के घिउ तेलभन्दा राम्रो हो? खाली पेटमा खाँदा बोसो घट्छ? घिउबारेका ८ प्रश्नमा डाक्टरको जवाफ
‘घिउ खाँदा तौल बढ्छ।’
‘खाली पेटमा घिउ खाँदा बोसो घट्छ।’
‘घिउले पेटको अल्सर निको पार्छ।’
‘घिउले हार्ट अट्याक गराउँछ।’
घिउको बारेमा हामी प्रायः यस्ता विरोधाभासपूर्ण कुरा सुन्ने गर्छौं। कतिपयले यस्ता कुरा सुनेर मात्र बस्दैनन्, साँच्चिकै व्यवहारमै लागू पनि गर्छन्।
घिउमा ६० देखि ६५ प्रतिशत ‘स्याचुरेटेड फ्याट’, २० देखि २५ प्रतिशत ‘मोनोअनस्याचुरेटेड फ्याट’, ३ देखि ४ प्रतिशत ‘पोलिअनस्याचुरेटेड फ्याट’ र केही भिटामिन पाइन्छन्। यसमा शरीरका लागि आवश्यक राम्रो फ्याट त हुन्छ नै, साथसाथै शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउन सक्ने स्याचुरेटेड फ्याट पनि हुन्छ।
पहिले घिउका बेफाइदा मात्र चर्चा हुन्थे भने हिजोआज यसका फाइदाबारे पनि निकै कुरा हुन थालेका छन्। तर, यीमध्ये कुन कुरा सत्य हो र कुन झुट? डाक्टरहरूले घिउबारे फैलिएका भ्रम र यथार्थबारे प्रष्ट पारेका छन्।
के घिउ खाँदा तौल बढ्छ?
धेरैजसो डाक्टरहरू भन्छन्- घिउ मात्र खाएर तौल बढ्दैन। मुटुरोग विशेषज्ञ डा. रिफाइ शौकत अलीका अनुसार, ‘कुनै पनि खानेकुरा आफैँमा अमृत वा विष हुँदैन। यो कति मात्रामा खाइन्छ भन्ने कुरामा भर पर्छ।’
उनी भन्छन्, ‘घिउ खाँदा तौल बढ्छ कि बढ्दैन भन्ने प्रश्नको सीधा जवाफ हो- बढ्दैन। तर, अधिक मात्रामा घिउ खाइयो भने शरीरमा कोलेस्ट्रोल बढ्ने सम्भावना भने रहन्छ।’
के घिउले रक्तनली बन्द गराउँछ?
डा. रिफाइका अनुसार घिउ खाँदा बढ्ने बोसोले मुटुको स्वास्थ्यमा असर पुर्याउन सक्छ। तर, घिउ सोझै गएर रक्तनलीमा जम्ने र मुटुरोग लगाउने भन्ने हुँदैन।
उनी भन्छन्, ‘हामीले खाएको खानेकुरा सीधै रक्तनलीमा पुग्दैन। तर, अत्यधिक घिउ खाँदा शरीरमा बोसो बढ्छ, जसले मुटुसम्बन्धी समस्या निम्त्याउने जोखिम बढाउँछ।’
दिनमा कति घिउ खानु उपयुक्त हुन्छ?
पोषणविद् मीनाक्षी बजाजका अनुसार एक स्वस्थ वयस्कले दिनमा २७ देखि ३० ग्रामसम्म फ्याट वा तेल खान सक्छन्।
‘अमेरिकन हार्ट एसोसिएसन’ले पनि शरीरलाई दैनिक चाहिने कुल क्यालोरीमध्ये स्याचुरेटेड फ्याटबाट आउने क्यालोरी ६ प्रतिशतभन्दा कम हुनुपर्ने सुझाव दिएको छ।
घिउमा करिब ६०-६५% स्याचुरेटेड फ्याट हुने भएकाले यसको अधिक सेवनले खराब कोलेस्ट्रोल (एलडीएल) बढाउन सक्छ। यदि कसैलाई दिनमा दुई हजार क्यालोरी आवश्यक छ भने, स्याचुरेटेड फ्याटबाट १२० क्यालोरीभन्दा बढी लिनु हुँदैन।
के घिउले पेटको अल्सर निको पार्छ?
जनरल फिजिसियन डा. चन्द्र शेखरका अनुसार घिउमा पाइने मोनोअनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट शरीरका लागि आवश्यक हुन्छन्। घिउमा लिनोलिक एसिड र ब्युट्रिक एसिडजस्ता तत्व हुन्छन्, जसले पाचन प्रणालीलाई मद्दत गर्छन्।
तर, मुटुरोग विशेषज्ञ डा. रिफाइ चेतावनी दिँदै भन्छन्, ‘घिउलाई औषधिका रूपमा खानु हुँदैन। यसमा स्याचुरेटेड फ्याट धेरै हुने भएकाले आधा चम्चाभन्दा बढी खानु राम्रो होइन।’
घिउले अल्सर निको पार्छ भन्ने कुरालाई पुष्टि गर्ने कुनै ठोस वैज्ञानिक प्रमाण अहिलेसम्म छैन।
के खाली पेटमा घिउ खाँदा बोसो घट्छ?
यो धारणा पूर्ण रूपमा गलत भएको डा. रिफाइ बताउँछन्।
उनी भन्छन्, ‘घिउ खाँदा शरीरको बोसो घट्दैन। यसमा धेरै मात्रामा स्याचुरेटेड फ्याट हुने भएकाले उल्टै शरीरमा खराब कोलेस्ट्रोल बढाउन सक्छ। त्यसैले खाली पेटमा घिउ खाँदा बोसो घट्छ भन्नुको कुनै वैज्ञानिक आधार छैन।’
के बालबालिकालाई घिउ खुवाउनु राम्रो हो?
डाक्टरहरूका अनुसार बालबालिकालाई घिउ खुवाउनु उनीहरूको शारीरिक र मानसिक विकासका लागि फाइदाजनक हुन्छ।
डा. चन्द्रशेखर भन्छन्, ‘घिउले बालबालिकाको स्नायु प्रणालीको विकास, छालाको स्वास्थ्य र पाचन प्रक्रियामा मद्दत गर्छ।’
त्यस्तै डा. रिफाइ थप्छन्, ‘बालबालिकाको मेटाबोलिजम वयस्कको भन्दा फरक हुन्छ। घिउमा पाइने भिटामिन-ई र भिटामिन-के ले उनीहरूको शारीरिक वृद्धिमा सहयोग पुर्याउँछ।’
के घिउ तेलभन्दा राम्रो हो?
डा. रिफाइका अनुसार घिउलाई तेलभन्दा राम्रो भन्न मिल्दैन।
उनी भन्छन्, ‘तेलको सट्टा सधैँ घिउमै पकाएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ। कहिलेकाहीँ स्वादका लागि घिउ राखेर खान सकिन्छ तर नियमित खानु हुँदैन।’
तेल र घिउ दुवैको सेवन सन्तुलित र सीमित मात्रामा गर्नुपर्छ।
के सुगरका बिरामीले घिउ खान मिल्छ?
मधुमेहका बिरामी, शरीरमा बढी बोसो भएका व्यक्ति र उच्च रक्तचाप भएकाहरूले घिउ नखानु नै बेस हुने डा. रिफाइको सुझाव छ।
उनी भन्छन्, ‘यस्ता बिरामीले घिउ पूर्ण रूपमा बन्द गर्नु नै राम्रो हो। घिउमा केही फाइदाजनक तत्व पक्कै हुन्छन्, तर यसले पुर्याउन सक्ने जोखिमलाई पनि बेवास्ता गर्न मिल्दैन।’
साउन २२, २०८३ शुक्रबार १०:१९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।