नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनको पहिलो दिन : राज्यमन्त्रीको स्वागत, परराष्ट्रमन्त्रीसँग २५ मिनेटको संवाद

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनको पहिलो दिन : राज्यमन्त्रीको स्वागत, परराष्ट्रमन्त्रीसँग २५ मिनेटको संवाद

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो दिन भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरे।

दिउँसो २:०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली गएका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।नयाँ दिल्लीस्थित होटल ताज महलमा बसेका उनले आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेट गरे।

भेटमा करिब २५ देखि ३० मिनेट छलफल भएको बताइएको छ। भेटपछि सामाजिक सञ्जालमा लेख्दै विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताका रूपमा लिएको उल्लेख गरे। उनले सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने भेटवार्ताको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष-विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धमा सहकार्यबारे छलफल भएको छ। जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल-भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको थियो।

भ्रमण टोली र एजेन्डा

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र लगायत सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।

करिब तीन महिनाको तयारीपछि भएको भ्रमणमा आर्थिक सहायता, व्यापार-पारवहन, ऊर्जा, पूर्वाधार र कनेक्टिभिटीसहितका विषय प्राथमिकतामा छन्। तर नेपाल-भारतबीचको सीमा विवादको महत्वपूर्ण विषय भ्रमणको एजेन्डामा छैन।

भ्रमणका क्रममा सम्पन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान हुने सम्भावना छ।

सोमबारका कार्यक्रम 

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थमा श्रद्धासुमन व्यक्त गर्नेछन्। त्यसपछि उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक तथा एक्लाएक्लै वार्ता गर्ने, संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने, मोदीले आयोजना गर्ने दिवाभोजमा सरिक हुने र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तालिका छ।

यी सबै कार्यक्रम सकाएर प्रधानमन्त्री शाह मंगलबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ।

मंसिर ६, २०८३ आइतबार २०:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।