हामी च्याम्पियनजस्तै खेल्यौँ, तर आज हाम्रो दिन थिएन : रोहित पौडेल

हामी च्याम्पियनजस्तै खेल्यौँ, तर आज हाम्रो दिन थिएन : रोहित पौडेल

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग १० विकेटको हार बेहोरेपछि साविक विजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले समग्र प्रतियोगितामा आफूहरू ‘च्याम्पियनजस्तै’ खेले पनि फाइनलमा आज आफ्नो दिन नरहेको प्रतिक्रिया दिएका छन्।

शनिबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले लुम्बिनीका बलरहरूले आफ्नो शतप्रतिशत प्रयास गरे पनि सुदूरपश्चिमका जर्ज मुन्सेको उत्कृष्ट ब्याटिङका सामु केही नचलेको बताए।

‘समग्र प्रतियोगिता हेर्दा लुम्बिनी लायन्सका लागि एकदमै राम्रो रह्यो। लिग चरणदेखि क्वालिफायर-१ सम्म हामी च्याम्पियनजस्तै खेल्यौँ,’ पौडेलले भने, ‘तर आजको दिन हाम्रो लागि खराब रह्यो। हामीले राम्रो स्कोर बनाएका थियौँ, तर मुन्सेले एउटा अवसर दिएबाहेक निकै उत्कृष्ट ब्याटिङ गरे। आजको श्रेय म मुन्सेलाई नै दिन्छु।’

मुन्सेको क्याच छुटेको विषयमा सोधिएको प्रश्नमा पौडेलले खेलकुदमा यस्तो हुने बताउँदै त्यो दुर्भाग्यपूर्ण भएको उल्लेख गरे।

‘जानजान त क्याच छोडेको होइन, तर छुट्यो। त्यतिबेला एउटा मौका पाएको भए हामी खेलमा फर्कन खोजिरहेका थियौँ। तर आज हाम्रो दिन नै थिएन’, उनले भने।

आफ्नो रनआउट खेलको महत्त्वपूर्ण मोड बनेको स्वीकार्दै कप्तान पौडेलले रनआउट नभएको भए टोली अझै बलियो स्कोरमा पुग्न सक्ने बताए।

‘मेरो रनआउट अलि अभागी साबित भयो। त्यतिबेला दुई ओभर हाम्रो रनगति सुस्त भयो। यदि त्यो रनआउट नभएको भए सायद हामी १६५ देखि १७० रनसम्म पुग्न सक्थ्यौँ होला’, उनले भने।

दोस्रो इनिङ्समा पिच र शीतको प्रभावबारे स्पष्ट पार्दै पौडेलले पहिलो इनिङ्समा बलरलाई केही मद्दत मिले पनि दोस्रो इनिङ्समा पिच ब्याटिङका लागि निकै सहज बनेको बताए।

‘दोस्रो इनिङ्समा शीत पर्न थालेपछि फास्ट बलरदेखि स्पिनर कसैलाई पनि पिचबाट मद्दत मिलेन। बल चिप्लिएर सिधै ब्याटमा आइरहेको थियो। शीत परेका बेला बलिङ गर्न बलरहरूलाई निकै गाह्रो हुन्छ’, उनको भनाइ छ।

लुम्बिनीको यात्रामा निरोशन डिक्वेला, डार्सी सर्ट र रुबेन ट्रम्पेलम्यानलगायत विदेशी खेलाडीको अनुभव र सुझाव निकै उपयोगी रहेको उनले बताए।

यस्तै, एनपीएल सिजन-३ मा नेपाली खेलाडीहरूले गरेको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै पौडेलले रिजन ढकालको बलिङ, लोकेश बमको ब्याटिङ र कमललगायत अन्य घरेलु खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्य र विकासका लागि निकै सकारात्मक सन्देश दिएको उल्लेख गरे।

मंसिर ५, २०८३ शनिबार २२:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।