सिनेमाको काँधमा राजनीति : आन्दोलन ‘हिट’ जेनजी उचाल्न बनाएको फिल्म फ्लप
कलामा राजनीतिक स्वार्थ घुस्नु मनोरञ्जनको दृष्टिकोणले घातक मानिन्छ। तर, पछिल्लो समय नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दल तथा समूहहरूले आफ्नो प्रभाव विस्तार गर्न कलाकार र चलचित्र (सिनेमा) लाई प्रमुख साधन बनाइरहेका छन्। भारतमा नरेन्द्र मोदी हुन् या नेपालमा बालेन्द्र शाहको समूह, दुवैले आफ्नो राजनीतिक प्रभाव र एजेन्डा स्थापित गर्न कलाकार र चलचित्र क्षेत्रलाई मुख्य हतियार बनाएको देखिन्छ।
उता भारतमा मोदी अनि विजेपीले ठूला बजेटका फिल्म, ऐतिहासिक/राजनीतिक बायोपिक, राष्ट्रवाद केन्द्रित फिल्मलाई आफ्नो राजनीतिक हतियार बनाइरहेका छन्। त्यसैको सिको गर्दै यता वालेन्द्र समूहले पनि फिल्म, हलमा सस्तो राष्ट्रियताको अडान, र्याप संगीत, युवा सेलिब्रेटीको भरपुर प्रयोग गरे र गरिरहेका छन्। भोला अधिकारीको रिपोर्ट :
भारतको केन्द्रीय सत्तामा भारतीय जनता पार्टीको उदयसँगै प्रचारका लागि मुख्य हतियार बन्यो फिल्म । सरकारले अगाडि बढाएको सामाजिक अभियान मात्रै हैन पाकिस्तान विरोधी देशभक्ति अनि हिन्दुवादी छवि निर्माण गर्न पनि फिल्मको सहयोग लिइयो।
विशेष गरी भारतीय जनता पार्टीको विचारधारासँग मिल्दोजुल्दो फिल्महरू र पार्टीलाई खुल्ला समर्थन गर्ने कलाकारहरूको प्रभाव भारतीय समाज र राजनीतिमा बढ्दै गयो ।
त्यसको प्रभावले बिजेपी सरकारका योजनाहरूलाई प्रवर्द्धन गर्ने वा पार्टीको राजनीतिक एजेन्डालाई बल पुऱ्याउन 'ट्वाइलेट: एक प्रेम कथा' बन्यो । यो बिजेपीको स्वच्छ भारत अभियानलाई सघाउन बनेको थियो । 'मिसन मंगल' जस्ता फिल्महरूले पनि बिजेपी सरकारका नीतिहरूलाई जनतासम्म पुऱ्याउन सहयोग गरे ।
राष्ट्रवाद र इतिहास विषयमा 'उरी: द सर्जिकल स्ट्राइक', 'तान्हाजी', र 'सम्राट् पृथ्वीराज' जस्ता फिल्महरूले बिजेपीको बलियो राष्ट्रवाद छवि र हिन्दु गौरवको भाष्यलाई अगाडि सारे ।
कश्मीरबाट हिन्दु लखेटिनुमा मुस्लिमहरूको भूमिका रहेको देखाउन 'द कश्मीर फाइल्स' अनि मुस्लिम जेहादलाई पुष्टि गर्न 'द केरला स्टोरी' जस्ता विवादित फिल्महरू बने । यी फिल्महरूलाई बिजेपी शासित राज्यहरूमा 'ट्याक्स फ्री' गरियो र स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बिजेपी टिम यसको प्रचारमा लागे ।
यति मात्रै हैन कलाकारहरूको ठूलो समूह नै सरकारको समर्थनमा लागे । बिजेपीलाई समर्थन गर्ने कलाकारहरूले सामाजिक सञ्जाल र चुनावी र्यालीमार्फत पार्टीको प्रभाव बढाउने काम गरे ।
कंगना रनौत, हेमा मालिनी, रवि किशन, मनोज तिवारी, र अरुण गोविल जस्ता कलाकारहरू प्रत्यक्ष राजनीतिमा आएर बिजेपीको पक्षमा जनमत बटुल्न सहयोग गरे । अक्षय कुमारले प्रधानमन्त्रीको अन्तर्वार्ता लिनेदेखि सरकारका एजेन्डा मिल्ने फिल्महरू बनाएर 'सफ्ट पावर' को रूपमा काम गरे भने अनुपम खेर सरकारका आलोचकहरू विरुद्ध कडा टिप्पणीमा सक्रिय भए ।
यस्ता फिल्म र कलाकारहरूको सक्रियताले दर्शकहरूमा राजनीतिक रूपमा स्पष्ट विभाजन ल्याउने भूमिका खेले । सामाजिक सञ्जालमा यी विषयहरूमा पक्ष-विपक्ष बहस भए ।
नेपालमा भित्रिएको मोदी मेनिया
कलाको माध्यमबाट राजनीतिलाई जनमानसमा सामान्यीकरण गर्न बिजेपी सफल देखियो । फिल्महरूले चुनावी एजेन्डा सेट गर्न मद्दत पुऱ्याए । सरकारको आलोचना गर्ने कलाकारहरू अनुराग कश्यप, स्वरा भास्करले काम नपाउने वा 'ट्रोल' हुने समस्या भोग्नुपर्यो ।
नेपालमा राजनीतिमा कलाको अभ्यास पञ्चायतकालमा राम्रैसँग भएको थियो । त्यो बेलामा दरबारको प्रत्यक्ष सहभागीतामा राजा महेन्द्र शाहको पञ्चायती शासनको मोडलको प्रचारका लागि फिल्महरू बनेका थिए । त्यो सफ्ट प्रोपोगान्डाले पञ्चायतको आयु त बढायो तर टिकाउन सकेन ।
२०७९ मा राजनीतिमा स्वतन्त्र उम्मेदवारको रूपमा वालेन्द्र शाहको उदयसँगै भारतमा जस्तै कलाकारहरू उनको पक्षमा खुलेर सक्रिय भए नै, भारतमा बिजेपीले सिनेमालाई मनोरञ्जनको साधन मात्र नभई 'वैचारिक हतियार' को रूपमा जसरी प्रयोग गर्यो त्यही शैलीमा नयाँ राजनीतिकको नाममा वालेन्द्रको पक्षमा कलाकार खुल्ने र फिल्म निर्माण हुनेक्रम बढ्यो ।
बालेन स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार भएपछि प्रारम्भमा उनी संलग्न र्यापर समुदायले समर्थन गरेको थियो । पछि उनको पक्षमा कलाकारहरू समेत खुल्दै गए । निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतकाहरु सामाजिक सञ्जालमा बालेनको प्रचारमा सक्रिय भएका थिए । स्वस्तिमाले त चुनाव प्रचार सकिएको मौन अवधिमा समेत सामाजिक सञ्जालबाट बालेनको प्रचार गरेर आलोचित भएकी थिइन् ।
बालेन काठमाडौं महानगरको मेयरको रूपमा सक्रिय रहँदा उनको एजेन्डालाई सघाउन केही फिल्म निर्माता र निर्देशकहरुले नयाँ राजनीतिक अभियानको आवरणमा बालेनको अजेन्डा फैलाउन सक्रिय देखिए । त्यसमा जो आफैँ निर्माता र निर्देशक समेत हुन् उनीहरु बढी मुखरित देखिए ।
त्यसमा सबैभन्दा सक्रिय देखिए निर्माता तथा निर्देशक निश्चल बस्नेत । बस्नेतले नयाँलाई राजनीतिमा अगाडि बढाउने अभियानको कथा समेटेर फिल्म दिमाग खराब बनाए जुन सिस्टम विरुद्धको विद्रोहको सन्देश समेटिएको थियो।
यो फिल्मले एउटा सामान्य नागरिक कसरी राज्यको शक्ति र भ्रष्टाचारको विरुद्धमा उभिन बाध्य हुन्छ भन्ने देखाउने प्रयास गरेको थियो । बालेन स्थानीय तहको राजनीतिबाटै उदाएका थिए । यसमा पनि मुख्य पात्रलाई वडाध्यक्षको रूपमा देखाइएको थियो । बालेनले पनि राजनीतिमा आउँदा "सिस्टमको दिमाग खराब भएको छ, अब यसलाई सफा गर्नुपर्छ" भन्ने भाष्य बनाएका थिए। यो फिल्मले पनि यही थिम बोकेको थियो ।
अर्को फिल्म आयो 'लाज शरणम्' र 'छक्का पन्जा ५'। यी दुई फिल्ममध्ये लाज शरणम् टिमले फिल्मको प्रचारका लागि बालेनलाई र्याप गीत नै गाउन लगाएका थिए । त्यसले फिल्मको प्रचारमा केही हदसम्म सघाए पनि फिल्म व्यावसायिक रूपमा पूर्ण सफल भने हुन सकेन । यो फिल्मले पनि राजनीतिक नेतृत्वको नैतिक पतनलाई चित्रण गरेको थियो । जसले गर्दा बालेन जस्तो 'नयाँ र सफा' छवि भएको पात्रको पक्षमा वकालत गरेको थियो ।
छक्का पन्जा ५ ले राजनीतिमा हुने दाउपेच, कुर्सीको खेल र आम जनताको निरीहतालाई देखाएको थियो। दीपकराज गिरी र दीपाश्री निरौलाका फिल्महरूले सधैँ राजनीतिलाई व्यङ्ग्य गर्दै आएका छन्। बालेनको उदयको समयमा यस्ता फिल्महरू आउँदा "अब पुराना दल र पात्रहरूलाई लाज लाग्नुपर्ने" भन्ने जनमत निर्माण गर्न बल पुग्ने नै भयो । तर यो समूह बालेनको पक्षमा राजनीतिक रूपमै सक्रिय भने भएन ।
'झरी पछिको इन्द्रेणी' बनाउँदा बनाउँदै जेनजी आन्दोलन भयो । भदौ २३ र २४ मा जेनजी आन्दोलन भए पनि यो फिल्मको कथा युवालाई विद्रोहमा उक्साउने उद्देश्यले बनाइएको थियो । फिल्मको निर्माणमा बालेन शाहको टिम नै संलग्न थियो । यसको निर्मातामा बालेनको मुख्य सहयोगी कुमार बेनको परिवारै जोडिएका थिए । निर्देशकको रूपमा मेयरको उम्मेदवार घोषणा गरे देखिकै पाँडेका रूपमा परिचित अर्जुन घिमिरे जोडिएका थिए ।
फिल्म निर्माणको उद्देश्य जेनजी आन्दोलन जस्तै युवाहरूको आन्दोलन गराउनु देखियो । तर फिल्म रिलिज हुनु अगाडि नै जेनजी आन्दोलन भयो । फिल्म जेनजी आन्दोलनपछि रिलिज भयो । बालेनको र्याप गीत समेटिएको यो फिल्मको निर्माण निकै कमजोर रूपमा भएकाले आर्थिक रूपमा भने यो सोचे जस्तो सफल हुन सकेन ।
निर्वाचनको बिचमै युट्युब हतियार
यस भन्दा अगाडि पञ्चायतकालको केही चर्चा गरौँ । नेपालमा पञ्चायत काल २०१७ देखि २०४६ सम्ममा सिनेमालाई मनोरञ्जनभन्दा बढी 'राष्ट्र निर्माण' र 'पञ्चायती विचारधारा' फैलाउने सशक्त माध्यमका रूपमा प्रयोग गर्ने प्रयास भएको थियो ।
त्यस समयमा सरकारले नै फिल्म निर्माणमा लगानी गर्ने र कडा सेन्सरसिप लगाउने भएकाले बनेका अधिकांश फिल्महरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पञ्चायत र राजसंस्थालाई सघाउ पुऱ्याएका थिए।
पञ्चायतलाई सघाउन सरकारी लगानीमै 'शाही नेपाल चलचित्र संस्थान' बनेको थियो । त्यही संस्थानबाट पञ्चायतको पक्षपोषण गर्न फिल्महरू बन्न थाले ।
त्यसमा पञ्चायतको गाउँ फर्क अभियान र राष्ट्रिय एकताको सन्देश फैलाउन आमा फिल्म बनेको थियो । पञ्चायतकालमा बनेको ‘हिजो, आज, भोलि’ मनको बाँधले समेत पञ्चायतलाई सघाउने उद्देश्य राखेका थिए। तर यो सफल हुन सकेन । त्यसपछि व्यवसायीक उद्देश्य राखेर फिल्महरू बन्न थाले ।
स्वतन्त्र उम्मेदवारको रूपमा राजनीतिमा बालेनको उदयसँगै नयाँ शैलीको राजनीतिको पक्षमा वकालत गर्दै फिल्महरू बने पनि मुख्य रूपमा दिमाग खराब र झरीपछिको इन्द्रेणीको लक्ष्य भने बालेनलाई सघाउने प्रस्ट देखियो ।
दिमाग खराबका कलाकार मात्रै हैन, निर्माता अनि निर्देशक समेत रहेका निश्चल जेनजी आन्दोलनमा सक्रिय भए नै बालेन देश विकास पार्टी ब्युँताउने अभियान हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा वरिष्ठ नेताको रूपमा संलग्न भएपछि उनी राजनीतिमा सक्रिय भए । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने प्रयासमा थिए । तर अन्तिममा टिकट पाएनन् ।
टिकट नपाए पनि उनी बालेनलाई सघाउन सक्रिय भए नै आफ्नो फिल्म रिलिजको नीति विपरीत निर्वाचनको मुखैमा फिल्म दिमाग खराब युट्युबमा रिलिज गराए । निश्चल आफ्ना फिल्महरू प्राय युट्युब जस्तो खुल्ला प्लेटफर्ममा रिलिज गर्न रुचाउँदैनन् । उनले आफ्नो फिल्महरू रिलिज गर्न ओटिटी प्लेटफर्म नै ल्याएका थिए जसमा हलबाट उत्रिएका वा आफैँले उतारेका फिल्म रिलिज गर्दै आएका थिए ।
फागुन २१ गते मतदान थियो । बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीको रूपमा राजनीतिक मैदानमा सक्रिय थिए । उनी झापा ५ बाट उम्मेदवार बनेका थिए । निश्चलको झापामा प्रभाव थियो नै । उनले माघ २० मा दिमाग खराब फिल्म युट्युबबाट सार्वजनिक गरे । यसको उद्देश्य राजनीतिक माहौलमा फिल्मको सन्देश आम नागरिकसम्म फैलाएर बालेनको पक्षमा माहोल निर्माण गर्नु देखियो ।
बालेन टिमकै सदस्य अर्जुन घिमिरे निर्देशक रहेको फिल्म झरीपछिको इन्द्रेणी र हलमै थियो। हलमा लागिरहेकै बेलामा सो टिमले फिल्म बालेन शाहको युट्युब च्यानलबाट फिल्म रिलिज गर्यो फागुन ७ मा ।
झरी पछिको इन्द्रेणी फिल्मको निर्माणको कथावस्तु नै युवा आन्दोलन मात्र थिएन यो फिल्मको निर्माणमा बालेन समूहका मुख्य व्यक्तिहरू नै संलग्न थिए । यो फिल्मको निर्माणको योजनाबारे जानकारका अनुसार उनीहरूले युवाहरूलाई आन्दोलनमा सडकमा आउन आव्हान गर्ने लक्ष्यले नै यो फिल्म निर्माणको सुरुवात गरेका थिए । फिल्म निर्माणको आवश्यक स्रोतको व्यवस्था कुमार बेनले गरेका थिए भने निर्मातामा कुमार बेनकै घरका सदस्य छन् । फिल्मको प्रचार लगायतका कामका लागि कार्यालय समेत कुमार बेनको घरमा राखिएको थियो ।
उनीहरूले जुन उद्देश्यका साथ फिल्म बनाए त्यो फिल्म बन्नु अगाडि नै भयो जेनजी आन्दोलनको रूपमा । जेनजी आन्दोलनसँगै संसद् विघटन भएर मध्यावधि निर्वाचन हुने भएपछि मेयरका रूपमा उदाएका बालेन भावी प्रधानमन्त्रीका रूपमा उदाए । अनि उनको पक्षमा माहोल बनाउन उनीहरूले पुन झरी पछिको इन्द्रेणी उनै बालेनको युट्युबबाट रिलिज गरे।
कला भित्र हुर्किने स्वार्थी राजनीति
कला अनि कलाकार राष्ट्रको पक्षमा हुनु पर्ने हो, तर अवस्था हेरेर यो कहिलेकाहीँ कुनै दल वा नेताको पक्षमा उभिइदिन्छन् । यसको मुख्य उद्देश्य फिल्मले दर्शकको भावनालाई छिटो प्रभावित पार्छ। जब पर्दामा कुनै पात्रले भ्रष्ट नेतालाई कारबाही गर्छ, दर्शकले त्यसलाई बालेन वा मोदी जस्ता नेताको 'एक्सन' सँग जोडेर हेर्छन्। यसले गर्दा नेताको कामलाई 'सिनेम्याटिक हिरोइज्म' को रूपमा स्वीकार गर्ने जनमत तयार हुन्छ ।
यस्ता फिल्महरूले समाजलाई दुई भागमा बाँडिदिन्छन्। एउटा पक्ष जसले फिल्ममा देखाइएको कुरालाई पूर्ण सत्य मान्छ र अर्को पक्ष जसले यसलाई 'प्रोपोगान्डा' भन्छ। यसले गर्दा एउटै समाजका मानिसहरूबीच वैचारिक युद्ध सुरु हुन्छ, जसलाई राजनीतिक ध्रुवीकरण भनिन्छ। जस्तो निर्वाचनकै समयमा बालेन शाहको विपक्षमा आफ्नो धारणा राख्ने ज्योती मगरसहितका केही कलाकारहरु चरम ट्रोलको सिकार भएका थिए । त्योक्रम अहिले पनि जारी छ ।
फिल्मले कुन कुरा 'ठिक' हो र कुन 'बेठीक' हो भन्ने कुराको मानक तय गरिदिन्छ। उदाहरणका लागि, 'डोजर' चलाउनु विकास हो कि विनाश भन्ने बहसलाई फिल्मले 'हिरोइज्म' को रूपमा प्रस्तुत गरेपछि समर्थकहरूका लागि त्यो निर्विकल्प सही काम बन्न पुग्छ।
फिल्मका साना-साना क्लिपहरूलाई सामाजिक सञ्जालमा राजनीतिक सन्देशका साथ फैलाउँदा त्यसले चुनावी अभियानभन्दा ठुलो काम गर्छ। नेपालमा बालेनको हकमा त झन् 'मिम' र 'सर्ट भिडियो' नै जनमत निर्माणका मुख्य हतियार बनेका थिए । दिमाग खराबको म नेपाल हाँसेको हेर्न चाहन्छु बोलको गीत त बालेनको प्रचारमा सबैभन्दा धेरै प्रयोग भएको थियो ।
जब मनपर्ने कलाकारले कुनै नेताको समर्थन गर्छ, सर्वसाधारणले पनि त्यसलाई सही ठान्छन्। यसले गर्दा राजनीतिमा एउटा यस्तो 'फ्यान बेस' तयार हुन्छ, जो आफ्नो नेताको गल्तीमा पनि आँखा चिम्लन तयार हुन्छ।
जेठ ३१, २०८३ आइतबार १४:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।