रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुने, भारतीय र्यापर डिभाइन मुख्य आकर्षण

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुने, भारतीय र्यापर डिभाइन मुख्य आकर्षण

काठमाडौं : भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको चर्चित सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले मंसिर २६ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको बाक्लो सहभागिता रहनेछ।  दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका भारतीय र्यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन्। उनीसँगै नेपाली र्यापर साकारको पनि विशेष प्रस्तुति रहनेछ।

महोत्सवमा लोकप्रिय नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउँले भाइ, इस्ट्रीज र रातो रानीले समेत सांगीतिक प्रस्तुति दिनेछन्। साथै, नेपाल हिपहप फाउन्डेसनको सहभागितामार्फत नेपाली हिपहप संस्कृतिलाई कार्यक्रममा विशेष स्थान दिइने आयोजकले जनाएको छ।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु गरिएको ‘हन्टरहुड’ लाई युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई एकै ठाउँमा जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले बताएको छ। काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले यसपटक नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको हो।

महोत्सवमा संगीतका अतिरिक्त स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबललगायतका गतिविधि सञ्चालन हुनेछन्। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा सञ्चालन हुने स्केटपार्कका गतिविधिको नेतृत्व इश्ना गोएक्ना र मस्रुन स्केटले गर्नेछन्। 

स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ, जसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र परम्परागत खेल गिल्ली डन्डाजस्ता मनोरञ्जनात्मक खेलहरूमा दर्शकले समेत प्रत्यक्ष सहभागी हुन पाउनेछन्।

कार्यक्रममा नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई फ्युजन गरिनेछ। लाखे नाच, भैरव तथा काली नृत्यका साथै ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले महोत्सवलाई थप विविधतापूर्ण बनाउनेछ।

सिर्जनात्मक कार्यशालातर्फ पाओलो नेपालले टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन र चार्म बनाउने कार्यशाला सञ्चालन गर्नेछ भने ‘बाखन न्याने वा:’ ले परम्परागत मुखौटा निर्माणसम्बन्धी कार्यशाला आयोजना गर्नेछ। सहभागीहरूले फ्रेन्ज ट्याटु इनमार्फत ट्याटु तथा फेस पेन्टिङको अनुभवसमेत लिन सक्नेछन्।

स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विशेष ‘फ्ली मार्केट’ राखिनेछ, जहाँ कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स र ओटाकु जात्राका उत्पादनका साथै रोयल इन्फिल्डका आधिकारिक पोसाक तथा एसेसरिजहरू उपलब्ध हुनेछन्।

खानाका पारखीहरूका लागि स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस–टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीका विभिन्न परिकार तथा पेय पदार्थका स्टलहरू रहनेछन्।

आयोजकका अनुसार ‘हन्टरहुड काठमाडौं’ एक सांगीतिक कार्यक्रम मात्र नभई शहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने बृहत् उत्सव हुनेछ। 

मंसिर ७, २०८३ सोमबार १८:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।