डा. जयन्तको उपचार अनुभव : परिवारकै सदस्यले पेटमा छुरी हान्दा रगतले निथ्रुक्क भएर अस्पताल आइपुगेका ती युवा...
डा. जयन्त कुमार साह सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट (जीआई सर्जन) हुन्। विशेष गरी जटिल शल्यक्रियामार्फत बिरामीलाई नयाँ जीवन दिने संवेदनशील कर्ममा उनी व्यस्त रहन्छन्।
बिरामीको पीडा र छटपटी देख्दा उनको मन पनि उत्तिकै पोल्छ। अस्पताल आइपुग्ने सबै बिरामीलाई बचाउन सकिन्छ नै भन्ने निश्चित त हुँदैन, तर अथक प्रयासपछि कसैको ज्यान जोगाउँदा मिल्ने खुसी शब्दमा व्यक्त गर्न नसकिने उनी बताउँछन्।
आफ्नो चिकित्सकीय यात्राका क्रममा डा. जयन्तले सँगालेका केही अविस्मरणीय भोगाइ उकेरासँग साटेका छन्:
छुरी प्रहारबाट पेट छेडिएका ३५ वर्षे युवालाई बचाएको त्यो रात
डा. जयन्तको स्मृतिमा करिब नौ वर्षअघिको एउटा घटना आज पनि ताजा छ।
रातको करिब ११ बजेको थियो। एक जना करिब ३५ वर्षीय घाइते युवालाई अत्यन्तै नाजुक अवस्थामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) को आकस्मिक कक्षमा ल्याइयो।
त्यतिबेला डा. जयन्त महाराजगञ्जमा ‘एमसीएच’ अध्ययन गर्दै शिक्षण अस्पतालकै आकस्मिक कक्षको ड्युटीमा खटिएका थिए।
अस्पताल पुर्याउँदा ती युवा अर्धचेत अवस्थामा थिए र उनको शरीर रगतले निथ्रुक्क भिजेको थियो। चिकित्सकको टोलीले एक मिनेट पनि ढिला नगरी तत्कालै रक्तस्राव रोक्ने प्राथमिक उपचार सुरु गर्यो।
ती युवाको पेटको अघिल्लो भागमा धारिलो हतियार (छुरी) प्रहार गरिएको थियो। छुरीले उनको पेट छेडेर आन्द्रा र अग्नाशय (प्यांक्रियाज) समेत काटिएको थियो। धन्न, पेटको मुख्य रक्तनली (मुल नसा) जोगिएको थियो।

सोधखोजका क्रममा ती युवालाई पारिवारिक सदस्यबाटै छुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थाहा भयो। तत्काल शल्यक्रिया नगरिए उनको ज्यान जाने निश्चित थियो।
चिकित्सकको टोलीले राति नै उनलाई शल्यक्रिया कक्षमा लग्यो। उनको क्षतिग्रस्त फियो निकालियो र पेटको काटिएको भाग जोडिनुका साथै आवश्यक अन्य मर्मत गरियो।
यो शल्यक्रिया अत्यन्तै जटिल थियो। शल्यक्रिया कक्ष बाहिर परिवार र आफन्तको रुवाबासी चलिरहेको थियो भने भित्र चिकित्सकहरू बिरामीको ज्यान बचाउन रातभर संघर्ष गरिरहेका थिए।
करिब पाँच घण्टाको अथक प्रयासपछि शल्यक्रिया सफल भयो। बिरामीलाई पोस्ट अपरेटिभ वार्ड हुँदै बिस्तारै जनरल वार्डमा सारियो। करिब एक हप्ताको उपचारपछि ती युवा पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज भए।
नयाँ जीवन पाएको भन्दै उनी कृतज्ञ भावका साथ घर फर्किए। त्यो रातको घटना सम्झँदा डा. जयन्तको आङ अहिले पनि सिरिङ्ग हुन्छ।
आन्द्राको क्यान्सर भएकी युवतीको सफल उपचार
डा. जयन्तले आन्द्राको क्यान्सरबाट बचाएकी एक युवतीको प्रसङ्ग पनि कहिल्यै भुल्दैनन्।
केही वर्षअघि आन्द्राको क्यान्सर भएकी करिब २० वर्षीया युवती उनको उपचारमा आइपुगेकी थिइन्। परीक्षणका क्रममा आन्द्राको एउटा भागमा क्यान्सर फैलिएको पुष्टि भएपछि शल्यक्रियामार्फत उक्त भाग काटेर फाल्नुपर्ने भयो।
तयारीका साथ पहिलो शल्यक्रिया त गरियो, तर त्यसपछि केही जटिलता देखापर्यो। जोडिएको आन्द्राको भागबाट बिस्तारै तरल पदार्थ चुहिन (लिक हुन) थालेपछि बिरामीको अवस्था फेरि नाजुक बन्यो। तत्कालै दोस्रो पटक शल्यक्रिया गर्नुपर्यो।
दोस्रो शल्यक्रिया सफल भयो र कुनै नयाँ जटिलता आएन। केही दिनको अस्पताल बसाइपछि ती युवती निको भएर घर फर्किइन्। अहिले पनि उनी नियमित फलोअपमा आउने गरेको र पूर्ण रूपमा स्वस्थ रहेको डा. जयन्त सुनाउँछन्।
जनकपुरदेखि काठमाडौंसम्म : डाक्टर बन्ने बाल्यकालको सपना
वि.सं. २०३९ मा धनुषाको मिथिला विहारी नगरपालिकामा जन्मिएका जयन्त कुमार साहले स्थानीय विद्यालयबाट प्राथमिक शिक्षा सुरु गरेका थिए।
कक्षा दुईको अध्ययन सकेपछि उनको परिवार बसाइँ सरेर जनकपुर पुग्यो। उनले कक्षा तीनदेखि जनकपुरमै पढे र वि.सं. २०५४ मा त्यहीँको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि धनुषा साइन्स क्याम्पसबाट उनले प्लस टू पूरा गरे।

सानैदेखि डाक्टर बन्ने सपना बुनेका जयन्त एमबीबीएस तयारीका लागि काठमाडौं आए। तर, पहुँच र सोर्सफोर्स बिना सरकारी छात्रवृत्तिमा नाम निकाल्न गाह्रो हुन्छ कि भन्ने संकोच उनको मनमा थियो। तर उनको मिहिनेतले काम गर्यो; उनी खुला प्रतिस्पर्धाबाट सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट हुन सफल भए।
सन् २००१ मा उनी कास्कीको पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भए र सन् २००७ मा एमबीबीएसको अध्ययन पूरा गरे। सरकारी छात्रवृत्तिको सर्तअनुसार उनले वीरगञ्जको भिकम्पुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष अनिवार्य करार सेवा अन्तर्गत काम गरे।
शल्यचिकित्सक बन्ने दृढ इच्छा र विशिष्टीकृत अध्ययन
एमबीबीएस सकेपछि डा. जयन्तको इच्छा शल्यचिकित्सक (सर्जन) बन्ने थियो।
त्यसैले सन् २०१० मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भएर उनले सरकारी छात्रवृत्तिमै जनरल सर्जरीमा स्नातकोत्तर (मास्टर्स इन जनरल सर्जरी/एमएस) अध्ययन सुरु गरे। सन् २०१३ मा एमएस पूरा गरेपछि पनि उनको अध्ययनको भोक मेटिएन।
उनले कलेजो, पेट र पाचन प्रणाली सम्बन्धी कडा रोगहरूको थप अध्ययन गर्ने निर्णय गरे। सोही वर्षको अन्त्यतिर उनले महाराजगञ्ज चिकित्सा क्याम्पसमै विशिष्टीकृत (सुपर स्पेसलाइजेसन) तहको ‘एमसीएच’ मा भर्ना पाए। यो विधाले खाना खाने नलीदेखि आमाशय, कलेजो, पित्तथैली, अग्नाशय, सानो तथा ठूलो आन्द्रा र मलद्वारसम्मको जटिल शल्यक्रियालाई समेट्छ।
एमसीएच अध्ययनकै क्रममा उनी महाराजगञ्ज चिकित्सा क्याम्पसमा उप-प्राध्यापकका रूपमा नियुक्त भए। सन् २०१७ मा तीन वर्षे एमसीएच पूरा गरेपछि उनी भारतको मेदान्त अस्पताल पुगेर कलेजो प्रत्यारोपण विधामा एक वर्षको फेलोसिप र थप ६ महिनाको अभ्यास पूरा गरी नेपाल फर्किए।

हाल डा. जयन्त महाराजगञ्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल) को जनरल सर्जरी विभागमा उप-प्राध्यापक तथा विशेषज्ञ सर्जनका रूपमा कार्यरत छन्। नयाँ पुस्ताका चिकित्सकहरूलाई पढाउने, जटिल शल्यक्रियामार्फत बिरामीको उपचार गर्ने र चिकित्सा अनुसन्धानमा व्यस्त रहने उनको दैनिकी हो।
विशेष गरी कलेजो, अग्नाशय, आमाशय र पित्तथैलीको शल्यक्रियामा उनी बढी केन्द्रित छन्। कलेजो र अग्नाशयको पत्थरी, क्यान्सर तथा जटिल ट्युमरहरूको शल्यक्रिया दूरबिन (ल्याप्रोस्कोपिक) विधिबाट गर्ने प्रविधिमा पनि उनले विशिष्ट योगदान दिँदै आएका छन्। बिरामीको सेवा गर्नुलाई नै आफ्नो धर्म मान्ने डा. जयन्तको अधिकांश समय अस्पतालकै सेवामा बित्छ।
जेठ ३०, २०८३ शनिबार १२:३०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।