संगीतकार शान्तिरामको हिजोका कुरा : रेडियोमा मेरो गीत बज्दा आमाबुबाले ‘कान्छो त जिउँदै रहेछ’ भन्नुभएछ

संगीतकार शान्तिरामको हिजोका कुरा : रेडियोमा मेरो गीत बज्दा आमाबुबाले ‘कान्छो त जिउँदै रहेछ’ भन्नुभएछ

अढाई दशकअघि रेडियो नेपालबाट ‘धोका दियौ तिमीले’, ‘बाटो हेरे हुन्छ आमा’, ‘आईडी कार्डैले’, ‘इन्टरनेटैमा’ र ‘डुल्न मन लाग्छ मायालु’ जस्ता गीतहरू खुबै गुञ्जिन्थे।

पुराना पुस्ताका श्रोतामाझ यी गीतहरू अझै पनि उत्तिकै लोकप्रिय छन्। यी चर्चिशानत गीतका संगीतकार हुन्- ५६ वर्षीय शान्तिराम राई। उमेर र सांगीतिक योगदानका हिसाबले उनी नेपाली सुगम संगीत क्षेत्रका एक आदरणीय र स्थापित व्यक्तित्व हुन्।

४० वर्षअघि खोटाङबाट मामाको साथ लागेर रेडियो नेपालमा गीत गाउने सपना बोकी काठमाडौं आएका शान्तिरामले वि.सं. २०४५ सालमा रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘चौतारी’ मा गीत गाउने अवसर पाएका थिए।

देशमा पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन भइरहेको त्यो कठिन समयमा उनी गायनमा ठूलो संघर्ष गर्ने अठोटका साथ राजधानी भित्रिएका थिए।

घरबाट हिँडेको छोरो कता हरायो भनी चिन्तित आमाबुबाले जब रेडियोमा उनको गीत र नाम सुने, तब खुसीले भक्कानिँदै भनेका थिए- ‘कान्छो छोरो त जिउँदै रहेछ!’

उनै संगीतकार राईले उकेरासँगको कुराकानीमा आफ्नो बाल्यकाल, संघर्ष र सफलताका ती तीता-मीठा अनुभव यसरी सुनाए:

बाल्यकाल र गाउँको दुःख
मेरो जन्म वि.सं. २०२७ साल भदौ २३ गते खोटाङमा भएको हो। परिवारमा मेरा दुईजना दाजु र एकजना दिदी हुनुहुन्छ, म घरको सबैभन्दा कान्छो छोरो हुँ।

मैले वि.सं. २०४४ सालसम्म गाउँकै सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा पढेँ। त्यहीँबाट सेकेन्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेँ। त्यो बेला हाम्रो गाउँमा कसैले पनि पहिलो श्रेणीमा पास गर्दैनथे, जो पास हुन्थे दोस्रो श्रेणीमै हुन्थे।

गाउँको पढाइ र वातावरण अहिलेको जस्तो सहज थिएन। हामी किसानका छोराछोरी थियौँ। बिहान ५ बजे उठेर घाँस-दाउरा गर्नुपर्थ्यो, खेतबारीको काम सकेर ९ बजे घर फर्कन्थ्यौँ। अनि मकैको ढिँडो हतार-हतार चपाउँदै स्कुल दगुर्थ्यौँ।

स्कुलमा पढाइ त हुन्थ्यो तर पढाइलाई त्यति ठूलो महत्त्व दिइँदैनथ्यो। अहिलेका केटाकेटी जस्तो बिहान-बेलुकी घोटिएर पढ्ने वातावरण हाम्रो पालामा थिएन। दुःख गरेरै पढियो। स्कुलबाट फर्किएपछि पनि ठुलो डोको बोकेर जङ्गलमा पत्कर लिन जानुपर्थ्यो।

खुवाइ र खेलकुद
त्यो बेलाको हाम्रो खुवाइ पनि सामान्य थियो। अहिलेको जस्तो मिठो-मसिनो कहाँ खान पाउनु र!

मिठो खानका लागि दशैं-तिहार नै कुर्नुपर्थ्यो। दशैंबाहेक अरू बेला चामलको भात देख्नै पाइँदैनथ्यो। मकैको भात र ढिँडो नै हाम्रो मुख्य खाना हुन्थ्यो। कहिले स्कुसको मुन्टा त कहिले करेलाको मुन्टाको झोलसँग ढिँडो खाइन्थ्यो।

मासु खानका लागि त निकै कुर्नुपर्थ्यो, मेरी आमाले हप्तामा एकपटक कतैबाट मासु ल्याउनुहुन्थ्यो। अहिले दिनदिनै मासु खान्छु भन्दा पनि पाइन्छ तर त्यो बेलाको समय बेग्लै थियो।

खेलकुदको कुरा गर्ने हो भने गाउँमा त्यस्तो वातावरण नै थिएन। भलिबल खेलको खासै चर्चा थिएन, मैले पनि खेलिनँ। हामी डन्डीबियो र क्यारमबोर्ड खेल्थ्यौँ। विशेष गरी डन्डीबियोको प्रभाव बढी थियो। वि.सं. २०४४ सालमा म जब आइए पढ्दै थिएँ, त्यही बेला काठमाडौंतर्फ लागेँ।

गाउँको संगीत र प्रगतिशील गायनको प्रभाव
हाम्रो गाउँघरमा दशैं-तिहारको बेला नाचगान हुन्थ्यो, देउसी-भैलो खेलिन्थ्यो। त्यो सांगीतिक कार्यक्रमहरूमा हार्मोनियम बजाउने र गीत गाउने काम म नै गर्थेँ। हार्मोनियम बजाउन म गाउँमै अलि सिपालु र खप्पिस थिएँ।

हामी आफैँले पनि गाउँमा गीतहरू कम्पोज गर्थ्यौँ र गाउँथ्यौँ। मलाई थाहा भएसम्म त्यतिबेला गाउँमा प्रगतिशील गीतहरू निकै लोकप्रिय थिए। म कुनै राजनीतिक दलमा आबद्ध त थिइनँ, तर ती चलेका प्रगतिशील गीतहरू म धेरै गुनगुनाउँथेँ। त्यसको प्रभाव ममा पनि पर्यो। गाउँका धेरै दाजुभाइहरू प्रगतिशील गीत गाउनुहुन्थ्यो।

तिबेला हाम्रो गाउँमा रामेश श्रेष्ठ, मञ्जिल र शम्भु राईका गीतहरूको ठुलो प्रभाव थियो। उहाँहरूका गीतका क्यासेटहरू लाहुरेहरूले घर फर्कँदा लिएर आउँथे। हामी ती क्यासेटहरूबाट गीत सुनेर कापीमा शब्दहरू सार्थ्यौँ र कण्ठ पारेर गाउँथ्यौँ।

मनोरञ्जनको अरू कुनै माध्यम थिएन। पछि दिक्तेल बहुमुखी क्याम्पसमा पढ्दा एउटा बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो, जसमा म तेस्रो भएको थिएँ।

काठमाडौं यात्रा र रेडियो नेपाल छिर्ने संघर्ष
म आइए पढ्दै गर्दा रेडियो नेपालबाट बज्ने ‘चौतारी’ कार्यक्रम खुबै सुन्थेँ। त्यो कार्यक्रम हाम्रो क्षेत्रमा निकै चर्चित थियो। मलाई पनि रेडियो नेपालमा गएर गीत गाउन पाए हुन्थ्यो जस्तो लाग्यो। त्यो कार्यक्रम पाण्डव सुनुवार लगायतले चलाउनुहुन्थ्यो।

नभन्दै म वि.सं. २०४५ साल चैततिर दिक्तेलबाट काठमाडौंका लागि हिँडेँ। एक्लै आउने आँट थिएन, बुबाआमाले पनि एक्लै पठाउन मान्नुभएको थिएन।

मेरा मामा ब्रिटिश सेनाका भूतपूर्व लाहुरे हुनुहुन्थ्यो र काठमाडौंको अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो। उहाँ गाउँ आएका बेला आमाले मलाई उहाँकै साथ लगाएर काठमाडौं पठाइदिनुभयो।

काठमाडौं आएपछि मलाई रेडियो नेपाल छिर्नै दुई हप्ता लाग्यो। बाटो पत्ता लगाउन र सिंहदरबार छिर्ने प्रक्रिया बुझ्न निकै गाह्रो भयो। चारैतिर प्रहरी र सेनाको चेकिङ देख्दा मलाई निकै डर लाग्थ्यो, म गेटसम्म पुग्थेँ र डराएर कोठामै फर्किन्थेँ।

सिंहदरबारको गेटबाट छिरेको दुई हप्तापछि बल्ल म रेडियो नेपालको ढोकामा पुग्न सफल भएँ। त्यहाँ पुगेर चौतारी कार्यक्रममा गीत गाउने इच्छा राख्दा कर्मचारीहरूले नाम टिपाउन र पालोका लागि तीन महिना कुर्नुपर्ने बताए।

त्यो तीन महिनाको खाली समय सदुपयोग गर्न मामाकै सल्लाहमा मैले एउटा बोर्डिङ स्कुलमा पढाउन थालेँ।

रेडियोमा मेरो गीत र आमाबुबाको रोदन
वि.सं. २०४६ सालको जेठतिर बल्ल मेरो पालो आयो। मैले चौतारी कार्यक्रममा एउटा गोठाले लोकगीत गाएँ। अहिलेको जस्तो सञ्चारको सुविधा नभएकाले म काठमाडौं आएपछि घरमा कुनै खोजखबर थिएन।

छोरो मर्यो कि बाँच्यो भन्ने चिन्तामा बुबाआमा हुनुहुन्थ्यो। रेडियो नेपालमा मेरो स्वर र खोटाङ जिल्लाको नाम बज्दा गाउँमा निकै ठूलो हलचल भएछ। त्यस बेला गाउँका टाठाबाठा र धनी मानिसको घरमा मात्र रेडियो हुन्थ्यो। छिमेकीहरू रेडियो सुन्न जम्मा हुन्थे।

जब रेडियोबाट मेरो गीत बज्यो, बुबाआमा खुसीले भक्कानिएर रुनुभएछ र भन्नुभएछ- ‘ओहो, कान्छो त जिउँदै रहेछ!’

म काठमाडौं आएको तीन वर्षपछि वि.सं. २०४९ सालमा गाउँ जाँदा गाउँलेहरूले मलाई निकै माया गर्नुभयो र मेरै लागि एउटा एकल सांगीतिक कार्यक्रम आयोजना गरिदिनुभयो। त्यहाँ मैले नारायण गोपालका र आफ्ना गीतहरू लगातार तीन घण्टासम्म गाएर सुनाएँ।

भ्वाइस टेस्ट र सांगीतिक मोड
वि.सं. २०४६ सालमा मैले रेडियो नेपालमा लोकगीततर्फ भ्वाइस टेस्ट पास गरेँ। यसमा मलाई गायक शम्भु राईले धेरै सहयोग गर्नुभयो।

उहाँसँग मेरो भेट रेडियो नेपालमै भएको थियो र उहाँले मलाई भाइका रूपमा स्वीकारेर ‘फूल फुल्यो गाउँबेसी छैन बासना, नबोले नि हाँसिराखन’ बोलको गीतमा गाइड गर्नुभयो। भ्वाइस टेस्ट पास गरेपछि पनि गीत रेकर्ड गराउन एक वर्ष पालो कुर्नुपर्थ्यो। मेरो पहिलो लोकगीत खासै हिट भएन।

त्यसपछि वि.सं. २०४७ सालमा मैले आधुनिक गीततर्फ भ्वाइस टेस्ट पास गरेँ। शम्भु राईकै संगीतमा मैले चर्चित गायिका विमला राईसँग मिलेर ‘कसम नखाऊ टाढा हुने’ बोलको दोहोरी आधुनिक गीत गाएँ। त्यो गीत निकै लोकप्रिय भयो र मेरो औपचारिक सांगीतिक यात्रा सुरु भयो।

यही क्रममा मेरो भेट कवि तथा गीतकार श्रवण मुकारुङसँग भयो। उहाँले मलाई कम्पोजिसनतर्फ लाग्न प्रेरित गर्नुभयो। उहाँले मलाई गोपाल योञ्जन र अम्बर गुरुङजस्तै संगीतकार बन्न हौसला दिँदै दुईवटा गीत दिनुभयो- ‘तिमी तारे भिर म त लहरा’ र ‘बाटो हेरे हुन्छ आमा’।

हार्मोनियम बजाउन म पहिलेदेखि नै जान्थेँ, तर संगीत सिर्जना कसरी गर्ने भन्ने मलाई खासै ज्ञान थिएन। बिस्तारै बुझ्दै गएँ र ती गीतहरूले मलाई गायकभन्दा बढी एक स्थापित संगीतकारका रूपमा पहिचान दिए। त्यसपछि मेरा संगीतबद्ध सिर्जनाहरू लगातार लोकप्रिय हुँदै गए।

जेठ २९, २०८३ शुक्रबार ०९:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।