डा. दीपक पौडेलको उपचार अनुभव : मुखको क्यान्सर लागेका पुरुषलाई बचाउन खुट्टाको हड्डी निकालेर नयाँ बङ्गारा बनाइयो
डा. दीपक पौडेल नाक, कान र घाँटी रोग विशेषज्ञ एवं शल्य चिकित्सक हुन्। विशेषगरी टाउको र घाँटीको क्यान्सर भएका बिरामीहरूको औषधि उपचार र जटिल शल्यक्रिया गर्नु उनको पहिलो प्राथमिकता हो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्मथलो बनाएका उनले पूर्वी पहाडका दुर्गम भेगदेखि तराईसम्मका असङ्ख्य बिरामीलाई मृत्युको मुखबाट फर्काएका छन्।
उनै डा. दीपकले आफ्नो चिकित्सकीय पेसाका क्रममा सँगालेका केही अविस्मरणीय र मानवीय संवेदनाले भरिएका अनुभवहरू उकेरासँग साटेका छन्:
जब खुट्टाको हड्डी निकालेर बङ्गारा बनाइयो
डा. दीपक मुखको क्यान्सरले थलिएका एक बिरामीको ज्यान बचाएको प्रसङ्ग कहिल्यै भुल्दैनन्। यो घटना करिब पाँच वर्षअघिको हो।
जनकपुरबाट रिफर भएर आएका ५७ वर्षीय ती बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउँदा उनको मुखमा क्यान्सर निकै फैलिसकेको थियो।
क्यान्सरले गर्दा ती बिरामीको बङ्गारा र मुखको छाला खाइसकेको थियो। उनको अवस्था यति दर्दनाक र नाजुक थियो कि मुखले केही खान समेत कठिन हुन्थ्यो।
परिवारले पनि बिरामी बाँच्ने आशा मारिसकेका थिए। तर, डा. दीपकको टोलीले जोखिम मोलेरै भए पनि शल्यक्रियामार्फत उनलाई बचाउने अठोट गर्यो।
शल्यक्रिया कक्षमा चिकित्सकहरूको टोलीले करिब २० घण्टासम्म अथक मेहनत गर्यो। टोलीले सुरुमा मुखको क्यान्सरयुक्त ट्युमर निकालेर फाल्यो।

त्यसपछि, बिरामीकै खुट्टाको हड्डीको टुक्रा निकालेर मुखको नयाँ बङ्गारा बनाइयो। यो जटिल प्रक्रिया पनि सफल भयो।
शल्यक्रियापछि उनलाई पोस्ट अपरेटिभ हुँदै जनरल वार्डमा सारियो र अन्ततः उनी पूर्ण रूपमा निको भएर घर फर्किए।
ज्यान जोगिएपछि ती पुरुष नियमित रूपमा फलोअपका लागि डा. दीपककहाँ आउने गर्थे। तर, छ महिनाअघि उनी फलोअपमा आएनन्।
अस्पतालले परिवारसँग सम्पर्क गर्दा थाहा भयो- उनको ६ महिनाअघि नै मृत्यु भइसकेको रहेछ।
क्यान्सर त पूर्ण रूपमा ठिक भइसकेको थियो, तर अन्य कुनै आकस्मिक स्वास्थ्य समस्याका कारण उनले संसार छोडेछन्।
त्यत्रो मेहनत गरेर क्यान्सर जिताइएका बिरामीको मृत्युको खबरले डा. दीपकको मन केही समय भारी भयो।
जीवन-मरणको दोसाँधमा ती ६२ वर्षीया आमा
डा. दीपकका लागि अर्को अविस्मरणीय घटना करिब चार वर्षअघिको हो। ६२ वर्षीया ती आमालाई घाँटीको ग्रन्थीको क्षयरोग (टीबी) भएको थियो।

टीबीकै कारण घाँटीमा पिप जमेको थियो र त्यो छातीसम्मै फैलिएको थियो। पिपले गर्दा छाती र रगतका नसाहरू समेत गलिसकेका थिए। उनलाई सास फेर्न र निल्न निकै कष्ट थियो, उनी जीवन-मरणको दोसाँधमा थिइन्।
उनलाई बचाउन घाँटी र छातीको पिप शल्यक्रिया गरेर निकाल्नुपर्ने थियो। शल्यक्रियाअघि सास फेर्न सहज बनाउन घाँटीमा प्वाल पारेर पाइप राख्ने विधि अपनाइयो।
तर, दुर्भाग्यवश सोही क्रममा घाँटीको एउटा रक्तनली फुट्न पुग्यो। अत्यधिक रक्तश्राव भए पनि चिकित्सकको टोलीले तुरुन्तै फुटेको नसा टाल्न सफल भयो। त्यसपछि पिप निकालियो र उपचार सफल भयो।
केही दिनको अस्पताल बसाइपछि ती आमा निको भएर घर फर्किइन्। उनी अहिले पनि बेलाबेला फलोअपमा आउने गर्छिन् र पूर्ण रूपमा स्वस्थ छिन्।
पर्वतदेखि धरानसम्मको डाक्टरी यात्रा
२०३९ सालमा पर्वतको हालको फलेबास नगरपालिका-१, कार्कीनेतामा जन्मिएका दीपक पौडेलले स्थानीय अन्नपूर्ण माध्यमिक विद्यालयबाट २०५४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे।
त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थलीबाट प्लस टु सकेका उनले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए। सन् २००२ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनले इन्टर्नसिपसहित सन् २००८ मा एमबीबीएस अध्ययन पूरा गरे।
एमबीबीएसपछि उनले एक वर्ष चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरे।

थप अध्ययनको धोको बोकेर उनले सन् २००९ मा पुनः बीपी प्रतिष्ठानमै छात्रवृत्तिमा नाक, कान, घाँटी विषयमा स्नातकोत्तर सुरू गरे र २०१२ मा पूरा गरे।
एमएसपछि उनले सोही प्रतिष्ठानमा नाक, कान, घाँटी विशेषज्ञ (सर्जन) एवं सिनियर रेजिडेन्टका रूपमा काम गरे।
सन् २०१५ मा उनी भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेज पुगे र त्यहाँ दुई वर्ष ‘हेड एण्ड नेक अंको सर्जरी’मा फेलोसिप गरे।
सन् २०१७ मा नेपाल फर्किएपछि उनी निरन्तर बीपी प्रतिष्ठानमै सेवारत छन्। हाल उनी त्यहाँ एसिस्टन्ट प्रोफेसर हुँदै एडिस्नल प्रोफेसरको भूमिकामा कार्यरत छन्।
चिकित्सकीय धर्म र सक्रियता
बिरामीको उपचार र शल्यक्रियासँगै चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु र अनुसन्धान गर्नु डा. दीपकको दैनिकी हो।
उनका ३ दर्जनभन्दा बढी वैज्ञानिक आलेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्ना खोजहरू प्रस्तुत गरिसकेका छन्।
एक क्यान्सर सर्जनका रूपमा उनको पहिलो प्राथमिकता क्यान्सरमुक्त बनाएर बिरामीको ज्यान बचाउनु र रोग बल्झिने जोखिम कम गर्नु हो।

शल्यक्रियापछि बिरामीको बोल्ने, निल्ने र सास फेर्ने क्षमतासँगै अनुहारको बनावटलाई समेत सुरक्षित राख्न उनी प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरीमा विशेष ध्यान दिन्छन्।
यसबाहेक, कानको जाली फेर्ने, कानको हड्डी खिइने रोगको शल्यक्रिया, कान पाक्ने, नसुन्ने र कान दुख्ने जस्ता समस्याको उपचारमा पनि उनी उत्तिकै सक्रिय छन्।
नाक, कान वा घाँटीमा कुनै पनि समस्या देखिएमा हेलचेक्राइँ नगरी तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिन डा. दीपक सुझाव दिन्छन्।
उनका अनुसार समयमै उपचार भएमा क्यान्सर जस्तो जटिल रोगबाट पनि बच्न सकिन्छ।
साउन २, २०८३ शनिबार ११:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।