नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन्।
दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन शुक्रबार टेलिकमलाई निर्देशन दिए।
नेटवर्कको गुणस्तरमा समस्या किन भइरहेको छ भन्ने स्पष्ट पहिचान गरी त्यसको समाधान गर्नुपर्ने उनले बताए। सबै टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै तिमिल्सिनाले कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिए।
टेलिकमको सेवा प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुने अवस्था स्वीकार्य नहुने बताए।
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न, टावरको क्षमता बढाउन तथा आवश्यक पूर्वाधार विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ)को रकमसमेत उपयोग गरेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ। देशका विभिन्न स्थानमा टावर भए पनि नेटवर्क नचल्ने वा कमजोर हुने गुनासो आइरहेको भन्दै तिमिल्सिनाले सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिन निर्देशन दिए।
यसैबीच, नेपाल टेलिकमका देशभरमा पाँच हजार टावर रहेकामा आज करिब ५० वटाको सेवा प्रभावित भएको टेलिकमले जनाएको छ। सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप गर्नेगरी बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ।
नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार हुने सुनिश्चितता नहुने भन्दै उनले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता र सञ्चालन अवस्था पनि सुधार गर्नुपर्नेमा जोड दिए।
गत वर्ष मात्रै देशभरका विभिन्न टावरमा दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि नेटवर्क सञ्चालनमा समस्या नहुने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिकमका टावरले सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सेवा सञ्चालन गर्न सक्ने जनाइएको छ।
विद्युत् अवरुद्ध भएका बेला डाटा नचल्ने समस्या रहेको गुनासो मन्त्रालयमा आउने गरेको छ। यस विषयमा पनि तिमिल्सिनाले सेवा प्रदायकको वास्तविक अवस्था स्पष्ट पार्न र समस्या समाधान गर्न निर्देशन दिए।
“टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको छ। तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन्। तपाईंहरूको कमजोरी के हो ?, सुधारका उपाय शीघ्र खोज्नुहोस्। के-कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ”, उनले भने।
नेपाल टेलिकमका देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन पनि तिमिल्सिनाले निर्देशन दिए। जवाफमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले सेवाको गुणस्तर सुधार गर्न टेलिकम प्रतिबद्ध रहेको बताए।
पुराना टावरमा सेवाको गुणस्तर बढाउने र नयाँ टावर थप्ने काममार्फत टेलिकमको पहुँच तथा गुणस्तर सुधारका प्रयास भइरहेको उनको भनाइ छ। उनले टेलिकमका टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा भइरहेको पनि बताए।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या बढी हुने गरेको र त्यसबाट टेलिफोन टावरको सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ।
मंसिर ४, २०८३ शुक्रबार २०:४४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।