निर्मलालाई न्याय दिन्छु भन्थे, तर प्रश्नैले इरेटेट हुन थाले !

काठमाडौं : किशोरी निर्मला पन्तको मृत्यु भएको नौ वर्ष भइसक्यो। घटनापछिका हरेक नयाँ गृहमन्त्रीले पून अनुसन्धान गरेर दोषी पत्ता लगाउने दाबी गरिरहन्छन्। तर अहिलेसम्म अनुसन्धान टुङ्गोमा पुगेको छैन। 

सुधन गुरुङ गृहमन्त्री भएपछि पनि उनले निर्मलाको घटनामा संलग्नलाई पत्ता लगाएरै छाड्ने दाबी गरेका थिए। तर जब उनले गरेको दाबीबारे संसदमा प्रश्न उठ्यो, उनले भन्न थाले “अब यस्तो प्रश्न नसोध्नु। मलाई एसएमएस गर्नु”

संसद्मा प्रश्न गर्ने सांसदलाई हप्काउने शैलीमा गृहमन्त्री गुरुङले उल्टै प्रश्न गरे  ‘तपाईँहरू सत्तामा हुँदा के गर्नुभएको थियो? अब यो प्रश्न संसद्मा नसोध्नुस्।

OOO

बिहीबार राष्ट्रिय सभामा मनसूनजन्य विपद्को तयारीबारे सांसदहरूले प्रश्न सोध्ने अनि गृहमन्त्री सुधन गुरुङले उत्तर दिने कार्यसूची थियो। त्यही अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री गुरुङलाई रोस्टममा बोलाए।

मन्त्री रोस्टममा पुगेपछि फ्लोरमा रहेका सांसद विष्णुबहादुर विश्वकर्माले प्रश्न गरे “किशोरी निर्मला पन्तको जघन्य बलात्कार र हत्या प्रकरणमा दोषी पत्ता लगाउने अनुसन्धान कहाँ पुग्यो? सरकारले न्याय दिन नसकेको हो कि नचाहेको हो।”सुधन गृहमन्त्री भएपछि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। पुनरावलोकन पनि शुरु भएको थियो। तर त्यो अहिले विचैमा अड्किएको छ। गत असार ४ को प्रतिनिधि सभा बैठकमा उनले गुपचुप अनुसन्धान भइरहेको दाबी गरेका थिए।

राष्ट्रिय सभामा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले यसबारे के के भइरहेको छ सदनमा जानकारी दिनु पर्ने थियो। तर बिहीबार उनी निर्मला र अनुसन्धान शब्द सुने लगत्तै रिसाए, अनि उल्टो प्रश्नकर्ता सांसदलाई प्रश्न गरे। 

“हजुरहरू सत्तामा हुँदा के गर्नु भएको थियो।  अहिले आएर हामीलाई भारी बोकाउँदाखेरी...म माननीयज्यूलाई नै प्रश्न गर्न चाहन्छु।” “घाउ कोट्याएको कोट्याइ गर्दा तपाइको मनमा शान्ती हुन्छ होला त? राष्ट्रिय रूपमै उठाइरहनु उचित होला?”

उनले रोस्टमबाटै “यस विषयमा धेरै बोल्न चाहन्न र सक्दिन” भन्दै यो अनुसन्धानको विषय भएको र सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको दाबी भने गरे।

उनी यतिमै रोकिएनन् पनि। रोस्टमबाटै “अब यो प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि नउठाउन” भने। उनले यस्तो कुनै प्रश्न छ भने संसदमा सार्वजनिक रूपमा नउठाई व्यक्तिगत रूपमा सोध्न वा एसएमएस गर्न भने।

गुरुङले भने  “बारम्बार निर्मलाको आमालाई छोरीको सम्झना कोट्याइरहन मेरो नैतिकताले दिँदैन। एसएमएसबाट सोधेमा यसको विस्तृत जानकारी दिन सक्छु।”

त्यसपछि सांसद विश्वकर्मा पुन पूरक प्रश्न सोध्न उभिए। अध्यक्ष दाहालले पूरक प्रश्न सोध्न अनुमति दिएपछि उनले आफ्नो प्रश्न सोध्न पाउने विधायिकी अधिकार हनन भएको भन्दै अध्यक्षको ध्यानाकर्षण गराए।

विश्वकर्माले भने- ‘मैले प्रश्न गर्न पाउनु पर्छ। मन्त्रीले उत्तर दिनु पर्छ। अनुसन्धान सुरु भएको चार महिनामा के भयो, हाम्री चेलीले कहिले न्याय पाउँछिन्?’ तर सांसद विश्वकर्माले प्रश्न नसक्काउँदै गृहमन्त्री गुरुङले बिचैमा भने- “ म उत्तर दिन चाहँदिन।”

उत्तर दिन रोस्टममा उभिएका मन्त्रीले ठाडै उत्तर दिन्न भनेपछि राष्ट्रिय सभा अध्यक्ष दाहाल केहीबेर अकमक्क परे। प्रश्नोत्तर लिखित थियो। गृहमन्त्री गुरुङसँग अर्को सांसदको प्रश्नको उत्तर पहिल्यै थियो। तर सदनको कार्यशैलीमा पहिला अध्यक्षले प्रश्न सोध्न समय दिने, सांसदले प्रश्न सोध्ने र मन्त्रीले उत्तर दिने हो। अर्को सांसदको प्रश्न नआउँदै गृहमन्त्रीले उत्तर दिन थालेपछि अध्यक्ष दाहालले रोक्दै ‘प्रश्न आएकै छैन’ भनेर अर्को सांसदलाई प्रश्न सोध्न लगाए।

गृहमन्त्री पदको जिम्मेवारी आफू मन्त्री भएपछिका घटेका अवस्थाबारे मात्र जानकारी दिने हैन। व्यक्ति बदलिन सक्छ। तर जिम्मेवारी त ३५ वर्षकै सरेर आउँछ। हिजोका घटनाको उत्तर दिने, अनुसन्धान गराउने लगायतका जिम्मेवारी वर्तमान गृहमन्त्रीकै हुन्छ। मेरो पालामा भएको हो र भन्न पाइन्न। तर राष्ट्रिय सभामा गृहमन्त्री गुरुङले अशोभनीय रूपमा जवाफ दिए।

प्रश्नहरू सकिएपछि मन्त्री गुरुङ राष्ट्रिय सभाको फ्लोरमा मन्त्रीका लागि छुट्याएको कुर्सीमा गएर बसे। जवाफ दिन महिला बालबालिका मन्त्री सिता बादी गइन्। केही समयपछि आफूले रोस्टममा गल्ती गरेको महसुस भएछ गृहमन्त्री गुरुङलाई। अनि पुन रोस्टममा गएर आफ्नो शैली ठाडो भएको भन्दै माफी मागे।

OOO

राजनीतिक र क्षेत्रीय स्वार्थले गिजोलिएको यो गम्भिर अपराध कञ्चनपुरको भीमदत्त नगरपालिका-२ को हो।  उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त २०७५ साउन १० मा साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्केकी थिइन्। तर उनी घर फर्किनन्।

भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा उनको शव फेला पर्यो। शव फेला परेपछि अनुसन्धान सुरु भयो। यसमा हाइप्रोफाइदेखि स्थानीयसम्मका नाम जोडियो। अब्बाको रुखसमेत घटनालाई शंकास्पद बनाउन जोडियो। उनी जुन घरमा पढ्न गएकी थिइन् त्यहाँका दिदी-बहिनी नै तानिए। 

केही पक्राउ परे। विरोध प्रदर्शन भयो। प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्दा केही प्रहरी निलम्बित समेत भए। कंचनपुरको प्रमुख प्रमुख नै अनुसन्धानमा तानिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान गर्न गएको टोली सहित केही विरुद्ध मुद्दा पनि चल्यो। मुद्दा चलेका ती प्रहरीहरूले अहिले सफाइ पाइसकेका छन्।

तर ९ वर्षमा पनि ती किशोरीको बलात्कार र हत्या कसले गरेको हो भन्ने खुल्न सकेको छैन। अनुसन्धानका लागि प्रहरीले दर्जन समिति गठन गरिसक्यो। पक्राउ परेका र छुटेकाहरुको सूची निकै लामो छ।  तर आरोपी फेला परेका छैनन्। 

नयाँ गृहमन्त्री र निर्मला घटना प्राय जोडिने गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा पनि अनुसन्धान गर्ने घोषणा गरेका थिए। उनले ब्रिफिङ लिएकै थिए। रामबहादुर थापा हुन् या रमेश लेखक, दुवैले अनुसन्धान गर्छु भने, तर नतिजा आएन।

सुधन गृहमन्त्री भए लगत्तै उनले पनि निर्मल घटनाको पुन अनुसन्धान गर्ने दाबी गरेकै थिए। उनले प्रतिनिधि सभामा असार ४ गते गुपचुप रूपमा अनुसन्धान भइरहेको दाबी गरेका पनि थिए। बिहीबार त्यसैको अपडेट मागिएको थियो। तर उनी इरिटेट पो भए।

अब दिनभरका थप खबरहरू

१ : लुम्बिनी बौद्ध विश्वविद्यालयमा कामचलाउबीच लफडा

वैशाख १९ गतेदेखि स्थायी नेतृत्वविहीन रहेको लुम्बिनी बौद्ध (एलबी) विश्वविद्यालय यतिबेला गम्भीर प्रशासनिक संकट र शक्ति संघर्षको भुमरीमा फसेको छ। 

यही शृङ्खलामा रजिस्ट्रार डा. इन्द्र काफ्ले मध्यरातमा ५१ कर्मचारीको सरुवा गर्ने विवाद निर्णय गरेको सार्वजनिक भयो। त्यसलाई कामचलाउ उपकुलपति डा. माणिकरत्न शाक्यले रोकेपछि विवाद चर्किएको छ।

२ :  कांग्रेस कानुनी विवाद सर्वोच्चले सुरु देखि नै हेर्ने

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत गएकोमा आयोगको निर्णय सदर भएको थियो। सो फैसला विरुद्ध देउवा समूह पून पुनरावेदनको माग गर्दै सर्वोच्च गएको थियो।

३. मृग बचाउन खोज्दा ट्याङकर पल्टियो, आगो लागेर सबै जल्यो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी भयो। 

अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको ट्याङ्कर बाटोमा अचानक आएको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

आगलागीबाट पेट्रोल ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन्।

४ : भारतीय प्रधानसेनापति नेपाल आउँदै

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगस्ट १६ मा नेपाल आउने खुलेको छ। धिरजले सन् २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिमा नियुक्त भएका थिए।

भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशको पनि मानार्थ प्रधानसेनापति हुने प्रचलन रहेकाले नियुक्तिपछि दुवै देशको भ्रमण गर्ने प्रचलन रहेको छ।

साउन २१, २०८३ बिहीबार २१:५१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।