कलाकार शेखरको हिजोको कुरा : पैसा हालेर हिरो बन्नु थिएन, त्यसैले नाटकमै रमाइरहेँ

कलाकार शेखरको हिजोको कुरा : पैसा हालेर हिरो बन्नु थिएन, त्यसैले नाटकमै रमाइरहेँ

काठमाडौं : नेपाली रंगमञ्चमा जमेका रंगकर्मी हुन्, शेखर चापागाइँ। फिल्मको पर्दामा भन्दा उनलाई रंगमञ्चमा काम गर्न रमाइलो लाग्छ। उनले फिल्मको पर्दामा भन्दा बढि नाटकमा काम गरेका छन्। 

अहिलेसम्म उनले ७० हाराहारी नाटकमा अभिनय गरिसकेका छन्। विस ४३ सालमा विराटनगरको आरोहण गुरुकुलबाट नाटक यात्रा थालेका ६५ वर्ष कलाकार चापागाइँले सुनिल पोखरेलसँगको सहकार्यमा नै २५ वर्ष नाटकमा बिताए। उनी भोजपुरको दिङ्लामा जन्मिए, हुर्किए र उनका मावल विराटनगर भएकाले बेला बेलामा गइरहन्थेँ। 

भोजपुरको दिङ्लामा जन्मिएका शेखर २०३५ सालमा एसएलसी उत्तीर्ण गरेपछि विराटनगर झरेका हुन्। अभिनयमा लाग्नुअघि उनको परिचय एउटा खेलाडीको रूपमा थियो। ह्यान्डबलका राष्ट्रिय खेलाडी उनले एसियन च्याम्पियनसिपसम्म खेलेका छन्। खेलकुदबाट विश्राम लिँदै गर्दा रङ्गमञ्चमा प्रवेश गरेका उनले ‘पुतलीको घर’ नाटकमा अभिनय गरेको थिए। जुन नाटक ८ वर्षसम्म मञ्चन गरिएको थियो।

फिल्ममा उनको उपस्थिति संख्यात्मक रूपमा कम भए पनि अर्थपूर्ण छन्। उनले ‘परिभाषा’, ‘चोर चण्डाल’ र चर्चित टेलिश्रृङ्खला ‘अविरल बग्दछ इन्द्रावती’ जस्ता प्रोजेक्टमा काम गरिसकेका छन्। उनी संख्या बढाउनकै लागि फिल्म खेल्ने पक्षमा छैनन्। उनी भन्छन्, "मलाई मन परेको र चरित्र सुहाउने फिल्ममा मात्र काम गर्छु।"
 
आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठी बादल’मा उनी एउटा यस्तै सशक्त भूमिकामा देखिँदै छन्। रङ्गमञ्च र खेलकुदको लामो यात्रा तय गरेका शेखर चापागाइँले आफ्ना अनुभव र भोगाइहरू उकेराका कोमलसँग यसरी साटे :

गाडी नहुँदा कि त पैदल, कि त प्लेन चढेर मामाघर
मेरो जन्म विस २०१८ सालमा भोजपुरको दिङ्लामा भएको हो। दिङ्ला, नेपालमा दरबार हाईस्कुलपछि सबैभन्दा पहिलो संस्कृत विद्यालय खुलेको ठाउँ हो। म जन्मेको ठाउँलाई त्यतिबेला मुलपानी गाउँ पञ्चायत भनिन्थ्यो। मैले त्यो विद्यालयमा भने पढिनँ, गाउँकै अरुण माध्यमिक विद्यालयबाट ६ कक्षा उत्तीर्ण गरेँ। त्यसपछि म विराटनगर आएँ, जहाँ मेरो मावल घर छ। त्यहाँको राधाकृष्ण माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना भएँ। त्यो स्कुलमा १० कक्षा पढ्दापढ्दै फेरि घर फर्किएँ। घर गएपछि विराटनगर फर्किनै मन लागेन।

त्यतिखेर विराटनगरमा नयाँ शिक्षा लागू भइसकेको थियो भने भोजपुरको दिङ्लामा पुरानै शिक्षा पद्धति थियो। त्यही भएर होला, मैले गाउँकै स्कुलबाट एसएलसी दिएँ। उत्तीर्ण भएपछि २०३५ सालमा फेरि विराटनगर आएँ। त्यतिबेला एसएलसी पास गरेपछि जागिर पाउन गाह्रो थिएन, तर खान-लाउनका लागि घरको अवस्था ठिकठाकै भएकाले जागिरतिर मेरो खासै रुचि गएन।

विराटनगर आएपछि म खेलकुदमा लागेँ। त्यतिबेला भोजपुरबाट विराटनगर आउन पैदल हिँड्नुपर्थ्यो। विराटनगरबाट तुम्लिङटारसम्म प्लेनमा गएपछि त्यहाँबाट घर पुग्न फेरि हिँड्नुपर्थ्यो। गाडी चल्दैनथ्यो, त्यसैले हिँड्नुको विकल्प थिएन। अहिलेको तुलनामा त्यो समय निकै कष्टकर भए पनि हिँड्नु सामान्य मानिन्थ्यो।

खेलकुदपछि अभिनयमा फड्को
मेरो अभिनय यात्रा २०४३ सालबाट सुरु भएको हो। २०४४ सालदेखि भने म अलि बढी सक्रिय भएँ। ४३ सालमा एउटा नाटक मञ्चनका लागि रिहर्सल गरियो, तर मञ्चन हुन सकेन। त्यतिबेला म हेन बलको राष्ट्रिय खेलाडी थिएँ र एसियन च्याम्पियनसिपसम्म खेलेको छु। नाटकमा लाग्नुअघि म खेलकुदमै पूर्ण रूपमा सक्रिय थिएँ। खेलकुद खेलाडीका लागि सीमित समयको यात्रा मात्र हो, किनभने उमेर ढल्किँदै गएपछि पहिलेको जस्तो ऊर्जा र शक्ति शरीरले दिन सक्दैन। २५-३० वर्ष पुगेपछि बिस्तारै अवकाश लिनुपर्ने हुन्छ।

विराटनगरमा खेलाडी र कलाकारहरूको जमघट हुने तथा चिया पिउने एउटै पसल थियो। खेलाडीहरू रंगशालामा हुन्थे भने नाट्यकर्मी र कलाकारहरू सभागृहमा। भेटघाट हुने चोक र चिया पसल एउटै भएकाले धेरै कलाकारहरूसँग हाम्रो चिनजान बाक्लो थियो।

त्यो बेलाका एक कलाकार भैरव क्षेत्री मेरा गुरु पनि हुनुभयो। उहाँ पहिलेदेखि नै रङ्गमञ्चमा हुनुहुन्थ्यो र उहाँले नै मलाई नाटकमा अभिनय गराउनुभयो। खेलकुदबाट बिस्तारै बाहिरिने समय आउँदै गर्दा उहाँहरूले मलाई नाटकमा आउन आग्रह गर्नुभयो। सोही समयमा अर्का राम्रा नाट्यकर्मी वसन्त भट्ट पनि हुनुहुन्थ्यो। यो ४३ सालअघिको कुरा हो। पछि हामीले उहाँलाई खेलाडी पनि बनायौं। उहाँहरूसँगको सामीप्यता बढेपछि शेखर, 'अब तिमी कलाकार बन्नुपर्छ' भन्न थाल्नुभयो। त्यसपछि मेरो मन रङ्गमञ्चतर्फ मोडियो।

४५ सालमा म उहाँहरूसँगै विराटनगरको आरोहण गुरुकुलमा नाटक गर्न थालिसकेको थिएँ। त्यो टोलीमा वसन्त भट्ट, भैरव क्षेत्री, विशाल पोखरेल लगायत हुनुहुन्थ्यो। मैले पहिलो पटक विराटनगरको सभागृहमा ‘यहाँका माटा, बोटबिरुवा र मालीहरू’ नामक नाटकमा अभिनय गरेँ। यो मेरो पहिलो नाटक थियो। यो नाटक लिएर हामी २०४५ सालमा काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सवमा पनि सहभागी भयौं। एकेडेमीमा भएको उक्त महोत्सवमा नाटकले कुनै पुरस्कार त पाएन, तर निकै तारिफ बटुल्यो। त्यो महोत्सवमा सहभागी भएपछि मेरो खेलकुदको यात्रा कम हुँदै गयो र अभिनयमा सक्रियता बढ्यो। यसरी म पूर्णतः रङ्गमञ्चतर्फ मोडिएँ र काठमाडौंको आरोहण गुरुकुलमा समेत अभिनय गर्न थालेँ।

नाटकबाट जीविकोपार्जन: कल्पनाभन्दा बाहिरको कुरा
मैले अभिनय सुरु गर्दा नाटक गरेरै जीविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिरको थियो। त्यतिबेला नाटकमा अभिनय गरेर पैसा कमाइँदैनथ्यो। जब सुनिल पोखरेल नाटक पढेर नेपाल फर्कनुभयो र आरोहण गुरुकुल स्थापना गर्नुभयो, त्यसपछि मात्र अवस्था बिस्तारै फेरिन थाल्यो। 

त्यो समयमा नाटक मञ्चनका लागि सदस्यहरू बनाएर मासिक रूपमा रकम उठाउने गरिन्थ्यो। त्यसरी उठेको पैसाले नै पोस्टर छाप्ने र नाटकका लागि आवश्यक सामग्री जुटाउने काम हुन्थ्यो। नाटकलाई पनि जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण सुनिलजीले नै प्रस्तुत गर्नुभएको हो।

सुरुवाती दिनहरू निकै कठिन थिए, तर बिस्तारै नेपालमा नाटकघरहरू खुल्न थाले र कलाकारहरू व्यावसायिक बन्दै गए। अहिले नेपाली नाटकले जुन उचाइ बटुलेको छ, त्यसको श्रेय सुनिल पोखरेललाई नै जान्छ। २०-२५ वर्ष अघिसम्म नाटक गरेर पैसा पाइँदैनथ्यो, जुन नाट्यकर्मीहरूका लागि निकै चुनौतीपूर्ण अवस्था थियो।

मैले हालसम्म करिब ६०-७० वटा नाटकमा अभिनय गरिसकेको छु। मेरो समयमा अहिलेको जस्तो निरन्तर नाटक मञ्चन हुने वातावरण थिएन। मैले सुनिल पोखरेलसँग करिब २५ वर्ष सँगै काम गरेँ। उहाँको सहायक (असिस्टेन्ट) भएर पनि धेरै समय बिताएँ। बाँच्नकै लागि हामीले कतिपय 'विकासे' (चेतनामूलक) नाटकहरू पनि गर्यौं। कतिपय काम चित्त बुझेर गरियो त कतिपय परिस्थितिवश गर्नुपर्यो। त्यो समयको तुलनामा अहिले धेरै राम्रो छ। 

अहिलेका भाइबहिनीहरू इमानदार भएर लागिरहेका छन् र नाटकबाटै आफ्नो गुजारा चलाउन सफल भएका छन्। अहिले आधुनिक र महँगा लाइटहरूको प्रयोग गरेर नाटक गरिन्छ, जुन सकारात्मक पक्ष हो। हाम्रो पालामा नाटक देखाउने ठाउँ कि त नाचघर हुन्थ्यो कि त प्रज्ञा भवन। अरू विकल्प थिएनन्। सभागृहमा उपलब्ध सामान्य लाइटहरू मिलाएरै हामी काम चलाउँथ्यौं।

निशा शर्मासँग ‘पुतलीको घर’ पछि पुनः सहकार्य
निशा शर्मा (भाउजू) र मैले झन्डै २५ वर्षको अन्तरालपछि फेरि सँगै काम गर्ने मौका पाएका छौं। उहाँसँग मैले आरोहण गुरुकुलमा ‘पुतलीको घर’ नाटकमा अभिनय गरेको थिएँ। फिल्ममा त हामीले सँगै काम गर्ने अवसर पाएका थिएनौं, र उहाँले फिल्ममा काम नगरेको पनि करिब ३२ वर्ष भइसकेको थियो।

हामीले ‘पुतलीको घर’ नाटक आठ वर्षसम्म मञ्चन गर्यौं। यो नाटक नेपालमा मात्र सीमित राखेनौं; हामीले यसलाई नर्वे, डेनमार्क, रुस, भारत, बंगलादेशलगायत धेरै देशका महोत्सवहरूमा पुर्यायौं। डेनमार्कमा यो नाटक मञ्चन गर्दाको एउटा प्रसङ्ग मलाई अझै सम्झना छ। त्यहाँ धेरै देशका नाटकहरू प्रदर्शन भइरहेका थिए। हाम्रो नाटक हेरेपछि एक जना नर्वेली निर्देशकले भन्नुभएको थियो, “मैले विश्वका थुप्रै नाटकहरू हेरेको छु, तर यदि मैले सय वटा शोहरूमध्ये उत्कृष्ट एउटा छान्नुपर्यो भने नेपालको यो ‘पुतलीको घर’लाई छान्छु।” 

उहाँलाई हाम्रो प्रस्तुति असाध्यै मन परेको थियो। पछि यो नाटक काठमाडौंको थापागाउँस्थित गुरुकुलमा पनि मञ्चन भयो। त्यही नाटकपछि अहिले आएर फिल्म ‘एक मुठी बादल’मा निशा भाउजूसँग पुनः अभिनय गर्ने सुखद अवसर मिलेको छ।

फिल्ममा हिरोको अफर, पैसा हाल्न नमान्दा आउट
मलाईफिल्मप्रति कहिल्यै त्यति ठूलो रुचि भएन। फिल्ममा अफर आउने बित्तिकै दौडिहाल्ने वा पर्दामा अनुहार देखाइहाल्ने रहर ममा कहिल्यै रहेन, जुन आज पनि छैन। फिल्मकै कुरा गर्दा मलाई हिरोका लागि अफर नआएको पनि होइन। तर, विभिन्न कारणले मैले ती फिल्ममा काम गरिनँ।

२०५० सालभन्दा अगाडिको कुरा हो। एक जना निर्माताले मलाई फिल्ममा हिरो खेलिदिन आग्रह गरे। मलाई अफर गर्ने ती व्यक्तिले धेरै निर्देशकहरूलाई जन्माइसक्नुभएको थियो। फिल्मबारे सबै कुरा भयो, तर अन्त्यमा उहाँले 'अलिकति पैसा तिमी आफैँ हाल अनि खेल' भन्नुभयो। काम गरेबापत पारिश्रमिक दिनु त कता हो कता, उल्टै पैसा मागेपछि मलाई त्यो फिल्ममा काम गर्ने जाँगर चलेन।

यो पहिलो घटना मात्र थिएन। यसअघि पनि केही फिल्ममा विभिन्न बहानामा खेलाउँछु भनेर अन्त्यमा मलाई निकालिएको थियो। मलाई फिल्मभन्दा नाटकमा बढी आनन्द आइरहेको थियो, त्यसमाथि निर्माता-निर्देशकहरूको यस्तो व्यवहारले गर्दा फिल्मप्रति मेरो वितृष्णा झन् बढ्यो।

मैले फिल्ममा कामै नगरेको भने होइन। सानातिना चरित्रहरूमा अभिनय गरिसकेको थिएँ। ‘परिभाषा’, ‘चोर चण्डाल’ जस्ता फिल्म र त्यतिबेलाको निकै चर्चित सिरियल बद्री अधिकारीको ‘अविरल बग्दछ इन्द्रावती’ लगायत थुप्रैमा काम गरिसकेको थिएँ। युवावस्थामा कलाकार बन्ने रहर त ममा पनि अलिअलि थियो होला, फिल्मका प्राविधिक कुराहरू बुझ्ने इच्छा पनि थियो। कता कता हिरो बन्ने सोच पनि नआएको होइन। तर, अभिनयको पैसा पाउनुको साटो उल्टै हाल्नुपर्ने कुराले मलाई सोच्न बाध्य बनायो- के पैसा हालेरै म हिरो बन्छु ? त्यसपछि मैले फिल्मलाई छाडेर नाटकलाई नै निरन्तरता दिएँ।

आरोहण गुरुकुल भत्किएपछिको १५ वर्षे विश्राम
एक समय यस्तो आयो, जब फिल्म र नाटकबाट मात्रै जीविकोपार्जन गर्न कठिन भयो। त्यसपछि म नाटक र फिल्मका साथीभाइहरूसँग सम्पर्कविहीन जस्तै भएर कुरियर व्यवसायमा लागेँ। हिरो बन्ने अफरहरू त पाएको थिएँ, तर गरिनँ। यो मेरो भाग्य थियो या घमण्ड, म भन्न सक्दिनँ, तर म हिरो बन्न सकिनँ। फिल्म क्षेत्रको कार्यशैली देखेर मलाई विरक्त पनि लागेको थियो। 'यो लाइन मेरो लागि होइन' भन्ने निष्कर्षमा पुगेर मैले लामो समय कुरियरकै कामलाई निरन्तरता दिएँ र कला क्षेत्रबाट लगभग ओझेल परेँ।

धेरै समयपछि, एक जना नजिकको भाइ (जो कास्टिङ निर्देशकका रूपमा काम गर्दै थिए)ले "दाइ, 'मोक्ष' फिल्ममा तपाईंलाई एउटा भूमिकाका लागि खोजिरहेका छौं" भनेर खबर गरे। कोरोना महामारीभन्दा केही समयअघि मैले त्यो फिल्ममा काम गरेँ। त्यसपछि ‘मौन’मा अभिनय गर्ने अवसर मिल्यो। नाटकबाट टाढिएर बसेको मलाई गुरुकुलकै भाइबहिनीहरूले 'तपाईंले खेलिदिनै पर्छ' भनेर आग्रह गरेपछि म पुनः अभिनयमा फर्किएँ। यहीँबाट मेरो 'चरित्र अभिनेता'को यात्रा सुरु भयो। फिल्ममा व्यस्त हुन थालेपछि मैले आफ्नो कुरियरको काम पनि बन्द गरेँ।

यसपछि मैले अनुप बरालको निर्देशनमा मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘महाभोज’मा काम गरेँ। यो नाटक १५ वर्षको लामो अन्तरालपछि मैले गरेको पहिलो नाटक थियो। नाटक सफल भयो, तर त्यसको लगत्तै कोरोनाको लहर आयो। कुरियरको काम छोडिसकेको थिएँ, त्यही भएर पनि अब म पूर्ण रूपमा कलाकारितामै होमिने निर्णयमा पुगेँ। अहिले मलाई मन पर्ने र चित्त बुझ्ने चरित्रहरू मात्र गरिरहेको छु। हालै मात्र मैले निखिल उप्रेती र वर्षा सिवाकोटीसँग फिल्म ‘कस्तूरी’मा अभिनय गरेँ। यसबीच धेरै अफरहरू आए, तर मन नलागेका कामहरू मैले गरिनँ।

अहिले मलाई के लाग्छ भने, आज म जसरी स्वतन्त्र भएर घुमफिर गर्न पाएको छु, सायद त्यतिबेला 'मार्केटिङ' गरेर स्टार बनेको भए यो सम्भव हुने थिएन। म धेरै कुरामा बाँधिनुपर्थ्यो होला। खल्तीमा पैसा भए पनि नभए पनि एउटा नक्कली 'स्ट्यान्डर्ड' मेन्टेन गर्नुपर्ने बाध्यता हुन्थ्यो होला। अहिले मलाई निकै आनन्द छ। चिन्नेहरूले शेखरजी, शेखर भाइ वा दाइ भनेर सम्बोधन गर्छन्। 'यो चरित्रमा यो मान्छे फिट हुन्छ' भनेर मलाई खोज्दै आउँछन्। चित्त बुझ्यो भने काम गर्छु, नत्र थोरै कुरामा पनि चित्त बुझेन भने पैसाकै लागि मात्र काम गर्दिनँ।

आफ्नै जीवनसँग मेल खाएपछि ‘एक मुठी बादल’मा 
मलाई‘एक मुठी बादल’सँग सामिप्यराज तिमिल्सेनाले जोड्नुभएको हो। त्यतिबेला मलाई अर्को एउटा फिल्मको अफर आइरहेको थियो, तर भित्रैदेखि त्यो काम गर्ने उत्साह मिलिरहेको थिएन। त्यत्तिकैमा सामिप्यको फोन आयो। उहाँले भन्नुभयो, "दाइ एउटा राम्रो फिल्म छ, हजुरले काम गर्नुपर्यो, भेटेर कुरा गरौं।"

मैले पनि "हुन्छ, भेटौँ, राम्रो रहेछ भने गरौँला नत्र नगरौँला" भन्ने सोचेर उहाँलाई भेटेँ। जब उहाँले मलाई मेरो चरित्रको बारेमा सुनाउनुभयो, मलाई तुरुन्तै लाग्यो- ओहो! यो त मैले गर्नैपर्ने भूमिका हो। योभन्दा अघि पनि ३-४ वटा फिल्मको कुरा भएको थियो, तर चित्त नबुझेर छाडिदिएको थिएँ।

‘एक मुठी बादल’मा मेरो जुन चरित्र छ, त्यसमा मेरा व्यक्तिगत जीवनका धेरै कुराहरू मेल खान्छन्। मेरो आफ्नै भोगाइ र स्वभावसँग त्यो पात्र धेरै नजिक भएकाले नै मैले यो फिल्ममा काम गर्ने निर्णय गरेको हुँ।

वैशाख १७, २०८३ बिहीबार २०:०४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।