डा. रश्मिको उपचार अनुभव : महिला भएकै कारण डाक्टर नपत्याउने पनि भेटेँ

डा. रश्मिको उपचार अनुभव : महिला भएकै कारण डाक्टर नपत्याउने पनि भेटेँ

काठमाडौं : दाँतको दुखाइ केवल पीडामा मात्र सीमित हुँदैन, मानिसको हाँसो र आत्मविश्वाससँग पनि जोडिन्छ। गुमेको त्यही हाँसो फर्काउन र पीडामा रहेका बिरामीको उपचारमा दुई दशकदेखि संलग्न छिन्- दन्तरोग विशेषज्ञ डा. रश्मि चौधरी।

लामो चिकित्सकीय अभ्यासका दौरान उनले सयौँ बिरामीको उपचार गरेर सन्चो बनाएकी छन्। पेसागत यात्रामा विभिन्न आरोह-अवरोहका अनुभवहरू सँगालेकी डा. रश्मिले बिरामीको उपचारका क्रममा देखे-भोगेका प्रसंगहरू उकेरासँग साटेकी छिन् :

जब मुखै बन्द भएन..
मुख ‘आँ’ गरेपछि बाएको बाएकै भयो- न बन्द हुन सक्यो, न चल्न नै! न बोल्न मिल्ने, न थुक निल्न सकिने!

करिब आठ वर्षअघि ललितपुरको इमाडोलकी २७ वर्षीया एक महिलाका लागि एउटा सामान्य रात यसरी नै एकाएक अप्ठ्यारो अवस्थामा बदलियो। मध्यरातमा बाएको मुख बन्द नभएर छटपटाउन थालेपछि आत्तिएको परिवारले उनलाई केही अस्पतालका आकस्मिक कक्षमा पुर्यायो। तर, त्यो समयमा त्यस्तो समस्या बुझ्न सक्ने विशेषज्ञ चिकित्सक कतै भेटिएनन्। बिरामीले पुरै रात मुख खुला अवस्थामै, असह्य पीडा र छटपटीमा कटाइन्।

भोलिपल्ट बिहान अस्पतालबाट फोन आएलगत्तै डा. रश्मि हतारिँदै आकस्मिक कक्ष पुगिन्। रातभरिको पीडाले गलिसकेकी बिरामीको अवस्था हेर्नासाथ उनले समस्याको जड पत्ता लगाइन्। मुख आँ... गरेर बाउँदा कान नेरीको जोर्नी सरेर (डिसलोकेट भएर) बाँधिदा (लक भएको) रहेछ। जोर्नी त्यसरी लक भएपछि मुख नचल्ने भएको थियो।

त्यसअघि पनि ती महिलामा कहिलेकाहीँ यस्तो समस्या देखिने गरेको, तर केही बेरमै आफैँ सामान्य अवस्थामा फर्किने गरेको रहेछ। त्यस रात भने जोर्नी पूर्ण रूपमा अड्किएर समस्या जटिल बनेको थियो। 

डा. रश्मिका अनुसार कान नजिकको जोर्नी खिइँदा वा अन्य स्वास्थ्य समस्याका कारण यस्तो समस्या आउन सक्छ, जहाँ कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ।

तर, ती महिलाको हकमा भने शल्यक्रिया गर्नुपर्ने अवस्था थिएन। डा. रश्मिले दन्त चिकित्सकीय विधि अपनाएर बाँधिएको जोर्नीलाई सही ठाउँमा फर्काइदिइन्। यो उपचारका लागि पाँच मिनेट पनि लागेन।

चिकित्सकका रूपमा डा. रश्मिका लागि त्यो सामान्य एउटा चिकित्सकीय विधि मात्र थियो, तर रातभर पीडाले छटपटाएकी बिरामीका लागि भने त्यो कुनै चमत्कारभन्दा कम थिएन। जोर्नी ठाउँमा बस्नासाथ मुख सामान्य अवस्थामा फर्कियो, मुख खोल्न-बन्द गर्न र खानपिन गर्न सहज भइहाल्यो।

क्षणभरमै पाएको यो राहतले बिरामीको मुहारमा खुसी फर्कायो। उनले डा. रश्मिको सम्पर्क नम्बर लिइन् र कृतज्ञता व्यक्त गरेर घर फर्किइन्। अहिले पनि ती महिला बेलाबेला फलोअपमा आइरहन्छिन् र त्यो समस्या पुनः दोहोरिएको अनुभव डा. रश्मि सुनाउँछिन्।

उनी आफैँ त आउँछिन् नै, समस्यामा परेका अन्य बिरामीलाई समेत डा. रश्मिकहाँ पठाउने गरेकी छिन्। संकटको त्यो रातपछि जोडिएको बिरामी र चिकित्सकबीचको यो विश्वास र सौहार्द्यता नै आफ्नो पेसागत जीवनको वास्तविक सम्पत्ति भएको उनी बताउँछिन्।

ठगिएको महसुस भएपछि...
उपचारको नाममा मोटो रकम खर्च भइसकेको थियो। बिग्रिएको दाँत छोप्न क्याप (क्राउन) पनि लगाइएको थियो। तर, त्यही क्यापभित्र किराले खाएको दाँत भने जस्ताको त्यस्तै थियो- बाहिर झकिझकाउ, भित्र भने दुखाइ ज्यूँकात्यूँ!

केही महिनाअघि यही समस्या लिएर करिब ३५ वर्षीया एक महिला डा. रश्मि कहाँ आइपुगिन्। दाँतको संक्रमणले उनको मुख नै सुन्निएको थियो भने खानपिन गर्न समेत कठिन हुनेगरी दुखाइ बढेको थियो।

बिरामीको चेकजाँच गर्दा विगतको उदेकलाग्दो तथ्य खुल्यो। करिब ६ महिनाअघि दाँत दुखेपछि उनी कुनै दन्त क्लिनिक पुगेकी रहिछन्। त्यहाँ उनलाई दाँतको जरैदेखि उपचार (आरसीटी-रुट क्यानल ट्रिटमेन्ट) गरिएको भन्दै पूरै शुल्क असुलियो। जरुरी नै नरहेको आवश्यकतामा उनको दुवैतर्फका दाँतमा क्याप लगाइदिएर मोटो रकम खर्च गराइयो।

तर, डा. रश्मिले परीक्षण गर्दा अवस्था बिलकुलै फरक भेटियो। आरसीटीको पैसा लगिए पनि जराको उपचार नै भएको थिएन। किराले खाएको दाँतलाई जस्ताको तस्तै छाडेर माथिबाट क्यापले छोपिदिएको मात्र रहेछ।

दन्त चिकित्साको आधारभूत नियमअनुसार कुनै पनि योग्य चिकित्सकले संक्रमण नहटाई यसरी क्याप लगाउँदैन। डा. रश्मिलाई शंका लाग्यो- ती महिला कुनै चिकित्सकबाट नभई दाँतसम्बन्धी काम गर्ने प्राविधिकको फन्दामा परेर ठगिएकी थिइन्।

डा. रश्मिले पहिलै ठगिएकी ती बिरामीलाई थप आर्थिक भार नपार्नेतर्फ सचेत हुँदै उपचार प्रक्रिया थालिन्। चिकित्सकीय धर्म निभाउँदै उनले दाँतमा पहिले नै राखिएको क्याप नझिकी आरसीटी गरिदिइन् र आवश्यक औषधि चलाइन्। उपचारपछि दाँतको दुखाइ र सुन्निएको भाग घट्दै गयो र उनी पीडामुक्त भइन्।

गलत उपचारको सिकार बनेर सास्ती भोगेकी ती महिला अहिले पूर्ण रूपमा स्वस्थ छिन् र नियमित फलोअपमा आउने गर्छिन्। अप्ठ्यारो बेलामा पाएको सही उपचारकै कारण उनी आफन्तलाई समस्यामा पर्दा पनि डा. रश्मि कहाँ पुर्याउने गर्छिन्।

डाक्टरी रहर
धनुषाको हालको नगराइन नगरपालिकामा २०३४ मा जन्मिएकी रश्मिले जनकपुरको सकल भवन कन्या माविबाट २०५० मा एसएलसी गरिन्। जनकपुरकै ‘रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसबाट उनले आइएस्सी गरिन्।

अध्ययनमा अब्बल रश्मिलाई सानैबाट डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले डाक्टरी विषयको अध्ययनको लागि तयारी गरिन्। छनोट परीक्षा दिइन् र छनोट भएर स्नातक तहको दन्त चिकित्सा विषय अध्ययनका लागि भारत पुगिन्।

रश्मिले भारतको कर्नाटकस्थित मनिपाल कलेज अफ मेडिकल साइन्सेज (मनिपाल) सन् २००० मा भर्ना भएर दन्त चिकित्सा (ब्याचलर अफ डेन्टल सर्जरी/बीडीएस) विषय अध्ययन गर्न थालिन्। इन्टर्नसिपसहित सन् २००६ मा उनको बीडीएस पूरा भयो। अध्ययन सकिए लगत्तै उनी नेपाल फर्किइन्।

डा. रश्मिले काठमाडौंका विभिन्न अस्पताल तथा क्लिनिकमा काम गरेर बिरामीको उपचारका साथै थप अनुभव, ज्ञान तथा सिप बटुलिन्। एक दिन उनले सोचिन्, "कति अर्काकोमा काम गर्ने? ज्ञान तथा सीप छँदैछ। आफैँ एउटा क्लिनिक खोल्छु।"

त्यसपछि डा. रश्मिले आफैँ ललितपुरको इमाडोलमा कस्तुरबा डेण्टल केअर नामको एउटा क्लिनिक खोलेर त्यहीँबाट काम थालिन्। अहिले त्यही क्लिनिकबाट उनी दाँतसम्बन्धी समस्या भएर पुग्ने बिरामीको औषधि उपचार गर्छिन्।

किराले खाएको दाँतको उपचार गर्ने, झरेका, भाँचिएका वा कुनै दुर्घटना र रोगको समस्याका कारण नष्ट भएका दाँतलाई कृत्रिम दाँत लगाइ दिइदिने, दाँतमा खोल (क्राउन) राखिदिने, नमिलेको दाँतको आकार बनाउने तथा मिलाउने, दाँतमा तार राखेर मिलाउने जस्ता काम गर्नु डा. रश्मिको दैनिकी हो। त्यसैगरी क्यान्सर, दुर्घटना वा जन्मजात कारणले दाँतमा भएको क्षतिको उपचार गर्नु उनको दैनिकीमा पर्छ। 

तर, दन्त चिकित्साका यस्ता जटिल प्रक्रियाहरू आत्मविश्वासका साथ सम्हाल्दै आए पनि ‘महिला’ भएकै कारण बिरामीले सहजै विश्वास नगर्ने सामाजिक मनोविज्ञान अझै कायम रहेको उनको अनुभव छ। अज्ञानताका कारण अझै पनि कतिपय मानिसमा महिलालाई चिकित्सकका रूपमा सहजै स्वीकार गर्न नसक्ने प्रवृत्ति रहेको डा. रश्मि बताउँछिन्। कतिपय बिरामीले त क्लिनिकमा उनैलाई देख्दा ‘डाक्टर नै होइनन् कि’ भन्ठानेर नाक खुम्च्याउने गरेको तीतो यथार्थ उनीसँग छ।

 

कात्तिक २१, २०८३ शनिबार २०:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।