जलाकी : पट्यारलाग्दो प्रेमकथा, अति सुस्त गति

जलाकी : पट्यारलाग्दो प्रेमकथा, अति सुस्त गति

जब गन्तव्य पक्का हुन्न त्यो बेलामा यात्रीको हालत के हुन्छ? उही जता बाटो देख्यो यतै पो हो कि भन्यो हिँड्यो। कहिलेकाहीँ काकताली लागेर सही गन्तव्यमा पुग्न नि सकिन्छ। नत्र अधिकांश अवस्थामा छोटो गन्तव्य पनि निकै लामो र पट्यारलाग्दो बनिदिन्छ।

प्रेमलाई मुख्य गन्तव्य बनाएर निर्माण भएको फिल्म जलाकीको अवस्था पनि यस्तै बाटै थाहा नभएको यात्री जस्तै देखियो। निर्देशकले त्रिपक्षीय प्रेमलाई केन्द्रमा राखेर फिल्म निर्देशन त सुरु गरे तर कथालाई कुन बाटोबाट हिँडाएर गन्तव्यमा पुर्याउने हो भन्ने भेउ नै पाएनन्। जसको परिणाम फिल्म अनावश्यक लामो भयो। अनि गति अति सुस्त र पट्यारलाग्दो बनिदियो।

फिल्म हेर्दा ‘खुश्मा’ जस्तो प्रशंसित फिल्म बनाएका निर्देशक अशोक थापा मगरले यसपटक ‘जलाकी’ मा दर्शकलाई लट्टा परेको कपाल जवर्जस्ती कोर्न लगाएको अनुभव हुन्छ। सम्झनाका लागि बनाइने ढुङ्गाको थाक अर्थात् ‘जलाकी’ लाई केन्द्रमा राखेर उनले उनले प्रेमकथा भन्ने प्रयास त गरे तर यति तन्काए कि आधाआधी फिल्मसम्म पनि हलमा टिक्न हम्मे नै पर्छ।

कथासार 

बिहान कलेज पढ्ने र दिउँसो स्कुल पढाउने शिक्षिका हुन् लिसारा थापा मगर (उपासना सिंह ठकुरी)। सानैमा बुबाले मामा (माओत्से गुरुङ) को घरमा छाडेर भारत गएका लिसाराको बाबु फर्केर आउँदैनन्। वैदेशिक रोजगारीमा गएकी आमा (दिया मास्के) उतै मालिकको करणीमा परेर गर्भवती भई नेपाल फर्कन्छिन्। तर, श्रीमानले नस्विकारेपछि उनले घरनजिकको खोलामा हाम फालेर आत्महत्या गर्छिन्। 

यही पीडामा बाबुले गाउँ छाडेपछि लिसारा छुच्ची स्वभावकी माइजू र मायालु मामाको छत्रछायामा हुर्कन्छिन्। कलेजमा पढ्ने धनी बाउका छोरा आलोकले लिसारालाई मन पराउँछन्। तर, आफ्नै मिल्ने साथीले आलोकलाई मन पराउने थाहा पाएपछि लिसाराले साथीका लागि आलोकलाई त्याग्छिन्। यता पोखरामा अनाथ बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम गरिरहेका लाजिम (सोनम तोप्देन) सँग लिसाराको आँखा जुध्छ। लाजिमको सामाजिक कामबाट प्रभावित लिसारा उनीप्रति आकर्षित हुन्छिन् र दुवैको प्रेम झाँगिन्छ। तर, आलोकले भने लिसारालाई मन पराउन छाड्दैनन्।

भेडा गोठाला (बुद्धि तामाङ) का छोरा लाजिमलाई सानैमा बुबाले 'मेरो याद आए जलाकी (चेप्टा ढुङ्गाको चाङ) बनाउनु' भनेका हुन्छन्। यता लिसारासँगको प्रेम उत्कर्षमा पुग्दै गर्दा लाजिम वैदेशिक रोजगारीमा जान्छन्। केही वर्षपछि उनीहरूबीचको सम्पर्क टुट्छ र यता लिसारालाई पेटको क्यान्सर हुन्छ।

विदेश गएका लाजिमले फेवाताल र हिमाललाई साक्षी राखेर गरेको बाचा पूरा गर्लान्? क्यान्सरग्रस्त लिसारालाई लाजिमले अपनाउलान्? या आलोकको एकतर्फी प्रेमले सार्थकता पाउला? यी प्रश्नको उत्तर खोज्न हलसम्मै पुग्नुपर्ने हुन्छ। 

बलियो पक्ष 

२ घण्टा ५० मिनेट लामो यो फिल्मको कथा छोट्याउन सकिएको भए आफैँमा नराम्रो होइन, भेडा गोठाला (बुद्धि तामाङ) ले सम्झनास्वरुप बनाउने जलाकी र अनपढ भए पनि छोरालाई पढाएर ठूलो मान्छे बनाउने उनको सपनाले दर्शकको मन छुन्छ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली महिलाले भोग्ने यौन हिंसा र त्यसपछि परिवार तथा समाजले गर्ने बहिष्कारको पीडालाई निर्देशकले मार्मिक ढंगले उठाउने प्रयास गरेका छन्। साथीको खुसीका लागि आफ्नो प्रेम त्याग्ने पात्रको चरित्रचित्रण पनि सकारात्मक छ।

फिल्मको अर्को बलियो पक्ष गीतसंगीत हो। सांस्कृतिक कार्यक्रममा बज्ने ‘कलेजीको छेउ’, जोडी घुम्न जाँदाको ‘जाले रुमाल मायालाई’, र भावुक क्षणमा आउने ‘पहिलो माया’ कर्णप्रिय छन्। प्रचारका लागि तयार पारिएको र फिल्म सकिएपछि बज्ने ‘चाँदी जलप’ गीत पनि उत्तिकै सुमधुर छ। हलबाट निस्कँदा दर्शकको दिमागमा फिल्मको कथाभन्दा गीतका धुनहरू बढी गुन्जिन्छन्।

कमजोरी

फिल्मको सबैभन्दा कमजोर पक्ष नै निर्देशकको 'कछुवा गति' को कथावाचन हो। मध्यान्तरसम्म पनि चार पात्रको प्रेम सम्बन्धलाई स्थापित गर्न निर्देशक सफल भएका छैनन्। सामान्य प्रेमकथालाई तन्काउन उनले अति नै सुस्त र अनावश्यक दृश्यहरूको चाङ नै लगाएका छन्। कथालाई जलाकीसम्म पुर्याउन उनले खर्चिएको तीन घण्टा र यसका लागि बुनिएको पटकथाले फिल्म पट्यारलाग्दो बनेको छ।

फिल्मको सिनेमाटोग्राफीमा पनि खासै मेहनत देखिँदैन। सामान्य काम भएका छन्। मामा-माइजूले ब्रिटिस लाहुरेसँग बिहे गरिदिने कुरा चलाएपछि लिसाराले प्रेमीसँग सल्लाह माग्ने दृश्यमा क्यामेराले पात्रको निधारभन्दा मुनिको भाग मात्र 'टाइट फ्रेम' मा खिचेको छ, जसको कुनै कलात्मक अर्थ देखिँदैन ।

कला निर्देशन र कथाको निरन्तरता मा पनि गम्भीर त्रुटि छन्। सानैमा छाडेर हिँडेको घरमा २० वर्षपछि लिसारा फर्कँदा घर भर्खरै लिपपोत गरेर चिटिक्क पारिएजस्तो जस्ताको तस्तै छ। पुरानो देखाउन छानोमा हल्का झारपात मात्र राखिएको छ, जुन अस्वाभाविक लाग्छ।

गीतहरू राम्रा भए पनि तिनको 'प्लेसमेन्ट' मिलेको छैन। घुम्न निस्केका पात्रहरूले राति एक्कासि रोधी बसेझैँ गरी ‘जाले रुमाल मायालाई’ गीतमा नाचगान गर्नु 'बेटुङ्गो' लाग्छ। पार्श्वसंगीत औसत छ।

अभिनयमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीको काम ठिकठाक मात्र छ। निर्देशकले उनीहरूबाट कथाको माग अनुसारको अभिनय गराउन पनि सकेका छैनन्। खबपु (खड्गबहादुर पुन मगर) र कर्मा सिंह लामाको कमेडीले भने बिचबिचमा दर्शकलाई केही राहत दिन्छ। पोखरा र फेवाताल आसपासका दृश्यहरू दोहोरिइरहँदा दृश्य भाषामा पनि नयाँपन भेटिँदैन।

अन्त्यमा, ‘जलाकी’ को मूल कथा संवेदनशील भए पनि निर्देशक अशोक थापा मगरले रबरझैँ तन्काउँदा कथाको मर्म चुँडिएको छ। कमजोर पटकथा र सुस्त गतिको प्रस्तुतिले ‘जलाकी’ दर्शकका लागि धैर्यको परीक्षासमान बन्न पुगेको छ।

मंसिर ६, २०८३ आइतबार २०:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।