नरेन्द्रको हिजोको कुरा : फिल्म हलभित्रै डेटिङ, हलभित्रै ग्याङ फाइट
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा नरेन्द्र महर्जन एउटा चिरपरिचित नाम हो। ६० वर्षको उमेरमा हिँडिरहेका महर्जनको परिचय बहुआयामिक छ- उनी फिल्म वितरक हुन्, हल सञ्चालक हुन् र सफल निर्माता पनि।
उनको बाल्यकाल कीर्तिपुरको पाँगामा बित्यो, तर विसं २०३६ सालमा जब भूमिसुधार कार्यालयमा जागिरे उनका बुबाको सरुवा वीरगन्ज भयो, उनी पनि परिवारसँगै तराई झरे।
कीर्तिपुरको परिवेशबाट वीरगन्ज पुगेका नरेन्द्रले त्यहीकै त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा भर्ना लिए र २०३९ सालमा त्यहीँबाट एसएलसी उत्तीर्ण गरे।
त्यस समयमा चलचित्रको संसार आजको जस्तो सहज र आधुनिक थिएन। अहिले फिल्मको जाँच पास (सेन्सर) काठमाडौंमा हुन्छ, तर त्यतिबेला यो जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) को हुन्थ्यो।
संयोग कस्तो पर्यो भने, उनका बुबा भन्सार विभागबाट सरुवा भएर सीडीओ कार्यालयमा पुग्नुभयो। कुनै पनि फिल्म हलमा लाग्नुअघि सीडीओसहितको टोलीले हेरेर अनुमति दिनुपर्थ्यो। बुबाको कार्यक्षेत्र त्यही भएकाले नरेन्द्रले पनि हलमा लाग्नुअघि नै फिल्म हेर्ने मौका पाउँथे। सिनेमासँगको उनको साइनो यसरी नै बाल्यकालदेखि नै जोडिँदै गयो।
बुबाको इच्छा त छोरालाई डाक्टर बनाउने थियो। तर, नरेन्द्रको मन भने व्यापार र फिल्मको पर्दातिर तानिसकेको थियो। उमेर र अनुभवले खारिएका तिनै नरेन्द्र महर्जनले आफ्ना सम्झनाहरूलाई उकेराको स्तम्भ हिजोको कुराकानीमा यसरी प्रस्तुत गरेका छन् :
थर्ड डिभिजनमा एसएलसी पास हुँदा नि संसारले चिन्थे
मेरो जन्म विसं २०२३ सालमा कीर्तिपुरको पाँगामा भएको हो। मैले कक्षा ५ सम्म कीर्तिपुरकै जनसेवा माध्यमिक विद्यालयमा पढेँ। कक्षा ६ पढ्नका लागि म वीरगन्ज गएँ। त्यतिबेला मेरो बुबा भूमिसुधारमा जागिर गर्नुहुन्थ्यो। उहाँको वीरगन्ज सरुवा भएपछि हामी पनि उतै सर्यौं।
हामी विसं २०३६ सालमा वीरगन्ज पुगेका हौं। त्यहाँ पुगेपछि मैले त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना लिएँ र सोही स्कुलबाट विसं २०३९ सालमा एसएलसी उत्तीर्ण गरेँ। मैले एकै पटकमा तृतीय श्रेणी (थर्ड डिभिजन) मा एसएलसी पास गरेको थिएँ। कक्षाका अरू साथीहरूभन्दा म अलि जान्ने नै थिएँ।
त्यो समयमा एसएलसी पास गर्नु निकै गाह्रो हुन्थ्यो। पास भएपछि त्यसलाई ठूलो गौरवको कुरा मानिन्थ्यो। एसएलसी पास गर्नेलाई सबैले चिन्थे र मान-सम्मान पनि हुन्थ्यो। अहिलेको जस्तो सामान्य थिएन, किनकि त्यस जमानामा पास हुनेको सङ्ख्या निकै कम हुन्थ्यो।
त्यतिबेला विद्यालय जान आजको जस्तो बसको सुविधा थिएन। म सरकारी स्कुलमा पढ्थेँ। घरबाट विद्यालय जान र फर्कन पैदलै हिँड्नुपर्थ्यो।
एसएलसी उत्तीर्ण गरेपछि मैले ठाकुरराम बहुमुखी क्याम्पसमा आईएससीमा भर्ना लिएँ। आईएससी पढेपछि रुसमा छात्रवृत्तिमा एमबीबीएस पढ्न जाने अवसर पाइन्थ्यो। तर विदेश जानुभन्दा अगाडि नै केही व्यापार गरौं भन्ने लागेर मैले काम सुरु गरिसकेको थिएँ। आईएससी दोस्रो वर्षमा एउटा विषय लागेपछि मैले खाद्यान्नको व्यापारको मेलो समातेँ।
मेरो व्यापार त्यस बेला २४ सै घण्टा चल्थ्यो, पसल बन्दै गर्नु पर्दैनथ्यो। सामान किन्ने ग्राहकहरूको लाइन हुन्थ्यो। म एमबीबीएस पढ्न जानुको साटो व्यापारमै रमाउन थालेँ र व्यस्तता बढ्दै गयो। मैले सोचेँ- "सात वर्षसम्म एमबीबीएस पढेर फर्किँदा त यहाँ सबै भद्रगोल होला।"
म घरको दुई दाजुभाइ र दुई दिदीबहिनीमध्ये जेठो छोरो भएकाले पनि ममा जिम्मेवारी थियो। यसरी म सानैदेखि व्यापारमा लागेँ।
साइकल चढेर सिनेमा हेर्न सीमापारि
वीरगन्जमा विद्या चलचित्र मन्दिर भन्ने हल थियो। त्यहाँ हामी हिन्दी फिल्म हेर्ने गर्थ्यौं। सुरुसुरुमा फिल्म कस्तो हुन्छ भन्ने कुराको ज्ञान थिएन, मनमा अचम्म र कौतूहल मात्र हुन्थ्यो। मैले थाहा पाउँदा वीरगन्जमा दुई वटा हल थिए।
त्यस समयमा हाम्रो बुझाइ कस्तो थियो भने, यदि एउटै कलाकारको फिल्म दुई वटा हलमा लागेको छ भने ती कलाकार एक पटक एउटा हलमा र अर्को पटक अर्को हलमा दौडेर आउँछन् होला जस्तो लाग्थ्यो। कलाकारहरू पालैपालो एउटा हलबाट अर्कोमा जान्छन् भन्ने हामी सोच्थ्यौं।

जब मैले व्यापार सुरु गरेँ, फिल्म हेर्ने मेरो रुचि झन् बढ्यो। फर्स्ट डे, फर्स्ट शो अन्तर्गत दिउँसो १२ बजेको शो जसरी पनि हेर्नै पर्ने मेरो बानी नै बस्यो। मेरो पसलबाट फिल्म हल करिब आधा घण्टाको दूरीमा थियो। तराईमा भएकाले पनि होला, वीरगन्जका हलमा नेपालीभन्दा बढी हिन्दी फिल्म लाग्थे। त्यतिबेला मैले धेरैजसो फिल्महरू हेरेँ।
मेरो वीरेन्द्र शर्मा भन्ने एक जना साथी हुनुहुन्थ्यो, उनको बुबा त्यतिबेला जेलर हुनुहुन्थ्यो। जेलरलाई फिल्म हेर्नका लागि पास आउँथ्यो र त्यही पास लिएर हामी समय-समयमा फिल्म हेर्न जाने गर्थ्यौं।
पछि मेरो बुबा जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) मा सरुवा हुनुभयो। त्यस समयमा अहिलेको जस्तो केन्द्रीय चलचित्र जाँच पास समिति मात्र नभई जिल्ला-जिल्लामा पनि जाँच पासको व्यवस्था हुन्थ्यो। सीडीओ कार्यालयले अनुमति दिएपछि मात्र फिल्म चल्न पाउने नियम थियो। बुबा त्यहाँ हुनुभएकाले फिल्म सेन्सर हुँदा म पनि सँगै गएर हेर्ने मौका पाउँथेँ। यसरी म सिनेमासँग नजिक हुने अवसर जुट्यो।
अर्को चाखलाग्दो कुरा, भारतमा नयाँ फिल्म लागेको धेरै समयपछि मात्र नेपालमा रिलिज हुन्थ्यो। त्यतिबेला तराईतिर विवाहमा ज्वाइँलाई साइकल दिने चलन थियो। यो विसं २०४४ सालतिरको कुरा हो। साथीहरूको विवाह हुन लाग्दा हामी खुसी हुन्थ्यौं। किनभने दाइजोमा साइकल पाइन्थ्यो र त्यही साइकल चढेर हामी नयाँ हिन्दी फिल्म हेर्न सीमापारि रक्सौलको सिनेमा घर पुग्ने गर्थ्यौं।
दाइको लहै-लहैमा चलचित्र वितरक
मेरो फुपूको छोरा (दाइ)का साथीहरू फिल्म वितरणमा चासो राख्नुहुँदो रहेछ। दाइले उहाँहरूलाई मेरो भाइ वीरगन्ज बस्छ, सीमा क्षेत्र र तराईको बजारबारे उसलाई ज्ञान हुन सक्छ भन्दै मलाई भेटाउन वीरगन्ज नै लिएर आउनुभयो। हामीले भारतबाट हिन्दी फिल्महरू नेपाल ल्याएर प्रदर्शन गर्ने र त्यसबाट राम्रो पैसा कमाउन सकिने सल्लाह गर्यौं। मलाई पहिलेदेखि नै फिल्ममा रुचि थियो, त्यसमाथि मैले प्रायः सबै फिल्म हेर्ने भएकाले कुन फिल्म चल्छ र कुन चल्दैन भन्नेबारे म दाइहरूलाई सल्लाह दिन्थेँ।
हामीले हिन्दी फिल्मबाट वितरणको काम थालेका हौं। त्यस समयमा हामीले 'क्रान्ति वीर', 'आग' र 'डर' जस्ता हिन्दी फिल्महरू नेपाल ल्याएर चलायौं। त्यतिबेला अहिलेको जस्तो डिजिटल प्रविधि थिएन, फिल्मका रिल हुन्थे। एउटा हलमा देखाएपछि ती रिलहरू अर्को हलमा पुर्याउनुपर्थ्यो।
एउटा फिल्मका करिब २ देखि ५ वटासम्म प्रिन्ट (रिल) आउँथे र तिनैलाई पालैपालो विभिन्न ठाउँका हलमा पठाउनुपर्थ्यो। अहिले त एकै पटक देशभर अनलाइन माध्यमबाट फिल्म चलाउन सकिन्छ, तर त्यतिबेला गाडीमा राखेर वा बोकेरै रिलहरू ठाउँ-ठाउँमा पुर्याउनुपर्थो।
यही सिलसिलामा म नेपालभरिका हलहरूसम्म पुगेँ। हलको अवस्था कस्तो छ र व्यापार कस्तो हुन्छ भन्ने कुरा बुझ्ने मौका पाएँ। फिल्म व्यापारको प्रकृति अहिलेको जस्तै थियो- चल्दा राम्रो कमाइ हुने, नचल्दा डुबिने। तर, हामीले सुरुमा ल्याएका फिल्महरूबाट खासै घाटा बेहोर्नुपरेन। कमाइ पनि ठिक्कको हुन्थ्यो, धेरै ठूलो रकम हात पर्ने भन्ने चाहिँ थिएन।
फिल्म वितरणकै क्रममा पछि म वीरगन्जकै अर्को समूह नारायणी फिल्मससँग आबद्ध भएँ। उनीहरूसँग जोडिएपछि कामको दायरा (भोलुम) अझ बढ्यो। हामीले 'खिलाडी का खिलाडी' र 'इश्क' जस्ता ठूला हिन्दी फिल्महरूको वितरणमा पनि सहकार्य गर्यौं। पहिलो पटक काठमाडौंको कुमारी हलमा 'खिलाडी का खिलाडी' हामीले नै रिलिज गरेका हौं।

बिस्तारै नेपाली फिल्म निर्माणको क्रम पनि बढ्न थाल्यो। हामीले पहिलो पटक 'एक नम्बरको पाखे' फिल्म वितरणको जिम्मा लियौं। त्यसपछि युवराज लामाका फिल्महरू 'खान्दान' र 'माउते दाइ'मा साना लगानीकर्ता (प्रोड्युसर) का रूपमा पनि जोडियौं। ऐतिहासिक सफलता पाएको फिल्म 'सुख-दुःख'मा भने म लगानीकर्ता र वितरक दुवै भूमिकामा थिएँ। त्यो समयमा नेपाली फिल्महरू निकै कम सङ्ख्यामा बन्थे।
हलमा नै कुटाकुट चल्थ्यो, डेटिङ स्पट बन्थ्यो
त्यस समयमा मनोरञ्जनका अन्य साधनहरू थिएनन्, त्यसैले फिल्म नै मनोरञ्जनको मुख्य माध्यम थियो। सिनेमा हल फिल्म हेर्ने ठाउँ मात्र नभएर भेटघाट र डेटिङ स्पटसमेत बन्थे।
कतिपय अवस्थामा त रिसइबी साध्ने वा झगडा गर्ने थलो पनि हल नै हुन्थ्यो। सिनेमा हलभित्र दिनहुँ जसो झगडा हुन्थे, जुन हामीले कति छुट्यायौं-छुट्यायौं। कहिलेकाहीँ त एउटा टोलको मान्छे अर्को टोलसँग झगडा गर्न हलमै आइपुग्थ्यो र 'तँ कहाँ छस्, बाहिर निस्की!' भन्दै चुनौती दिन्थ्यो।
फिल्मप्रति दर्शकहरूको क्रेज यति धेरै थियो कि गाडीबाट नयाँ फिल्मको पोस्टर भुईँमा झार्न नपाउँदै मानिसहरू झुम्मिइसक्थे। यो फिल्म कहिलेदेखि लाग्छ भनेर सोध्नेहरूको भीड जम्मा भइहाल्थ्यो। आगो फिल्मको समयमा त बसपार्कमा पोस्टर झार्न नपाउँदै मानिसहरू त्यसको पछि-पछि हलसम्मै आइपुगेका थिए। दर्शकमा फिल्मप्रतिको यस्तो उत्साह र आकर्षण गज्जबको थियो।
टिकट पाउनु नै युद्ध जिते जस्तो हुन्थ्यो
त्यतिबेला सिनेमा हलमा दर्शकहरूको भीड थामिनसक्नु हुन्थ्यो। हामी आफैँले टिकट काट्दा पनि निकै सास्ती खेप्नुपर्थ्यो। एउटा सानो प्वालबाट हात घुसारेर टिकट लिनुपर्ने अवस्था थियो। लुछाचुँडी र भीडका कारण कहिलेकाहीँ त नाडीको छाला नै पिल्सिन्थ्यो। अहिलेको पुस्तालाई त्यो समयको फिल्म क्रेजबारे थाहा नहुन सक्छ, किनकि अहिले प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। अहिले त मोबाइलबाटै टिकट काट्न सकिन्छ र हलहरू पनि अत्याधुनिक (डिजिटल) भइसकेका छन्।
कुनै समय यस्तो थियो कि, पर्दामा दिलीप रायमाझी वा श्रीकृष्ण श्रेष्ठमध्ये जो देखिए पनि फिल्म चल्थ्यो। विशेषगरी 'जिन्दगानी' र 'दर्पणछायाँ' जस्ता फिल्महरूले त व्यावसायिक रूपमा निकै सफलता भएका थिए। केही वर्षअघिसम्म कलाकारलाई हलमा ल्याउँदा अगाडि उभ्याउन नसक्ने अवस्था थियो।
त्यस समय देशभर करिब ४५० वटा सिनेमा हल थिए, जुन अहिले घटेर १७० को हाराहारीमा पुगेका छन्। त्यतिबेला हल सञ्चालकहरूले फिल्म चलाउनका लागि निर्मातालाई पहिल्यै एडभान्स पैसा बुझाउनुपर्ने हुन्थ्यो। पैसा बुझाएपछि मात्र पालो आउँथ्यो। 'भैरहवापछि मात्रै तपाईंको पालो आउँछ' वा 'बुटवलपछि मात्रै रिल पाइन्छ' भन्ने हुन्थ्यो। जब फिल्मको रिल हात पर्थ्यो, हाम्रो खुसीको सीमा नै हुँदैनथ्यो।
रिलको जमानाको एउटा रोचक घटना मलाई अझै सम्झना छ। हेटौँडाको ओम चलचित्र मन्दिरमा हामीले असार महिनामा 'दर्पणछायाँ' रिलिज गरेका थियौं। फिल्म चलेको ३१-३२ दिन भइसकेको थियो। अचानक ठूलो वर्षा हुन थाल्यो र हलमा दर्शक आउन बन्द भयो। अर्कोतिर, त्यो फिल्मको रिलको अन्तै माग (डिमान्ड) थियो। त्यसैले हामीले राति नै गाडीमा हालेर रिल अर्को ठाउँमा पठाइदियौं। तर, फिल्म उतारेको केही दिनमै पानी पर्न रोकियो। दर्शकहरू फेरि ग्वाररर हलमा आए, तर त्यहाँ देखाउनलाई फिल्म नै थिएन! दर्शकको त्यो क्रेज देख्दा हामी छक्क परेका थियौं।
रेखा थापालाई हलसम्म पुर्याउनै सकिएन
अहिलेको जस्तो फेसबुक र युट्युबको जमाना थिएन। त्यस बेला फिल्म लाग्दै छ वा कलाकार आउँदै छन् भन्ने जानकारी दिन गाउँ-गाउँमा माइकिङ गरिन्थ्यो। 'फलाना फिल्म, फलाना समयमा लाग्दै छ' भन्दै एउटा ठूलो लाउडस्पिकर राखेर प्रचार गरिन्थ्यो। रेडियोहरू पनि भर्खर-भर्खर खुल्दै थिए।

रेखा थापाको फिल्म ‘हिम्मत’ हेटौँडामा चल्दाको एउटा घटना मलाई अझै सम्झना छ। फिल्म चल्न थालेपछि हलमा दिनहुँ दर्शकको भीड हुन्थ्यो। त्यही बीचमा हामीले रेखा थापालाई हेटौँडाको ओम चलचित्र मन्दिरमा निम्त्याएका थियौं। उहाँ आउँदै हुनुहुन्छ भन्ने खबर माइकिङ, रेडियो र पत्रपत्रिकाबाट व्यापक रूपमा प्रचार भयो।
त्यो दिन हलमा दर्शकको यति ठूलो भीड जम्मा भयो कि त्यसको वर्णन गरिसाध्य छैन। हलभित्र भएका दर्शकभन्दा बाहिर तीन गुणा बढी मानिसहरूको ओइरो लागेको थियो। रेखा थापा हेटौँडाकै एक घरमा बस्नुभएको थियो, तर उहाँलाई त्यहाँबाट हलसम्म लैजानै सकिएन। भीड यति अनियन्त्रित भयो कि अन्त्यमा उहाँलाई दर्शकमाझ नछिराई त्यसै फर्काउनुपर्यो।
अहिले त कलाकार हलमा आउँछन् भन्दा पनि त्यस्तो भीड लाग्दैन। मानिसहरू आफूलाई मन परेको फिल्म छ भने मात्र हेर्न जान्छन्। सायद अहिले मनोरञ्जनका धेरै विकल्प भएकाले पनि दर्शकको त्यो पुरानो क्रेज कम हुँदै गएको हो।
जेठ २१, २०८३ बिहीबार २३:१४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।