अभिनेत्री रेखा बोल्यो कि कसै न कसैलाई पोल्यो ,बानी कि फिल्मी फन्डा !

अभिनेत्री रेखा बोल्यो कि कसै न कसैलाई पोल्यो ,बानी कि फिल्मी फन्डा !
तस्बिर : द लास्ट कोइसन

काठमाडौं : गतिलो फिल्म बनाउनु त छदै छ त्यो चलाउनु पनि उत्तिकै चुनौती हुने नै भयो। फिल्म कमजोर होस् या बलियो त्यसलाई दर्शकसम्म पुर्याउने मुख्य माध्यम मिडिया हुने नै भयो। मिडियामा आएर मात्र भएन, दर्शकसम्म पुग्नु नि पर्यो। अनि दर्शकसम्म पुग्न सामान्य हाई हेलोको संवादले मात्र सधैँ काम गर्दैन।

अनि के? उही आफैँ विवाद सुरु गराउने। मिडियामा विवाद चर्काउने अनि दर्शकको ध्यान तान्ने। यसका लागि केही फिल्मकर्मीले अपनाएको प्रयास त उल्टो ब्याकफायर भएर फिल्म बलियो हुँदा पनि उठ्नै नसक्ने ऋणको भार बोकाएर गयो। केहीले त्यही संकेत गरिरहेको छ।

फिल्म उपहारले गतिलो उपहार नदिएपछि अर्को फिल्म छत्तिसको आँकडाको निर्माण गरेकी अभिनेत्री रेखा थापा अहिले आफ्नो फिल्मको प्रचारका लागि मिडियामा छपक्क छिन्। उनले धेरैको ध्यान तानेकी पनि छिन्। तर छाउन उनले अपनाएको शैली पनि उही यही विवादहरू नै हुन्।

फिल्मको नाम जस्तै अहिले उनी आफ्नै फिल्मका कलाकारदेखि अन्यसँगको सम्बन्धसम्मलाई ३६ को आँकडा बनाइरहेकी छिन्। अधिकांश पडकास्टहरुमा उनले मिडियाकर्मी, सहकर्मी पूजा शर्मा, मात्रै हैन उनको फिल्म रिलिज हुनुभन्दा एक साता अगाडि रिलिज हुने फिल्म ककाकिकीको निर्माण टिमबारे विवादित टिप्पणी गरिरहेकी छिन्।

जहाँ उनी पडकास्टमा पुग्छिन् त्यहाँ जवर्जस्ती स्क्यान्डल निकालिने गरेको भन्दै आलोचना गर्छिन् तर आफैँ केही न केही विवादको जन्म गराएर हिँड्छिन्। उनले पहिलो प्रहार युट्युवरहरुमाथि गरिन्। उनले फिल्मको प्रचारका लागि भनेर विज्ञापन माग्ने तर फिल्मको प्रचार भन्दा विवाद बिकाउन खोज्ने आरोप लगाइन्।

अर्को फिल्म सहकर्मीहरूबारे टिप्पणी गरिन्। फिल्मको प्रमोसनका लागि जाने भन्ने तर फिल्मको भन्दा आफ्नो व्यक्तिगत प्रचार गरेर आउने गरेको भन्दै निकै आक्रोशित देखिएकी थिइन्। पछि उनले आफ्नै फिल्मको सहकर्मी पूजा शर्माबारे पनि उस्तै टिप्पणी गरिन्।

फिल्म ककाकिकीमा अभिनेत्री रेखाले पनि अभिनय गर्दैछिन्। फिल्मको रिलिज सरेपछि फिल्म ककाकिकीले मंसिर ११ गते मिति तोक्यो। त्यसपछि उनी फायर भइन्। उनले सो फिल्मको निर्मात्री श्रद्धाले आफूसँग फिल्म रिलिजको मिति तोक्दा छलफल गर्ने भने पनि सल्लाहै नगरी आफ्नो फिल्म भन्दा अगाडि रिलिजको मिति तोकेर डज हानेको भन्दै त्यसको प्रचारमा नजाने बताइन्।

अर्थात् अरूले फिल्म चलाउन जे जस्तो फन्डा गरिरहेका छन् भनेर उनी आलोचना गर्दै हिँडिरहेकी छिन् उनले आफ्नो फिल्मलाई लाइमलाइटमा ल्याउन पनि उस्तै शैली नै अपनाइरहेकी छिन्। उनले यस्तो रणनीति अपनाएको पहिलो पटक पनि हैन। यस अगाडि पनि फिल्म रिलिज अगाडि उनी यस्तै यस्तै नै त गर्थिन्। तर सधैँ रणनीतिले काम गर्दैनथ्यो। यसपालि चैँ के हुन्छ? मङ्सिरभित्र थाहा भइहाल्छ।

मंसिर ६, २०८३ आइतबार १६:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।