शरीर रचना विज्ञानका विज्ञ डा. निर्जुको अनुभव : कान्तिमा एमबीबीएसको इन्टर्नसिप अनि रेबिज संक्रमित ती बालक

शरीर रचना विज्ञानका विज्ञ डा. निर्जुको अनुभव : कान्तिमा एमबीबीएसको इन्टर्नसिप अनि रेबिज संक्रमित ती बालक

चिकित्सा विज्ञान जतिसुकै आधुनिक र चमत्कारी भए पनि, कुनै पनि शल्यक्रिया सफल हुनुअघि शल्यचिकित्सकलाई मानव शरीरको एउटा सूक्ष्म र स्पष्ट नक्सा आवश्यक पर्छ।

मानव शरीरको कुन अङ्गको बनोट कस्तो छ, कुन नसा कहाँबाट कसरी बगेको छ र रक्तनलीहरू एकआपसमा कसरी जोडिएका छन् भन्ने ज्ञान नभई जतिसुकै सानो शल्यक्रिया पनि सफल हुँदैन।

बिरामीको यही शरीरको नक्साङ्कन गरेर जटिल शल्यक्रियालाई समेत सुरक्षित र सहज बनाउन सिकाउने चिकित्सकीय आधारभूत विधा ह्युमन एनाटोमी हो।। नेपालको चिकित्सा शिक्षामा यही जटिल विधाका एक आधिकारिक विज्ञ हुन्- प्रा. डा. निर्जु रञ्जित।

मानव शरीरको रहस्यमयी बनोटबारे निरन्तर अध्ययन गर्नु, चिकित्सा शास्त्रका नयाँ पुस्ताका विद्यार्थीलाई अध्यापन गराउनु र यसै विधाको विकासमा तल्लीन रहनु उनको दैनिकी हो।

चिकित्सकका रूपमा बिरामीको उपचार गर्दाका अनुभवदेखि प्राध्यापकका रूपमा मेडिकल कलेजका विद्यार्थीलाई पढाउँदासम्मका आफ्ना दुई दशकभन्दा लामो यात्राका भोगाइहरू डा. निर्जुले उकेरासँग साटेका छन्:

एचएदेखि सरकारी छात्रवृत्तिमा डाक्टरसम्म
२०२९ सालमा काठमाडौंको भीमसेनस्थानमा जन्मिएका निर्जुको बाल्यकालदेखिकै एउटै सपना थियो- ठुलो भएर डाक्टर बन्ने र बिरामीको सेवा गर्ने। त्यही हुटहुटी बोकेर उनले स्थानीय परोपकार आदर्श माध्यमिक विद्यालयबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरे।

एसएलसीलगत्तै आफ्नो सपनाको पहिलो खुड्किलोका रूपमा उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह (हेल्थ असिस्टेन्ट- एचए) अध्ययन गर्न भर्ना भए।

तर, उनको अध्ययनको यात्रा सोचेजस्तो निर्वाध अघि बढेन। २०४६ सालमा सुरु भएको पञ्चायतविरोधी ऐतिहासिक जनआन्दोलनको प्रभाव शिक्षण संस्थाहरूमा पनि पर्यो, जसका कारण उनको अध्ययन एक वर्ष धकेलिन पुग्यो।

अन्ततः २०४९ सालमा तीन वर्षे एचए अध्ययन पूरा गरेपछि उनले काठमाडौंकै एउटा स्वास्थ्य संस्थामा केही समय स्वास्थ्यकर्मीका रूपमा काम गरेर व्यावहारिक अनुभव सँगाले।

एचए पढेर मात्र उनको डाक्टर बन्ने भोक मेटिनेवाला थिएन। उनले कडा मिहिनेतका साथ एमबीबीएस प्रवेश परीक्षाको तयारी सुरु गरे। हजारौं विद्यार्थीबीच हुने कडा प्रतिस्पर्धालाई उछिन्दै उनी सरकारी छात्रवृत्ति कोटामा एमबीबीएसका लागि छनोट हुन सफल भए।

२०५१ सालमा महाराजगञ्ज चिकित्सा क्याम्पसमै भर्ना भई अध्ययन सुरु गरेका उनले इन्टर्नसिपसहितको लामो र कठिन यात्रा पार गर्दै २०५७ सालमा एमबीबीएसको अध्ययन सफलतापूर्वक पूरा गरे।

कान्ति अस्पतालको त्यो घटना
एमबीबीएसको अन्तिम वर्षमा इन्टर्नसिपका क्रममा कान्ति बाल अस्पतालमा कार्यरत रहँदा डा. निर्जुले एउटा यस्तो घटना भोगे, जसले आज पनि उनको मानसपटलमा गहिरो छाप छोडेको छ।

त्यो दिन डा. निर्जु अस्पतालमा आफ्नै ड्युटीमा खटिएका थिए। त्यही बेला करिब आठ वर्षका एक बालकलाई छटपटाइरहेको र अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइयो।

बालकको शिथिलता र अस्वाभाविक लक्षण देखेर वरिष्ठ चिकित्सकहरूले तत्काल परीक्षण गरे। परीक्षणपछि थाहा भयो- ती बालकलाई रेबिज सङ्क्रमण भइसकेको रहेछ।

सबैभन्दा दुःखद कुरा त के थियो भने, ती बालकलाई कुकुरले कहिले टोकेको थियो भन्ने कुरा उनका अभिभावकलाई पत्तै रहेनछ। समयमै रेबिजविरुद्धको खोप नलगाएका कारण बालकको शरीरमा रेबिजको भाइरस फैलिसकेको थियो।

चिकित्सा विज्ञानको एउटा तितो सत्य के हो भने, रेबिजको लक्षण देखिइसकेपछि यसको कुनै उपचार छैन र बिरामीको मृत्यु निश्चित हुन्छ। लक्षण देखिइसकेपछि खोप दिएर पनि ती बालकलाई बचाउन सम्भव थिएन।

ती बालकलाई बाँचुञ्जेलको पीडा कम गराएर मृत्यु कुर्नुबाहेक डा. निर्जु र त्यहाँका अन्य चिकित्सकहरूसँग कुनै विकल्प थिएन। केही दिनमै ती छटपटाइरहेका बालकले अस्पतालको शय्यामै प्राण त्यागे।

‘हामी डाक्टर भएर पनि त्यो बेला कति असहाय महसुस गर्यौं भनेर शब्दमा वर्णन गर्न सकिँदैन,’ डा. निर्जु भन्छन्, ‘ती बालक छटपटाउँदै बितेको त्यो घटना सम्झँदा अझै पनि पीडा हुन्छ।’

विशेषज्ञताका लागि ‘शरीर रचना विज्ञान’
एमबीबीएस पूरा गरेपछि डा. निर्जुले आफ्नो चिकित्सकीय सेवाको सुरुवात जनकपुर अञ्चल अस्पताल (हालको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान) बाट गरे।

त्यहाँ मेडिकल अधिकृतका रूपमा करिब आठ महिना करार सेवामा काम गर्दा उनले औलो (मलेरिया), कालाजार, झाडापखाला, उच्च ज्वरो र निमोनिया जस्ता रोगले ग्रसित थुप्रै बालबालिकालाई निको पारेको सुखद सम्झना सँगालेका छन्।

जनकपुरको बसाइपछि उनको यात्रा विशेषज्ञतातर्फ मोडियो। विश्व स्वास्थ्य संगठनको समन्वयमा महाराजगञ्ज चिकित्सा क्याम्पसले उनलाई विशेषज्ञ डाक्टर (एमडी) उत्पादन गर्ने पूर्ण छात्रवृत्ति कोटामा छनोट गर्यो।

सन् २००१ मा उनी ‘शरीर रचना शास्त्र (ह्युमन एनाटोमी)’ मा स्नातकोत्तर (एमडी) गर्न भारतको प्रतिष्ठित ‘मनिपाल एकेडेमी अफ हयर एजुकेसन’ अन्तर्गतको कस्तुर्बा मेडिकल कलेज पुगे।

त्यसबेला नयाँ डाक्टरहरू क्लिनिकल विषय (जस्तैः सर्जरी वा मेडिसिन) पढ्न मरिहत्ते गर्थे। नेपालमा एनाटोमी जस्तो बेसिक साइन्स अध्ययन गरेका विशेषज्ञ चिकित्सकको सङ्ख्या आधा दर्जनको हाराहारीमा मात्र थियो।

जनशक्तिको चरम अभाव रहेको र देशलाई अत्यन्तै आवश्यक परेको यही चुनौतीपूर्ण विषय डा. निर्जुले रोजे। सन् २००४ मा भारतबाट एमडीको अध्ययन सकेर उनी नेपाल फर्किए।

दुई दशक लामो प्राज्ञिक योगदान
नेपाल फर्किएपछि उनलाई अध्ययनका लागि सिफारिस गर्ने संस्था महाराजगञ्ज चिकित्सा क्याम्पसमै उनी करारमा उप-प्राध्यापकका रूपमा नियुक्त भए। क्रमशः बढुवा हुँदै उनी अहिले प्राध्यापक भइसकेका छन्।

विगत २२ वर्षदेखि उनी निरन्तर सोही क्याम्पसको शरीर रचना विज्ञान विभागमा कार्यरत रहेर हजारौं डाक्टर उत्पादनमा आफ्नो योगदान दिइरहेका छन्। यस क्याम्पसका चिकित्सकले बिरामीको प्रत्यक्ष औषधि उपचार गर्ने थलो भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नै हो।

नियमित अध्यापन र अनुसन्धानका अतिरिक्त उनी हाल क्याम्पसको परीक्षा विभाग प्रमुखको जिम्मेवारीमा समेत छन्। डा. निर्जुले चिकित्सा शिक्षाको समग्र गुणस्तर उकास्न विभिन्न विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको पाठ्यक्रम निर्माण गर्ने, लामो तथा छोटो अवधिका कोर्षहरू तयार पार्ने काममा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

यसका साथै, चिकित्सा शास्त्र पढाउने शिक्षकहरूलाई अझै प्रभावकारी कसरी बनाउने भनेर ‘फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ’को मोड्युल तयार पार्न र तालिम सञ्चालन गर्न उनी उत्तिकै सक्रिय छन्।

एनाटोमी र फिजियोलोजी
डा. निर्जुका अनुसार मानव शरीरको बनावट पूर्ण रूपमा बुझ्नु नै बिरामीको सफल उपचारको पहिलो सर्त हो। चिकित्सा शास्त्रमा ‘एनाटोमी’ र ‘फिजियोलोजी’ लाई दाजुभाइ वा एउटै सिक्काका दुई पाटा मानिन्छ।

यी दुई जटिल विषयलाई सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी डा. निर्जुले गाडीको सटिक उदाहरण दिन्छन्।

उनी भन्छन्, ‘गाडीको इन्जिन, पाङ्ग्रा, र ब्रेक जस्ता पाटपूर्जाहरू कहाँ-कहाँ राखिएका छन् र तिनीहरूको स्वरूप कस्तो छ भनेर हेर्नु ‘एनाटोमी’ हो। तर, त्यो इन्जिन कसरी घुम्छ, पाङ्ग्रा घुमेर गाडी कसरी अगाडि बढ्छ र ब्रेक थिच्दा कसरी काम गर्छ भनेर त्यसको सम्पूर्ण कार्यप्रणाली बुझ्नुचाहिँ ‘फिजियोलोजी’ हो।’

डा. निर्जु शरीर केले र कसरी बनेको हुन्छ भन्ने ‘एनाटोमी’का विज्ञ चिकित्सक हुन्।

उनी भन्छन्, ‘कुनै पनि बिरामीको शल्यक्रिया गर्नुपूर्व सर्जनलाई शरीरको संरचना कस्तो छ भन्ने स्पष्ट थाहा हुनुपर्छ। शल्यक्रिया गर्दा सही ठाउँमा मात्र काट्ने र त्यसको वरपर रहेका अत्यन्त संवेदनशील नसा वा रक्तनलीहरूलाई क्षति हुनबाट जोगाउन एनाटोमीको ज्ञान अपरिहार्य हुन्छ। एक मिलिमिटरको गल्तीले बिरामीको ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ।’

मानव शरीरको यिनै जटिल रहस्यहरूको सुल्झाउने र सोही अमूल्य ज्ञान भावी पुस्ताका डाक्टरहरूलाई बाँडेर सुरक्षित शल्यक्रियाको आधार तयार पार्ने महान् कर्ममा डा. निर्जु रञ्जित आज पनि उही ऊर्जाका साथ तल्लीन छन्।

साउन ९, २०८३ शनिबार १२:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।