सरकारविरुद्ध सडक प्रदर्शनमा नउत्रिन जेनजीलाई गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौं : सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै जेनजी युवाहरू सडक प्रदर्शनमा उत्रिन थालेपछि गृहमन्त्री सुधन गुरुङले उनीहरू लक्षित धम्कीको भाषा प्रयोग गरे।
काठमाडौंको बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा उनले जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिन चेतावनी दिए। अहिले सडकमा उभिएका जेनजीहरुको आन्दोलनमा योगदान नभएको आरोप लगाउँदै उनले त्यस्ता व्यक्तिहरू सडकमा उभिन नमिल्ने बताए।
"हाम्रो घाउमा तीन-चार जना राजनीति गर्न खोज्ने जेनजीहरु छन्," उनले भने, "जो आन्दोलनमै नआएको मान्छेहरू छ, उहाँहरू रोडमा उभिने होइन।" यद्यपि उनले आफूहरूले जेनजीको चाहना अनुरूप काम गर्न नसकेको स्वीकारे।
कानुनमा टेकेर काम गर्दा जेनजीका माग सम्बोधन गर्न समय लागिरहेको उनको भनाइ थियो। यदि नीति नियममा टेकेर काम नगर्दा आफूहरूलाई गाह्रो हुने भन्दै गुरुङले भने, "रुल अफ ल त फलो गर्नै पर्यो। त्यसलाई टेकेर हामीले केही काम गर्दाखेरि चाहिँ अलि ढिलासुस्ती चाहिँ हुने रहेछ।"
ढिलासुस्ती भए पनि सरकार डेलिभरी दिन लागि परेको उल्लेख गर्दै उनले विश्वास गर्न आग्रह गरे। गुरुङले सही नियत भएको व्यक्तिहरू मात्र वास्तविक जेनजी हुने बताए। ठाडो शिर लाएर न्यायको पक्षमा उभिन सक्ने मान्छे मात्र जेनजी हुने उनको भनाइ थियो।
गुरुङले भने, "जेनजीको उमेर समूहमा पर्यो भन्दैमा हुने होइन। उसको नियत के छ ? देशप्रतिको उसको माया के छ ? उसको योगदान के छ ? र उ आन्दोलनमा आएको थियो कि थिएन, त्यो पहिचान गर्नुपर्छ।"
साउन २१, २०८३ बिहीबार १८:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।