ट्रेलर जस्तै बलियो होला त फिल्म सारथी !
काठमाडौं : टिजर र ट्रेलर जस्तो हुन्छ फिल्म पनि उस्तै हुन्छ भन्ने पक्कापक्की त हुन्न। तर फिल्म सारथीले टिजरदेखि नै फिल्मको कथावस्तुलाई सांकेतिक रूपमा देखाउँदै क्यानभासका जस्ता सुन्दर दृश्यहरू देखाउँदै आएको छ।
टिजर मेकिङमै सिनेमाटोग्राफी र कलर ग्रेडिङमा निकै मिहेनत गरिएको देखिएको फिल्म ‘सारथि’ को निर्माण टिमले त्यो गुणस्तर ट्रेलरसम्ममा कायम गरेको छ। जात व्यवस्था र त्यसले ल्याउने संकटसँग आमा-छोराको सम्बन्धलाई जोडेर प्रचारमा उत्रिएको टिमले टिजरदेखि नै सस्पेन्स पाराले कथाका पक्षहरू सार्वजनिक गर्दै आएको छ। शुक्रवार सार्वजनिक भएको ट्रेलरले पनि यो क्रम कायमै राखेको छ।
म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेशमा खिचिएको फिल्मको ट्रेलरको प्रारम्भको बिजिएमबाटै दर्शकको ध्यान तानिन्छ नै ट्रेलरमा समेटिएका दृश्यहरू कुशल चित्रकारको क्यानभास जस्ता देखिएका छन्। टिजर र ट्रेलर अनुसार नै फिल्म निर्माण भएको हो भने यो निकै बलियो फिल्म बन्न सक्ने संकेत देखिन्छ।
ट्रेलरमै निर्माण टिमले फिल्मको नाम ‘सारथि’को अर्थ खुलाएका छन्। ट्रेलरमै आमाको भूमिकामा अभिनेत्री निरुता सिंह र छोराको भूमिकामा रहेका गिरी विश्वकर्माको भावुक र बलियो अभिनय देख्न सकिन्छ।
लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले देखाइएको छ।
सिनेमाका निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको छ। फिल्म मंसिर ११ गते रिलिज हुँदैछ। फिल्ममा निरुता, उत्तम, गिरि विश्वकर्मासँगै गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मि गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय छ।
मंसिर ४, २०८३ शुक्रबार १९:२९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।