कीर्तिमानी शतकपछि मुन्से- मेरो योजना पहिलो बलमा आउट नहुने थियो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को फाइनलमा कीर्तिमानी अविजित १ सय २५ रन प्रहार गर्दै सुदूरपश्चिम रोयल्सलाई पहिलो उपाधि दिलाएका ‘प्लेयर अफ द म्याच’ जर्ज मुन्सेले सुरुमा आफ्नो योजना ‘पहिलो बलमै आउट नहुने’ रहेको रमाइलो प्रतिक्रिया दिएका छन्।
शनिबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै मुन्सेले अघिल्ला दुई खेलमा कम रन बनाए पनि फाइनलमा टिमका लागि योगदान दिन पाउँदा निकै खुसी लागेको बताए।
‘क्रिकेट यस्तै हो, विशेषगरी ओपनर ब्याटरका लागि केही खेलमा कम स्कोर हुनु स्वाभाविक हो,’ मुन्सेले भने, ‘त्यसलाई पछाडि छोडेर खेलको दिन आफ्नो क्षमताअनुसार उत्कृष्ट खेल्नु मुख्य कुरा हो। सौभाग्यवश आज मेरो दिन रह्यो।’ उनले आफ्नो यो ऐतिहासिक शतक परिवारप्रति समर्पित गरेको बताए।
लुम्बिनीका बलरविरुद्ध के विशेष योजना थियो भन्ने प्रश्नमा मुन्सेले हाँस्दै भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा मेरो योजना पहिलो बलमै आउट नहुने थियो। प्रतियोगिताभर ट्रम्पेलम्यानले निकै राम्रो बलिङ गरिरहेका थिए, त्यसैले सुरुमा केही योजना बदलेर सेट भएँ र त्यसपछि सानो बाउन्ड्री (सर्ट साइड) लाई निशाना बनाउँदै गएँ। ४० रनको आसपासमा क्याच छुट्दा अलिकति भाग्यले पनि साथ दियो र अन्ततः योजना सफल भयो।’
ओपनर विनोद भण्डारीसँगको अविजित १५८ रनको साझेदारीबारे पनि उनले रमाइलो अनुभव सुनाए।
‘हाम्रो योजना दौडेर रन नलिने र धेरैभन्दा धेरै छक्का-चौका हान्ने थियो,’ ठट्टा गर्दै मुन्सेले थपे, ‘तर साँच्चै भन्नुपर्दा उहाँले उत्कृष्ट ब्याटिङ गर्नुभयो। एकतर्फबाट ब्याटरले आक्रामक खेलिरहँदा अर्को एन्डमा धैर्यपूर्वक टिकेर स्ट्राइक दिनु सजिलो हुँदैन। पहिलो बलबाटै हामी शान्त र स्पष्ट योजनामा थियौँ।’
कीर्तिपुर मैदानको खचाखच भरिएको दर्शकदीर्घा र एनपीएलको माहोलबाट आफू निकै प्रभावित भएको मुन्सेले बताए।
‘म जम्मा १५-१६ रनमा खेलिरहँदा पूरै दर्शकदीर्घाले मेरो नाम चिच्याउन थाल्यो, त्यो पल निकै अद्भुत थियो,’ उनले भने, ‘यति नयाँ लिगमा पनि समर्थकहरूको यति ठूलो माया र नेपाली क्रिकेटप्रतिको लगाव अन्यत्र विरलै देखिन्छ। यो मेरो करिअरकै उच्च स्तरका अनुभवमध्ये एक हो।’
लगातार तेस्रो फाइनल खेलिरहेकाले ड्रेसिङ रुममा स्वाभाविक दबाब रहेको स्वीकार्दै मुन्सेले प्रशिक्षकको हौसलाले टिमलाई बलियो बनाएको उल्लेख गरे।
‘प्रशिक्षकले अस्ति मात्रै भन्नुभएको थियो कि लगातार फाइनल पुग्नु नै यो टिमको स्तरको प्रमाण हो, त्यसैले ट्रफी जित्छौँ कि जित्दैनौँ होइन, कहिले जित्छौँ भन्ने मात्र हो- र त्यो वर्ष यही बन्यो’, उनले भने।
आज टिमले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा गल्तीरहित प्रदर्शन गरेको उनको भनाइ छ।
क्यारेबियनबाट घर फर्किएको केही दिनमै एनपीएल खेल्ने निम्तो पाउँदा आफू उत्साहित भएको बताउँदै मुन्सेले नेपाली सहकर्मीहरूको खुलेर प्रशंसा गरे।
‘नेपाली खेलाडीहरू निकै दयालु र मिहिनेती छन्, उनीहरूमा जित्ने वास्तविक लडाकु भावना छ। अहिले ड्रेसिङ रुममा देखिएको गर्वको अनुभूति फ्रेन्चाइज क्रिकेटमा कमै देख्न पाइन्छ, यसको हिस्सा बन्न पाउँदा निकै खुसी छु’, मुन्सेले भने।
मंसिर ५, २०८३ शनिबार २३:१०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।