अप्रेसन टेबलको त्यो भयानक क्षण, जसले डा. राजेशलाई आज पनि झस्काइरहन्छ
अर्थोपेडिक सर्जन डा. राजेश कुमार झाले डाक्टर बन्न गर्नुपरेको संघर्षको कथा कम चुनौतीपूर्ण थिएनन्।
तर, दोस्रो श्रेणीमा एसएलसी गरेका उनी ती चुनौतीका चाङलाई चिर्दै एमबीबीएस र एमएस दुवै सरकारी छात्रवृति कोटामा नै अध्ययन गर्न सफल भए।
डा. राजेशले चिकित्सकीय पेशामा प्रवेशका क्रममा गरेका यस्तै संघर्ष र पेशाका शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटेका छन्:
सेकेन्ड डिभिजनको एलएलसीले राम्रो कलेज पढ्न नपाएपछि...
डा. राजेशको कथा २०४५ सालमा सर्लाहीको विकट गोडैता नगरपालिका वडा नम्बर ७ बाट सुरु हुन्छ।
एउटा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका राजेशको बाल्यकाल हिलो र माटोसँग खेल्दै, खेतीपातीको काममा आमाबुबालाई सघाउँदै बित्यो। बिहान-बेलुका खेतबारीमा काम गरेर बाँकी रहेको समयमा उनी लालटिनको मधुरो प्रकाशमा पढ्ने गर्थे।
उनले गाउँकै सरकारी विद्यालय श्री बेनी भोला नमुना उच्च माविबाट २०६१ सालमा एसएलसी परीक्षा दिए। दुर्भाग्यवश, त्यो वर्ष उनको ब्याचका कसैको पनि प्रथम श्रेणी आएन।
राजेशले पनि दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे। सानैदेखि विज्ञान पढेर डाक्टर बन्ने सपना बुनेका राजेशका लागि दोस्रो श्रेणीको नतिजा सपनाको बाटोमा पहिलो र ठूलो ठेस बन्न पुग्यो।
डाक्टर बन्ने दृढ इच्छाका साथ राजेश एसएलसी लगत्तै काठमाडौं आए। तर, वास्तविक चुनौती त यहाँ सुरु हुन बाँकी नै थियो।

एसएलसीमा दोस्रो श्रेणी मात्र आएका कारण काठमाडौंका नाम चलेका र सुविधायुक्त निजी कलेजहरूले उनलाई भर्नाको फारम समेत दिन अस्वीकार गरे।
अर्कोतिर निजी कलेजहरूको महँगो शुल्कको बोझले उनी केही समय काठमाडौंका गल्लीहरूमा निरास हुँदै भौँतारिए।
सबैतिरबाट ढोका बन्द भएपछि अन्ततः उनी अमृत साइन्स कलेज (अस्कल) पुगे र आईएस्सीमा भर्ना भए। यो उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो।
कलेज भर्ना भएपछि उनले आफूलाई पढाइमा पूर्ण रूपमा समर्पित गरे। उनको कडा मिहिनेतले फल दियो- दोस्रो श्रेणीमा एसएलसी गरेका राजेशले आईएस्सी भने प्रथम श्रेणीमा उत्तीर्ण गरे।
यो नतिजाले उनमा डाक्टर बन्ने मधुरो भइसकेको सपनालाई पुनः नयाँ उर्जा र विश्वास दियो।
छात्रवृत्तिको खोजी र लगातारको असफलता
आईएस्सी उत्तीर्ण गरेपछि एमबीबीएस कसरी पढ्ने भन्ने अर्को ठूलो पहाड तेर्सियो।
त्यतिबेला निजी कलेजमा पैसा तिरेर एमबीबीएस पढ्न ६० लाख रुपैयाँभन्दा बढी खर्च हुन्थ्यो, जुन उनको मध्यमवर्गीय परिवारका लागि कल्पना बाहिरको कुरा थियो। त्यसैले उनले सरकारी छात्रवृत्ति (स्कलरसिप) मै नाम निकाल्नुको विकल्प थिएन।
तयारीका लागि उनी भारतमा रहेका आफ्ना दिदी-भिनाजुकहाँ गए र केही समय कोचिङ पढे। तर, नेपाल फर्केर प्रवेश परीक्षा दिँदा उनको नाम निस्किएन। पहिलो गाँसमै ढुङ्गा लागेपछि उनी गहिरो तनावमा परे।

तर, हार मान्नु उनको स्वभावमा थिएन। उनले दोस्रो पटक प्रयास गरे, फेरि असफल भए। तेस्रो पटक परीक्षा दिए, नतिजा उस्तै आयो। लगातार तीन पटकको असफलताले उनको धैर्यताको बाँध भत्किन लागिसकेको थियो। छिमेकी र आफन्तका प्रश्नहरूले उनलाई पिरोल्थ्यो।
तर, उनले विद्यालयमा पढेका महापुरुषका सङ्घर्ष र सफलताका कथाहरू सम्झिए। उनले मनमनै बाचा गरे- ‘म जसरी पनि सरकारी कोटामै नाम निकालेर डाक्टर बन्नेछु।’
उनले आफ्नो जीवनको अन्तिम प्रयासका रूपमा चौथो पटक प्रवेश परीक्षा दिए। यस पटक भने उनको वर्षौंको मिहिनेत सफल भयो; उनी सरकारी छात्रवृत्ति कोटामा एमबीबीएसका लागि छनोट भए।
त्यो गौरवशाली क्षण सम्झँदै डा. राजेश भन्छन्, ‘छनोट भएको थाहा पाउँदा म कोठामा एक्लै रोएँ। आफ्ना पुराना पुस्तकहरूलाई ढोगेँ। चार वर्षको त्यो अथक मिहिनेत सफल भएको क्षण मेरा लागि शब्दमा वर्णन गर्न नसकिने थियो।’
चिकित्सा शिक्षाको आरम्भ र कोभिड-१९ को कहालीलाग्दो भोगाइ
सरकारी छात्रवृत्ति पाएपछि डा. राजेश सन् २०१२ मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस पढ्न भर्ना भए।
कडा मिहिनेतका साथ अध्ययन गर्दै उनले सन् २०१८ मा उत्कृष्ट अङ्कका साथ एमबीबीएस पूरा गरे र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पनि उत्तीर्ण गरे।
छात्रवृत्ति सम्झौता अनुसार उनले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने थियो। त्यसैले उनी आफ्नै गृहजिल्ला सर्लाहीको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा छात्रवृत्ति करारमा कार्यरत भए र त्यहाँ एक वर्ष सेवा गरे।
त्यसपछि उनको सरुवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भयो। त्यतिबेला चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई नै त्रसित बनाउँदै थियो।
नेपालमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएका युवा टेकु अस्पतालमा भर्ना हुँदा डा. राजेश त्यहीँको आकस्मिक कक्षमा खटिएका थिए।
महामारीको त्यो समय निकै भयावह र त्रासदीपूर्ण थियो। व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को चरम अभावका बीच चिकित्सकहरू अग्रपङ्क्तिमा उभिएर बिरामीको उपचार गरिरहेका थिए।
एकातिर अक्सिजन र भेन्टिलेटरको अभावमा छटपटिएका बिरामी बचाउने चुनौती थियो भने अर्कातिर समाजको कठोर व्यवहार।

अस्पतालमा काम गर्ने भएकै कारण समाजले डाक्टरहरूलाई कोरोना सार्ने बाहकका रूपमा हेर्न थाल्यो। कतिपय घरबेटीले डाक्टरहरूलाई डेराबाट निकाल्ने र समाजले छिछिदूरदूर गर्ने जस्ता पीडादायी यथार्थको मार डा. राजेशले पनि भोग्नुपर्यो।
अर्थोपेडिक सर्जरी पढ्दा पैसा नभएको त्यो तीतो अनुभव
एमबीबीएस र सरकारी करारको अवधि सकिएपछि डा. राजेशले स्नातकोत्तर तह (एमएस) को तयारी गरे। उनले फेरि पनि छात्रवृत्तिमै पढ्नुपर्ने बाध्यता थियो।
उनले प्रवेश परीक्षा उत्तीर्ण गरी नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्ति कोटामै 'अर्थोपेडिक सर्जरी' मा भर्ना पाए र सन् २०२२ देखि अध्ययन सुरू गरे।
तर, एमएस अध्ययनको समय उनका लागि आर्थिक रूपमा निकै कष्टकर साबित भयो। त्यतिबेला उनको विवाह भइसकेको थियो र परिवार चलाउने जिम्मेवारी थपिएको थियो।
चौबीसै घण्टा र कहिलेकाहीँ त लगातार ४८ घण्टासम्म अस्पतालमै ड्युटीमा खटिनुपर्ने बाध्यता थियो। यति कठोर श्रम गर्दा पनि आवासीय चिकित्सकहरूले पाउने भत्ता (स्टाइपेन) पाउन उनले ७-८ महिनासम्म आन्दोलन र सङ्घर्ष गर्नुपर्यो।
खल्तीमा पैसा नहुँदा र परिवारको दायित्व पूरा गर्न नसक्दाको त्यो मानसिक तनावले उनको मन अझै भारी बनाउँछ। तर, वरिष्ठ चिकित्सकहरूको कुशल मार्गदर्शन र आफ्नै अठोटका कारण सन् २०२५ मा उनले सफलतापूर्वक एमएस पूरा गरे।
हाल उनी हेटौंडा अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा छात्रवृत्ति करारमा कार्यरत छन् र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररका रूपमा नयाँ पुस्तालाई अध्यापन पनि गराइरहेका छन्।
अप्रेसन थिएटरको त्यो भयानक र बिर्सन नसकिने क्षण
डा. राजेशको चिकित्सकीय जीवनमा एउटा यस्तो घटना घटेको छ, जुन सम्झँदा उनी अहिले पनि झस्किन्छन्।
एमएस अध्ययनको क्रममा दुर्घटनामा परी कम्मर र मेरुदण्डको हड्डी (पेल्विस बोन) गम्भीर रूपमा भाँचिएका एक ५८ वर्षीय पुरुषलाई अस्पताल ल्याइयो। शल्यक्रिया निकै जटिल र जोखिमपूर्ण थियो, तर बिरामी बचाउन शल्यक्रिया गर्नुको विकल्प थिएन।
वरिष्ठ चिकित्सकहरूको टोलीसँगै डा. राजेश पनि अप्रेसन थिएटर (ओटी) मा प्रवेश गरे। शल्यक्रिया सुरु भयो।
तर, दुर्भाग्यवश शल्यक्रियाकै क्रममा बिरामीको एउटा ठूलो रक्तनली काटिएर एक्कासी भीषण रक्तस्राव सुरू भयो। अप्रेसन थिएटर रक्ताम्मे भयो। रक्तस्राव रोक्नै नसकिने गरी बिरामीको रक्तचाप घट्न थाल्यो।
अप्रेसन टेबलमै बिरामीको ज्यान जाने खतरा बढेपछि डा. राजेश निकै आत्तिए। उनको मुटुको धड्कन बढ्यो।

उनलाई चिन्ता थियो- ‘कतै यो बिरामीको मेरै अगाडि ओटी टेबलमा मृत्यु त हुने होइन? यदि त्यसो भयो भने म यो मानसिक आघात लिएर कसरी बाँच्न सक्छु होला?’
तर, चिकित्सकहरूको टोलीले धैर्यता गुमाएन। उनीहरूले आफ्नो सम्पूर्ण चिकित्सकीय क्षमता, ज्ञान र अनुभवको प्रयोग गरेर रगत बग्ने नली फेला पारे र त्यसलाई बाँध्न सफल भए।
अथक प्रयासपछि रक्तस्राव रोकियो र शल्यक्रिया सफल भयो। ती बिरामी केही हप्ताको उपचारपछि आफैँ हिँडेर घर फर्किए। आज पनि जटिल शल्यक्रिया गर्दा डा. राजेशको मानसपटलमा त्यो घटना ताजा भएर आउँछ।
उनी अहिले पनि लामो सास फेर्दै सोच्छन्- ‘यदि त्यो दिन ती पुरुषको अप्रेसन टेबलमै मृत्यु भएको भए...!’
जेठ २३, २०८३ शनिबार १२:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।