निर्देशक प्रकाशका हिजोको कुरा : सिनेमा हेर्नु बिग्रनु मानिन्थ्यो, निर्देशक बन्नु पागलपन

निर्देशक प्रकाशका हिजोको कुरा : सिनेमा हेर्नु बिग्रनु मानिन्थ्यो, निर्देशक बन्नु पागलपन

काठमाडौं : नेपाली फिल्मी जगतका स्थापित लेखक, निर्देशक तथा समीक्षक हुन्- प्रकाश सायमी। फिल्म, साहित्य र संगीतका क्षेत्रमा समेत गहिरो दख्खल राख्ने सायमी अहिले ६१ वर्षका भए। 

उनले थाहा पाउँदा काठमाडौंमा सीमित सिनेमा हलहरू थिए, जहाँ प्रायः हिन्दी र अङ्ग्रेजी फिल्म चल्थे भने नेपाली फिल्म छिटपुट मात्रै देखिन्थे।

त्यतिबेलाको नेवारी समुदाय र उनको परिवारमा सिनेमा हेर्नुलाई कुलतमा लाग्नु जस्तै मानिन्थ्यो। वि.सं. २०२४ सालमा हजुरआमा र फुपूसँग लुकेर फिल्म हेर्न जाँदाको सजाय उनले अझै बिर्सेका छैनन्। 

फिल्म हेरेको थाहा पाएपछि बुबाआमाले उनलाई यति कुटे कि शरीरको लुगा नै च्यातियो। छिमेकीसँग मागेर लगाएको त्यो लुगा च्यातिँदा उनले अब कहिल्यै फिल्म नहेर्ने कसम खाएका थिए।

छोरा सपार्नका लागि बुबाआमाले उनलाई घर नजिकैको स्कुल छोडाएर पाटनको श्रीचण्डी विद्याश्रममा भर्ना गरिदिए। तर, नियति कस्तो भने- त्यो स्कुलकै छेउमा अशोक सिनेमा हल थियो, जसको बारेमा बुबाआमालाई अत्तोपत्तो थिएन। 

अन्ततः उनको पाइला कक्षाकोठामा भन्दा बढी फिल्म हलतिरै सोझिन थाल्यो। बुबाआमा उनलाई 'होटल म्यानेजमेन्ट' पढाउन चाहन्थे, तर उनको मन भने फिल्मको पर्दा र पर्दा पछाडिको त्यो जादुमयी संसारमा गइसकेको थियो। उनलाई पर्दाका हिरो-हिरोइनभन्दा पनि 'एक्सन-कट' भन्ने शक्तिशाली निर्देशक बन्ने धुन सवार भयो।

आफ्नो बाल्यकालको त्यो रहर, संघर्ष र फिल्मी क्षेत्रको अनौठो अनुभवलाई उनले 'उकेरा'को स्तम्भ ‘हिजोका कुरा’मा यसरी सुनाएका छन् :

सिनेमा हेर्नुलाई बिग्रनु मानिन्थ्यो

नेवारी समुदायमा सिनेमा हेर्यो भने बिग्रिन्छ भन्ने सोचाइ थियो। मैले थाहा पाउँदा हाम्रो घरमा फिल्म हेर्न प्रतिबन्ध नै थियो। नेवारी भाषामा 'सिने' भनेको बिग्रनु र 'मा' भनेको जा, अर्थात् 'सिनेमा'को अर्थ 'बिग्रेर जा' भन्ने बुझिन्थ्यो। त्यसैले सिनेमा हेर्न जानु भनेको बिग्रन जानु हो भन्ने संस्कार थियो।

वि.सं. २०२४ सालतिरको कुरा हो। आमा र बुबा घरमा नभएको समयमा हजुरआमा र फुपूले मलाई न्युरोडको रञ्जना हलमा ‘भक्त प्रह्लाद’ चलचित्र हेर्न लैजानुभयो। मलाई अहिले पनि त्यो समयको सम्झना छ। फिल्म हेर्न जाँदा बाटोमा आमाको पसल थियो। आमाले देख्नुहोला भनेर फुपूले मलाई डालोमा हालेर ओढ्नेले छोपी लैजानुभएको थियो। 

तीन-चार वर्षको उमेरमा हेरेको त्यो पहिलो फिल्मले मलाई निकै आकर्षित गर्यो। फिल्म हेरिसकेपछि मलाई आफ्नै घरको पनि ख्याल भएन। राति घर फर्कँदा अर्कै संसारमा डुबेको जस्तो भइरहेको थियो। त्यो समयको दृश्य अहिले पनि मेरो आँखामा झलझली छ।

फुपूले मलाई अर्काको लुगा मागेर लगाइदिएर फिल्म लैजानुभएको थियो। घर आएपछि आमाले त्यही लुगामा समातेर मलाई पिट्न थाल्नुभयो। त्यो लुगा नै च्यातियो। कुटाइ खाइसकेपछि 'अबदेखि कहिल्यै फिल्म हेर्दिनँ' भनेर मैले कसम खानुपरेको थियो।

बुबाआमाले छोरो घरमै बस्यो भने बिग्रन्छ भनेर मलाई अलि टाढा पाटनको श्रीचण्डी विद्याश्रममा भर्ना गरिदिनुभयो। त्यहाँ पढाएपछि छोराले सिनेमा हेर्दैन र बिग्रिँदैन भन्ने उहाँहरूको बुझाइ थियो। तर, त्यो स्कुलको नजिकै ‘अशोक सिनेमा हल’ रहेछ भन्ने कुरा बुबाआमालाई थाहा रहेनछ। बिस्तारै हल देखेपछि म र साथीहरू इन्टरभल हुनासाथ भित्र छिरिहाल्न थाल्यौं। स्कुलको इन्टरभल र हलको इन्टरभलको समय मिले हामी अरूसँगै भित्र पसेर खाली ठाउँमा बसी फिल्म हेर्थ्यौं।

त्यहाँ मैले पहिलो पटक ‘राम और श्याम’ फिल्म हेरेँ। यो फिल्म हेरेपछि ममा अलि परिवर्तन आयो। दिलीप कुमारको त्यो फिल्मको कथा कस्तो होला भनेर म कल्पना गर्थें र साथीहरूलाई सुनाउँथेँ। नहेरेको फिल्मको कथा पनि मैले सुनाएपछि साथीहरू छक्क पर्थे र मसँग फिल्म हेर्न जाऔँ भन्थे। एक दिन क्लास टिचरले घरमा रिपोर्ट गरिदिनुभएछ- "यो केटा क्लासमा हुँदैन, तर पनि कसरी फस्ट हुन्छ?" 

म पढाइमा सधैँ फस्ट नै हुन्थेँ, तर फिल्म हेर्न पनि छोड्दिनथेँ। त्यो रिपोर्ट घर पुगेपछि म फेरि डराएँ र आमाको कुटाइ सम्झेर केही समय हलतिर जानै छोडिदिएँ। त्यो बाटो हिँड्नै छोडेँ।

बिस्तारै डर हराउँदै गयो। मलाई अशोक हलका कर्मचारीदेखि पालेसम्म सबैले चिन्न थालिसकेका थिए। स्कुल नजिकैको स्टेसनरीमा फिल्मका संवाद (डायलग) भएका साना किताब पाइन्थे। म ती किताब किनेर पढ्थेँ र फिल्म हेर्थेँ। पछि त मलाई कुन हलमा कुन फिल्म लाग्छ र कुन हिरोको फिल्म कहाँ चल्छ भन्ने सबै थाहा हुन थाल्यो। जस्तै, भक्तपुरमा अमिताभ बच्चनको फिल्म आउँदैन, जय नेपालमा राजेश खन्नाको आउँछ भन्ने जस्ता कुराको मलाई सानै उमेरमा राम्रो जानकारी भइसकेको थियो।

एक दिन जय नेपाल हलका साहुले मलाई बोलाएर सोधे, "यो फिल्म आउँदै छ, कति चल्ला?" मैले संवादको किताब पढेको आधारमा "यो राजेश खन्नाको फिल्म हो, गीत पनि राम्रो छ, त्यसैले चल्छ" भनेर सुनाएँ। नभन्दै त्यो फिल्मले हलमा सय दिन मनायो।

फिल्म हेर्दा निदाएपछि पैसा नदिँदा झगडा

नाटकमा भन्दा पनि मेरो रुचि फिल्म हेर्नमा बढी थियो। त्यस समय काठमाडौं बाहिरबाट आउने साथीहरू रमेश बुढाथोकी, सुनिल पोखरेल, बद्री अधिकारी र अशेष मल्ल लगायतलाई "यो हलमा यो फिल्म चल्दै छ" भनेर मैले फिल्म हेर्न लैजान्थेँ। 

त्यसै समयमा अचानक 'भिडियो फिल्म'को युग सुरु भयो। काठमाडौंका गल्ली-गल्लीमा भिडियो फिल्म देखाउन थालियो। म यहीँको स्थानीय भएकाले मलाई कुन ठाउँमा के भइरहेको छ भन्ने सबै थाहा हुन्थ्यो। प्रायः लुगा सिउने पसलका भित्री कोठाहरूमा टिभी र डेग राखेर फिल्म देखाइन्थ्यो। कतिपय ठाउँमा त अरूको निजी कोठामा लगेर पनि फिल्म देखाइने गरिन्थ्यो।

भिडियो फिल्मको त्यो समयमा मैले अभिनेता रवीन्द्र खड्का, सपना मल्ल प्रधान (अहिलेको प्रधानन्यायाधीश), राजेन्द्र र रमेश बुढाथोकीलाई "आर्ट मुभी हेर्नुपर्छ" भनेर पाँच-पाँच रुपैयाँ उठाउँदै हलमा लैजान्थेँ। गुच्चाटोलमा एउटा सानो हल थियो। त्यहाँका हलवालालाई म "ओम पुरीका पुराना नचलेका फिल्महरू ल्याउनुस्" भनेर उक्साउँथेँ। उनीहरूले त्यस्ता फिल्म ल्याउन त थाले, तर दर्शक भने तीन-चार जनाभन्दा बढी हुँदैनथे। म आफैँले दर्शक बटुलेर लैजानुपर्थ्यो।

एक पटक म रवीन्द्र खड्कालाई लिएर एउटा अङ्ग्रेजी फिल्म हेर्न गएको थिएँ। फिल्म अवधिभर रवीन्द्र हलमै सुतिदिएछन्। फिल्म सकिएपछि हलको मान्छे पैसा माग्न आयो, तर रवीन्द्रले "मैले फिल्म हेरेकै छैन, पैसा दिन्न" भनेर जिद्दी गरे। "तपाईं हलभित्र पसिसकेपछि पैसा तिर्नुपर्छ" भन्ने हलवाला र "नहेरेको फिल्मको पैसा तिर्दिनँ" भन्ने रवीन्द्रबीच निकै बेर झगडा भयो। त्यो हलमा दर्शक पनि कम हुन्थे, पछि यस्तै विवादहरूले गर्दा त्यो हल बन्द नै भयो। मैले पछि रवीन्द्रलाई सोधेँ, "किन फिल्म नहेरेको त?" उनले "मैले त केही बुझ्दै बुझिनँ" भनेर जवाफ दिए।

त्यसपछि हामीले 'इन्डियन लाइब्रेरी'मा गएर उनीहरूलाई फिल्म देखाइदिन अनुरोध गर्यौं। हामीले नाम टिपाएका फिल्महरू उनीहरूले मगाइदिन्थे, तर ती फिल्म हेर्न मान्छे नै आउँदैनथे। लाइब्रेरीले हल बुक गर्थ्यो, तर दर्शक दुई-तीन जना मात्र हुन्थे। आफूले भनेर फिल्म राख्न लगाएको, तर मान्छे नहुँदा मलाई साह्रै लाज लाग्थ्यो। मैले बोलाएका कलाकार साथीहरू पनि सधैँ आइदिँदैनथे।

केही समयपछि हामीले त्रिपुरेश्वरमा 'सिने क्लब' सुरु गर्यौं। त्यहाँ हामी आफैँले भिडियो डेग भाडामा लिएर फिल्महरू देखाउन थाल्यौं।

दर्शक भाग्छन् भनेर हाफ टाइम गरिएन 

त्यतिबेला मलाई फिल्मको 'प्रिमियर शो' भनेको के हो र यो कहाँ, कसरी हुन्छ भन्ने केही थाहा थिएन। पहिलो पटक मलाई प्रज्ञा भवनमा फिल्म ‘बदलिँदो आकाश’को प्रिमियरका लागि निम्तो आयो। म फिल्म हेर्न गएँ।

संयोगवश, म बसेको सिटको छेउमै फिल्मका निर्देशक प्रकाश थापा हुनुहुन्थ्यो। फिल्म हेर्दाहेर्दै निकै समय बित्यो, तर 'हाफ टाइम' (इन्टरभल) नै भएन। मेरो वरपर बसेका मान्छेहरू छटपटाउन थालिसकेका थिए। मैले निर्देशक थापालाई सोधेँ, "यो फिल्ममा हाफ टाइम हुँदैन र?" उनी अलि कडा र घमण्डी स्वभावका थिए। उनले मलाई जवाफ दिए, "हाफ टाइम गर्यो भने त मान्छेहरू घर गइहाल्छन् नि!"

मेरो छेउमै नारायण गोपाल पनि हुनुहुन्थ्यो। उहाँ फिल्ममा गीत आउँदा मात्र हेर्नुहुन्थ्यो, अरू बेला खासै चासो दिनुभएको थिएन। प्रज्ञा भवनमा यसअघि ‘मुनामदन’ निकै राम्रोसँग चलेको थियो, तर यो फिल्म किन चल्न सकेन भन्ने मलाई लागिरह्यो।

फिल्म सकिने बित्तिकै हलका मान्छेहरू यति छिटो बाहिरिए कि कुरै नगरौँ। वास्तवमा हाफ टाइम नभएकाले सबैलाई पिसाबले च्यापेको रहेछ, त्यसैले उनीहरू हतार-हतार घरतिर दौडिएका थिए। पछि त्यही हलमा प्रदर्शन भएको अर्को फिल्म ‘कान्छी’ भने असाध्यै राम्रोसँग चल्यो।

होटलमा काम गर्दै फिल्मतर्फ

म होटल बज्रमा म्यानेजमेन्ट पढ्दै र काम गरिरहेको थिएँ। सोही समयमा ‘स्टोन’ नामको एउटा फिल्मको छायाङ्कन टोली हाम्रो होटलमा बस्न आयो। मलाई त्यो टोलीलाई विभिन्न ठाउँहरू घुमाउने र देखाउने जिम्मा दिइयो। अफिसले अह्राएपछि मैले 'हुन्छ' भनेँ।

त्यही बेला मैले पहिलो पटक फिल्म सुटिङमा ‘एक्सन’ र ‘कट’ भनेको सुनेँ र देखेँ। मलाई सबैभन्दा अचम्म त निर्देशकको पहिरन देखेर लाग्यो। उनी कच्याककुचुक परेको पाइजामा जस्तो लुगा लगाउँथे, तर उनी कराउँदा सबै जना डराउँथे। मलाई लाग्यो- ओहो, बन्नु त यस्तो मान्छे पो पर्ने रहेछ! 

उनको काम गर्ने शैली र उनी हिँड्ने बित्तिकै सबै जना पछि-पछि दौडिएको देख्दा म चकित पर्थें। फिल्ममा हिरो-हिरोइनभन्दा पनि निर्देशक ठूलो हुने रहेछ भन्ने मलाई महसुस भयो।

त्यो सुटिङ सकिएको केही समयपछि हिन्दी फिल्म ‘हरे राम हरे कृष्ण’को टोली आयो। हामीले अलिअलि हिन्दी बुझ्ने भएकाले त्यो फिल्मको सुटिङ हेर्न झनै मजा आयो। त्यसै क्रममा मैले निर्देशक देवानन्दलाई भेट्ने मौका पाएँ। मैले उनलाई सोधेँ, “यो 'एक्सन' भन्ने ठाउँमा पुग्न (निर्देशक बन्न) कति समय लाग्छ?” 

उनले मलाई पुलुक्क हेरेर सोधे, “तिमी कति वर्षका भयौ?” मैले उल्टै उनलाई सोधेँ, “तपाईं चाहिँ कति वर्षको हुनुभयो?” उनले आफू ४७ वर्षको भएको बताए।

त्यो सुनेपछि मेरो काँचो दिमागले सोच्यो- निर्देशक बन्न त ४७ वर्षकै हुनुपर्ने रहेछ र कानमाथिका कपाल पनि अलिअलि फुलेको हुनुपर्ने रहेछ। तर उनले भनेको अर्को कुराले मलाई गहिरो प्रभाव पार्यो। उनले भनेका थिए, “यदि तिमीले एउटा राम्रो कविता कोर्न सक्यौ भने तिमी अहिल्यै पनि निर्देशक बन्न सक्छौ।”

पछि होटल म्यानेजमेन्ट पढ्ने सिलसिलामा बम्बई जाँदा म फेरि देवानन्दलाई भेट्न गएँ र उनका केही फिल्मको सुटिङ पनि हेरेँ। मैले त्यहाँका मान्छेहरूलाई सोधेँ, “उहाँ कति बजे उठ्नुहुन्छ?” एक जनाले भने, “उहाँले अरूलाई पाँच बजे बोलाउनुहुन्छ, तर आफू चार बजे नै सुटिङ स्पटतिर हिँडिसक्नुहुन्छ।” म झन् अचम्ममा परेँ। 

निर्देशक हुन त सबैभन्दा छिटो उठ्नुपर्ने रहेछ, सधैँ ताजा र स्फूर्त देखिनुपर्ने रहेछ। पहिले हिरो-हिरोइन ठूलो लाग्थ्यो, तर सुटिङ देखेपछि मलाई निर्देशक नै सबैभन्दा प्रभावशाली लाग्न थाल्यो।

नेपाल फर्केपछि म कहिलेकाहीँ पुरानो वीर अस्पताल क्षेत्रमा सुटिङ हुँदा त्यहाँ पुग्थेँ र सुझाव दिन्थेँ- "बिरामीको दृश्य खिच्दा क्यामेरा यहाँ राख्नुपर्छ, ट्रली यसरी चलाउनुपर्छ।" एउटा पनि फिल्ममा काम नगरेको मान्छेले प्राविधिक कुरा गरेको सुनेर साथीहरू हाँस्थे। त्यतिबेला नेपालमा फिल्म सुटिङ बिरलै हुन्थ्यो। मेरो कुरा सुनेर उनीहरू मलाई "पागलपन" भनेर उडाउँथे।

डेनीको भान्जासँगको त्यो भेट 

म छात्रवृत्तिमा होटलसम्बन्धी पढ्नका लागि बम्बई पुगेको थिएँ। त्यहाँ मेरो भेट सिक्किमका उगेन छोगेनसँग भयो, जो पढाइमा भन्दा फिल्ममा बढी रुचि राख्थे। नाताले उनी अभिनेता डेनीका भान्जा थिए। उनी पनि होटल म्यानेजमेन्ट नै पढ्न आएका रहेछन्, तर त्यसमा मन नगएपछि फिल्मतिर लागेका थिए। 

उनीसँगको भेटपछि मैले फिल्मका बारेमा धेरै कुरा सिक्ने मौका पाएँ। उनी फिल्मका बारेमा निकै जानकार थिए। उनले धेरै अङ्ग्रेजी फिल्महरू हेरेका थिए र एउटा गिलास खसेको दृश्यलाई कसरी खिच्ने भन्ने जस्ता प्राविधिक कुरामा समेत उनको राम्रो दख्खल थियो।

म काम गर्ने अफिसबाट सुटिङका लागि लुगाहरू पुर्याउन जानुपर्थ्यो। ड्राइभर लुगा पुर्याएर हतार-हतार फर्किन्थे, तर म भने सुटिङ हेर्न त्यहीँ बस्थेँ। यसरी काम छोडेर सुटिङमा भुल्न थालेपछि मलाई अफिसबाट निकालियो। तर मलाई सुटिङमै रमाइलो लाग्न थालिसकेको थियो, किनभने त्यहाँ खान पनि पाइन्थ्यो र पैसा पनि।

एक दिन विहार स्टुडियोमा उगेनसँग भेट हुँदा उनले मलाई एउटा नेपाली फिल्मको स्क्रिप्ट लेख्न प्रस्ताव गरे। मैले "स्क्रिप्टभन्दा पनि निर्देशन (डिरेक्सन) मा काम गर्छु, नत्र गर्दिनँ" भनेँ। उनले हुन्छ भने र यसरी मैले फिल्म ‘साइनो’मा काम गर्ने मौका पाएँ। यो फिल्मभन्दा अगाडि मैले एउटा हिन्दी फिल्ममा पनि सानो काम गरिसकेको थिएँ।

‘साइनो’मा काम सुरु गर्नुअघि नै मेरो हातमा पाँच हजार रुपैयाँ थमाइयो। त्यो समयमा महिनाभरि काम गर्दा पनि निकै कम पैसा पाइन्थ्यो, त्यसैले पाँच हजार पाउँदा म खुसीले गदगद भएँ। अझै १० हजार आउन बाँकी नै थियो। मैले त्यो पाँच हजार रुपैयाँले फिल्मसम्बन्धी थुप्रै किताबहरू किनेँ। किनकि मैले फिल्मको एउटा छुट्टै संसार देखेँ।

वैशाख १०, २०८३ बिहीबार १९:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।