राप्रपा प्रदेश सरकारमा अनिच्छुक

राप्रपा प्रदेश सरकारमा अनिच्छुक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अहिलेका प्रदेश सरकारहरू नेपाली कांग्रेस, एमाले र नेकपाबीचकै सहमतिमा निर्माण हुनुपर्छ भन्ने राप्रपाको धारणा छ। केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सभा सदस्य तथा प्रदेश संसदीय दलहरूलाई पार्टीको पूर्वस्वीकृतिविना सत्ताकेन्द्रित गतिविधिमा नलाग्न निर्देशन दिएको छ।

उनले भने, "प्रदेश सरकारहरूको सम्बन्धमा वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर नै निर्माण गरून् भन्ने राप्रपाको धारणा रहेको छ।"

यद्यपि, भविष्यमा प्रदेश सरकारका सन्दर्भमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त कदम चाल्ने सम्पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ।

यसैगरी, बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तयारी समितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ।

साउन २०, २०८३ बुधबार १८:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।