने जोखिम हुने भएकाले निकै संवेदनशील र चनाखो हुनुपर्ने उनको अनुभव छ।

जब भारतीय शिक्षिका खुट्टै ढोग्न अघि सरिन्...
भारतको बिहारबाट आएकी एक शिक्षिकाको आँखा उपचार गर्दाको प्रसङ्ग पनि डा. सञ्जय कहिल्यै भुल्दैनन्।

केही वर्षअघि करिब ३० वर्षकी ती शिक्षिका आँखाको उपचारका लागि लहान आँखा अस्पताल पुगेकी थिइन्। डा. सञ्जयको टिमले जाँच गर्दा उनमा डेरोपनको समस्या देखियो। उनको आँखा भित्र पसेको थियो र एकातिर हेर्दा अर्कातर्फ देखिन्थ्यो।

चिकित्सकीय भाषामा यसलाई ‘स्क्विन्ट आइ’ भनिन्छ। आँखाको डेरोपनका कारण उनलाई कक्षाकोठामा विद्यार्थीहरूलाई पढाउनसमेत निकै कठिन भइरहेको थियो।

जाँचका क्रममा ती महिलाले डा. सञ्जयसँग याचना गर्दै भनिन्, ‘डाक्टरसाब! यो आँखा ठीक भएन भने त मलाई स्कुलको जागिरबाटै निकालिदिन्छन्।’

तर, शल्यक्रिया गरेर उनको आँखा ठीक ठाउँमा ल्याउन सकिने अवस्था थियो। डा. सञ्जयले उपचार सम्भव रहेको ढाडस दिए। आवश्यक तयारीपछि चिकित्सकको टिमले सुरुमा एउटा आँखाको शल्यक्रिया गर्यो।

शल्यक्रियापछि एउटा आँखा सही अवस्थामा आयो। त्यसको तीन महिनापछि डा. सञ्जयले अर्को आँखाको पनि शल्यक्रिया गरिदिए। दुवै आँखाको शल्यक्रियापछि उनको डेरोपन पूर्ण रूपमा ठीक भयो र उनले सामान्य रूपमा देख्न थालिन्।

आफ्नो समस्या ठीक भएपछि ती शिक्षिका डा. सञ्जयप्रति यति धेरै कृतज्ञ भइन् कि उनले भावुक हुँदै डाक्टरको खुट्टै ढोग्न खोजिन्। भारतका धेरै ठाउँ भौँतारिएर निराश बनेकी ती शिक्षिकालाई नयाँ जीवन दिन पाएको त्यो क्षण डा. सञ्जयको मानसपटलमा अझै ताजा छ।

आँखाको ज्योति फर्काउने पेसागत रोजाइ
सिरहाको साविक लालपुर गाविस वडा नम्बर-८ मा २०३४ सालमा जन्मिएका सञ्जय कुमार सिंह सानैदेखि अध्ययनमा लगनशील र अब्बल थिए। विद्यालय तहमा सधैँ प्रथम हुने सञ्जयले स्थानीय गोलबजारस्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे।

एसएलसीपछि उनी काठमाडौं आएर दाइसँग बसी त्रिचन्द्र क्याम्पसबाट आईएससी गरे। दाइको इच्छा र आफ्नै पनि रुचि भएकाले उनी डाक्टरी पढ्ने तयारीमा लागे। प्रवेश परीक्षामा उनी छात्रवृत्ति कोटामै छनोट भए। छोरो डाक्टर पढ्न पाउने भएपछि खेतमा काम गरिरहेकी उनकी आमा खुसीले भावुक बनेर रोएकी थिइन् रे!

छनोटपछि उनी त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०५४ सालमा भर्ना भए र २०६० मा एमबीबीएस पूरा गरे।

एमबीबीएस सिध्याएपछि उनलाई काठमाडौंमा बस्नै मन लागेन। उनी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर करार मेडिकल अधिकृतका रूपमा बाल आईसीयूमा करिब दुई वर्ष काम गरे।

त्यसपछि उनले स्नातकोत्तर तह अध्ययन गर्ने निर्णय गरे। स्नातकोत्तरका लागि उनको रोजाइको विषय बन्यो- नेत्ररोग (अपथाल्मोलोजी)।

छनोट परीक्षा उत्तीर्ण गरी उनी सन् २००५ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै भर्ना भए र सन् २००८ मा एमडी/एमएस पूरा गरे। अध्ययन सकिएपछि उनले सोही प्रतिष्ठानमा सन् २०११ सम्म सिनियर रेजिडेन्टका रूपमा काम गरे।

प्राथमिकतामा बाल आँखारोग
धरानपछि डा. सञ्जय वीरगञ्जको ‘आरएम केडिया आँखा अस्पताल’ मा कार्यरत रहे। त्यहाँ काम गरिरहँदा अस्पतालले नै सन् २०१२ मा उनलाई ‘बाल आँखारोग’ विषयमा एकवर्षे फेलोसिपका लागि भैरहवास्थित ‘लुम्बिनी आई इन्स्टिच्युट’ पठायो।

फेलोसिप सकेर उनी पुनः आरएम केडियामै फर्किए। त्यहाँ फर्किएको एक वर्षपछि अस्पतालले उनलाई ‘मेडिकल डाइरेक्टर’ को जिम्मेवारी सुम्पियो।

बालबालिकाको मोतिविन्दु, जलविन्दु र डेरोपनजस्ता समस्याको शल्यक्रिया तथा उपचार गरी ज्योति फर्काउनु नै डा. सञ्जयको मुख्य दैनिकी बन्यो।

सन् २०१६ सम्म वीरगञ्जमा काम गरेपछि उनी आफ्नै घरपायक पर्ने सगरमाथा आँखा अस्पताल (लहान आँखा अस्पताल) पुगे। वरिष्ठ बाल नेत्ररोग विशेषज्ञका रूपमा कार्यरत उनी हाल लहान आँखा अस्पतालको ‘अस्पताल प्रमुख’को भूमिकामा छन्।

डा. सञ्जयको दैनिकी अहिले अस्पतालको समग्र व्यवस्थापकीय नेतृत्व सम्हाल्नु र बालबालिकाको आँखाको शल्यक्रिया तथा उपचार गरी ज्योति फर्काउनु हो। उनको भूमिका यतिमा मात्र सीमित छैन।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत नेत्ररोग विषयमा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरू लहान आँखा अस्पतालमै पढ्ने भएकाले उनी प्रतिष्ठानको ‘एसोसिएट प्रोफेसर’ पनि हुन्।

नेत्ररोग विषयका विद्यार्थीलाई ज्ञान तथा सिप सिकाउनु, अनुसन्धानमा मार्गदर्शन गर्नु र लहानमा सञ्चालित बाल नेत्ररोग विषयको फेलोसिप कार्यक्रम हाँक्नु डा. सञ्जयको दैनिकी हो।

साउन २३, २०८३ शनिबार १०:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।