छ कीर्तिमानसहित सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले स्तब्ध

छ कीर्तिमानसहित सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले स्तब्ध

काठमाडौं : लगातार अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित हुँदै आएको सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न एनपीएल सिजन-३ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको ऐतिहासिक जित निकाल्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि उचालेको हो।

लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई ३९ बल बाँकी छँदै मात्र १३.३ ओभरमा १ सय ५८ रन बनाएर पूरा गर्यो।

यसअघि जारी सिजनको उद्घाटन खेल र क्वालिफायर-१ सहित लुम्बिनीविरुद्ध लगातार तीन खेलमा पराजित भएको सुदूरपश्चिमले फाइनलमा एकतर्फी प्रदर्शन गर्दै पुरानो हारको बदला लिएको छ।

मुन्सेको शतक र १५८ रनको अविजित साझेदारी
सुदूरपश्चिमको सानदार जितका नायक स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्से बने। उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै २३१.४८ को स्ट्राइक रेटमा अविजित १२५ रनको ऐतिहासिक इनिङ्स खेले।

सुरुवातदेखि नै लुम्बिनीका बलरमाथि हाबी भएका मुन्सेले २८ बलमा ५ चौका, ३ छक्कासहित अर्धशतक र ४९ बलमा ८ चौका र ८ छक्कासहित शतक पूरा गरेका थिए।

अर्को एन्डबाट ओपनर तथा विकेटकिपर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाउँदै मुन्सेलाई दरिलो साथ दिए। पावरप्लेमा ६० रन जोडेको सुदूरपश्चिमले १०.४ ओभरमा १०० रन पूरा गरेको थियो।

त्यसपछिका १७ बलमै थप ५८ रन बटुल्दै सुदूरपश्चिमले १३.३ ओभरमै लक्ष्य भेट्टाएको हो।

लगातार दबाबमा परेका लुम्बिनीका ६ जना बलरमध्ये कसैले पनि विकेट लिन सकेनन्।

किशोर महतोले ३ ओभरमा ३८, शेर मल्लले ३.३ ओभरमा ३४, रुबेन ट्रम्पेलम्यानले २ ओभरमा २६, डार्सी सर्टले २ ओभरमा २१, अभिशेष गौतमले २ ओभरमा २० र कप्तान रोहितकुमार पौडेलले १ ओभरमा १८ रन खर्चिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीको इनिङ्स
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि मध्यक्रमका दिलीप नाथले ३१ बलमा ३ छक्कासहित सर्वाधिक अविजित ३९ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३०, निरोशन डिक्वेलाले १७ बलमा २८, अली शेखले १२ बलमा २४ र डार्सी सर्टले १८ बलमा २१ रन जोडे।

सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

फाइनलमा बनेका प्रमुख कीर्तिमानहरू
१. एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर : जर्ज मुन्सेको अविजित १ सय २५ रनले तीन दिनअघि मात्र इलिमिनेटरमा चितवन राइनोजका कामिल मिश्राले काठमाडौं गोर्खाजविरुद्ध बनाएको अविजित १ सय २० रनको कीर्तिमान भङ्ग गर्दै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको नयाँ रेकर्ड कायम गरे।

२. फाइनलमा पहिलो शतक : एनपीएलका अघिल्ला दुई संस्करणका फाइनलमा कुनै पनि ब्याटरले शतक बनाउन नसकेको अवस्थामा मुन्से फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने। यो समग्र एनपीएल इतिहासको छैटौं शतक हो।

३. एकै इनिङ्समा सर्वाधिक १२ छक्काको बराबरी : मुन्सेले आफ्नो इनिङ्समा १२ छक्का प्रहार गर्दै सन् २०२५ मा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध नै बनाएको एकै इनिङ्समा सर्वाधिक १२ छक्काको कीर्तिमान बराबरी गरे।

४. फाइनलमा १० विकेटको पहिलो जित : एनपीएलको फाइनलमा १० विकेटको फराकिलो अन्तरले जित हात पार्ने सुदूरपश्चिम पहिलो टोली बन्यो। समग्र लिग इतिहासमा भने यो दोस्रो १० विकेटको जित हो। पहिलो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो।

५. फाइनलको सर्वाधिक र लिगको दोस्रो ठूलो साझेदारी : मुन्से र विनोद भण्डारीबीचको अविजित १ सय ५८ रनको ओपनिङ साझेदारी एनपीएल फाइनलको सर्वाधिक तथा समग्र एनपीएल इतिहासकै तेस्रो ठूलो साझेदारी हो।

यसअघि समग्रमा जारी एनपीएलमै पोखराका युवराज सिंह सामरा र कुशल भुर्तेलले सर्वाधिक १ सय ८६ रनको साझेदारी पहिलो र पहिलो सिजनमा पोखराका एन्ड्रिस गौस र दिनेश खरेलको १ सय ७६ रनको साझेदारी दोस्रो सर्वाधिक ठूलो साझेदारी हो।

६. तेस्रो फाइनलमा पहिलो उपाधि : पहिलो सिजन जनकपुर बोल्ट्ससँग ५ विकेटले र दोस्रो सिजन लुम्बिनी लायन्ससँग ६ विकेटले फाइनलमा पराजित भएको सुदूरपश्चिम रोयल्स लगातार तीनवटै फाइनल खेलेर अन्ततः पहिलो पटक च्याम्पियन बनेको छ।

मंसिर ५, २०८३ शनिबार २०:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।