डा. हिमपालीको उपचार अनुभव : श्वासनलीमा बदाम अड्किएर निलो भइसकेका बालकलाई बचाउँदाको १५ मिनेट!
काठमाडौं : सह-प्राध्यापक डा. हिमपाली दास बाल नाक, कान तथा घाँटी विशेषज्ञ (पिडियाट्रिक इएनटी सर्जन) हुन्। बालबालिकाको उपचार त्यसै पनि संवेदनशील हुन्छ, त्यसमाथि श्वासनलीसँग प्रत्यक्ष जोडिने भएकाले नाक, कान र घाँटीको उपचार अझ बढी जोखिमपूर्ण हुने उनको अनुभव छ।
श्वासनलीमा कुनै वस्तु अड्किएर जीवन-मरणको दोसाँधमा पुगेका कैयौं बालबालिकालाई उनले बचाइसकेकी छन्। कुनै वस्तु अड्किएर श्वासनली अवरुद्ध भएको अवस्थामा तत्काल उपचार नपाए केही मिनेटभित्रै ज्यान गुमाउने जोखिम रहन्छ। बालबालिकाको घाँटी वा श्वासनलीमा वस्तु अड्किने तथा सर्किने जोखिमबारे नेपाली समाजमा अझै पर्याप्त जनचेतना नभएको डा. हिमपाली बताउँछिन्।
अभिभावकको सानो असावधानीले पनि ज्यानै जान सक्ने भएकाले बालबालिकाको पहुँचमा साना वस्तु र दानादार खानेकुरा नराख्न तथा जे पायो त्यही मुखमा हाल्न नदिन उनको सुझाव छ। सयौं बालबालिकाको उपचार गरिसकेकी डा. हिमपालीले चिकित्सकीय पेसामा रहँदा देखे भोगेका अनुभवहरू ‘उकेरा’सँग यसरी साटेकी छन्:
खुकुरी प्रहारबाट गम्भीर घाइते बालिकालाई बचाउँदाको त्यो क्षण
दुई महिनाअघि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्याइएकी एक बालिकाको अवस्था देख्दा डा. हिमपालीको टोली स्तब्ध बनेको थियो। बीभत्स अवस्थाकी घाइते करिब आठ वर्षीया बालिकालाई जीवन-मरणको दोसाँधमा अस्पताल पुर्याइएको थियो। जनकपुरतिरकी ती बालिकालाई आमा र आफन्तले काठमाडौं पुर्याएका थिए।
उपचार सुरु गरेसँगै चिकित्सक टोलीले बालिका कसरी घाइते भइन् भन्ने बारेमा सोधपुछ गर्यो। दुर्घटनामा परेको वा लडेर घाइते भएको हुनसक्ने जस्तो अनुमान रहँदा आफन्तले जुन कुरा सुनाए, त्यसले चिकित्सकहरूलाई छक्क पार्यो। उनी घाइते हुनुको कारण थियो, मान्छेको आक्रमण। पारिवारिक सम्पत्ति विवादका कारण आफ्नै काकाका छोराले बालिकामाथि खुकुरी प्रहार गरेका रहेछन्। घाँटीमा प्रहार गरेपछि मृत ठानेर छाडिएकी बालिकाको प्राण बाँकी नै रहेको देखेपछि आफन्त र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएछन्।
बालिकाको श्वासनलीको माथिल्लो भाग काटिएकाले उनले मुख वा नाकबाट श्वास फेर्न सक्ने अवस्था थिएन। सुरुमा उपचार गरिएको धरानस्थित अस्पतालमा चिकित्सकहरूले श्वासप्रश्वास चालू राख्न घाँटीमा प्वाल बनाएर पाइप राख्ने विधि (ट्रेकियोस्टोमी) अपनाएका थिए। घाँटीमा प्वाल बनाएर श्वासप्रश्वास गराउन सफल भएपछि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको थियो।
त्रिवि शिक्षण अस्पतालमा डा. हिमपालिको टिमले परीक्षण गर्दा बालिकाको घाँटीका साथै टाउको र छातीमा समेत गम्भीर चोट भेटियो। श्वासनली क्षतविक्षत भई साँघुरिएको थियो। तत्काल शल्यक्रिया नगरिए बालिकाको ज्यान जाने निश्चित जस्तै थियो। घाँटी र टाउकोमा समेत गम्भीर चोट रहेका कारण उनलाई बचाउन निकै चुनौतीपूर्ण थियो।
उच्च जोखिमका बाबजुद डा. हिमपालीको टोलीले ढिला नगरी शल्यक्रिया प्रक्रिया अघि बढायो। बालिकाको घाँटीको दुई चरणमा जटिल शल्यक्रिया गरियो। शल्यक्रिया सफल भएपछि बालिकालाई पोस्ट-अपरेटिभ वार्ड र सघन उपचार कक्ष (आइसियु) हुँदै जनरल वार्डमा सारियो। करिब एक महिना लामो सघन उपचारपछि बालिका पूर्ण रूपमा खतरामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइन्।

अत्यन्तै नाजुक अवस्थामा अस्पताल आइपुगेकी ती बालिकाको सफल उपचारपछि स्वस्थ अवस्थामा घर फर्काउन पाउँदा आफूहरूले सन्तोषको अनुभूति गरेको डा. हिमपाली सम्झिन्छिन्।
श्वासनलीमा बदाम अड्किएर अचेत बनेका बालकलाई बचाउँदाको क्षण
नाक, कान र घाँटी श्वासनलीसँग जोडिने भएकाले यससम्बन्धी समस्या भएका बालबालिकाको उपचार निकै संवेदनशील हुने डा. हिमपालीको अनुभव छ। केही वर्षअघि आकस्मिक कक्षमा आएको यस्तै एउटा जटिल केस उनी कहिल्यै भुल्दिनन्।
घटना डेढ वर्षीय एक बालकको हो। आमाले दिएको बदाम खाने क्रममा सर्किएर बालकको श्वासनलीमा पुग्यो। बदामका दानाले नली अवरुद्ध भएपछि बालकलाई तीव्र रूपमा श्वासप्रश्वासमा कठिनाइ भयो र उनी छटपटाउन थाले।
परिवारले तत्काल ती बालकलाई त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याए। अक्सिजनको चरम अभावका कारण अस्पताल पुग्दा बालकको शरीर निलो भइसकेको थियो भने अवस्था अत्यन्तै नाजुक थियो। एक्कासि आइपरेको यस्तो अवस्थाले आमाबुबा निकै तनावमा थिए।
बालकको गम्भीर अवस्थालाई बुझेर डा. हिमपालीको टोलीले कुनै औपचारिक प्रक्रियामा अल्झिएर समय खेर फालेन। बालकलाई आकस्मिक कक्षबाट सिधै शल्यक्रिया कक्ष (अपरेसन थिएटर) पुर्याइयो। एनेस्थेसिया दिएर तुरुन्तै शल्यक्रिया गरेर चिकित्सक टोलीले श्वासनलीमा अड्किएका तीन-चार वटा बदामका दाना १५ मिनेटभित्रै बाहिर निकाल्यो। शल्यक्रिया सफल भयो र बालकको श्वासप्रश्वास पुनः सुचारु भयो।
उपचारमा केही मिनेट मात्रै ढिलाइ भएको भए बालकको ज्यान जाने जोखिम थियो। सफल शल्यक्रियापछि उनलाई पोस्ट-अपरेटिभ वार्ड हुँदै जनरल वार्डमा सारियो। केही दिनको औषधि उपचारपछि बालक पूर्ण रूपमा स्वस्थ भएर डिस्चार्ज भए।
डा. हिमपालीका अनुसार ती बालक एउटा प्रतिनिधि बिरामी मात्र हुन्। श्वासनली वा घाँटीमा कुनै वस्तु अड्किएर सिकिस्त अवस्थामा अस्पताल ल्याइने बालबालिकाको संख्या बाक्लै हुने गरेको उनी सुनाउँछिन्।
त्यो डाक्टरी रहर
२०३५ मा काठमाडौंमा जन्मिएकी हिमपालीले कालीमाटीस्थित मित्रा हाई स्कुलबाट २०५१ मा एसएलसी गरिन्। ललितपुरको सानेपाको ‘काठमाडौं उमेन्स कलेज’बाट प्लस टु गरिन्। शिक्षित परिवारमा जन्मिएकी उनलाई सानैबाट पढेलेखेका लागि राम्रो वातावरण थियो।

उनका बुवा सर्वोच्च अदालतका न्यायाधीशसम्म भएका थिए। अध्ययनमा अब्बल हिमपालीलाई सानैबाट डाक्टर पढेर सेतो कोट लगाएर स्टेथेस्कोप बोकेर बिरामीको सेवा गर्ने इच्छा थियो। त्यसैले उनले एमबीबीएस अध्ययनको छनोट परीक्षाको तयारी गरिन् र छनोट परीक्षा दिइन्। छनोट पनि भइहालिन्।
हिम्पाली छनोट भएर कास्कीको पोखरास्थित काठमाडौं विश्वविद्यालय अन्तर्गत ‘मणिपाल कलेज अफ मेडिकल साइन्सेस’मा सन् १९९७ मा भर्ना भएर एमबीबीएस अध्ययन थालिन्। इन्टर्नसिप सहित सन् २००३ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि डा. हिमपालीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा मेडिकल अधिकृतको करार जागिरे भएर करिब दुई वर्ष आइसियुमा काम गरिन्।
बालबालिकाको उपचारमा केन्द्रित
डा. हिमपालीमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययन गर्ने इच्छा थियो। त्यसमा पनि ‘नाक, कान तथा घाँटी’ (इएनटी सर्जरी) उनको रोजाइको विषय थियो। त्यसैअनुसार स्नातकोत्तरको तयारीमा जुटेकी उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा छनोट परीक्षा दिइन्। परीक्षामा छनोट हुन सफल भएपछि उनले आफूले चाहेकै विषयमा अध्ययन गर्ने अवसर प्राप्त गरिन्।
त्यसपछि उनले महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००६ मा भर्ना भएर ‘नाक, कान, घाँटी (इएनटी सर्जरी) रोग विषयमा एमएस अध्ययन थालिन्। सन् २००९ मा उनको एमएस अध्ययन सकियो। अध्ययनमा अब्बल उनी एमएसमा ‘गोल्ड मेडलिष्ट’ नै भइन्।
‘नाक, कान, घाँटी रोग विषयमा एमएस खरेलगतै डा. हिमपाली महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै स्थायी जागिरे भइन्। उपप्राध्यापकका रूपमा महाराजगञ्ज चिकित्सा क्याम्पसमा जागिरमा प्रवेश गरेकी उनी हाल बढुवा हुँदै सह-प्राध्यापक र त्रिवि शिक्षण अस्पतालको ‘पेडियाट्रिक इएनटी युनिट’को प्रमुखको भूमिकामा छिन्।
कामकै सिलसिलामा नाक, कान, घाँटीमा समस्या भएर उपचारका लागि अस्पताल पुर्याइएका बालबालिका देख्दा डा. हिमपालिको मन छोयो। त्यसैले उनले बालबालिकाको ‘नाक, कान, घाँटी (इएनटी सर्जरी) रोग सम्बन्धी विषयमा अमेरिकन चिकित्सक लगायतको टिमसँग तालिम लिएर थप ज्ञान तथा सीप सिकिन्। करिब १३ वर्ष यता डा. हिमपाली बालबालिकाको ‘नाक, कान, घाँटी’सम्बन्धी समस्याको औषधि उपचार तथा शल्यक्रियामा केन्द्रित हुन्छिन्।

डा. हिमपालीको अहिलेको मुख्य काम बालबालिकाको ‘नाक, कान, घाँटी’ सम्बन्धी समस्याको औषधि, उपचार तथा शल्यक्रिया गरी सन्चो बनाउनु हो। त्यसैगरी चिकित्सा शास्त्रका विद्यार्थीलाई ज्ञान तथा सीप बाँड्नु र चिकित्सा शास्त्रसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्नु उनको मुख्य दैनिकीमा पर्छन्।
चिकित्सा शास्त्रसँग सम्बन्धित उनका वैज्ञानिक आलेख विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘सेमिनार’ तथा ‘वेबिनार’मा उनले कार्यपत्र प्रस्तुत गरेर आफूले सिकेको ज्ञान तथा सिप बाँड्ने सवालमा उनी उत्तिकै सक्रिय छिन्।
बालबालिकाको कान पाक्ने तथा कान नसुन्ने र श्वासनलीको समस्या, बालबालिका घुर्ने, टन्सिल, नाक कान घाँटीमा विभिन्न कारणले हुने ट्युमरको जस्ता समस्या भएर अस्पताल पुग्ने कयौँ बालिकालाई औषधि उपचार तथा शल्यक्रिया गर्ने कर्ममा नै उनी केन्द्रित हुन्छिन्। श्वासनली साँघुरो हुने शल्यक्रिया जटिल हुन्छ र नेपालमा अन्यत्र शल्यक्रिया हुँदैन।
त्रिवि शिक्षण अस्पतालमा श्वासनली साँघुरो भएको शल्यक्रिया गर्ने चिकित्सक उनीसहित तीन जना मात्र छन्। देशभरबाट यस्तो समस्या भएका बालबालिकाको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर भएर बालबालिका आउने गरेको उनले सुनाइन्।
त्यसैगरी जन्मजातै नाक, कान घाँटीको प्वाल साँघुरो हुने जस्ता जटिल शल्यक्रिया समेत गरेर बालबालिकाको उपचार गरेर ज्यान बचाउने गरेको डा. हिमपालीको अनुभव छ। उनले कानको समस्या, नाकको बाङ्गिएको हड्डी मिलाउने, नाकमा मासु पलाएको, नाक र घाँटीको क्यान्सर, पिनासको समस्या, घाँटीको बोलीको समस्या, टन्सिल जस्ता समस्या भएका कयौं वयस्क व्यक्तिको शल्यक्रिया तथा औषधि उपचार गरेर ज्यान बचाएकी छिन्।
कात्तिक ७, २०८३ शनिबार १६:२१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।