काठमाडौंमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित संस्थालाई २५ मोटरसाइकल

काठमाडौंमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित संस्थालाई २५ मोटरसाइकल

काठमाडौं : टीभीएस मोटर कम्पनी (टीभीएसएम) र नेपालका लागि साझेदार जगदम्बा मोटर्सले काठमाडौंमा नेपालकै पहिलो टीभीएस प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएका छन्।

टीभीएसएमका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन्।

नवनिर्मित शोरुमबाट एउटै छानामुनि टीभीएसका प्रिमियम मोटरसाइकल र विद्युतीय सवारीसाधनका साथै राइडिङ गियर, एक्सेसरीज तथा कस्टमाइज गरिएका हेल्मेट उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोरुममा अपाचे आरटीआर २०० फोरभी युएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० फोरभी युएसडी प्रोजेक्टर, टीभीएस रोनिन, रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर मोडल उपलब्ध छन्।

उद्घाटनका अवसरमा बाइक र्याली निकालिनुका साथै कलाकार सौगात तामाङले कस्टमाइज गरेको विशेष हेल्मेटसमेत प्रस्तुत गरिएको थियो।

सोही कार्यक्रममा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत बाढीप्रभावित नुवाकोट र रसुवाका विभिन्न संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

विपद्‌बाट प्रभावित समुदायको सेवा-पहुँच र पुनःस्थापनामा सघाउन नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका, आमाछोदिङ्मो र उत्तरगया गाउँपालिका तथा ती क्षेत्रका सरकारी अस्पताल, सरकारी विद्यालय र नुवाकोट केन्द्रीय कारागारलाई मोटरसाइकल प्रदान गरिएको हो।

टीभीएसएमका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल आफ्नो अन्तर्राष्ट्रिय विस्तार यात्रामा महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै शोरुम विस्तार र सवारीसाधन हस्तान्तरणले ग्राहक तथा समुदायप्रतिको प्रतिबद्धता झल्काएको बताए।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएसएमसँगको १५ वर्षे सहकार्य व्यावसायिक वृद्धिमा मात्र सीमित नरही ग्राहक अनुभव सुधार्न र स्थानीय समुदायमा योगदान पुर्याउन केन्द्रित रहेको बताए।

मंसिर ७, २०८३ सोमबार १०:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।