उपाधि जित्न सुदूरपश्चिमलाई लुम्बिनीले दियो १५६ रनको चुनौति
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न सुदूरपश्चिम रोयल्सले १ सय ५६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साविक विजेता लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्यो।
लुम्बिनीका लागि मध्यक्रमका ब्याटर दिलीप नाथले सर्वाधिक अविजित ३९ रनको योगदान दिए। उनले ३१ बलको सामना गर्दै ३ छक्का प्रहार गरे।
कप्तान रोहितकुमार पौडेलले ३१ बलमा २ चौकासहित ३० रन जोडे भने विकेटकिपर निरोशन डिक्वेलाले १७ बलमा १ चौका र २ छक्काको मद्दतमा आक्रामक २८ रन बनाए।
अन्तिम ओभरहरूमा अली शेखले १२ बलमै २ चौका र २ छक्कासहित २४ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई बलियो स्कोरमा पुर्याए।
ओपनर डार्सी सर्टले १८ बलमा ४ चौकासहित २१ रन बनाउँदा आसिफ शेख (१) र सन्दीप जोरा (४) सस्तैमा आउट भए। रुबेन ट्रम्पेलम्यान २ बलमा १ चौकासहित ४ रनमा अविजित रहे।
खेलको सुरुवातमा सुदूरपश्चिमले कसिलो बलिङ गरे पनि लुम्बिनीले मध्य र अन्तिम ओभरमा पुनरागमन गरेको थियो।
पावरप्ले (६ ओभर) मा २ विकेट गुमाएर ३७ रन मात्र बनाएको लुम्बिनीका लागि रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रन तथा रोहित र दिलीपले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे।
छैटौँ विकेटका लागि दिलीप र अली शेखबिच १९ बलमै ३३ रनको द्रुत साझेदारी भएपछि लुम्बिनीले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर ४७ रन बटुलेको थियो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक २ विकेट लिए।
यस्तै, हेमन्त धामीले ४ ओभरमा २३ रन, थारिन्दु रत्नायकेले २४ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन खर्चेर समान १-१ विकेट हात पारे। तर, अनिल खरेल र इशान पाण्डे महँगा साबित भए।
सुदूरपश्चिम रोयल्स केही बेरमा १ सय ५६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रँदैछ।
मंसिर ५, २०८३ शनिबार १८:४४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।