‘फिल्म चलाउन अफेयरको हल्ला र ट्रोल गर्ने चलन थिएन’

‘फिल्म चलाउन अफेयरको हल्ला र ट्रोल गर्ने चलन थिएन’

काठमाडौं : नेपाली दर्शकका लागि निरुता सिंह चिरपरिचित अभिनेत्री हुन्। ३३ वर्षअघि रिलिज भएको फिल्म ‘दक्षिणा’बाट चर्चामा आएकी उनले ‘दर्पणछायाँ’लगायत दर्जनौं हिट फिल्ममा अभिनय गरिसकेकी छन्। केही वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दालभात तरकारी’मा समेत देखिएकी निरुताका लागि यतिबेला भने एउटा रोचक संयोग जुरेको छ।

यसअघि कहिल्यै एक साताको अन्तरमा उनका फिल्महरू प्रदर्शनमा आएका थिएनन्। तर यस वर्षको यही मंसिर महिनामा एक साताको अन्तरालमै उनका दुई फिल्म प्रदर्शनमा आउँदै छन्- मंसिर ११ गते मुख्य भूमिका रहेको ‘सारथी’ र त्यसको एक सातापछि अर्थात् मंसिर १७ गते ‘३६ को आँकडा’। लगातार दुई फिल्म आउन लाग्दा उनलाई एकातिर निकै रोचक लागिरहेको छ भने मनमा कताकता डर पनि छँदैछ।

साथै, उनी फिल्म ‘सिन्दूर’को सुटिङमा पनि व्यस्त छिन्। अहिले सुटिङलाई थाती राखेर उनी दुवै फिल्मको प्रमोसनमा खटिएकी छन्। सोही क्रममा फिल्ममा काम गर्दाका अनुभवसहित उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

अहिले निकै व्यस्त हुनुहुन्छ जस्तो छ नि?
तपाईंलाई थाहा छ, ‘सारथी’ यही मंसिर ११ गते रिलिज हुनेवाला छ। त्यसको तुरुन्तै एक हप्तापछि मंसिर १७ गते ‘३६ को आँकडा’ रिलिज हुँदै छ र अर्कोतिर ‘सिन्दूर’ सुटिङ भइरहेको छ।

भनेपछि निकै व्यस्त हुनुहुन्छ?
व्यस्त भन्नुपर्छ।

तपाईंलाई ‘सारथी’ले व्यस्त बनायो कि ‘३६ को आँकडा’ले?
दुई वटाले नै हो। अब हेर्नुस् न, ‘सारथी’का लागि पनि प्रमोसन गर्नुपरिरहेको छ, त्यही समयमा ‘३६ को आँकडा’को पनि। मैले दुवैको सँगसँगै प्रमोसन गरिरहेको छु।

‘सारथी’मा तपाईं कसरी जोडिनुभयो?
म ‘सारथी’मा कसरी जोडिएँ भन्दाखेरि, खासमा म ‘३६ को आँकडा’का लागि आएकी थिएँ, जसमा रेखा बहिनी र निर्देशक सबिर श्रेष्ठ हुनुहुन्छ। म फिल्म इन्डस्ट्रीमा आउँदाखेरि सबिर भाइ सहायक निर्देशक भएर काम गर्नुहुन्थ्यो। त्यसपछि उहाँले रेखा बहिनीका फिल्महरूसहित धेरै राम्रा-राम्रा र हिट फिल्महरू बनाउनुभयो। उहाँ निर्देशक भएपछि मैले कहिल्यै पनि उहाँसँग काम गरेकी थिइनँ।

म बम्बईमा हुँदा ‘३६ को आँकडा’का लागि उहाँले फोन गर्नुभएको थियो, रेखा बहिनीले पनि। सबिर भाइले, “यसरी फिल्म बनाउँदै छु दिदी, तपाईं पनि आउनै पर्छ। यो चाहिँ त्यो समयमा शिव रेग्मीले बनाउनुहुन्थ्यो नि, त्यस्तै खालको रोल छ, तपाईंको। यसमा मलाई निरुता सिंह नै चाहिन्छ,” भन्नुभयो। अनि यो फिल्मका लागि म आएँ।

आएको समयमा, यही फिल्मको सुटिङका क्रममा तारा थापा (किम्भे)ले- जो ‘दर्पणछायाँ’को सम्पादक हुनुहुन्छ र ‘दर्पणछायाँ’कै समयदेखि आउनुभएको राम्रो सम्पादक हुनुहुन्छ- उहाँले फिल्म बनाउने कुरा आयो। यो कुरा सुरुमा भन्ने चाहिँ हाम्रो मेकअप म्यान सन्तु तामाङ हुनुहुन्थ्यो। उहाँले, “नानी, हाम्रो तारा थापा (किम्भे)हरूले फिल्म बनाउँदै छन्, त्यसका लागि भेट्न खोजिरहेका छन्,” भन्नुभयो। मैले, “हुन्छ नि त दाइ, भेटौँ न। मेरो स्टार मलमा अन्तर्वार्ता छ, त्यहीँ आउनुस् न त,” भनेर बोलाएँ।

अन्तर्वार्ताकै समयमा कथा सुन्नुभयो कि हुन्छ भन्नुभयो?
त्यहाँ हाम्रो तारा भाइ र निर्देशक कुमार गजुरेल भाइ आउनुभयो। कुमार गजुरेल भाइले के भन्नुभयो भने, “दिदी, तपाईं अहिले ‘३६ को आँकडा’मा आउने भन्ने हामीलाई थाहा थिएन। जतिबेला मैले यो स्क्रिप्ट लेखेँ, स्क्रिप्ट लेख्दालेख्दै मेरा आँखामा तपाईं मात्रै आउनुहुन्थ्यो। ‘ओहो, यो फिल्ममा त निरुता दिदी नै चाहिन्छ, यो कथाका लागि त। निरुता दिदीले मात्रै जस्टिफाइ गर्नुहुन्छ। मलाई त निरुता दिदी नै चाहियो। तर अब के गर्ने, निर्माताले ल्याउँछन् कि ल्याउँदैनन्, निरुता दिदी आउनुहुन्छ कि आउनुहुन्न’ भन्ने चाहिँ थियो।” तर उहाँले निरुता दिदी आउनुहोस्/नआउनुहोस्, निरुता दिदीकै लागि लेखेको छु’ भनेर लेख्नुभएको थियो रे। उहाँले लेख्नु र म ‘३६ को आँकडा’का लागि नेपाल आएकी छु भन्दा यति खुसी भएर मलाई भेट्न बोलाइहाल्नुभयो।

अनि के भयो त कुरा?
अनि भेटेर उहाँले, “दिदी, यो फिल्म तपाईंकै लागि लेखेको हो। म नयाँ हुँ, थिएटरबाट आएको हुँ,” भन्नुभयो। तर एकदमै प्रतिभाशाली। मैले गर्छु नै भन्ने थिएन, ‘एक पटक कथा सुन्छु नि त, बिचराहरूले यस्तो भनेर लेखेका रहेछन्’ भनेर सोचेँ। जब मैले सुनेँ, त्यो सुनेपछि म आफैँलाई पनि निकै रोचक लाग्यो। चुनौतीपूर्ण क्यारेक्टर छ। म यो इन्डस्ट्रीमा आएको ३३ वर्ष भयो, तर मैले यो खालको क्यारेक्टर गरेकी थिइनँ। अनि म आफूलाई पनि चुनौतीपूर्ण लागेर ‘ल, गर्छु’ भनेर तयार भएँ।

चुनौतीपूर्ण भन्नुभयो नि, कस्तो खालको हो, भन्न मिल्छ?
ओहो, त्यसका लागि मंसिर ११ गते हलमा नै गएर हेर्नुपर्ने हुन्छ।

यही महिना तपाईंका दुई वटा फिल्म हलमा लाग्ने तयारीमा रहँदा कस्तो महसुस हुँदै छ?
एकपछि अर्को फिल्म आउनु कलाकारका लागि त खुसीकै कुरा हो। तर तुरुन्तका तुरुन्त भयो। धन्न एकै हप्तामा भएन। एक हप्ताको हेरफेरमा भएकाले ठिकै छ। जसले ‘सारथी’ हेरिसक्नुहुन्छ, उहाँ ‘३६ को आँकडा’ पनि हेर्न जानुहुन्छ।

दुवैको प्रचारप्रसारमा खटिएको पनि देख्दै छु, समय कसरी मिलाउनुभएको छ?
मैले ‘सारथी’ र ‘३६ को आँकडा’ दुवैको गरिरहेकी छु। म जहाँ-जहाँ जाँदै छु, त्यहाँ दुवैको कुराकानी गरिरहेकी छु।

तपाईंका दुवै फिल्ममा कलाकार फरक छन्। ‘सारथी’मा नवकलाकार र निर्देशक छन् भने ‘३६ को आँकडा’मा अनुभवी कलाकार र निर्देशक। कता सहज भयो?
‘३६ को आँकडा’को सबै टिम नै पुरानो हो। सबिर भाइ र रेखा बहिनीसँग पहिल्यैदेखि चिनजान भएको, काम गरिसकेकी हुँ। पूजा शर्मासँग पहिलो पटक काम गरेकी हुँ। पुष्प खड्कासँग मैले यसअघि ‘दालभात तरकारी’मा काम गरिसकेकी थिएँ। महेश त्रिपाठीसँग पहिलो पटक काम गरेकी हुँ। यो टिमसँग काम गर्दा यति रमाइलो भयो, हामीले हाँसीमजाकमै कहिले सुटिङ सकियो थाहा पनि पाएनौं।

‘सारथी’मा भने सबै नयाँ। यसमा म, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ र सन्तु दाइ हुनुहुन्थ्यो। उहाँहरूबाहेक सबै कलाकार मेरा लागि नयाँ हुनुहुन्थ्यो। अनि सिनेमाटोग्राफर चाहिँ संकल्प भुजेल भाइ- मैले पहिले फिल्ममा काम गर्दा उहाँ स्टिल फोटोग्राफर हुनुहुन्थ्यो। अहिले उहाँले सिनेमाटोग्राफरका रूपमा राम्रो-राम्रो फिल्म खिचिसक्नुभएको छ। जस्तो कि, फिल्म ‘परालको आगो’, ‘माइतीघर’लगायत थुप्रै छन्। सबै नयाँ हुँदाहुँदै पनि सबै, सबैसँग मिल्ने भएकाले नरमाइलो भन्ने भएन।

अहिले त फिल्ममा काम गर्दाभन्दा पनि प्रमोसनका विषयमा केही ट्रोलहरू बनिरहेका हुन्छन्। यो आइडिया पहिला कत्तिको चल्थ्यो?
त्यस्तो त मलाई थाहा छैन। त्यो समयमा यो फिल्म आउँदै छ भनेर कसैले अन्तर्वार्ता लिनुभयो भने, “हाम्रो यो फिल्म आउँदै छ, त्यो फिल्म आउँदै छ” भन्ने मात्रै हुन्थ्यो। तर प्रमोसनका लागि ट्रोलका कुराहरू अपनाएको थाहा छैन।

त्यतिबेला तपाईंको नाम उत्तम प्रधान, दिलीप रायमाझीसँग नाचेको र अभिनय गरेको भिडियोहरू अलिक बढी चर्चाको विषय हुन्थे। कहिले प्रेमी-प्रेमिका, कहिले के-को भूमिकामा काम गर्दा दर्शकले साँच्चिकैको हो भन्ने गर्थे। त्यसबेला यस्ता कुराको ट्रोल हुँदा कस्तो महसुस हुन्थ्यो?
त्योबेला ट्रोल भन्ने नै हुँदैनथ्यो। ‘दर्पणछायाँ’को समयमा पनि मिडियाहरू त थिए नै। त्यसमा अन्तर्वार्ताहरू दिने, कुराकानी गर्ने भन्ने थियो। तर कोसँग के नाम जोड्ने, फिल्म चलाउनकै लागि त्यस्तो गरेको मलाई थाहा थिएन। मलाई थाहा छैन, मसँग त त्यस्तो भएको छैन।

यो फिल्ममा तपाईंले निर्वाह गर्नुभएको भूमिकाले कस्तो सामाजिक वा वैचारिक विद्रोह गर्छ?
‘सारथी’ भन्ने जुन शीर्षक छ, त्यो आफैँमा नै सम्पूर्ण हो। त्यसको व्याख्या गरिरहनु नै जरुरी छैन। सारथी जोकोहीको पनि हुन सक्छ।

तपाईंको भूमिका केवल पुरुष पात्रको कथालाई अगाडि बढाउने माध्यम मात्र हो कि तपाईंमा केन्द्रित छ?
यो फिल्ममा जुन भूमिका छ, त्यो मुख्य मुटु नै हो। यति भन्न चाहन्छु।

नेपाली फिल्ममा कलाकारको स्टारडम बेच्ने तर, कथावस्तु कमजोर हुने प्रवृत्ति छ। यसलाई तपाईंले कसरी हेर्नुहुन्छ?
यो फिल्म चाहिँ स्टारडमभन्दा- त्यस्तो भयङ्कर स्टार पनि होइन। पुरानोमा म, उत्तमजी, मुकुन्द दाइ हुनुहुन्छ। हाम्रो त्यस्तो कुनै स्टारडम छैन पनि। हाम्रो निर्माताले पनि त्यस्तो स्टार भ्यालुलाई लिएर, अहिले चल्दोबल्दो हिरो-हिरोइन पनि लिनुभएको छैन, भनेपछि निश्चित रूपमा कथावस्तु नै बलियो छ। नयाँ कलाकारहरूले पनि एकदमै राम्रो काम गर्नुभएको छ।

निरुता सिंह भन्ने बित्तिकै धेरैको मन-मस्तिष्कमा ‘दक्षिणा’, ‘दर्पणछायाँ’को याद आउँछ। यो फिल्मबाट पनि दर्शकले त्यस्तै याद गर्ने कुनै दृश्य छन्?
निरुता सिंह भन्ने बित्तिकै मेरो दिमागमा मेरो बुबा गोपाल सिंह र मेरी आमा दुर्गा सिंहकी कान्छी छोरी भन्ने आउँछ। र अहिले आएर सञ्जीव गुलाटीकी श्रीमती। यति बुझ्छु।

फिल्मको सुटिङ सेट होस् या बाहिर फिल्मकै कामको सिलसिलामा कुनै नबिर्सने क्षण छ?
छ नि, एउटा ‘उपकार’ भन्ने फिल्मको सुटिङ थियो। त्यो फिल्ममा चाहिँ राजेश हमाल दाइ, करिश्मा मानन्धर दिज्यू हुनुहुन्थ्यो र म अनि श्रीकृष्ण श्रेष्ठको जोडी थियो। यो फिल्मको ‘जब चल्छ, तिम्रो रूपको हावा’को सुटिङ नारायणीमा थियो। यो नदीमा मोटरबोट भर्खर चलाउन थालिएको थियो। मान्छेहरूले पैसा तिरेर मोटरबोट चलाउने, हाम्रा लागि पनि यो नयाँ थियो। अनि त्यो गीतमा राख्ने भनेर कोरियोग्राफर निर्देशक वसन्त श्रेष्ठ साबले भन्नुभयो। त्यो गीतको सुटिङका लागि हामी त्यहाँ गयौं।

अनि त्यसको क्यामेरा म्यान चाहिँ दीर्घ गुरुङ हुनुहुन्थ्यो। दीर्घ दाइ एउटा मोटरबोटमा डोरीले बाँधेर उल्टो बसेर हामीलाई खिच्न बस्नुभयो। अर्कोमा हामी हात फिँजाएर आउने दृश्य खिचिँदै थियौं। यस्तो पानीको छालमा पुगियो कि उहाँको सन्तुलन बिग्रिएर मोटरबोट पल्टियो। हामी हेर्दै छौं, चिच्याइरहेका छौं- होसहवास नै उड्यो। जिउमा बाँधेको क्यामेरा यति भारी थियो कि त्यो क्यामेराले उहाँलाई नै तल तान्यो। उहाँ पौडी खेल्न जान्ने मान्छे, उहाँको असिस्टेन्टलाई नआउने। असिस्टेन्टले उहाँको खुट्टा पक्रेको। हामीले हेरिरहेका छौं, उहाँ डुबिरहनुभएको छ। 

बोट चलाउने मान्छे त्यहाँ छ, हामी मान्छे मर्दैछ भनेर देखिरहेका छौं। म त कालिएकी कालिएकै। दीर्घ दाइ आएर हाम्रो बोट पक्रनुहुन्छ, हाम्रै बोट आधा डुबिसक्यो। म फेरि पानीसँग डराउने मान्छे। त्यो बेला नेगेटिभमा खिचिन्थ्यो, त्यत्रो बेर खिचेको नेगेटिभ पनि बिग्रियो भन्ने थियो। को आयो, कसरी निकाल्यो, के गर्यो, होसहवास केही छैन। कोही बोल्न नसक्ने अवस्था भएको थियो। त्यस्तो भएपछि त्यो दिन सुटिङ प्याकअप भयो।

मंसिर ५, २०८३ शनिबार १७:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।