नेपाल री कब्जा गर्ने दीपक भट्टको दाउपेचमा उब्जिएको १ खर्ब ५ अर्बको 'महाघोटाला'
काठमाडौँ : सरकारी स्वामित्व बढी भएको नेपालकै जेठो पुनर्बिमा कम्पनी ‘नेपाल रिइन्स्योरेन्स कम्पनी’ (नेपाल री) मा प्रभाव बढाएर पूनर्बिमाको बजार कब्जामा लिने रणनीतिमा निजी क्षेत्रको प्रतिस्पर्धी कम्पनी ‘हिमालयन रिइन्स्योरेन्स’ (हिमालयन री) का मुख्य प्रवर्द्धकहरूले गरेको अर्बौँको वित्तीय चलखेलको सनसनीपूर्ण विवरण खुलेको छ।
सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा दायर गरेको ४ सय बढी पृष्ठको अभियोग पत्रले सरकारको समेत लगानी रहेको पूनर्बीमा कम्पनीको अधिकतम सेयर किनेर भट्ट समूहले कसरी शेयर मूल्यमा चलखेल गरेर लाभ लिएको थियो भन्ने त खुल्छ नै, नेपाल री, धितोपत्र बोर्ड अनि बीमा प्राधिकरणका जिम्मेवार अधिकारीहरूले बदनियतमा कसरी सघाए भन्ने गम्भीर विवरणहरू समेत समावेश छ।
अभियोग पत्रको विवरण र आरोपीहरूको बयानका अनुसार, हिमालयन रीका मुख्य हर्ताकर्ता दीपक भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल र पूर्व उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छासहितको समूहले बीमा बजारमा एकछत्र राज गर्न नेपाल रीको १ करोड ४० लाख कित्ताभन्दा बढी सेयर संगठित रूपमा किनेर 'होस्टाइल टेकओभर' (कम्पनी कब्जा) को प्रयास गरेको खुल्छ।
उनीहरूले यसका लागि १७ अर्ब लगानी गरेर नेपाल रीको ६५ प्रतिशत सेयर किनिसकेका थिए। उनीहरूले यसका लागि मिलेर समूहगत कोष नै बनाएर ब्रोकर कम्पनीबाट एक आपसमै शेयर किन्ने र बेच्ने गरेर शेयरको अप्राकृतिक मूल्य बढाइरहेका त थिए नै, अन्तमा नेपालीको अधिकतम सेयर किनेर त्यसलाई आफ्नो कब्जामा लिएर आफ्नो समूहको लगानी रहेको हिमालयन रीलाई पूनर्बिमाको क्षेत्रमा एक मात्र विकल्प बनाउने रणनीति बुनेको समेत अभियोग पत्रले खुलाएको छ।
विशेषमा दर्ता भएको अभियोग पत्रमा यस प्रकरणमा कुल १ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ बिगो दाबी गर्दै दोब्बर जरिवाना (२ खर्ब १० अर्ब १२ करोड) को माग गरिएको छ।
६५ प्रतिशत सेयर कर्नरिङ र मूल्यमा चलखेल
यो समूहले २०८१ पुसदेखि योजनाबद्ध रूपमा नेपाल रीको सेयर केन्द्रिकरण गर्न थालेको थियो। यसका लागि उनीहरूले आफ्नो लगानी रहेको कम्पनी, पब्लिक लिमिटेड र व्यक्तिगत रूपमा समेत रकम जम्मा गरेर कोष नै बनाएका थिए। त्यो कोषको हर्ताकर्ता थिए दीपक भट्ट। नेपाल रीको शेयर किनेर कर्नरिङ गर्न र अधिकतम सेयर आफ्नो समूहको नाममा ल्याएर कम्पनी नै कब्जा गर्न उनीहरूले नेपाल रीको कुल कित्तामध्ये १ करोड ४० लाख १३ हजार ३ सय ५२ कित्ता (करिब ६५.२५ प्रतिशत सेयर) आफ्नो नियन्त्रणमा लिइसकेका थिए। यसका लागि समूहगत रूपमा उनीहरूले १७ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका थिए।
उनीहरूले यसका लागि लङटर्म र सर्टटर्म योजना बनाएको देखियो। लङटर्मको योजनाका बहुमत सेयर किनेर बजारमा प्रभाव पार्ने देखिन्छ। पूनर्बीमामा नेपालमा नेपाल री र हिमालयन रीमात्रै हुन्। यदि हिमालयन रीका सञ्चालक वा मुख्य प्रवर्द्धक समूहले नेपाल रीको बहुमत सेयर किन्न सफल भएमा बजारमा सिन्डिकेट र एकाधिकार कायम गर्ने सम्भावना हुन्छ।
एउटै समूहको दुवै कम्पनीमा नियन्त्रण वा बलियो पकड हुँदा बिमा शुल्क र पुनर्बीमाका सर्तहरूमा एकाधिकार कायम गर्न सकिन्छ। जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले पुनर्बिमा गर्दा विकल्प पाउने छैनन्, जसको सीधा असर सर्वसाधारणले तिर्ने बिमा प्रिमियममा पर्न सक्छ।
अर्को भनेको बहुमत सेयर हात पारेपछि उक्त समूहले नेपाल री र हिमालयन रीलाई 'मर्जर' प्रक्रियामा लैजाने रणनीति बनाउन पनि सक्छन्। दुई कम्पनी गाभिँदा नेपालको शतप्रतिशत स्वदेशी पुनर्बिमा व्यापार एउटै कम्पनीको हातमा पुग्नेछ। यसबाट प्रतिस्पर्धा मात्रै मर्दैन, नियामक निकायलाई समेत नीतिगत प्रभावमा पार्न सक्ने बलियो कम्पनी बनाउन सकिन्छ।
उनीहरूको पहिलो रणनीति यही देखिन्छ। अभियोग पत्रमा उल्लेख गरिएका कारोबारका विस्तृत विवरणले उनीहरू मिलेर नेपाल रीको बजारमा रहेको शेयर आफ्नो नियन्त्रणमा लिएर कर्नरिङ गराएर शेयरको मूल्य अस्वाभाविक रूपमा बढाएर फाइदा लिने पनि देखिन्छ।
अभियोग पत्रमा रहेको विवरणले जब भट्ट समूह नै मिलेर नेपाल रीको सेयर किन्न सुरु गर्यो त्यो बेलामा न्यूनतम प्रतिकित्ता ७५० रुपैयाँ मूल्य रहेकोमा सेयर मूल्यलाई अस्वाभाविक रूपमा बढाएर १ हजार ८ सय रुपैयाँसम्म पुर्याएको देखिन्छ। त्यसबाट प्रत्यक्ष वित्तीय लाभ दीपक भट्टसहितको समूहले नै लिए।
शेयर मूल्य बढाएर कुल किनेको कित्तामध्ये सो समूहले ४९ लाख २८ हजार २ सय १९ कित्ता सेयर ६ अर्ब २४ करोड ९१ लाखमा बिक्री गर्यो तर बाँकी ११ अर्ब २३ करोड ११ लाख बराबरको ९० लाख ८५ हजारभन्दा बढी कित्ता सेयर समूहकै नियन्त्रणमा राख्यो।
उनीहरूले शेयर किन्ने र बेच्ने गरिरहे पनि त्यो आफ्नै समूहमा केन्द्रित गरे। व्यक्तिगत रूपमा दीपक भट्टले बजारबाट सेयर किने तर बेच्दा आफ्नै लगानी रहेको हिमालयन रीलाई नै बेचे वा अन्य आफ्नै समूहको लगानी रहेको कम्पनीलाई बेचे। किन्दा पनि यही शैली अपनाएको देखिन्छ।
छोटो अवधिमै अर्बौँको 'इन्साइडर' र क्रस-होल्डिङ
हिमालयन रीमा ४.५ प्रतिशत मात्रै लगानी भएका दीपक भट्टले २०८१ कात्तिक १७ मा मात्र डिम्याट खाता खोलेर २०८२ साउन ५ बाट सेयर कारोबार सुरु गरेका थिए। तर कात्तिक २५ सम्म उनले ३ अर्ब ८१ करोडको खरिद र ९२ करोड २५ लाखको सेयर बिक्री गरिसकेका थिए।
भट्टले सेयर बजारमा इन्साइडर ट्रेडिङ र अनुमति विना अर्को बिमा कम्पनीमा लगानी गरेको प्रमाणहरूले अभियोग पत्र नै भरिएको छ।
उनले २०८२ साउन ५ देखि भदौ १० सम्म १४ लाख ३३ हजार कित्ता सेयर २ अर्ब २६ करोडमा किने। देशमा जेनजी आन्दोलन चलिरहेकै बेला असोज २६ देखि कात्तिक २५ सम्म फेरि ६ लाख ५८ हजार कित्ता सेयर ८६ करोड १९ लाखमा उठाएका थिए।
उनले नेपाल रीको सेयर सस्तोमा उठाएर आफू सम्बद्ध हिमालयन लाइफ इन्स्योरेन्सलाई ७२ हजार ७ सय ९० कित्ता सेयर ९ करोड ८७ लाखमा भिडाएका थिए। यस्ता फेहरिस्त टन्नै छन् अभियोग पत्रमा।
भट्टले नेपाल रीको मात्रै हैन, अन्य शेयर पनि बजारबाट सस्तोमा किनेर आफ्नो प्रभाव रहेको कम्पनीलाई महँगोमा बेच्ने गरेका थिए। उनले शेयर किन्न सर्वसाधारणको समेत लगानी रहेको हिमालयन रीको पैसा प्रयोग गर्थे तर किनेको शेयर भने आफ्नो नाममा राख्थे।
उदाहरणका लागि उनले हिमालयन रीको पैसाबाट नबिल डिबेन्चरको १ लाख कित्ता सेयर १ हजार ८० रुपैयाँका दरले (१० करोड ८० लाख) किनेर, आफ्नै समूहको प्रभाव रहेको ‘गार्डियन माइक्रो लाइफ’ लाई महँगो मूल्य (१,१०० र १,१२० रुपैयाँ) मा बेचेर नाफा कमाएका थिए।
भट्टको मुख्य सहयोगी अग्रवाल समूह
भट्टसँगै यो खेलमा अर्को मुख्य व्यक्ति देखिए शंकर समूहका सुलभ अग्रवाल। यसमा सुलभ मात्रै हैन उनको बाबुदेखि छोरासम्म जोडिए। उनले पहिला त यो शेयरको खेलमा दीपक भट्टलाई मुख्य रूपमा सघाएको देखिन्छ। दोस्रोमा आफू, श्रीमती अनि छोरासम्मलाई यो खेलमा सहभागी गराए।
अभियोग पत्रमा रहेको विवरण अनुसार शेयरको यो खेलमा पैसा जुटाउन आफू अध्यक्ष रहेको कम्पनीको शेयर बेच्न नमिल्ने भएपछि श्रीमतीलाई खान लाउन दिएन भनेर अदालतमा मुद्दा हाल्न लगाएर पछि छोरालाई आफू अध्यक्ष रहेको कम्पनीमा रहेको शेयर अंश वापत दिएर मिलापत्र गरे।
मिलापत्रको आधारमा कम्पनीको शेयर भर्खर बालिग भएको छोराको नाममा नामसारी भएपछि छोराले विक्री गरेर उनको बैंक खातामा आयो। जब पैसा छोराको खातामा आयो साहिलले त्यसको ७० प्रतिशत झिकेर शेयर बजारमा लगाए।
यसमा उनले पब्लिक लिमिटेड रहेको हिमालयन रीको रकम समेत दुरुपयोग गरेको देखिन्छ। नेपाल रीको शेयर किन्न हिमालयन रीसहितको कम्पनीहरूबाट ३ अर्ब ८१ करोड ४६ लाख रकम ब्रोकरलाई दिएर त्यसबाट दीपकको नाममा सेयर किनेका थिए।
यसका लागि हिमालयन रीको खाताबाट सुभी अग्रवालको खातामा ४५ करोड र ऋषिराज मोरको खातामा ३१ करोड पठाएको देखिन्छ। नेपाल रीको शेयर किन्न जदगदम्बा स्टिलको खाताबाट दीपकको खातामा ४५ करोड गएको खुल्यो। यो जग्गा किन्न व्यक्तिगत ऋण लिएको दाबी गरे पनि यसबाट दीपक भट्टले हिमालयन रीको शेयर किनेको देखिएको।
यो खेलमा सुलभसँगै उनको भाइ साहिल, श्रीमती सुभी, बाबु शंकरसहित छोरासमेत तानिएर सबै प्रतिवादी बनेका छन्।
शेखर गोल्छा पनि मतियार
यो सबै खेलमा मुख्य सहयोगी देखियो भृकुटी (ब्रोकर नम्बर ५५) सबैसँग संयोजन गरेर शेखर खरिद विक्रीमा सहजीकरण यही कम्पनीले गरेको थियो। यो कम्पनीले नै धितोपत्र कानुन विपरीत शेयर किनिदिने र बेचिदिने गर्दै आयो।
यो कम्पनीसँग शेखर गोल्छाले व्यवसायीक कारोबार देखिएन। न त उनले शेयर कारोबार गर्न यसमा खाता नै खोलेका थिए। तर उनले कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ दिएको देखियो। अनुसन्धानमा नेपाल रीको शेयरमा कब्जा गर्न सबै मिलेर १२ अर्ब ५७ करोड ११ लाखको कोष खडा गरेको र त्यसैका लागि शेखर गोल्छाले ५२ करोड ५० लाख रकम भृकुटी स्टकलाई दिएको देखियो।
१ खर्ब ५ अर्बको बिगो दाबी: कसलाई कति?
अदालतमा दायर मुद्दामा आरोपीहरूको कसुर र संलग्नताका आधारमा रकम वर्गीकरण गरी कुल १ खर्ब ५ अर्बको बिगो कायम गरिएको छ। यसमा बिगोको दोब्बर जरिवानाको मागदावी गरिएको छ।
त्यसमा दीपक भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ, सुलभ अग्रवालको २५ अर्ब ५९ करोड २० लाख रुपैयाँ, सन्दीप चाचन अग्रवाल र भृकुटी कम्पनीको नाममा १४ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ, साहिल अग्रवालको नाममा ६ अर्ब ४ करोड ३४ लाख रुपैयाँ, सुभी अग्रवालको नाममा ३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ, ऋषिराज मोरको नाममा ३ अर्ब ७८ करोड रुपैयाँ, शेखर गोल्छा, रोहित गुप्ता लगायतको नाममा २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ तोकिएको छ।
यसमा शृषिभ अग्रवाल, राजकुमार मोर, अमित मोर मात्र हैन बीमा प्राधिकरणका अध्यक्षहरू पनि प्रतिवादी बनेका छन्।
जेठ ३१, २०८३ आइतबार ००:५२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।