डाक्टर अर्जुनदेवको हिजोको कुरा : ००७ सालमा क्रान्तिकारीबाट बुवासँगै लेखेटियौँ, स्कुलमा भारतीय राष्ट्रगान सिकाइन्थ्यो

डाक्टर अर्जुनदेवको हिजोको कुरा : ००७ सालमा  क्रान्तिकारीबाट बुवासँगै लेखेटियौँ, स्कुलमा भारतीय राष्ट्रगान सिकाइन्थ्यो

८१ वर्षको उमेरमा पनि डाक्टर अर्जुनदेव भट्ट बिरामीको उपचार गरिरहेका छन्। वि.सं. २००२ मा पाल्पामा जन्मिएका उनको बसाइ फरक-फरक ठाउँमा भयो। बुबा सरकारी जागिरे भएका कारण उनीहरूको बसाइ कहिले प्युठान त कहिले बैतडी भयो।

उनीहरू प्युठानमा रहँदा २००७ सालका क्रान्तिकारीहरूबाट लखेटिएर बैतडी पुगे। सामान्य परिवार, बुबाको जागिरको भरमा रहेका उनीहरू लखेटिएपछिको अवस्था दयनीय बन्यो। त्यसपछि उनका बुबा पुनः अर्को जागिरमा लागे।

उनी १३ वर्षको हुँदा उनका बुबाको सरुवा भोजपुरमा भयो। उनी भने बुबाको साथ नलागी काठमाडौं आए। उनले दरबार हाइस्कुल र विजय मेमोरियलमा पढे।

तत्कालीन समयमा श्री५ को सरकारले राम्रा विद्यार्थीहरूलाई छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढाउन विदेश पठाउँथ्यो। त्यसमा उनी पनि परे। उनले सोभियत सङ्घमा गएर एमडी, पीएचडी (सर्जरी), डीएससी (न्युरोलोजी) र एफआइसीएससम्मको अध्ययन गरे।

त्यो अध्ययनपछि उनलाई सरकारले जलेश्वर पठायो। २०३१ सालमा उनी जलेश्वर आसपासका बिरामीको उपचारमा खटिए। न अस्पतालमा बेड थियो, न कुनै उपकरण।

भुइँमा पराल ओछ्याएर धेरै बिरामीको उपचारमा समय खर्चिए। त्यो बेलाको उपचार कसरी हुन्थ्यो र उनीहरूलाई ७ सालका क्रान्तिकारीले कसरी लखेटे त? काठमाडौँको मेडिकेयर हस्पिटलमा भेटिएका डाक्टर अर्जुनदेव भट्टले आफ्नो नालीबेली यसरी सुनाए:

२००७ सालमा बुबासँगै लखेटियौँ
म वि.सं. २००२ सालमा पाल्पाको तान्सेनमा जन्मिएको हुँ। मेरो जन्म मात्र पाल्पामा भएको हो। मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो, त्यसैले उहाँसँगै हामी प्युठान गयौँ। बुबासँगै हामी ५ जना छोराछोरी प्युठान पुगे तापनि मलाई त्यतिबेला केही पनि ज्ञान थिएन।

किनभने म तीन वर्षको हुँदा ७ सालको क्रान्तिले भेट्यो। त्यो सात सालको क्रान्तिमा हामी परिवारसहित लखेटियौँ। त्यतिबेला सरकारी कर्मचारीलाई तत्कालीन क्रान्तिकारीहरूले राख्ने कुरा भएन। त्यहाँबाट उनीहरूले लखेटेपछि हामी बैतडी पुग्यौँ।

क्रान्तिकारीहरूले लखेटेपछि बुबाको जागिर गुम्यो। जुन अवस्थामा सरकारी कर्मचारीहरूले जागिर खाइरहेका थिए, त्यो रहिरहेन। जागिर छुटेपछि बुबाले एक वर्षजति अरू केही जागिर गर्नुभयो। बुबाको जागिर नभएको भए त हामी भोकै पर्ने थियौँ, किनभने हामीसँग अरू केही थिएन।

यहाँ बुबाले एक वर्षजति काम गरेपछि उहाँ सुब्बा भएर डोटीको सिलगढी जानुभयो। बुबा डोटी गए पनि आमा र हामी छोराछोरी बैतडीमै बस्यौँ। त्यहाँ एउटा त्रिपुरा सुन्दरीको मन्दिर छ। त्यहाँ एउटा सानो स्कुल थियो। त्यो स्कुलमा बस्नका लागि पातपतिङ्गरहरू बटुलेर आफू बस्ने ठाउँ बनाउने र पढ्ने गरिन्थ्यो।

त्यो हाम्रा लागि सोफा, चकटी, गुन्द्री जे भने पनि हुन्थ्यो। त्यहाँ बस्दा किराहरूले टोकेर हैरान पार्थे। अहिले पनि मलाई एउटा किराको नाम याद छ- ‘अलमडे’, जुन पुरै एन्टिना फैलाएर हिँड्थ्यो।

स्कुलका शिक्षक नेपाली हुनुहुन्नथ्यो, इन्डियाबाट आउनुभएको एक जना गुरू हुनुहुन्थ्यो। उनले हामीलाई हिन्दी भाषाकै किताब पढाउँथे। हामीलाई उनले इन्डियाकै राष्ट्रगान गाउन लगाउँथे। त्यतिबेला हामी केटाकेटीलाई हामी नेपालमा छौँ कि भारतमा, के थाहा हुन्थ्यो र?

इन्डियाबाटै आएको कापीमा इन्डियाकै राष्ट्रगान हुन्थ्यो, सोही कण्ठ गरिन्थ्यो। अनि ‘हाम्रो देशको प्रधानमन्त्री को हो?’ भनेर कसैले सोध्यो भने हामी आफैँ ‘जवाहरलाल नेहरू’ भन्थ्यौँ। बिस्तारै होइन फेरि, चिच्याई-चिच्याई! त्यो बेला त्यो ठाउँमा नेपाली भाषा नै बोलिँदैनथ्यो, सबै हिन्दी चल्थ्यो।

एक-डेढ वर्षजति त्यहाँ पढियो। बुबाको काम अलि स्थिर भएपछि हामी डोटी नै गयौँ। त्यो बेलामा सरकारी जागिरको सरुवा-बढुवाले गर्दा एकै ठाउँमा रहिरहने अवस्था रहँदैनथ्यो। हामी डोटी पुगेको केही वर्षपछि बुबाको भोजपुर सरुवा भयो। बुबा भोजपुर जाने भएपछि हामी पनि उतै जानुपर्ने अवस्था भयो।

तर मेरो ठूल्दाजु आनन्ददेव अगाडि नै काठमाडौं आउनुभएको हुनाले दाजुसँगै हामी काठमाडौं आयौँ। त्यो बेला डोटीबाट काठमाडौँ आउँदा ७ दिन लागेको थियो। इन्डियाका विभिन्न ठाउँ हुँदै अमलेखगञ्ज र भीमफेदी भएर काठमाडौं प्रवेश गर्नुपर्थ्यो।

यो अहिलेको कुरा होइन, २०१३ सालतिरको कुरा हो। भीमफेदीमा हिँड्न नसक्नेका लागि डोको नै यातायातको साधन थियो। मान्छेले मलाई डोकामा हालेर निकै माथिसम्म ल्याइदिनुभएको थियो।

काठमाडौं आउनुको अर्को कारण पनि थियो- मेरो सानाबुबाको ससुराली डिल्लीबजारको कालिकास्थानमा थियो। सोही कारणले पनि हामी काठमाडौं आयौँ र केही समय उहाँकै घरमा भाडामा बस्यौँ। दरबार हाइस्कुलमा चार कक्षाबाट पढ्न सुरू गरेर साढे नौ कक्षासम्म पढेँ। मेरो गणित विषय राम्रो थियो।

त्यसमा ९९ प्रतिशत पाएपछि विजय मेमोरियलमा भर्ना भएँ। त्यहाँ प्रसन्नमान सिंह भन्ने एक जना शिक्षक हुनुहुन्थ्यो। उहाँले ‘तैँले पढ्न सक्छस्, एसएलसी दिए हुन्छ’ भन्नुभयो। उहाँको विचारमा यो इन्जिनियर बन्न खोज्छ होला भन्ने रहेछ।

त्यतिबेला नेपालमा मेडिसिन, इन्जिनियरिङ लगायतका विषय पढ्न पाउने व्यवस्था थिएन। इन्जिनियरिङ वा मेडिसिन पढ्ने हो भने बाहिरै जानुपर्थ्यो। त्यसका लागि ‘कोलम्बो प्लान’ (स्कलरशिप) चाहिन्थ्यो। यो पाएपछि मात्रै विदेशमा पढ्न जान पाइन्थ्यो, नत्र पाइँदैनथ्यो।

नाइट क्लास चलेपछि सरकारी जागिरे तथा ठूला-ठूला मान्छेहरू पढ्न आउँथे। लामा-लामा दाह्री भएकाहरू आएको देखेर म छक्क पर्थेँ।

टाइफाइडले भाइ बितेपछि डाक्टर पढ्ने अठोट र स्कलरशिप
म त्रिचन्द्र कलेजमा आईएससी भर्ना भएँ। आईएससी पढेपछि स्कलरशिपमा मेडिसिन पढ्नका लागि सोभियत सङ्घ गएँ।

यो सन् १९६३-६४ को स्कलरशिपको कुरा हो। मसँगै अरू चार जना पनि हुनुहुन्थ्यो। त्यो बेला पढाउन पठाउने अधिकार नेपाल सरकारलाई मात्रै थियो। अरू कसैलाई थिएन। आफ्नै खर्चमा पढ्न सक्ने क्षमता पनि पुग्दैनथ्यो।

त्यहाँको पढाइ कस्तो हुन्थ्यो भने पहिलो एक वर्ष त भाषा नै पढ्नुपर्थ्यो। स्कुलमा पढेका कुराहरू पूरा रसियन भाषामा पढियो। अनि ६ वर्ष मेडिसिन पढेँ। त्यसपछि दुई वर्ष सर्जरीमा एमएस गरेँ र फेरि तीन वर्ष पीएचडी गरेँ। अनि सन् १९७४ मा नेपाल फर्किएँ।

मैले आफूलाई आफैँ डाक्टर बनाउन चाहेको थिएँ। किनभने डोटीमा छँदाखेरि मपछिको भाइ टाइफाइड भएर बित्यो। उसलाई हेर्न एक जना बङ्गाली डाक्टर आएका थिए- टोपी लगाएर, ब्रिफकेस समातेर, टल्किने जुत्ता लगाएर!

त्यो सब देखेर मलाई पनि ‘डाक्टर बन्न पाए हुन्थ्यो’ भन्ने गहिरो छाप पर्यो। तर ती डाक्टरको बानीबेहोरा मलाई मन परेको थिएन, किनकि उनी सबैसँग त्यति फ्रेन्डली थिएनन्। भाइ बितेपछि मैले डाक्टर बन्ने अठोट लिएँ र अन्ततः आफ्नो सपना पूरा गरेँ।

परालमै अप्रेसन गर्नुपर्थ्यो!
म नेपाल फर्किएपछि सरकारले मलाई जलेश्वर पठायो। मैले नेपालमा सर्जनको काम यहीँबाट सुरु गरेको हुँ। त्यो बेला जलेश्वर अञ्चल अस्पताल थियो। पछि त्यसैलाई जनकपुरमा सारियो।  बोर्डरमा भएकाले त्यो बेला निकै कठिनाइ थियो।

मैले त्यहाँ वि.सं. २०३१ देखि २०३५ को सुरुवातसम्म काम गरेँ। मभन्दा अगाडि त्यहाँ कोही पनि सर्जन थिएनन्। म त्यो बेला सबै विषयको सर्जन थिएँ। हुन त म एउटा विषयको थिएँ, तर कोही नभएपछि पेटको, हड्डी भाँचिएको, आँखा दुखेको पनि आफैँले हेर्नुपर्थ्यो।

अहिले त सुविधासम्पन्न अस्पतालहरू बनेका छन्, त्यो बेला कहाँ हुनु र! परालमा राखेर त्यहीँ अप्रेसन गर्नुपर्थ्यो। लठ्याउने औषधि कहाँबाट पाउनु, त्यसै काम चलाउनुपर्थ्यो।

सरकारले जहाँ जा भन्यो, त्यहीँ जानुपर्ने बाध्यता थियो। अस्पतालमा केही उपकरण नै हुँदैनथ्यो। डाक्टरहरू भर्खर विभिन्न देशबाट पास गरेर आएका चार-पाँच जना मात्र थियौँ। ल्याब छँदै थिएन, सुगर जाँच्ने व्यवस्थासम्म थिएन।

म त सोभियत संघबाट आउँदा नेपालको अस्पताल देख्दा आश्चर्यमा परेको थिएँ। परालमा नै सुताएर बिरामी जाँच्नुपर्ने र अप्रेसन गर्नुपर्ने अवस्था थियो। बिरामीलाई अलिकति आराम भएपछि उठेर घर जान्थे। कोही-कोहीले गम्छा ओढेर आएर बिछ्याउँथे र त्यहीँ पल्टिन्थे, नभए परालमै सुत्थे।

अर्का एक जना डाक्टर सुदीवकुमार भट्टाचार्य इन्डियामा पढाइ सकेर नेपाल फर्किनुभयो। नेपाल आएपछि उहाँलाई सीधै भोजपुर पठाइयो। तराईको मान्छे पहाड पठाएपछि जानैपर्यो। उहाँ घोडा चढेर तीन-चार दिनको यात्रा गर्दै हस्याङफस्याङ गर्दै भोजपुर पुग्नुभयो।

सरकारले डाक्टर त पठायो, तर उहाँलाई पठाएको ठाउँमा अस्पताल नै रहेनछ! भोजपुरका अञ्चलाधीश, सिडिओ र सरकारी कर्मचारीहरूलाई भेटेर ‘म अस्पतालमा काम गर्न आएको’ भन्दा सबै जना गलल्ल हाँसेछन्।

अनि ‘यहाँ त अस्पताल नै छैन, कसलाई उपचार गर्न आएको?’ भनेछन्। अनि आफू बसेकै घरको माथिल्लो कोठामा आफू बसेर तल्लो कोठालाई उहाँले अस्पताल बनाउनुभयो। अस्पताल नै नभएको ठाउँमा डाक्टर पठाउने हाम्रो देशको कस्तो अवस्था थियो!

पठाउनेलाई थाहा नै हुँदैनथ्यो कि मैले कसलाई कहाँ पठाइरहेको छु। जस्तै, मलाई जलेश्वर पठाइयो। मलाई वास्तवमा काठमाडौंको टोखा हस्पिटलमा काम गर्न पठाइएको थियो। तर मैले ‘म त सर्जन हुँ, टोखामा गएर के गर्ने?’ भनेर नियुक्ति पत्र नलिएपछि मलाई जलेश्वर पठाइएको हो।

पठाउने मान्छेलाई कुन डाक्टर कस्तो हो र उसलाई कुन ठाउँमा पठाउँदा कसरी उपचार हुन्छ भन्ने थाहा नै हुँदैनथ्यो, ‘जा’ भन्दियो सकियो!

महिला बिरामी हुँदा पनि पुरुष नै कुर्सीमा बस्थे
मैले जलेश्वरमा उपचार गर्दा कस्ता मान्छेहरू आउँथे भने बिरामी श्रीमतीलाई कुर्सीमा बस्न नदिएर पुरुष आफैँ बस्थे।

‘श्रीमती भनेको त आइमाई न परी’ भन्दै बिरामी श्रीमतीलाई भुइँमा राखेर पुरुष कुर्सीमा बस्थे। श्रीमतीलाई मात्र नभई अरू जोसुकै भए पनि महिलालाई कुर्सीमा बस्न दिँदैनथे।

मैले सधैँ ‘तपाईँ उता हट्नुहोस्, बिरामीलाई यता राख्ने हो’ भन्दा अटेरी गर्थे। त्यो बेला पुरुषको चरम राज थियो। अहिले पनि पुरुषप्रधान सोच त छ, तर पहिलाको तुलनामा कम छ।

साउन ७, २०८३ बिहीबार १३:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।