गृहमन्त्री सुधनलाई जेनजी अगुवा मिराजको चेतावनी : छोएर देखाए मानौँला
काठमाडौं : सरकार विरुद्ध आन्दोलन गर्ने जेनजीहरुलाई गृहमन्त्री सुधन गुरुङले धम्क्याएपछि जेनजी अगुवा मिराज ढुंगानाले चुनौती दिँदै लेखे “कानुनी राज्यमा सरकारको लथालिङ्ग अवस्थालाई सुधार गर भन्दै सुझाव दिँदा चेतावनी दिनेलाई म के चेतावनी दिन चाहन्छु भने छोएर देखाए मानौँला।
बिहीबार काठमाडौंको बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा गुरुङले जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिन चेतावनी दिएका थिए। उनले अहिले सडकमा उभिएका जेनजीहरुको आन्दोलनमा योगदान नभएको आरोप समेत लगाएका थिए।
मिराजले सामाजिक सञ्जालमा “आन्दोलन पानी बाँडेर होइन, विचारले हुन्छ” लेखेका छन्। २०८२ भदौ २३ को जेनजी आन्दोलनमा गृहमन्त्री गुरुङ पानी बाँड्ने स्वयंसेवकको रूपमा सहभागी भएका थिए। उनले संसदमै आफूलाई त पानी बाँड्ने केटा भन्छन् भनेका थिए।
सरकार गठनबारे सेनासँगको वार्तापछि भने उनी एकाएक जेनजी अगुवाको रूपमा सक्रिय भए। उनीमाथि जेनजी आन्दोलन हाइज्याक गरेको आरोप त लाग्ने गरेको छ नै राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनबारेको प्रतिवेदनमा भिड भड्काएर प्रहरीको ब्यारिकेट तोड्नेदेखि लिएर संसद् भवनमा आक्रमण गर्ने भूमिकासम्म सुधन संलग्न देखिएको भन्दै उनीमाथि छानबिनको सिफारिस गरेको छ।
बिहीबार मिराजले सञ्जालमा “पानी नै खान नपाएर सायद कोही आन्दोलनमा आएका होलान् र?” भन्ने प्रश्न गर्दै अगाडि लेखेका छन् “फेरि १०–१२ थान पानीका बोतल बाँडेर १–२ थान संसद् र मन्त्री खानेले अरूलाई राजनीति गर्न खोजेको भन्न पनि सुहाउँदैन होला। २-३ थान पदको मौका त नआएको होइन सायद यो कुरा पानी बाँड्ने दाइलाई मज्जाले थाहा नै छ, कसैले बुझ पचाउनु पर्दैन। बस मैले घण्टीलाई पहिल्यै बुझेर चुपचाप घण्टी छाप मात्र भन्न सकिन।”
गृहमन्त्री गुरुङको नाम त लेखेका छैनन्। तर प्रसङ्गहरू सबै आज गृहमन्त्री गुरुङकै उल्लेख गरेका छन्। उनले चेतावनी दिँदै लेखेका छन् “कानुनी राज्यमा सरकारको लथालिङ्ग अवस्थालाई सुधार गर भन्दै सुझाव दिँदा चेतावनी दिनेलाई म के चेतावनी दिन चाहन्छु भने- छोएर देखाए मानौँला।”
उनले थप लेखेका छन् "घण्टीको कथा नेपाली जनताले देख्न अझै बाँकी छ। प्रतीक्षा गरौँ ४ वर्ष ८ महिनामा छर्लङ्ग हुन्छ।"
साउन २१, २०८३ बिहीबार २०:२२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।