स्टारकास्टले भरिएको ‘पाँच पाण्डव’लाई दर्शकले पत्याएनन्, ‘बाटुलो जून’को कमाइ कति ?

स्टारकास्टले भरिएको ‘पाँच पाण्डव’लाई दर्शकले पत्याएनन्, ‘बाटुलो जून’को कमाइ कति ?

काठमाडौं : कात्तिक २६ गतेदेखि प्रदर्शन आएको अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ले ११ दिनमा ८ करोडमाथिको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातीसम्मको बक्स अफिस रिपोर्टअनुसार फिल्मको कुल ग्रस कलेक्सन ८ करोड ३५ लाख रहेको छ। 

दुई लाख ६९ हजार ५४४ वटा टिकट बिक्री गरेको यो फिल्मको व्यापार आगामी शुक्रबारसम्म अझै बढ्ने देखिन्छ। जिया केसी, भविष्य खड्काको लगानी रहेको यस फिल्ममा अभिनेता भुवन केसीको निर्देशन छ। फिल्ममा उनी र अनमोलसँगै प्रिन्सी खतिवडा, गरिमा पन्त लगायतको अभिनय रहेको छ।

यता कात्तिक २० गतेबाट प्रदर्शनमा आएको वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’को व्यापार भने निकै कमजोर रहेको छ। प्रदर्शनको १७ दिनमा फिल्मले बल्ल ४५ लाख २२ हजार रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो। अघिल्लो हप्ताको भन्दा यो कलेक्सन करिब दुई लाखले बढी हो। 

हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, दीपाश्री निरौला जस्ता चर्चित कलाकारको अभिनय रहेको फिल्मले समेत ५० लाखको व्यापार गर्न सकेन। टिकटक तथा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी इभा गिरीलाई पनि दर्शकले पत्याउन सकेनन्। 

दयाकै वर्चस्व
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा १३ करोडमाथिको व्यापार गरेको छ। गत कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले मंसिर ६ गतेसम्मको व्यापारमा १३ करोड २६ हजार रुपैयाँ पुर्याएको छ। बक्स अफिस रिपोर्टअनुसार यस अवधिमा फिल्मका ४ लाख २४ हजार ८८२ वटा टिकट बिक्री भएका छन्। रामबाबु गुरुङको निर्देशन तथा निर्माण रहेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, विपिन कार्की लगायतको अभिनय छ।

दयाहाङकै अर्को फिल्म ‘पेन्सन पट्टा’को व्यापार १० करोडमाथि नै छ। भदौ २६ गतेबाट यता यो फिल्म हेर्नेको संख्या टिकटका आधारमा भन्ने हो भने ३ लाख ६४ हजार ८०८ जना पुगेका छन्। सोही टिकटबाट १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। 

माओत्से गुरुङको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाका अलावा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पशुपति राई लगायतको अभिनय छ। फिल्मलाई समीक्षकहरूले सकारात्मक प्रतिक्रियाहरू दिएका थिए। त्यस कारण दयाकै मुख्य भूमिका रहेका दुई फिल्म ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ यस वर्ष सबैभन्दा धेरै कमाउनेमा दोस्रो र तेस्रो बनेका छन्। पहिलो भने स्थानमा कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ भइसकेको छ। किनभने यो फिल्मको व्यापार २६ करोडमाथि पुगिसकेको छ।

‘आ बाट आमा २’ ७ करोडमै थन्कियो, बा एक योद्धा अझैँ हलमा
गत असोज ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ले अझै हलको शो ओगटी रहेको छ। यो फिल्मले हिजो आइतबारसम्म ७ करोड १८ हजार ८०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। व्यापारको मामिलामा पछिल्लो समय सुस्त गतिमा अगाडि बढिरहेको छ।

अघिल्लो पार्टले १३ करोडमाथिको व्यापार गरेको थियो। सिक्वेलमा निर्माण पक्ष कमजोर देखियो। चन्द्र पन्तको कथा तथा पटकथा रहेको यो फिल्मको निर्देशन पनि उनैको हो। फिल्ममा विपना थापा, प्रदीप रावत, निकिता आचार्य, पल शाह, मलिका महत लगायतको अभिनय छ।

यता असोज ९ गते प्रदर्शन भएको फिल्म ‘बा: एक योद्धा’अझै प्रदर्शनमा आइरहेको छ। फिल्मले अहिलेसम्म ३ करोड ५७ लाख ६९ हजार ४४१ रुपैयाँको व्यापार गरेको छ। १ लाख २८ हजार २७५ वटा टिकट बिक्री भएको यो फिल्मले हलमा प्रदर्शनको ५१ दिन मनाइसकेता पनि व्यापारमा भने बढाउन कसेको छैन। हरि लम्सालको निर्देशन, वसन्त लम्सालको लगानीमा निर्माण भएको यो फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी लगायतको अभिनय रहेको छ।

मंसिर ७, २०८३ सोमबार १८:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।