सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह

सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह

नयाँदिल्ली : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे।

प्रधानमन्त्री वालेन्द्र शाहसँगै भारत भ्रमणमा रहेका उनले आइतबार नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका हुन्।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न र नेपालमा लगानी गरिसकेकाहरूलाई लगानी विस्तार गर्न आग्रह गरे।

वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको, लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणको लागि विशेष पहल लिइरहेको बताएका थिए।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा.विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुग्नुभएका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए।

मंसिर ६, २०८३ आइतबार २२:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।