मध्यरात प्रधानमन्त्री बालेनको गुड फ्राइडे स्टाटस : कहिलेकाहीँ एक्लै लड्नुपर्छ
काठमाडौं : शुक्रवार सांसदमा सरकारको कामप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले तीव्र आलोचना गरे। बजारमा बढ्दो अभाव अनि सरकारप्रति बढ्दो असन्तुष्टिपछि शुक्रवार रास्वपाका सांसद रमेश प्रसाईँ अनि मनीष झाले सरकारको कार्यशैलीको आलोचना गरे।
रमेश प्रसाईँले चुनावताका लाइनबाट अनलाइन भन्ने वाचा गरेको तर सडकभर ग्याँसको लाइन भएको भन्दै त्यो देख्दा आफ्नो हातले आफैलाई झापड हान्न मन लागेको बताएका थिए।
आफ्नै दलका प्रधानमन्त्री अनि मन्त्रीहरूको भान्छामा ग्याँस छ कि छैन भनेर सोध्दै उनले सरकारले ग्याँस चाहिए जति छ भन्ने तर बजारमा नपाउने भन्दै दुई तिहाइको सरकारलाई कालो बजारी रोक्न कसले छेक्यो भन्दै बढो दिक्दार पारामा प्रश्न गरेका थिए।
शुक्रवारै रास्वपाकै सांसद मनिष झाले सरकारको काम गर्ने ढङ्ग नपुगेको देखिएको र त्यो स्विकार्नु पर्ने बताएका थिए। पूर्वउपसभामुख इन्दिरा रानाले ग्यास अभावका कारण नागरिक सास्तीमा परेको बताइन्। रास्वपा सांसद पारसमणि गेलालले पनि ग्यास अभावका विषयमा आक्रोश पोखे।
यो क्रम रोकिएन रास्वपाकै सांसद अमरेश कुमार सिंहले नागरिकका समस्यामा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए। रास्वपाका सांसद वदनकुमार भण्डारीले श्रीमतीसहित सुनकोशीमा हाफ फालेका
पराजुली दम्पती फेला नगरेको भन्दै सरकारको कामप्रति प्रश्न उठाए। टिका सङ्ग्रौलाले पनि जेमा पनि कर लगाएको विषय उठाइन्।
उता शुक्रवार मध्यरात फेसबुकमा प्रधानमन्त्री वालेन्द्र शाहले पुरानै पारामा ढिला भए पनि गलत हुँदैन भन्ने आश्वासन दिँदै लेखे" केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन।नआत्तिनुहोस्।"
उनले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ भन्दै लेखे "कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।"
साउन २३, २०८३ शनिबार ००:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।