सुदूरपश्चिम एनपीएल च्याम्पियन : कहाँ चुक्यो लुम्बिनी, कसरी च्याम्पियन बन्यो सुदूरपश्चिम?
काठमाडौं : लगातार अघिल्ला दुई सिजनको फाइनलमा चुकेको सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बन्यो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको एकतर्फी जित निकाल्दै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कारसहितको उपाधि उचाल्यो।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले ३९ बल बाँकी छँदै मात्र १३.३ ओभरमा एउटै विकेट नगुमाई १५८ रन बनाएर पूरा गर्यो। यो नतिजासँगै एनपीएलका तीनवटै संस्करणमा तीन फरक च्याम्पियन बनेका छन् भने लिग चरणको शीर्ष स्थानमा रहने टोलीले उपाधि नजित्ने अनौठो संयोग यसपटक पनि कायम रह्यो।
अघिल्ला दुई सिजनमा शीर्ष स्थानमा रहेर फाइनल हारेको सुदूरपश्चिमले यसपटक शीर्ष स्थानको लुम्बिनीलाई पराजित गर्दै जारी सिजनको उद्घाटन खेल र क्वालिफायर-१ सहित लगातार तीन हारको बदलासमेत लिएको छ।
लड्खडाउँदै च्याम्पियन
अघिल्ला दुई संस्करणमा सहजै शीर्ष स्थानमा रहेर फाइनल पुगेको सुदूरपश्चिमका लागि तेस्रो सिजनको यात्रा निकै सङ्घर्षपूर्ण रह्यो।
ब्याटिङमा निरन्तर उतारचढाव, लिग चरणमा दुई हार र क्वालिफायर-१ मा लुम्बिनीसँगै पराजित भएपछि टोलीमाथि दबाब बढेको थियो। क्वालिफायर-२ मा चितवन राइनोजविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनल आइपुगेको सुदूरपश्चिमले उपाधि भिडन्तमा भने त्रुटिरहित प्रदर्शन गर्यो।
तीन सिजनका लागि तयार पारिएको कोर टिम तथा प्रशिक्षक जगत टमाटा र मुस्बाह-उल-हकसहितको व्यवस्थापकीय निरन्तरताले अन्ततः सुखद परिणाम दियो।
विशेषतः कप्तान दीपेन्द्रसिंह ऐरीले पछिल्ला खेलहरूमा एङ्कलको असहजताका बाबजुद फिजियोको सल्लाहमा थर्टी-यार्ड सर्कलभित्रै फिल्डिङ सम्हाल्दै र चोट सहेरै कप्तानी इनिङ्स खेल्दै टोलीलाई च्याम्पियन बनाए।
खेलको रणनीतिक तथा प्राविधिक चिरफार
अघिल्ला दुई फाइनलमा टस जितेर पहिला ब्याटिङ रोज्दा पराजित भएको सुदूरपश्चिमले यसपटक साँझको शीत र पिचको स्वभाव बुझ्दै पहिला बलिङ रोज्यो। ब्याटिङ गहिराइ बढाउन प्लेइङ-११ मा सैफ जैबलाई भित्र्याइए पनि ओपनिङ जोडीले नै लक्ष्य पूरा गरिदिँदा मध्यक्रम क्रिजमा उत्रनै परेन।
सुस्त सुरुवात र मध्यक्रमको पुनरागमन : पावरप्लेमा २ विकेट गुमाएर ३७ रन मात्र जोडेको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल क्रिजमा आएपछि इनिङ्स सम्हालियो। उनले डार्सी सर्टसँग ३०, निरोशन डिक्वेलासँग ३९ र दिलीप नाथसँग ३४ रनको साझेदारी गर्दै टोलीलाई १० ओभरमा ७४/२ को बलियो स्थितिमा पुर्याए।
१४.६ ओभरमा १०८/४ को अवस्थामा राम्रो लयमा रहेका रोहित (३१ बलमा ३० रन) हतारमा सिङ्गल लिन खोज्दा रनआउट हुनु लुम्बिनीका लागि महँगो साबित भयो।
रोहित आउट भएसँगै क्रिजमा दुवै बायाँ हाते ब्याटर जमेपछि सुदूरपश्चिमले लेफ्ट-आर्म स्पिनर अनिल खरेललाई रोकेर अफ-स्पिनर इशान पाण्डेलाई ल्याउनुपर्यो।
त्यसको फाइदा उठाउँदै दिलीप नाथ र अली शेखले छैटौँ विकेटका लागि १९ बलमै ३३ रन जोडे। अन्तिम ५ ओभरमा ४७ रन बटुले पनि एक समय १ सय ७० भन्दा बढी पुग्ने देखिएको लुम्बिनी ६ विकेट गुमाएर १ सय ५५ मा समेटियो।
सुदूरपश्चिमका चार मुख्य बलर स्कट कुगेलेइन, हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले १६ ओभरमा जम्मा ९७ रन खर्चेर ५ विकेट लिए। तर, बाँकी ४ ओभरमा खरेल र पाण्डे महँगा बने।
मुन्सेको ‘आँधी’ र लुम्बिनीको चुक
दुई जीवनदान र विस्फोट : अघिल्ला दुई खेलमा जम्न नसकेका स्कटिस ओपनर जर्ज मुन्सेले आज पहिलो बलमै एज लागेर चौका पाए भने व्यक्तिगत ४४ रनमा रहँदा मिडविकेटमा सन्दीप जोराबाट सहज क्याच ड्रप र लगत्तै रनआउटको मौकासमेत छुट्दा जीवनदान पाए।
त्यसपछि उनले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गर्दै ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १ सय २५ रन बनाए। अन्त्यमा शेर मल्ललाई लगातार ३ छक्का प्रहार गर्दै उनले खेल फिनिस गरे।
मुन्से आक्रामक लयमा हुँदा अर्को एन्डबाट विनोद भण्डारीले कुनै स्वार्थ नराखी सिङ्गल-डबल लिँदै लगातार मुन्सेलाई स्ट्राइक दिएर ‘टिम गेम’को उत्कृष्ट नमुना पेस गरे।
पावरप्लेमा ६०/० जोडेको सुदूरपश्चिम १० ओभरको ड्रिङ्क्स ब्रेकमा ९०/० मा थियो। त्यसपछिका मात्र २१ बलमा ६८ रन बटुल्दै टोलीले लक्ष्य ध्वस्त पार्यो।
प्रतियोगिताभर अनुशासित देखिएको लुम्बिनीको बलिङ र फिल्डिङ आज दबाबमा लडखडायो। सन्दीप जोराबाटै क्याच छुट्नु, फिल्डमा मिसफिल्ड हुनु र स्टम्पपछाडि स्विप-रिभर्स स्विप खेल्ने मुन्सेको बलियो क्षेत्र थर्ड म्यान र फाइन लेगअनुसार फिल्ड प्लेसमेन्ट नहुनु लुम्बिनीको मुख्य कमजोरी रह्यो।
बलिङ परिवर्तनमा हतारिँदा रुबेन ट्रम्पेलम्यान, किशोर महतो, शेर मल्ल, अभिशेष गौत, डार्सी सर्ट र रोहित स्वयं सबै महँगा साबित भए।
खेल र सिजनमा बनेका प्रमुख कीर्तिमानहरू
जर्ज मुन्सेले चितवन राइनोजका कामिल मिश्राको अविजित १ सय २० रनको कीर्तिमान भङ्ग गर्दै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए।
एनपीएल फाइनलमा शतक प्रहार गर्ने मुन्से पहिलो खेलाडी बने भने समग्र एनपीएल इतिहासको यो छैटौँ शतक हो। एपीएलमा अहिलेसम्म नेपाली खेलाडीबाट शतक बनेको छैन।
मुन्सेले १२ छक्का प्रहार गर्दै एकै इनिङ्समा मार्क वाटको सर्वाधिक १२ छक्काको कीर्तिमान बराबरी गरे। समग्र तेस्रो सिजनमा भने विराटनगरका लोकेश बम १८ छक्कासहित शीर्ष स्थानमा रहे।
यस्तै एनपीएल फाइनलमा १० विकेटको जित निकाल्ने सुदूरपश्चिम पहिलो टोली बन्यो। समग्र एनपीएलमा दोस्रो र ३९ बल बाँकी छँदै हासिल गरिएको सबैभन्दा छिटो १० विकेटको जित हो।
मुन्से र विनोद भण्डारीबीचको अविजित १ सय ५८ रनको ओपनिङ साझेदारी एनपीएल फाइनल इतिहासकै सर्वाधिक तथा समग्र एनपीएलको तेस्रो ठूलो साझेदारी हो।
आज २ विकेट लिएका सुदूरपश्चिमका स्कट कुगेलेइन ४२ विकेटसहित एनपीएल इतिहासकै सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा पुगे।
जारी सिजनमा विराटनगरका सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट गुमाउँदै २७ रन एनपीएल इतिहासकै उत्कृष्ट बलिङ स्पेल दर्ता गरे भने पोखराले काठमाडौंविरुद्ध २२४/३ को एनपीएलकै सर्वाधिक टिम योगफल बनायो।
सिजन-३ का विधागत पुरस्कार र नायकहरू
जारी सिजनको प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी बने। जारी एनपीएलमा तीन अर्धशतकसहित २ सय १७ रन र सात विकेटको अलराउन्ड प्रदर्शन गरेका उनले पाँच लाख रुपैयाँ नगद पाए।
बेस्ट नेपाली प्लेयर अफ द लिग चितवन राइनोजका रिजन ढकाल बने। उनले करिब ६५ लाख रुपैयाँ बराबरको ओमोडा ईभी कार प्राप्त गरे।
सर्वाधिक विकेटकर्ता अर्थात गोल्डेन क्याप पनि रिजन ढकालले नै प्राप्त गरे। यसबापत उनले २ लाख नगद प्राप्त गरे। प्रतियोगितामा उनी कुनै खेलमा विकेटविहीन भएनन्।
प्ल्याटिनम क्याप अर्थात सर्वाधिक रनकर्ता पोखरा एभेन्जर्सका युवराज समरा बने। मात्र ४ खेलमा १ शतक र २ अर्धशतकसहित २ सय ९४ रन बनाएका उनले २ लाख रुपैयाँ प्राप्त गरे।
यसका अलावा सर्वाधिक रन बनाउने नेपाली खेलाडीमा विराटनगर किंग्सका लोकेश बम छन्। उनले १८ छक्कासहित २ सय ४२ रन बनाउँदै मोटरसाइकल पुरस्कार पाए।
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने जनकपुर बोल्ट्सका राहुल यादवको नाममा रह्यो। १७ वर्षका उनले एनपीएलका ७ खेलमा १२ विकेट लिए।
यस्तै, एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड लुम्बिनी लायन्सले जित्यो।
विजेताको प्रतिक्रिया र सिजनको बृहत् सन्देश
म्याचपछि फाइनलका नायक जर्ज मुन्सेले यो अविस्मरणीय दिन भएको बताउँदै फाइनलमा आक्रामक खेल्नु नै आवश्यक रहेको र अर्को वर्ष पनि नेपालमा खेल्न इच्छुक रहेको बताए।
यता, कप्तान दीपेन्द्रसिंह ऐरीले टिमका साथीहरू र सुदूरपश्चिमका समर्थकलाई श्रेय दिँदै दुई वर्षदेखिको ट्रफी जित्ने सपना पूरा भएको बताए।
२७ दिन चलेको ३२ खेलको तेस्रो संस्करण आईसीसीको आधिकारिक टी-२० मान्यता, डीआरएस प्रणाली, डे-नाइट फ्लडलाइट म्याच र डेभिड वार्नर, मोइन अली तथा आन्द्रे रसेलजस्ता स्टारहरूको सहभागिताका कारण नेपाली क्रिकेटका लागि कोसेढुङ्गा बन्यो।
यद्यपि, प्रतियोगिता नसकिँदै कतिपय विदेशी खेलाडी फर्किनु, कीर्तिपुर पिचको गुणस्तरबारे प्रश्न उठ्नु तथा निर्णायक खेल र ब्याटिङ विधामा अझै विदेशी खेलाडीकै वर्चस्व रहनु सुधार गर्नुपर्ने पक्षका रूपमा देखिए।
तीन वर्षे चक्र पूरा भएसँगै अब चौथो सिजनअघि हुने ‘मेगा अक्सन’ले फ्रेन्चाइज टोलीहरूको समीकरण फेर्नेछ, जहाँ नेपाली ब्याटरहरूबाट अझै जिम्मेवार र म्याच-विनिङ प्रदर्शनको अपेक्षा रहनेछ।
मंसिर ६, २०८३ आइतबार १०:२२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।