डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए
नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले शल्यक्रिया गरी ३५ हजारभन्दा बढी व्यक्तिको आँखाको ज्योति फर्काइसकेका छन्।
विशेषगरी जलविन्दु तथा मोतिविन्दुसम्बन्धी समस्यामा केन्द्रित भएर काम गर्ने उनै डा. अनिलले उकेरासँग चिकित्सकीय पेसाको सिलसिलामा देखे-भोगेका मार्मिक अनुभव साटेका छन्।
आँखाको ज्योति गुम्दा श्रीमानले छोडिदिएपछि...
एक जना महिलाको आँखाको ज्योति फर्काएको प्रसंग डा. अनिल कहिल्यै भुल्दैनन्। घटना केही वर्षअघिको हो। डा. अनिलसहित नेत्ररोग विशेषज्ञको टोली आँखाको स्वास्थ्य शिविर लिएर बागलुङ पुगेको थियो।
उक्त शिविरमा करिब ३० वर्षकी एक महिलालाई उपचारका लागि ल्याइयो। मोतिविन्दुको समस्याका कारण उनी दुवै आँखा देख्न सक्दिनथिन्। घरमा उनका साना दुई बालबच्चासमेत रहेको डा. अनिल सम्झन्छन्।
तर, विडम्बना! आँखा नदेख्ने भएपछि ती महिलालाई श्रीमानले समेत छाडिदिएछन्। उपचार र सहाराको सबैभन्दा बढी खाँचो परेका बेला श्रीमानले बेसहारा बनाएर छाडेको थाहा पाएपछि डा. अनिलको मन निकै अमिलो भयो। श्रीमानले त्यागेपछि उनी माइतीको सहारामा बसेकी रहिछन्।
डा. अनिलको टोलीले ती महिलाको आँखा परीक्षण गर्यो। जाँचका क्रममा मोतिविन्दुकै कारण दृष्टि गुमेको पुष्टि भएपछि चिकित्सकको टोलीले उनको एउटा आँखाको शल्यक्रिया गरी पट्टी लगाइदियो। सामान्यतया मोतिविन्दु भएका बिरामीको एकैपटक दुवै आँखाको शल्यक्रिया गरिँदैन।

शल्यक्रियाको भोलिपल्ट चिकित्सकको टोलीले आँखाको पट्टी खोलिदियो। अघिल्लो दिनसम्म अँध्यारो संसारमा रहेकी ती महिलाले पट्टी खुल्नासाथ बाहिरी संसार छर्लङ्गै देखिन्। दृष्टि फर्किएपछि उनको खुसीको सीमा नै रहेन। आँखाबाट तप्प खुसीका आँसु झारिन् र ज्योति फर्काइदिने चिकित्सकप्रति कृतज्ञता व्यक्त गरिन्।
दृष्टि गुमेकै कारण श्रीमानको सहारासमेत गुमाएकी महिलाको जीवनमा उज्यालो फर्काउन सफल भएकोमा डा. अनिललाई पनि असीम सन्तुष्टि मिल्यो। डिस्चार्ज भएर उनी घर फर्किइन्। पछि सम्भवतः उनको अर्को आँखाको पनि शल्यक्रिया गरी ज्योति फर्काइयो होला भन्ने डा. अनिलको विश्वास छ।
जब ‘१०७’ वर्षकी वृद्धा ज्योति फर्किएपछि ठमठम हिँडेरै घर फर्किइन्
एक पाको उमेरकी वृद्धाको दृष्टि फर्काउन सफल भएको अर्को प्रसंग पनि डा. अनिलको मानसपटलमा ताजै छ। यो घटना केही महिनाअघिको मात्र हो।
नेत्ररोग विशेषज्ञको टोली लिएर डा. अनिल पुनः बागलुङकै आँखा शिविरमा पुगेका थिए। उक्त शिविरमा बागलुङतिरकै करिब ‘१०७’ वर्षकी एक वृद्धालाई बोकेर उपचारका लागि ल्याइयो। दुवै आँखा नदेख्ने ती आमैका लागि संसार पूरै अँध्यारो भइसकेको थियो। अन्तिम श्वास फेर्नुअघि संसार नै नदेखी मरिने भइयो भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो।
डा. अनिलले बुढेसकालले चाउरी परेको मुहार भएकी ती वृद्धाको आँखा जाँच गरे। मोतिविन्दुकै कारण दुवै आँखाको ज्योति गुमेको तर शल्यक्रियाबाट दृष्टि फर्काउन सकिने अवस्था देखिएपछि डा. अनिलको टोली शल्यक्रियाका लागि तयार भयो।
एक दिन एउटा आँखाको शल्यक्रिया गरी पट्टी बाँधियो र भोलिपल्ट खोलियो। पट्टी खुल्नासाथ ती वृद्धा आमैले बाहिरी संसार देखिहालिन्।
फेरि उज्यालो देख्न पाउँदा १०७ वर्षकी आमैको मुहारमा खुसीको सीमा रहेन। मुजा परेको अनुहार खुम्च्याउँदै आमैले मीठो मुस्कान छर्दाको दृश्यले डा. अनिललाई पनि औधी आनन्दित तुल्यायो। उनले मनमनै सोचे, “ओहो ! यी वृद्धाको आँखाको ज्योति र ओठमा मुस्कान एकसाथ फर्काउन पाइयो।”
त्यसपछि नाति वा पनाति कसको हो हात समाउँदै ती आमै ठमठम हिँडेरै घर फर्किइन्। १०७ वर्षको उमेरमा पनि दृष्टि फर्किएलगत्तै वृद्धा आमै आफैँ हिँडेर घर गएको देख्दा डा. अनिलसमेत चकित परे।
त्यो डाक्टरी रहर
अब चर्चा गरौँ, डा. अनिलको अध्ययन र चिकित्सकीय यात्राको। कास्कीको पोखरामा वि.सं. २०४१ मा जन्मिएका अनिल पराजुलीले स्थानीय कुञ्जीनी होमबाट २०५७ सालमा एसएलसी उत्तीर्ण गरे।
डाक्टर बन्ने सपना बोकेका उनले सन् २००५ मा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययन सुरु गरी सन् २०१० मा पूरा गरे।

त्यसपछि करिब तीन वर्ष विभिन्न अस्पतालमा मेडिकल अधिकृतका रूपमा सेवा गरे। कामसँगै थप अध्ययन अघि बढाउने निधो गरेका उनले स्नातकोत्तर तहको प्रवेश परीक्षा दिए र छनोट पनि भए।
आँखाको ज्योति फर्काउने कर्ममा केन्द्रित
सन् २०१३ मा महाराजगन्ज चिकित्सा क्याम्पसमै भर्ना भई डा. अनिलले नेत्ररोग (अप्थाल्मोलोजी) विषयमा एमडी अध्ययन थाले। यस विषयको व्यावहारिक अभ्यास भने क्याम्पस परिसरकै ‘बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र’ मा हुने गर्छ। सन् २०१६ मा उनको एमडी अध्ययन पूरा भयो।
एमडीपछि पनि नेत्ररोगका विशिष्टीकृत विधामा ज्ञान र सीप तिखार्ने उनको यात्रा रोकिएन। डा. अनिलले सन् २०१६ अगस्टदेखि २०१८ सम्म झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालमा ‘एन्टेरियर सेग्मेन्ट’ सम्बन्धी दुईवर्षे फेलोसिप गरे। आँखाको अगाडिको एकतिहाइ भागलाई ‘एन्टेरियर सेग्मेन्ट’ भनिन्छ। यसबाट उनले आँखाको अग्रभागका जटिल रोग र शल्यक्रियासम्बन्धी विशिष्ट ज्ञान तथा सीप हासिल गरे।
त्यसपछि सन् २०१८ देखि २०१९ सम्म करिब एक वर्ष मेची आँखा अस्पतालमै नेत्ररोग विशेषज्ञका रूपमा काम गरे। लगत्तै उनले बिर्तामोडकै बिर्ता आँखा केयरमा केही महिना ‘कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट’ का रूपमा सेवा दिए। त्यही अवधिमा उनले सन् २०२० मा तिलगङ्गा आँखा प्रतिष्ठानबाट जलविन्दु (ग्लोकोमा) विषयमा एकवर्षे फेलोसिप पूरा गरे।
जलविन्दु आँखाको नसा सुक्दै जाने गम्भीर रोग हो। समयमै उपचार नगरे यसले सधैँका लागि दृष्टि गुम्ने जोखिम रहन्छ। यो मोतिविन्दुजस्तो होइन। मोतिविन्दुमा आँखाको अग्रभागमा धमिलो वा सेतो जाले देखिए पनि शल्यक्रियापछि पुनः दृष्टि फर्काउन सकिन्छ। तर, जलविन्दुमा एकपटक गुमेको दृष्टि फर्काउन सम्भव हुँदैन। जलविन्दुको सुरुवाती चरणमा खासै लक्षण नदेखिने भए पनि बिस्तारै दृष्टि कमजोर हुँदै जान्छ।
मोतिविन्दुमा भने बिस्तारै धमिलो देखिने, उज्यालोमा आँखा तिरमिराउने र रङहरू फिक्का देखिने लक्षण देखिन्छन्। डा. अनिलले जलविन्दुजस्तो जटिल रोगबाट बिरामीको दृष्टि जोगाउने विशिष्ट ज्ञान र सीप हासिल गर्नुका साथै अन्य प्रतिष्ठित फेलोसिपसमेत प्राप्त गरेका छन्।

यसैगरी, उनले मोरङस्थित विराटनगर आँखा अस्पतालमा ‘ग्लोकोमा कन्सल्टेन्ट (जलविन्दु विशेषज्ञ)’ का रूपमा करिब एक वर्ष काम गरे। तर, आफ्नै जन्मथलो पोखरा फर्किएर सेवा गर्ने उनको ठूलो धोको थियो। नभन्दै सन् २०२३ देखि पोखरास्थित हिमालयन आँखा अस्पतालमा ‘ग्लोकोमा कन्सल्टेन्ट’ का रूपमा काम गर्ने अवसर जुर्यो र उनी हालसम्म त्यहीँ कार्यरत छन्।
आफ्नो अध्ययन र अभ्यासको मुख्य क्षेत्र भएकाले डा. अनिल आफूलाई ‘ग्लोकोमा कन्सल्टेन्ट (जलविन्दु विशेषज्ञ)’ तथा ‘क्याटर्याक्ट (मोतिविन्दु) शल्यचिकित्सक’ का रूपमा चिनाउन रुचाउँछन्। सन् २०२६ मा नेदरल्यान्ड्स पुगेर उनले नेत्ररोगसम्बन्धी ‘क्लिनिकल अब्जर्भर’ का रूपमा थप अनुभवसमेत सँगालेका छन्।
जलविन्दु, मोतिविन्दु, कर्निया, आँखामा मासु पलाउने (टेरिजियम), आँसु उत्पादन गर्ने प्रणाली (ल्याक्रिमल) लगायतका समस्याको औषधोपचार र शल्यक्रियामार्फत दृष्टि फर्काउनुका साथै नेत्ररोगसम्बन्धी खोज–अनुसन्धान गर्नु डा. अनिलको दैनिकी बनेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनका करिब आधा दर्जन अनुसन्धानात्मक आलेख प्रकाशित भइसकेका छन्।
नेत्ररोग क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिष्ठित सम्मान र पुरस्कार प्राप्त गरेका डा. अनिल पेसागत सङ्घसंस्थाको नेतृत्वदायी भूमिकामा रही ज्ञान र सीप बाँड्नसमेत उत्तिकै सक्रिय छन्। देशका विभिन्न दुर्गम भेगमा पुगेर निःशुल्क आँखा शिविरमार्फत सेवा गरेका कैयौँ अनुभव उनको झोलामा अझै ताजै छन्।
कात्तिक २८, २०८३ शनिबार १२:२१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।