देशका धेरैजसो भाग सफा रहने, तीन प्रदेशका एक-दुई ठाउँमा मात्र वर्षा र हिमपातको पूर्वानुमान

देशका धेरैजसो भाग सफा रहने, तीन प्रदेशका एक-दुई ठाउँमा मात्र वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं : नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु र पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण दिउँसो र राति तीन प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने देखिएको छ।

हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो मधेश र कोशी प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। सो अवधिमा कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

मंसिर ६, २०८३ आइतबार ०७:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।