एनपीएल फाइनल टिकट पहिल्यै सोल्डआउट देखिएको इसेवाले स्विकार्यो, तर सिस्टम रिस्टार्ट बहाना देखायो
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीमा अनियमितता र कालोबजारी भएको गम्भीर आरोप लगाउँदै क्रिकेट समर्थकहरू विरोधमा उत्रिएपछि आयोजक र टिकट विक्रीको जिम्मा पाएको इसेवा दुवैले आ-आफ्नै ढंगले बचाउको प्रयास गरे।
शुक्रवार दिउस १ बजेबाट सर्वसाधारणका लागि टिकट विक्री खुला गर्ने भनिए पनि तीन मिनेट अगाडि नै सबै टिकट विक्री भएको भन्दै इसेवामा सूचना आएको थियो। त्यसपछि एनपिएलको टिकट विक्री पारदर्शी नभएको र यसको कालोबजारी हुने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भयो। एक बजे अगाडि नै सबै टिकट विक्री भएको इसेवाको स्क्रिनसट भाइरल भयो।
फाइनल खेल हेर्न चाहने क्रिकेट प्रेमीहरू विरोध गर्न त्रिवि कीर्तिपुरको मैदान बाहिरै पुगेर आयोजक र इसेवाको विरोध सुरु गरे। त्यसमा क्यानले टिकट विक्रीमा कुनै अनियमितता नभएको दाबी गर्दै अत्याधिक मागका कारण सबैले टिकट किन्न नसकेको दाबी गर्यो। त्यसो हो भने टिकट किन्ने समय अगाडि नै सबै टिकट सकिएको भनेर इसेवाले किन मेसेज राखेको भन्ने पक्षमा भने क्यान मौन छ।
उता इसेवाका अधिकारीहरूले टिकट विक्री खुला हुनु अगाडि नै सोल्डआउट देखिएको स्वीकार गर्दै त्यो पहिल्यै सबै टिकट विक्री भएर नभई सिस्टम रिस्टार्ट गर्नेक्रममा एक सेकेन्ड त्यस्तो मेसेज देखिएको तर्क गर्छन्।
के हो विवाद ?
शनिवार हुने फाइनल खेलका लागि ई-सेवाले शुक्रवार दिउँसो १ बजेबाट टिकट बिक्री खुला गर्ने समय तोकेको थियो। तर, सर्वसाधारणका लागि टिकट खुल्नु ३ मिनेट अगाडि अर्थात् १२:५७ बजे नै ई-सेवा एपमा सबै टिकट 'सोल्डआउट' (बिक्री भइसकेको) सन्देश देखिएको थियो।
निर्धारित समयभन्दा अगावै टिकट सकिएको सूचना आएपछि सामाजिक सञ्जालमा टिकट बिक्रीको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। कतिपय प्रयोगकर्ताले आफूसँग फाइनलको टिकट रहेको भन्दै १ हजार र २ हजार रुपैयाँ तोकिएको टिकटलाई १० हजार रुपैयाँसम्ममा बिक्रीमा राखेको स्क्रिनसटसमेत सार्वजनिक भएका छन्। यसले टिकटमा कालोबजारी र चलखेल भएको समर्थकहरूको आरोपलाई थप बल पुर्याएको छ।
क्यानको प्रष्टीकरण : 'माग अत्यधिक हुँदा तुरुन्तै सकियो'
समर्थकहरूको प्रदर्शन चलिरहँदा पत्रकार सम्मेलनमा जवाफ दिँदै क्यानका केन्द्रीय सदस्य एवं टुर्नामेन्ट डाइरेक्टर धीरेन्द्र साउँदले टिकट बिक्रीमा कुनै अनियमितता नभएको जिकिर गरे। उनका अनुसार दिउँसो १ बजे टिकट खुल्ने बित्तिकै पहिलो मिनेटमै २ लाखदेखि ४ लाख समर्थक एकैसाथ टिकट काट्न जाँदा सिस्टममा उच्च ट्राफिक जाम भएको थियो।
"करिब ८ देखि १० हजार दर्शक क्षमता रहेको मैदानमा अन्य दिन ६ हजारभन्दा बढी टिकट बिक्री गरिन्थ्यो," साउँदले भने, "तर, फाइनल खेलमा सबै टिमका मालिक, प्रायोजक र सरोकारवालाहरू उपस्थित हुने भएकाले पास अलि बढी वितरण गर्नुपर्यो। क्षमताभन्दा अत्यधिक माग भएकाले टिकट तुरुन्तै सकिएको हो।"
ई-सेवाको तर्क : 'प्राविधिक रिस्टार्टका क्रममा एक सेकेन्ड सोल्डआउट देखिएको हो'
यता टिकट साझेदार ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरज शर्माले समयअगावै टिकट सकिएको देखिनुलाई प्राविधिक प्रक्रियाका रूपमा व्याख्या गरे।
"क्यानले टिकटको कोटा तय गरेपछि दिउँसो १ बजे बिक्री सुरु गर्ने तयारीका लागि सिस्टम रिस्टार्ट गर्नुपर्ने हुन्छ," सीईओ शर्माले भने, "त्यही तयारीका क्रममा १ बजेभन्दा अगाडि एक सेकेन्डका लागि 'सोल्डआउट' म्यासेज देखिएको हो, अहिले सामाजिक सञ्जालमा भाइरल भएको स्क्रिनसट त्यही हो।"
उनका अनुसार ई-सेवाको सिस्टममा ठिक १ बजे नै टिकट बिक्री खुला भएको थियो र १ बजेर २४ मिनेट जाँदा अन्तिम टिकट बिक्री भएको थियो। एकै पटक ४ लाख ग्राहकले टिकट काट्न खोज्दा सानो क्षमताको मैदानका लागि टिकट तुरुन्तै सकिएको र एउटै व्यक्तिले अधिकतम ५ वटासम्म टिकट काट्न पाउने नियमअनुसार १ देखि ३ वटासम्म टिकट काटेको सिस्टममा देखिएको शर्माको दाबी थियो।
मंसिर ४, २०८३ शुक्रबार २३:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।