राइड सेयरिङ एपमार्फत लागुऔषध कारोबार गर्ने गिरोहका तीन जना पक्राउ
काठमाडौं : राइड सेयरिङ एपको प्रयोग गरेर लागुऔषधको कारोबार गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सप्तरीबाट खैरो हेरोइन काठमाडौं ल्याई नयाँ बसपार्क क्षेत्रस्थित एक गेस्ट हाउसबाट बिक्री गर्दै आएको समूहका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-७ का ३४ वर्षीय हित बहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका-७ का १९ वर्षीय रामकृष्ण शर्मा र धनुषाको जनकनन्दिनी गाउँपालिका-३ का २१ वर्षीय धनञ्जय पासवान रहेका छन्। पासवान आइटी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्।
ब्यूरोका अनुसार पासवानले सप्तरीबाट काठमाडौं आउने हाइस गाडीमा भुजाको बोराभित्र खैरो हेरोइन लुकाएर पठाउने र आफैँ मोटरसाइकलमा पछ्याउँदै काठमाडौंसम्म ल्याउने गरेका थिए। अनुसन्धानबाट काठमाडौंमा लागुऔषध खरिद गर्न चाहने ग्राहकलाई भक्तपुरमा बस्दै आएका शर्मा मार्फत इनड्राइभ एपबाट रकम पठाउन लगाइने गरेको खुलेको छ। रकम प्राप्त भएपछि शर्माले पुनः इनड्राइभ बुक गरी लागुऔषध ग्राहकसम्म पुर्याउने व्यवस्था मिलाउने गरेका थिए।
भक्तपुरमा डेरा गरी बस्ने रामकृष्ण शर्माले ओसारपसारका लागि इनड्राइभमार्फत लागुऔषधको डेलिभरी गराउने गरेको र उक्त लागुऔषध गोंगबु मित्रनगरस्थित गेस्ट हाउसमा बसेर माइक्रोबसका चालक समेत रहेका हित बहादुर बस्नेतले बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
पाँच पटकसम्म लागुऔषधको किनबेच हुँदा समेत बेच्ने र किन्नेहरूले भने एकअर्कासँग प्रत्यक्ष भेटेका थिएनन्।
उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र ५० हजार नगद रुपैयाँ बरामद गरेको छ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।
साउन २०, २०८३ बुधबार १७:०३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।