एनपीएल फाइनलको टिकट ५ हजारमा बिक्री, समर्थक भन्छन्- ‘मैले सकिनँ, साथीले बनाएको बटले काट्यो’
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि छिनोफानो आज हुँदैछ। साँझ ५ बजे सुरु हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुवै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
तर, बहुप्रतीक्षित फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार अनलाइन टिकट बिक्रीलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक टिकेटिङ पार्टनर ई-सेवा विवादमा तानिए।
टिकट बिक्री खुलेको केही क्षणमै ‘सोल्ड आउट’ भएको सूचना आएपछि क्रिकेट समर्थक आक्रोशित बनेका छन् भने सामाजिक सञ्जालमा ई-सेवाको प्रणालीमा ‘बट’ प्रयोग भएको र टिकटको कालोबजारी भइरहेको दाबीसहितका स्क्रिनसटहरू सार्वजनिक भएका छन्।
१२:५७ मै ‘सोल्ड आउट’
क्यान र ई-सेवाले शुक्रबार दिउँसो १ बजेदेखि फाइनल खेलको अनलाइन टिकट बिक्री खुला हुने समय तोकेका थिए।
फाइनलका लागि साधारण टिकटको मूल्य १ हजार र प्रिमियमको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको थियो। तर, बिक्री सुरु हुनु तीन मिनेटअघि नै अर्थात् १२:५७ बजे नै प्लेटफर्ममा टिकट ‘सोल्ड आउट’ देखिएको र १ बजेपछि प्रयास गर्दा पनि टिकट किन्न नसकिएको भन्दै दर्शकहरूले आक्रोश पोखेका छन्।
टिकट नपाएका आक्रोशित समर्थकहरू शुक्रबार दिउँसै त्रिवि क्रिकेट मैदानको मुख्य गेटबाहिर भेला भई क्यानविरुद्ध नाराबाजी र विरोध प्रदर्शनमा उत्रिएका थिए।
समर्थकको प्रदर्शन र विवादका कारण साँझ ४:३० बजेका लागि तय गरिएको दुवै टोलीका कप्तानहरूको ‘प्री-फाइनल प्रेस मिट’ समेत करिब एक घण्टा ढिलो गरी ५:४० बजे मात्र सुरु भएको थियो।
‘बट’ ले टिकट काटेको दाबी र ५ हजारमा कालोबजारी
टिकट बिक्री प्रणालीको पारदर्शितामाथि प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिनसटहरूले विवादलाई थप चर्काएको छ।
शुक्रबार दिउँसो एक्समा शिशिर पराजुली नामक प्रयोगकर्ताले लेखेको पोस्टले प्रविधि र सुरक्षा जाँचमाथि गम्भीर प्रश्न उठाएको छ।
क्यान र ई-सेवालाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘तिमीहरूको एनपीएल फाइनल टिकट बिक्री एक मजाक बन्यो। मैले हरसम्भव प्रयास गर्दा पनि एउटा टिकट किन्न सकिनँ, तर मेरो साथीले क्लाउड प्रयोग गरेर बनाएको बटले ई-सेवाबाट केही टिकट किनिदियो। मानिसले नपाउँदा बट कसरी भित्र छिर्यो? क्यु कसरी चल्यो र के-कस्ता जाँच राखिएका थिए, दर्शकलाई देखाऊ।’
अर्कोतर्फ, टिकटको कालोबजारी भइरहेको देखाउने मेसेन्जर संवादका स्क्रिनसटसमेत उकेराले प्राप्त गरेको छ।
उकेराले पाएको एक मेसेन्जर च्याटमा समर्थकले टिकट किन्न खोज्दा ‘कतिमा दिन्छौ टिकट?’ भनी सोधेकोमा हेमन्त चन्द नामक गरेका ती व्यक्तिले ‘५ हजार’ तथा ‘कति वटाको?’ भन्ने प्रश्नमा ‘एउटाको’ भनी जवाफ दिएका छन्।
आधिकारिक रूपमा १ हजार र २ हजार रुपैयाँ मूल्य तोकिएका टिकट बाहिर ३ देखि ५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको गुनासो समर्थकहरूले गरेका छन्।

क्यानको माफी र ई-सेवाको स्पष्टीकरण
चौतर्फी आलोचना र विरोधपछि क्यान र ई-सेवा दुवैले प्राविधिक चाप र सीमित क्षमताको तर्क गर्दै स्पष्टीकरण दिएका छन्।
क्यानका सचिव पारस खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै टिकट बिक्री खुला गरिएसँगै करिब २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गर्दा र मैदानको दर्शक क्षमता सीमित भएका कारण केही मिनेटभित्रै सबै टिकट बिक्री भएको दाबी गरेका छन्।
टिकट नपाएका समर्थकहरूसँग क्षमायाचना गर्दै क्यानले आधिकारिक प्रसारण तथा अनलाइन माध्यममार्फत खेल हेरेर समर्थन गरिदिन आग्रह गरेको छ।
यता, ई-सेवाका प्रतिनिधिहरूले भने ९ देखि १० हजार दर्शक क्षमता रहेको कीर्तिपुर मैदानका लागि क्यानबाट सर्वसाधारणतर्फ करिब ६ देखि ७ हजार मात्र टिकट बिक्रीका लागि प्राप्त भएको बताएका छन्।
दिउँसो १ देखि १:०५ बजेसम्ममा करिब ५ लाख प्रयोगकर्ता एकैपटक प्रवेश गर्दा अत्यधिक चाप परेको ई-सेवाको दाबी छ।
१२:५७ मै ‘सोल्ड आउट’ देखिएको विषयमा ई-सेवाका अधिकारीहरूले सिस्टम रिस्टार्ट गर्ने क्रममा एक सेकेन्डका लागि त्यस्तो सन्देश देखिएको तर्क गरेका छन्।
१ मिनेटमै नभई अन्तिम टिकट १ बेर २५ मिनेटमा काटिएको र एउटै आईडीबाट अधिकतम ५ वटा मात्र टिकट काट्न मिल्ने व्यवस्था गरिएको ई-सेवाको दाबी छ।
यद्यपि, दर्शकहरूले भने ‘बट’ को प्रयोग र कालोबजारीका विषयमा चित्तबुझ्दो प्राविधिक प्रमाण सार्वजनिक गर्न माग गरिरहेका छन्।
मंसिर ५, २०८३ शनिबार ११:२०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।