डा. कृष्टिनाको उपचार अनुभव : जब जुका लगाएर टोकाइन्, एक युवतिले अनुहार छोप्नुपर्ने अवस्था हट्यो
काठमाडौं : एलोपेथी क्षेत्रका स्वास्थ्यकर्मी रहेको परिवारमा हुर्केकी २५ वर्षीया डा. कृष्टिना बेलबासेले भने चिकित्सा विधामा आयुर्वेद रोजिन्। अध्ययन पुराभएपछि पहिलो प्रयासमै लोकसेवा पास गरेकी उनले प्रवेश गर्नुअघि अनपेक्षित तनावसमेत झेल्नुपर्यो।
लोकसेवाको लिखित परीक्षामा छनोट भइसकेकी उनका लागि जेनजी आन्दोलन पुनः परीक्षाको झमेला बन्यो। अन्ततः त्यो परिस्थिति पनि पार गरेर सरकारी सेवा प्रवेश गरेकी डा. कृष्टिना यतिबेला सुदूरपश्चिमको विकट जिल्ला बाजुरास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको उपचार र कार्यालय प्रमुखको दोहोरो जिम्मेवारीमा छन्।
उनले त्यहाँ पञ्चकर्म, जलौका, योग र मर्म चिकित्साजस्ता आयुर्वेदिक विधिबाट बिरामीको उपचार गरिरहेकी छन्। सुगममा डाक्टर पढेर दुर्गमको कर्ममा पुगेकी उनै डा. कृष्टिनाले चिकित्सकीय पेसाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेकी छन्।
जुका लगाएर गरिएको उपचारले फर्काएको १७ वर्षीया युवतीको खुसी!
अनुहारभरि पाकेका र पिप भरिएका डन्डिफोर। कतिपय फुटेर घाउ जस्तै बनेका अनि बिमिरा जस्ता दाना निस्किएर चिलाउने र दुख्ने। एकातिर पीडा थियो नै, डन्डिफोरको कारण अनुहार यति कुरूप बनेको थियो कि १७ वर्षीया ती युवती अनुहार नै छोपेर हिँड्नुपर्ने अवस्थामा थिइन्।
केही महिनाअघि बाजुरास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उनी अनुहारको यही समस्या लिएर उपचारका लागि पुगिन्। उनको अनुहारको अवस्था डा. कृष्टिनाले सूक्ष्म रूपमा परीक्षण गरिन्। आधुनिक चिकित्सा विज्ञानमा अनुहारमा आउने डन्डिफोरलाई ‘एक्ने भल्गरिस’ र आयुर्वेदिक चिकित्सामा ‘यौवन पिडिका’ वा ‘मुखदूषिका’ भनिन्छ।
छालाजन्य संक्रमण तथा ग्रन्थिको अवरोधका कारण अनुहारमा बिमिरा जस्ता दाना निस्कने, चिलाउने, दुख्ने र पाकेर फुट्ने समस्या आएको थियो। समस्याको पहिचान भएपछि डा. कृष्टिना र उनको टिमले आयुर्वेदिक ‘जलौका’ (जुकाको प्रयोग गरिने) उपचारात्मक विधि अपनाउने निर्णय लियो। उपचारका लागि आयुर्वेद चिकित्सामा प्रयोग गर्न मिल्ने चिकित्सकीय (मेडिकेटेड) जुकाको प्रयोग गरिएको थियो।
उपचार सुरु गर्नुअघि जुकालाई करिब पाँच मिनेट बेसार पानीमा डुबाएर शुद्धीकरण गरियो। शुद्धीकरणपछि जुकालाई युवतीको गालामा राखियो। सुरुमा अनुहारमा जुका राख्दा युवती तर्सिएकी थिइन्, तर समस्या निको हुने भएपछि उनी उपचारका लागि तयार भइन्। जुकाले छालाको समस्या भएको भागबाट करिब ४० मिनेटसम्म रगत चुसेर आफैँ छोड्यो। त्यसपछि जुकाले टोकेको भाग सफा गरी रक्तस्राव रोक्न आयुर्वेदिक औषधिको लेपन लगाइएको डा. कृष्टिनाले बताइन्।
आयुर्वेद चिकित्सा विधामा जुकाबाट गरिने उपचार विधि प्रभावकारी भए पनि जथाभाबी जुन पायो त्यही जुका प्रयोग गर्न नमिल्ने डा. कृष्टिनाको भनाइ छ। उनका अनुसार उपचारका लागि चिकित्सकीय रूपमा उपयुक्त ‘निर्विष’ (मेडिकेटेड) जुका नै हुनुपर्छ।
यस्ता जुकाले खराब रगत मात्र चुस्ने बताउँदै उनले चुसेको रगत जुकाको शरीरमै रहे मृत्यु हुने भएकाले उपचारपछि पुनः पाँच मिनेट बेसार पानीमा डुबाएर राखिने सुनाइन्। बेसार पानीमा राखेपछि जुकाले चुसेको रगत बान्ता गरेर बाहिर निकालेको थियो। त्यसपछि जुकालाई सफा पानी भरिएको सिसाको बट्टामा राखियो। यसरी राखिएको जुकाको प्रत्येक दिन पानी तथा हप्तामा एक पटक बट्टा फेर्नुपर्ने उनले सुनाइन् ।
डा. कृष्टिनाका अनुसार ती युवतीको अनुहारमा दुई हप्ताको अन्तरालमा दुई महिनासम्म चार पटक जुकालाई टोकाएर उपचार गरियो। साथै आवश्यक आयुर्वेदिक औषधि चलाइएको थियो। नियमित उपचारपछि अनुहारको रगत शुद्धीकरण भई डन्डिफोर हटेको उनको भनाइ छ। उपचारपछि उनी मुहारमा फर्किएको मुस्कान बोकेर घर फर्किएको प्रसंग डा. कृष्टिनाको मानसपटलमा अझै ताजै छ।
जब ७५ वर्षीय वृद्धले ल्याइदिए एक काइँयो केरा
आयुर्वेद चिकित्सक डा. कृष्टिनासँग पेसागत जीवनमा उपचारपछि बिरामीले देखाउने स्नेह र कृतज्ञताका थुप्रै अनुभव छन्। कतिपय बिरामीले उपचार निको भएपछि खुसी हुँदै स्थानीय फलफूल उपहारका रूपमा ल्याइदिने त कतिपयले १०-१५ रुपैयाँसमेत हातमा राखिदिएको अनुभव सुनाउँछिन्।
यस्तै अनुभवमध्येको एक करिब ७५ वर्षीय एक वृद्धले उपहारमा केरा ल्याइदिएको डा. कृष्टिनाको सम्झनामा अझै ताजा छ। हात करकर खाने, दुख्ने र उठाउनै नमिल्ने समस्या लिएर उनी उपचारका लागि आएका थिए। स्वास्थ्य जाँचपछि उनमा ‘फ्रोजन सोल्डर’ (आयुर्वेदमा ‘अपवाहुक’)को समस्या देखिएको थियो।
डा. कृष्टिनाले आयुर्वेदिक विधि अपनाएर विभिन्न थेरापी तथा औषधि उपचार गरेपछि ती वृद्धको हातको समस्या सन्चो भयो। एक दिन फलोअप जाँचका लागि आउँदा उनले उपहारस्वरूप एक काइँयो र केरा नै ल्याइदिएको डा. कृष्टिनाले सुनाइन्।
खुसी र कृतज्ञतासहित ल्याइदिएको कोसेली नलिँदा बिरामीको मन खिन्न हुने भएकाले आफूले ती वृद्धले ल्याएको केरा स्वीकार गरेको उनी बताउँछिन्। यद्यपि, यसरी कोसेली दिँदा आफूलाई निकै असहज महसुस हुने गरेको उनले बताइन्। ती वृद्ध अहिले पनि नियमित फलोअपका लागि उनी कहाँ आउने गर्छन्।
दुर्गम क्षेत्रका कैयौं बिरामी अझै पनि सहज स्वास्थ्य उपचारको पहुँचबाट टाढा रहेको डा. कृष्टिनाले सुनाइन्। विशेषगरी आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरू स्वास्थ्य समस्या लिएर उपचारका लागि आएको देख्दा आफूलाई नमिठो लाग्ने उनी बताउँछिन्। त्यसैले राज्यले स्वास्थ्य सेवामा दुर्गमका जिल्लाहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
कृष्टिनाले यसकारण रोजिन् आयुर्वेद चिकित्सा
कपिलवस्तुको गोरुसिङेमा वि.सं. २०५७ मा जन्मिएकी डा. कृष्टिना बेलबासेको घरपरिवार र आफन्तमा अधिकांश एलोपेथी क्षेत्रका स्वास्थ्यकर्मी छन्। उनका बुवासमेत एलोपेथीतर्फ ‘एचए’ पढेर सरकारी जागिरे थिए। उपचारपछि सन्चो भएका बिरामीले बुवालाई गर्ने सम्मान र इज्जतले कृष्टिनालाई सानैदेखि लोभ्याउँथ्यो। त्यही प्रभावका कारण उनले सानै उमेरमा ठूलो भएपछि डाक्टर नै पढ्ने अठोट लिएकी थिइन्।

कृष्टिनाले कपिलवस्तुकै स्थानीय रेसिडेन्सियल इङ्लिस बोर्डिङ स्कुलबाट २०७२ मा एसएलसी पास गरिन्। त्यसपछि प्लसटु अध्ययनका लागि काठमाडौं आएकी उनले मेघा कलेजबाट विज्ञान संकायमा प्लसटु पूरा गरिन्।
प्लस टुको अध्ययनपछि कृष्टिनालाई आयुर्वेदिक डाक्टर बन्ने इच्छा बढ्यो। सोहीअनुसार उनले आयुर्वेद चिकित्सा विधा अध्ययनका लागि छनोट परीक्षाको तयारी गरिन् र परीक्षामा सफलसमेत भइन्।
२०७५ मा उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘आयुर्वेद क्याम्पस’मा ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि भर्ना भइन्। उनले २०८१ मा बीएएमएसको अध्ययन पूरा गरेकी हुन्।
घरपरिवार र आफन्त एलोपेथी क्षेत्रका भए पनि कृष्टिनाले भने आयुर्वेद चिकित्सा रोजिन्। आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति भएको र रोग लागिसकेपछि गरिने निवारणभन्दा रोग नै लाग्न नदिन अपनाइने ‘स्वास्थ्य प्रवर्द्धनात्मक’ उपायका लागि यो पद्धति उपयुक्त हुने बुझाइका कारण उनले चिकित्सा विधामा आयुर्वेद छनोट गरेकी रहिछन्।
जेनजी आन्दोलनमा लोकसेवाको फाइल जलेपछि लोकसेवाको पुनः परीक्षा!
बीएएमएस अध्ययन पूरा गरेपछि डा. कृष्टिनाले सरकारी जागिरमा प्रवेशका लागि लोकसेवा परीक्षाको तयारी गरिन्। उनले सुदूरपश्चिम प्रदेशअन्तर्गत २०८२ साउनमा लोकसेवा परीक्षा दिइन् र आठौं तहको स्थायी आयुर्वेदिक चिकित्सक पदका लागि लिखित परीक्षामा छनोटसमेत भइन्।
पहिलो प्रयासमै लोकसेवाको लिखित परीक्षामा नाम निस्कँदा उनी निकै खुसी भइन्। तर, अन्तिम छनोटका लागि अन्तर्वार्ता भने बाँकी नै थियो। उनको त्यो खुसी लामो समय टिकेन। अन्तर्वार्ता नहुँदै २०८२ भदौ २३ र २४ मा ‘जेनजी’ आन्दोलन भयो। आन्दोलनका क्रममा लोकसेवाका कागजातसमेत जलेर नष्ट भएको खबर उनले सुनिन्। फाइलहरू जलेपछि लिखित परीक्षामा कसले कति अंक ल्यायो भन्ने यकिन नै हुन सकेन।
त्यसपछि प्रदेश लोक सेवा आयोगले लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको मात्रै पुनः परीक्षा लिने निर्णय गर्यो। एक पटक लोकसेवाको लिखित परीक्षाबाट छनोट भइसकेपछि आफ्नो गल्तीबिना पुनः परीक्षा दिनुपर्ने निर्णयले केही समय उनलाई तनावसमेत भयो।
आयोगले पुनः लिखित परीक्षा लियो र अन्तर्वार्तामा सहभागी गरायो। पुनः लिइएको लिखित र मौखिक दुवै परीक्षामा डा. कृष्टिना सफल भइन्। यसरी उनी सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगमार्फत २०८२ माघ १९ मा आठौं तहको आयुर्वेदिक चिकित्सकका रूपमा सरकारी स्थायी जागिरमा प्रवेश गरिन्।
२५ वर्षको उमेरमै अस्पताल प्रमुख बनेकी डा. कृष्टिना
आयुर्वेदिक चिकित्सकका रूपमा सरकारी स्थायी जागिरमा प्रवेश गरेपछि डा. कृष्टिनाको पोस्टिङ सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भयो। त्यहाँ उनलाई चिकित्सक मात्र नभई कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिइयो।
डा. कृष्टिनाले थाहा पाएसम्म त्यतिबेला लोकसेवामार्फत आयुर्वेदिक चिकित्सकका रूपमा सरकारी सेवामा प्रवेश गर्नेमध्ये उनी सबैभन्दा कान्छो उमेरकी चिकित्सक हुन्। हाल सरकारी आयुर्वेद अस्पतालका प्रमुखमध्ये आफू नै सबैभन्दा कान्छो उमेरकी प्रमुख हुने अवसर पाएकोमा २५ वर्षीया डा. कृष्टिनाले खुसी व्यक्त गरिन्।
यसरी उनी दुर्गम बाजुरामा चिकित्सकीय र प्रशासनिक दुवै भूमिकामा रहेर काम गरिरहेकी छिन्। भारतमा आयुर्वेदको विकासमा धेरै प्राथमिकता दिइएको उल्लेख गर्दै नेपालमा पनि आयुर्वेदका सबल पक्ष प्रशस्तै रहेकाले राज्यले यस क्षेत्रलाई प्राथमिकता दिन जरुरी देखिएको डा. कृष्टिनाको सुझाव छ।
उपचारमा आयुर्वेदिक विधि
दुर्गम जिल्ला बाजुरामा रहेर डा. कृष्टिना आयुर्वेदका विभिन्न चिकित्सकीय पद्धति तथा विधि अपनाई बिरामीको उपचारमा तल्लीन छिन्।
विशेषगरी पञ्चकर्मअन्तर्गत मालिस गर्ने, बाफ दिने र शिरोधाराका साथै दुखाइ व्यवस्थापनका लागि पत्र पिण्ड स्वेदन, मात्रा बस्ती, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्तीजस्ता आयुर्वेदिक चिकित्सकीय विधि अपनाएर बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो।
त्यसैगरी जलौका, योग र मर्म चिकित्साजस्ता आयुर्वेदका उपचार विधि अपनाएर बिरामीलाई सन्चो बनाउने कर्ममा उनी सक्रिय छिन्। व्यक्तिको वात, पित्त र कफजस्ता त्रिदोषलाई ध्यानमा राखी आयुर्वेदिक उपचार विधिमार्फत बिरामीलाई सन्चो बनाउने कोसिसमा डा. कृष्टिना निरन्तर लागिपरेकी छन्।
उपचार सेवासँगै उपयुक्त समयमा आयुर्वेदको स्नातकोत्तर तह ‘एमडी’ अध्ययन गर्ने इच्छासमेत रहेको डा. कृष्टिनाले सुनाइन्।
मंसिर ६, २०८३ आइतबार ०८:०२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।