डा. सुशीलको उपचार अनुभव : मानसिक समस्याकै कारण बेवारिसे बनेकी महिलाले ७ वर्षपछि अस्पतालमा छोरा भेटेपछि...
डा. सुशील समदर्शी व्यक्तिको गडबडी भएको मन पढेर समस्या पहिचान गर्ने मनोचिकित्सक हुन्। उनले सयौँ व्यक्तिको मनको समस्या पत्ता लगाएर गडबड भएको मनलाई शान्त पार्दै सामान्य अवस्थामा फर्काएका छन्।
व्यक्तिको मन गडबड हुनुका कारण एउटै मात्र हुँदैनन्। सम्पन्न होस् वा विपन्न परिवार, मनको गडबडी जोकोहीलाई पनि हुन सक्छ।
तर, समयमै समस्या पहिचान गरेर उपचार गर्न सकेको खण्डमा बिग्रिएको मनलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन सकिन्छ। उनै मनोचिकित्सक डा. सुशीलले आफ्नो चिकित्सकीय पेसामा देखे-भोगेका यस्तै अविस्मरणीय अनुभवहरू उकेरासँग साटेका छन्:
मानसिक समस्याले विच्छिप्त भएकी ती महिला र ७ वर्षपछिको पुनर्मिलन
चिकित्सकीय पेसाका क्रममा देखे-भोगेकामध्ये एक जना महिलाको उपचारको प्रसङ्ग डा. सुशील कहिल्यै भुल्दैनन्।
प्रसङ्ग करिब अढाइ वर्षअघिको हो। डा. सुशीललाई याद भएसम्म मुगुकी करिब ४६ वर्षकी एक महिला मानसिक रूपमा विच्छिप्त बनेर सात वर्षदेखि हराइरहेकी थिइन्। मानसिक समस्याकै कारण घरबाट निस्किएकी ती महिला सात वर्षसम्म पनि नफर्किएपछि परिवारले समेत उनी जीवितै होलिन् भन्ने माया मारिसकेको थियो।

घरबाट हराएर बेवारिसे बनेकी ती महिला भौँतारिँदै कहिले कता, कहिले कता पुग्थिन्। जता मन लाग्यो उतै सुत्ने र जे भेट्यो त्यही खाने गरेर बाँचिरहेकी थिइन्। कसैले दया गरेर दिए खान्थिन्, नत्र भोकै बाटो, पाटी र पौवामा बस्थिन्।
मानसिक समस्या भएका व्यक्तिलाई समाजले छिछि र दूरदूर गर्ने परिपाटी छँदै थियो, जसले गर्दा उनले समाजबाट पनि माया पाउन सकिनन्। एक हिसाबले भन्ने हो भने ती महिला अत्यन्तै नरकीय जीवन बिताइरहेकी थिइन्।
भौँतारिँदै मुगुबाट हुम्लासम्म पुगेकी ती महिलालाई बेवारिसे बनेको सात वर्षपछि कसैले उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुर्याइदिएछ। डा. सुशीलको टोलीले ती महिलाको स्वास्थ्य परीक्षण गर्दा उनलाई ‘साइकोसिस’को गम्भीर समस्या भएको पत्ता लाग्यो।
साइकोसिस एक किसिमको कडा मानसिक अवस्था हो, जसमा बिरामीमा अवास्तविक भ्रम पैदा हुन्छ। अस्पताल ल्याउँदा ती महिलामा देखिएका लक्षणका आधारमा उनी भ्रम उत्पन्न हुने कडा खालको साइकोसिसबाट ग्रसित भएको पुष्टि भयो। उनमा शङ्का गर्ने, डराउने, बर्बराउने, एक्लै हाँस्ने, जहाँत्यहीँ हिँड्ने र आफ्नो हेरचाह आफैँ गर्न नसक्ने जस्ता लक्षण थिए।
भ्रम पैदा हुने (डिल्युजन) मानसिक समस्यामा बिरामीलाई अवास्तविक र गलत कुराप्रति पूर्ण विश्वास हुन्छ। कसैले नबोले पनि बोलेको जस्तो आवाज सुनिने, कसैले हप्ताउँदैछ भन्ठान्ने जस्ता अवास्तविक भ्रम यसमा हुन्छन्।
उदाहरणका लागि- ‘कसैले आफूलाई मार्न खोज्दैछ वा मविरुद्ध ठूलो षड्यन्त्र हुँदैछ’ भन्ने अनावश्यक सोच उत्पन्न हुनु डिल्युजन हो।
साइकोसिसकी ती महिलामा पनि ‘कसैले मलाई मार्न खोज्दैछ’ वा ‘म कुनै असाधारण तथा शक्तिशाली व्यक्ति हुँ’ भन्ने जस्ता भ्रमका लक्षण थिए।

यस्तो समस्या भएको व्यक्तिमा अगाडि भूत आएको देख्ने, मान्छे नभए पनि मान्छे वा मान्छेका छाया देख्ने र अरूले नबोलेको कुरा कानमा गुञ्जिने जस्ता लक्षण देखिन्छन्। ती महिलामा पनि अस्वाभाविक व्यवहार देखाउनुका साथै चुपचाप बस्ने जस्ता लक्षण थिए।
भ्रम पैदा हुने यो मानसिक रोगबाट पीडित ४६ वर्षीया महिलाको डा. सुशीलको टोलीले लगनशीलताका साथ उपचार सुरु गर्यो। केही दिनको औषधि-उपचारपछि ती महिला बिस्तारै सामान्य अवस्थामा फर्किँदै गइन्। मानिसहरूलाई चिन्न थालिन् र आफ्नो घरपरिवार पनि सम्झिन थालिन्।
त्यसपछि ती महिलाको परिवार खोज्ने प्रयास भयो। सोधखोज गर्दै जाँदा हराएकी तिनै महिलाका छोरा सुर्खेतमै बसोबास गर्दै आएको थाहा भयो। छोराको पत्ता लागेपछि उनलाई अस्पताल बोलाइयो र सात वर्षदेखि हराइरहेकी आमासँग भेट गराइयो।
सात वर्षदेखि माया मारिसकेकी आमालाई जीवितै र निको भएको अवस्थामा पाउँदा छोरा दङ्ग नपर्ने कुरै भएन। सात वर्षसम्म बेवारिसे अवस्थामा भोकै-नाङ्गै भौँतारिएकी ती महिलाले अस्पतालमा उपचार मात्र पाइनन्, आफ्नै छोरा र परिवार पनि फिर्ता पाइन।
करिब तीन हप्ताको औषधि-उपचारपछि ती महिला पूर्ण रूपमा सामान्य अवस्थामा फर्किइन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। छोराले उनलाई खुसी हुँदै घर लिएर गए।
धन्य, ती महिलाको समयमै उद्धार नभएको भए न त उनले उपचार पाउँथिइन्, न त छोरालाई नै भेट्न सक्थिइन्। सायद गाउँघरका गल्ली र पाटीपौवामै उनको नरकीय जीवनको दुःखद् अन्त्य हुन्थ्यो होला।
तर, उपचार र परिवारसँगको पुनर्मिलनले उनको जिन्दगीको मोड नै बदलियो। मानसिक रूपमा विच्छिप्त भएकी ती महिलालाई निको बनाएर छोरासँग पुनर्मिलन गराई डिस्चार्ज गरिएको त्यो क्षण डा. सुशील कहिल्यै भुल्दैनन्।
१७ वर्षीया युवतीको अस्पतालमै मृत्यु भएको त्यो दुःखद् क्षण
चिकित्सकीय पेसाका क्रममा डोल्पा पुग्दाको अर्को एउटा प्रसङ्ग पनि डा. सुशीलको मानसपटलमा ताजै छ।
कुरा केही वर्षअघिकै हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सक्रियतामा मनोचिकित्सकसहितको टोली मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम लिएर डोल्पा पुगेको थियो। त्यो टोलीमा डा. सुशील पनि थिए।

त्यहाँ पुग्दा मानसिक रूपमा विच्छिप्त भएर बेवारिसे बनेका ७/८ जना बिरामीहरू भेटिए। उनीहरूलाई मन्त्रालयकै सक्रियतामा उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याइयो। त्यहाँ औषधि-उपचार र परामर्शपछि उनीहरूको पुनस्र्थापनाका लागि सुर्खेतमै रहेको मानव सेवा आश्रममा राखियो।
ती बिरामीहरूमा पनि विभिन्न किसिमका मानसिक समस्या थिए। औषधि-उपचारपछि उनीहरू बिस्तारै सामान्य अवस्थामा फर्किँदै गए र अन्ततः परिवार तथा समाजमा पुनस्थापित भए।
तर, उद्धार गरिएका बिरामीमध्ये मानसिक समस्या भएकी करिब १७ वर्षकी एक युवतीमा भने अन्य गम्भीर शारीरिक समस्याहरू पनि रहेछन्। उनलाई बचाउन डाक्टरहरूले अथक मेहनत र उपचार गरे पनि सम्भव भएन। उपचारकै क्रममा उनले अस्पतालमै प्राण त्यागिन्।
अन्य सबै बिरामीलाई निको बनाएर घर फर्काउन सम्भव भए पनि ती १७ वर्षीया युवतीलाई बचाउन नसकेको त्यो दुःखान्त क्षण सम्झँदा डा. सुशीलको मन अझै पनि कटक्क खान्छ।
सुर्खेतमा जन्म र मनोचिकित्साको यात्रा
सुर्खेतको वीरेन्द्रनगरमा २०४३ सालमा जन्मिएका सुशील समदर्शी सानैदेखि अध्ययनमा अब्बल थिए। उनले स्थानीय एसओएस हर्मन माइनर स्कुलबाट २०५९ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौं आएर हिमालयन ह्वाइटहाउस कलेजबाट प्लस-टु पूरा गरे।
सानैदेखि डाक्टर बन्ने रहर भएकाले उनले एमबीबीएसका लागि तयारी गरे। छनोट परीक्षा उत्तीर्ण भएपछि काठमाडौं विश्वविद्यालयअन्तर्गतको काठमाडौं मेडिकल कलेज (केएमसी) मा २०६३ मा भर्ना भई एमबीबीएस पढ्न थाले। २०६९ सालमा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएसपछि उनले काठमाडौंको एक निजी अस्पतालमा करिब एक वर्ष र सुर्खेतमा करिब एक वर्ष गरी दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।
तर, डा. सुशीललाई थप अध्ययन गर्नु थियो। त्यसैले एमडीको छनोट परीक्षा पार गर्दै उनी पुनः केएमसीमै २०७२ मा भर्ना भए। एमडीका लागि उनले रोजेको विषय थियो- ‘मनोचिकित्सा’, अर्थात् मान्छेको गडबड भएको मन छाम्ने र बुझ्ने विषय। २०७५ मा उनको एमडी तहको अध्ययन सकियो।
एमडी पूरा गरेपछि २०७५ सालमै डा. सुशील नवौँ तहको कन्सल्टेण्ट साइक्याट्रिस्ट (करार) का रूपमा सुर्खेत प्रादेशिक अस्पताल पुगे। त्यहाँ करिब दुई वर्ष काम गरेपछि २०७८ सालमा उनी लोकसेवा आयोगको परीक्षामार्फत नवौँ तहको कन्सल्टेण्ट साइक्याट्रिस्ट पदमा स्थायी रूपमा नाम निकाल्न सफल भए।
स्थायी भएपछि उनको पोष्टिङ ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा भयो। तर, उनी काजमा काम गर्न पुनः सुर्खेत अस्पतालमै फर्किए। करिब आठ वर्षदेखि उनी सुर्खेत अस्पतालमै निरन्तर सेवारत छन्। हाल उनी पदोन्नति भएर दशौँ तहको वरिष्ठ कन्सल्टेण्ट साइक्याट्रिस्ट पदमा कार्यरत छन्।
सुरुवातमा सुर्खेत पुग्दा मनोचिकित्सासम्बन्धी उपचार सुरु गर्न ठूलो चुनौती थियो। त्यो बेला मानसिक समस्या भएका बिरामीहरू मनोचिकित्सककहाँ जानसमेत हिचकिचाउने गर्थे।
तर, बिस्तारै मानिसहरू शारीरिक जस्तै मानसिक रूपमा पनि अस्वस्थ हुन सकिन्छ र यसको उपचार सम्भव छ भन्ने कुरा स्वीकार्न थालेका छन्। यद्यपि, यो चुनौती अझै पूर्ण रूपमा कम भैनसकेको उनी बताउँछन्।
डा. सुशील अस्पतालमा बिरामीको औषधि-उपचारमा मात्र सीमित छैनन्; विशेषगरी पश्चिम नेपालका दुर्गम भेगहरूमा पुगेर मानसिक स्वास्थ्यका विषयमा जनचेतना जगाउन र योसँग सम्बन्धित नीति-नियम निर्माण तथा कार्यान्वयनमा समेत उत्तिकै सक्रियताका साथ लागिपरेका छन्।
साउन १६, २०८३ शनिबार १२:३६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।