रमेश बुढाथोकीको हिजोका कुरा : नाटकमा लागेपछि १२ वर्ष बुबासँग बोलचालै भएन, छुरी छल्न नजान्दा अस्पताल पुगेँ

रमेश बुढाथोकीको हिजोका कुरा : नाटकमा लागेपछि १२ वर्ष बुबासँग बोलचालै भएन, छुरी छल्न नजान्दा अस्पताल पुगेँ

वरिष्ठ अभिनेता तथा निर्देशक हुन्- रमेश बुढाथोकी। उमेरले ६ दशक पार गरिसके तापनि वि.सं. २०३५ देखि सुरु भएको उनको अभिनय यात्रा आज पनि उत्तिकै निरन्तर र सक्रिय छ।

उनले नेपाल टेलिभिजन स्थापनाकै समयमा जानी-नजानी टेलिश्रृंखला ‘बाचा बिर्सेको छैन’ निर्माण गरेका थिए, जसलाई नेपालकै पहिलो टेलिश्रृंखला मानिन्छ।

पहिलो श्रृङ्खलाबाटै अभिनय, निर्देशन र लेखनमा सक्रिय बनेका बुढाथोकीको हातमा ६५ वर्षको उमेरमा पनि फिल्मको कमी छैन। उनी अभिनित मुख्य भूमिका रहेको फिल्म ‘कमला मिस’ प्रदर्शनमा छ भने ‘डल्लेले इन्ट्री मार्यो’ र ‘जिरो डिग्री’लगायत आधा दर्जन फिल्म प्रदर्शनको पर्खाइमा छन्।

२०३४ सालदेखि विराटनगरबाट रङ्गकर्म थालेका कलाकार रमेश बुढाथोकीले आफ्नो पाँच दशक लामो कलायात्रा, संघर्ष र जीवनका उतारचढावबारे व्यक्त गरेका अनुभवका सम्पादित अंश:

बाल्यकाल र प्रारम्भिक शिक्षा
मेरो जन्म वि.सं. २०१८ सालमा विराटनगरको झोडाहाट भन्ने गाउँमा भएको हो। बुबा सरकारी जागिरे हुनुहुन्थ्यो।

सुरुमा ग्राम विकास, त्यसपछि जिल्ला पञ्चायत, तत्कालीन अञ्चलाधीश कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो। बुबाको सरुवासँगै हाम्रो बाल्यकाल मोरङ, सुनसरी र तेह्रथुम लगायतका जिल्लाहरूमा बित्यो।

मेरो प्रारम्भिक शिक्षा सुनसरीको चक्रघट्टी नजिकै देविघाट भन्ने गाउँबाट सुरु भयो। त्यहाँ मैले २०२७ सालसम्म ३ कक्षासम्म पढेँ।

त्यसपछि बुबाको सरुवा विराटनगर भएपछि कञ्चनबारीको एक विद्यालयमा ५ कक्षासम्म पढेँ। पछि विराटनगरकै बरगाछीसँगै जोडिएको गोग्राहा माध्यमिक विद्यालयबाट २०३४ सालमा एसएलसी पास गरेँ। त्यसपछि महेन्द्र मोरङ क्याम्पसबाट आई.ए. पूरा गरेँ।

एसएलसी. दिएपछिको समयमा म नाटकमा जोडिइसकेको थिएँ। त्यतिबेला विराटनगरमा ‘दियालो परिवार’ नामक नाट्य समूह भर्खरै खुलेको थियो। जसमा मुकुन्द श्रेष्ठ र बद्री अधिकारी लगायतका मेरा अग्रज दाइहरू हुनुहुन्थ्यो।

सोही संस्थामा जोडिएर मैले ‘द्रोही’ नामक नाटकमा काम गरेँ। यो नाटक गरेपछि मलाई नाटकको रस बस्यो। त्यसपछि ‘यहाँ मरे बाँचिन्छ’ नाटकमा काम गरेँ।

विराटनगरमै माधव सापकोटा लगायतका सिनियर रङ्गकर्मीहरूको अर्को संस्था ‘हिमकला मन्दिर’ थियो। साथै ‘भानु मोरङ सांस्कृतिक समिति’ जस्ता जीवन्त संस्थाहरू थिए, जसले नाटक तथा सांस्कृतिक कार्यक्रमहरू गर्थे। हिमकला मन्दिरको ‘रक्तिम बलेसीका रातहरू’ नाटकमा अभिनय गरेपछि म स्वयं नाटक लेखनमा पनि लागेँ।

खाट ओछ्याएर, पर्दा घेरेर खुला आकाशमुनि नाटक
त्यो समयमा नाटक देखाउन व्यावसायिक हलहरू हुँदैनथे। ‘द्रोही’ वा ‘यहाँ मरे बाँचिन्छ’ जस्ता नाटक फिल्म हलमा देखाइएको थियो भने कतिपय नाटक विद्यालयका प्राङ्गणमा खाटहरू ओछ्याएर, चारैतिर पर्दाले घेरेर मञ्चन गरिन्थ्यो। दर्शकहरू खुला आकाशमुनि बसेर रातिको समयमा नाटक हेर्थे।

पछि सभागृह खुलेपछि हामीले त्यहाँ नाटक गर्न थाल्यौँ। त्यतिबेला अहिलेको जस्तो अत्याधुनिक लाइटहरू हुँदैनथे, फ्ल्याट खालका लाइट दिएर मञ्चन गरिन्थ्यो। अहिले ती कुरा सम्झिँदा प्रविधिमा आमूल परिवर्तन भएको छ। पछिल्लो समय मैले कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा ‘महाभारत’ र मण्डला नाटकघरमा ‘महाभोज’ नाटकमा अभिनय गरेँ।

पहिले नाटक गर्दा दृश्य परिवर्तन अनुसार पर्दा वा तन्ना आफैँ सार्ने र हटाउने गर्नुपर्थ्यो भने अहिले प्रविधि धेरै अगाडि बढेको छ। पहिले नाटक गर्न चन्दा उठाउनुपर्थ्यो, मानिसहरूलाई जबर्जस्ती टिकट भिडाउनुपर्थ्यो। तर अहिले दर्शकहरूको नाटकप्रतिको आकर्षण निकै बढेको छ।

स्टेज ढल्दा आँसु आयो, छुरी लाग्दा अस्पताल पुगेँ
मैले २०३४ सालमा ‘विधुवाको सिन्दुर’ भन्ने नाटकमा अभिनय गरेको थिएँ। निकै मेहनत गरेर नाटकको स्टेज बनाएका थियौँ, तर नाटक गर्दागर्दै त्यो स्टेज भत्कियो। त्यो बेला निकै नरमाइलो क्षण थियो, किनभने त्यो मेरो जीवन र करियरकै सुरुवातका दिनहरू थिए।

अहिले पनि म त्यो दिनलाई सम्झन्छु। त्यो समयमा कति दुःख र मेहनत गरेर राम्रो प्रभाव छाडौँ भन्ने हेतुले नाटक तयार पारेका हुन्थ्यौँ, तर त्यस्तो बेलामा स्टेज नै ढलेको देख्दा मेरो आँखामा आँसु नै आएको थियो। त्यस्तोसम्मको अवस्था सिर्जना भएको थियो।

पहिले नाटकका दृश्यमा डमी वा नक्कली हतियार प्रयोग गरिँदैनथ्यो, सक्कली जस्तै देखिने वा सक्कली नै प्रयोग हुन्थ्यो। वि.सं. २०३५/३६ तिर काठमाडौं आउनुअघि ‘दुइटा लास एक चिहान’ भन्ने नाटक गर्दा छुरी प्रहारको एउटा सिन थियो।

अर्को पात्रले हानेको छुरी मैले छल्न नजान्दा सिधै मेरो टाउकोमा लाग्यो र म घाइते भएँ। शो भइरहेकै अवस्थामा मलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।

बुबाको सपना र १२ वर्षसम्मको बोलचाल बन्द
मेरो बुबा सरकारी जागिरे भएकाले मलाई पनि आफूभन्दा माथिल्लो पदको सरकारी अधिकृत वा डाक्टर बनेको हेर्न चाहनुहुन्थ्यो। तर मलाई नाटक र कलाक्षेत्रको रस बसिसकेकाले मैले बुबाको सपना पूरा गर्न सकिनँ।

मेरो इच्छा अनुसार बुबाको चाहना पूरा नभएपछि हामीबीच मतभेद सुरु भयो। यो मतभेद यतिसम्म बढ्यो कि वि.सं. २०४० देखि ५२ सालसम्म (लगभग १२ वर्ष) बुबा र मेरो बोलचाल नै भएन।

जब २०५२ सालमा मैले निर्देशन गरेको पहिलो फिल्म ‘मोहनी’ निर्माण भयो र त्यो अत्यधिक सफल भयो, मेरा सिरियलहरू पनि चले, त्यसपछि बुबाले महसुस गर्नुभयो होला- नाम पनि कमाएको छ, काम पनि राम्रो गरेको छ भन्ने लागेपछि हामीबीच पुनः बोलचाल भयो।

बुबाले मलाई सबै कुरा बिर्सिएर अँगाल्नुभयो। चार दाजुभाइमा म जेठो छोरो भएकाले पछि म बुबाको एकदमै प्रिय बनेँ।

भीमफेदीको बाटो हुँदै काठमाडौं प्रवेश र सरकारको छात्रवृत्ति
म २०३७ सालमा काठमाडौं आएँ। त्यतिबेला तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (अहिलेको नेपाल भाषा साहित्य एकेडेमी) ले हरेक वर्ष पाँचवटै विकास क्षेत्रबाट कलाकार तथा प्रशिक्षार्थीहरू छानेर  छात्रवृत्तिसहित थिएटर पढाउँथ्यो। छानिएका नाट्यकर्मीहरूलाई काठमाडौं ल्याएर थिएटर पढाउने र छात्रवृत्तिबापत पैसा पनि दिने गर्थ्यो। म पूर्वाञ्चलबाट छानिएर आएको थिएँ।

विराटनगरबाट बिहान ४ बजे हिँडेर, त्यतिबेला मुग्लिङको बाटो बन्दै गरेकाले भीमफेदी-टिस्टुङ-पालुङ हुँदै सुन्धारा आइपुगिन्थ्यो। सुन्धारा ओर्लिएपछि न्युरोडको पिपल लजमा पहिलो रात २० रुपैयाँमा कटाएँ। भोलिपल्ट एकेडेमी गएपछि सुनिल पोखरेल र मुकुन्द श्रेष्ठ दाइसँग भेट भयो। केही दिन उहाँहरूसँग बसेपछि पुतलीसडकमा महिनाको ५० रुपैयाँ भाडामा एउटा कोठा लिएँ।

त्यही समयमा यहाँ थिएटर पढ्ने र नाटकमा पनि काम गर्ने अवसर पाएँ। त्यही बेला मैले त्रिचन्द्र कलेजमा भर्ना भएँ। त्रिचन्द्रमा राति क्लास हुन्थ्यो भने बिहान एकेडेमीमा थिएटर पढ्थेँ।

मैले नाटक पढेबापत सरकारले मलाई महिनाको ३०० रुपैयाँ दिन्थ्यो। त्यो पैसाबाट घरभाडा तिर्थेँ। त्यतिबेला महिनाको ८० रुपैयाँमा होटलले भात खुवाउँथ्यो। ५० रुपैयाँ कलेजको फिस तिर्थेँ र ८० रुपैयाँजति बचत पनि गर्थेँ। यो मेरो एक वर्षको कोर्स थियो र कोर्स नसकिउञ्जेल सरकारले पाल्यो।

अहिले त सरकारले त्यसरी दिन्छ जस्तो मलाई लाग्दैन। त्यो बेला राज्यले कलाकारहरूलाई माया गर्थ्यो। त्यो बेला प्रशिक्षण दिने गुरुहरूमा हरिहर शर्मा, विजय बहादुर मल्ल, प्रचण्ड मल्ल, बसन्त श्रेष्ठ, शकुन्तला शर्मा लगायतको टिम थियो, उहाँहरूले नै छानेर तालिम दिनुहुन्थ्यो।

त्यो बेला एकेडेमीहरू स्थापना भएका थिए, एकेडेमी बने, नाचघर बने। त्यसपछि कलाकारहरूले रोजगारी पनि पाउँथे। एकेडेमीमै कलाकारहरूलाई जागिर दिइन्थ्यो। ठूला-ठूला सिर्जनाका नाटकहरू मञ्चन हुन्थे। सबैको पहुँचको कुरा त थिएन, तर प्रतिभावान् कलाकारहरूले आफ्नो प्रतिभा देखाउन चाहे भने अवसरहरू थिए।

एकेडेमी बाहेक नाचघरमा पनि नियमित रूपमा नाटकहरू हुन्थे। त्यसपछि कला क्षेत्रमा काम गर्ने स्वतन्त्र संस्थाहरू जन्मिन थाले। त्यहाँबाट नाचघर र महेन्द्र पुलिस क्लबमा नाटकहरू हुन थाले। एउटा किसिमको चहलपहल थियो।

नीर शाहको त्यो प्रस्ताव र नेपालको पहिलो टेलिश्रृंखला
मैले टेलिभिजनको सिरियलमा प्रवेश गर्ने माध्यमका रूपमा थिएटरलाई नै लिन्छु। २०३७ सालमा काठमाडौं छिरेको म पाँच वर्षसम्म मैले आफ्नै किसिमका नाटकहरू गरिरहेको थिएँ। सोही क्रममा ‘गोदावरी अर्गनाइजेसन एसोसिएसन’ नाम संस्थाले एकांकी नाटक प्रतियोगिता आयोजना गर्थ्यो। ती प्रतियोगिताहरूमा म भाग लिइरहन्थेँ र पुरस्कार पनि जित्थेँ।

यही क्रममा एउटा एकांकी नाटक प्रतियोगितामा मैले भाग लिएको थिएँ। त्यसमा निर्णायकका रूपमा नीर शाह, चेतन कार्की लगायत हुनुहुन्थ्यो। उहाँहरूले मैले गरेको नाटक मन पराउनुभयो र मलाई उत्कृष्ट निर्देशक तथा उत्कृष्ट अभिनेताको पुरस्कार दिनुभयो। त्यसपछि नीर शाहले मलाई भन्नुभयो- ‘टेलिफिल्म बनाउन सकिन्छ?’

यो २०४२ सालको कुरा हो। आफूलाई त्यसबारेमा केही थाहा थिएन, तैपनि ममा जोस थियो। मैले ‘सक्छु’ भनिदिएँ। उहाँले त्यतिबेलै ‘एउटा प्रस्ताव ल्याउनुहोस्’ भन्नुभयो। मैले सोही अनुसार तयारी गरेर प्रस्ताव पेस गरेँ। टेलिफिल्मका बारेमा मलाई आइडिया केही पनि थिएन, जिरो थियो। सिनेमा हेरेको अनुभव मात्र थियो, अरू केही थिएन तर नाटक त गरिन्थ्यो नै!

सिरियल निर्माणका लागि म आरएनएसी स्थित इन्डियन लाइब्रेरीमा गएँ। त्यहाँ थिएटर र सिनेमासम्बन्धी किताबहरू पढ्न थालेँ। त्यहाँ भएका पुस्तकहरू पढेपछि ज्ञान त व्यापक के हुन्थ्यो र, तर थोरबहुत बुझियो, जसले ममा आत्मविश्वास बढायो।

त्यतिबेला क्यामेरा चलाएर निकै बुझिसक्नुभएका क्यामेराम्यान हुनुहुन्थ्यो- गौरीशङ्कर भुजु। अनि उहाँलाई क्यामेराम्यानका रूपमा अनुबन्ध गरेर नेपालको पहिलो टेलिश्रृंखला ‘बाचा बिर्सेको छैन’ निर्माण गर्यौं। यो नेपालको पहिलो टेलिश्रृंखला हो, टेलिफिल्म होइन श्रृङ्खला हो।

यसको पहिलो भाग खिच्न हामीलाई लगभग एक महिना लागेको थियो। जानेको भए पो छिट्टै सकाउनु! निर्देशन मेरो थियो, कथा-कन्सेप्ट पनि मेरै थियो, लेखन भने अरू नै हुनुहुन्थ्यो। यसमा म, बद्री अधिकारी, सुवास गजुरेल, अशोक शर्मा, लक्ष्मी राना लगायत थियौँ।

पछि प्रविधिको विकास अनि ज्ञान र अनुभव पनि बढ्दै गएपछि हामीले एकै दिनमा डेढ भागसम्म खिच्न सकिने भइयो। मैले नेपाल वान च्यानलका लागि ९८० भागसम्मको सिरियल ‘कसलाई आफ्नो भनुँ’ पनि बनाएँ।

‘काजीबा’को छाप र चर्चित सिरियलहरू
मैले सिरियलहरू ‘निमित्त नायक’, ‘राप’, ‘मन’, ‘भावना’, ‘अनुराधा’, ‘जीवन यात्रा’, ‘प्रतिद्वन्द्वी’, ‘दुई दिनको जिन्दगानी’, ‘पुष्पाञ्जली’ र ‘कसलाई आफ्नो भनौँ’ मा निर्देशन तथा अभिनय गरेँ। मैले सिरियल लेख्ने, खेल्ने र निर्देशन गर्ने तीनै काम गरेँ।

तर, मलाई अभिनयका रूपमा मात्रै सिरियल ‘टाढाको बस्ती’ को ‘काजीबा’ को भूमिकाले थप चर्चामा ल्यायो। कृष्ण मल्लको निर्देशनमा निर्माण भएको यो सिरियलको त्यो ‘काजीबा’ को भूमिकाको अहिले पनि चर्चा छ।

मलाई यो भूमिकामा देखेका दर्शकहरूले अहिले पनि सम्झिने गर्छन्। २०४४ सालमा बनेको यो सिरियल नै मेरो करियरको टर्निङ पोइन्ट जस्तै बनेको थियो। मेरा अरू सिरियलहरू त त्यो समयमा चलेका नै थिए।

फिल्म निर्माण र नेपाली सिनेमाको रूपान्तरण
मैले सानो छँदै सुनसरीको चक्रघट्टीमा एउटा हिन्दी फिल्म हेरेको थिएँ- साथी। अहिले पनि धमिलो-धमिलो सम्झना छ, त्यो समयमा हल थिएन, एउटा हल जस्तो बनाएर देखाइएको थियो (टकिज)।

त्यो फिल्म हेर्नका लागि सारा गाउँ नै आएको थियो। त्यो देखेपछि ममा पनि के पलायो भने- ओहो, यस्तो पनि हुँदो रहेछ! पछि-पछि त विराटनगरमा नै हेरियो। नेपाली फिल्महरू त प्रायः सबै हेरियो। त्यसैको प्रभावले होला मलाई नाटकमा लाग्न प्रेरणा मिल्यो र पछि फिल्म निर्माण गरेँ।

मैले २०५२ सालमा फिल्म ‘मोहनी’ निर्देशन गरेको हो, जुन अत्यधिक सफल फिल्म हो। यो फिल्ममा समावेश गीत ‘यो गाउँको ठिटो म’ अहिले पनि उत्तिकै चर्चामा छ। त्यसपछि लगातार मैले निर्देशन गरेका फिल्महरू ‘छोरो’, ‘जुन तारा’, ‘लगनगाँठो’, ‘अप्सरा’, ‘जिद्दी’, ‘बाबु साहेब’, ‘पल’, ‘एक जुवाडे’, ‘जीवन मृत्यु’ लगायत निर्माण भए र प्रदर्शनमा पनि आए।

त्यो बेला फिल्मको खिचाइ अहिलेको जस्तो सहज थिएन। खिचिएका फुटेजहरू कस्ता छन् भनेर क्यामेराम्यानमै भर पर्नुपर्ने अवस्था थियो। दृश्य कस्तो आयो भनेर क्यामेराम्यानमै भर पर्नुपर्थ्यो, कहिलेकाहीँ फुटेज बिग्रिन्थ्यो।

अहिले मनिटरमा हेरेर काम गर्न सकिन्छ, भिएफएक्स र एआईजस्ता प्रविधि आएका छन्। निर्देशक तथा परिकल्पनाकारले परिकल्पना गरेको दृश्य केही समयमै प्रविधिले बनाउन सकिन्छ। पहिले ९० प्रतिशत फिल्ममा विदेशी प्रभाव हुन्थ्यो र १० प्रतिशत मात्र मौलिक हुन्थे, तर अहिले ९० प्रतिशत नेपालीपन बोकेका मौलिक फिल्म बन्छन्।

महिला पात्र पाउन 'महाभारत'
त्यो बेलामा महिला कलाकारहरू पाउन निकै गाह्रो थियो। पुरुषको तुलनामा महिला पात्र पाउन निकै कठिन थियो। आफूले सिर्जना गरेको जुन पात्र छ, त्यो पात्र अनुसारको फिमेल क्यारेक्टर पाउन त महाभारत नै हुन्थ्यो, पाइँदै पाइँदैनथ्यो! अनि पुरै कम्प्रमाइज भएर, चित्त नबुझे पनि राख्न बाध्य हुनुपर्थ्यो।

अहिले त पहिलेको तुलनामा आफूलाई चाहिएको पात्र सजिलै पाउन सकिन्छ। हामीसँग अप्सन नै अप्सन छ, एकसेएक प्रतिभाहरू छन्। पहिले त्यस्तो थिएन, सीमित थियो, अहिले व्यापकता छ।

त्यो बेला छोरीमान्छे कलाकारितामा आउन नसक्नुमा समाजको दृष्टिकोण नै मुख्य कारण थियो। समाजले हेर्ने दृष्टिकोणमा अहिले धेरै परिवर्तन आएको छ। हिजोको समयमा यसलाई ‘नौटंकी गर्ने ठाउँ’ भन्थे। यो कुनै पेसा होइन, सस्तो मनोरञ्जनको साधन हो भनेर हेर्थे।

मेरै कुरा गरौँ न- मेरो पिताजीले मलाई यो क्षेत्रमा लाग्न सुरुदेखि नै मोटिभेट गर्नुभएन। उहाँले यो क्षेत्रमा भविष्य नै देख्नुभएन। एउटा जागिर खाएको भए कमसेकम जीवन राम्रो हुन्छ भन्ने सोचेर उहाँले सपोर्ट नगर्नुभएको होला। तर अहिले त यसको पढाइ हुन्छ, कलाकारले लाखौँ रुपैयाँ पारिश्रमिक पाउँछन्। नेपाली फिल्मलाई राज्यले उद्योगका रूपमा नलिए तापनि यो उद्योग नै हो।

‘करोडपतिको भूमिका गर्यो, कोठामा पानी पिएर सुत्यो’
जीवन भनेको एउटा निरन्तर बगिराख्ने खोला जस्तै रहेछ, अनुभव सँगसँगै फेरिँदै जाने रहेछ। मेरो कलाकारितामा पनि सुरुमा कलाकार नै बन्छु भन्ने सोच थिएन, तर काम गर्दै जाँदा यसैलाई पेसा बनाउन थालियो, रमाएरै काम गरियो र पछि गएर यसैमा जीवन बित्यो।

रङ्गकर्ममा लागेको ५ दशक पार भइसकेछ। १४-१५ वर्षको उमेरदेखि लागेको, आज ४८-४९ वर्ष भइसकेछ। यो अवस्थामा आइपुग्दा मैले धेरै कुराहरू झेलेको छु। यो बाहेक अरू केही रोजिएन पनि। त्यसैले यसलाई कसैले नराम्रो भन्यो भने रिस पनि उठ्छ।

नाटकको स्टेजमा करोडपतिको भूमिका खेलिन्थ्यो, तर शो सकिएर कोठामा फर्किएपछि खानेकुरा केही हुँदैनथ्यो। एकेडेमीमा हुञ्जेलसम्म त रेगुलर पैसा आउँथ्यो र खाइन्थ्यो, छोडिसकेपछि त पैसा आउने-नआउने फिक्स नै भएन, रित्तो खल्ती हुन्थ्यो। कति रात नुन चाटेर र पानी पिएर सुतेको छु। त्यस्तो हुँदा पनि आनन्दको निद्रा लाग्थ्यो।

पुतलीसडकको कोठामा त्यहाँ मासु पसलको लाइन नै थियो। साँझपख सेकुवा पोलेको बास्ना आउँथ्यो, आत्माले खान माग्थ्यो। तर खल्तीमा पैसा हुँदैनथ्यो। पछि-पछि त नरमाइलो लागेर त्यो बाटो नै छोडेर अर्कै बाटो हिँड्थेँ।

आज समय फेरिएको छ। अहिले फाइभ स्टार होटलमा गएर खान सक्ने हैसियत छ, तर शरीरले दिँदैन। पहिले पैसा थिएन, शरीरले माग्थ्यो; अहिले पैसा छ, शरीरले मान्दैन। जिन्दगी यस्तै रहेछ!

साउन २२, २०८३ शुक्रबार १३:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।