डा. ऋषिरामको उपचार अनुभव : जब क्यान्सर जितेकी ती बालिकाले आमासँगको भनाभनमै ज्यान फालिन्

डा. ऋषिरामको उपचार अनुभव : जब क्यान्सर जितेकी ती बालिकाले आमासँगको भनाभनमै ज्यान फालिन्

डा. ऋषिराम पौडेल हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ हुन्। मानिसको हाडजोर्नी तथा मांसपेसीमा लाग्ने क्यान्सरको शल्यक्रिया र उपचार गरी बिरामीको ज्यान जोगाउनु उनको दैनिकी हो।

हाडजोर्नी तथा मांसपेसीको क्यान्सर (सार्कोमा) विशेषगरी १० वर्षका बालबालिकादेखि ३० वर्षसम्मका युवा उमेर समूहमा बढी देखिने गर्छ। नेपालमा यस किसिमको क्यान्सरबाट बर्सेनि करिब एक हजार जना प्रभावित हुने गरेका छन्।

डा. ऋषिरामले हालसम्म दुई हजारभन्दा बढी बिरामीको ट्युमर तथा क्यान्सरको शल्यक्रिया गरिसकेका छन्। त्यसमध्ये ६ सयभन्दा बढी त हाडजोर्नी तथा मांसपेसीको क्यान्सर (सार्कोमा) कै जटिल शल्यक्रिया हुन्।

चिकित्सा कर्मका दौरान उनले देखे-भोगेका र मनमा गहिरो छाप छोडेका केही अविस्मरणीय अनुभव उकेरासँग यसरी साटेका छन्:

जब ती बालिकाले क्यान्सरमुक्त भएपछि आत्महत्याको बाटो रोजिन्
उपचारका क्रममा भेटिएकी एक बालिकाको घटना डा. ऋषिराम कहिल्यै भुल्दैनन्। कुरा करिब साढे तीन वर्षअघिको हो, जतिबेला उनी त्रिवि शिक्षण अस्पतालमा हाडजोर्नी तथा मांसपेसी क्यान्सर विशेषज्ञका रूपमा कार्यरत थिए।

पूर्वी पहाडकी करिब ११ वर्षीया एक बालिकाको घुँडामा ट्युमर पलाएको रहेछ। स्थानीय एक अस्पतालमा त्यसलाई सामान्य गाँठो (ट्युमर) ठानेर शल्यक्रिया गरी फालियो। तर, शल्यक्रियापछि बायोप्सी परीक्षण गर्दा त्यो सामान्य नभई क्यान्सर भएको पुष्टि भयो। त्यसपछि ती बालिकालाई रिफर गरेर त्रिवि शिक्षण अस्पताल ल्याइयो।

डा. ऋषिरामको टिमले स्वास्थ्य परीक्षण गर्दा शल्यक्रिया गरिएको भागमा क्यान्सरका कोषिका अझै बाँकी रहेको देखियो। रगतको नलीनजिकै क्यान्सरका कोषिका रहेकाले फेरि शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण थियो। तर, शल्यक्रिया नगरे बालिकाको ज्यान बचाउन सम्भव थिएन।

चिकित्सकको टोलीले ठूलो जोखिम मोलेरै रगतका नली काटेर क्यान्सरका कोषिका निकाल्यो र पुनः नली जोडिदियो। ती बालिकाको एक पटक मात्र होइन, चरणबद्ध रूपमा कम्तीमा पाँच पटकसम्म शल्यक्रिया गर्नुपरेको डा. ऋषिराम सम्झन्छन्।

शल्यक्रियापछि संक्रमणसमेत देखियो, तर चिकित्सक टोलीले अथक प्रयास गरेर बालिकालाई संक्रमणमुक्त बनायो। अन्ततः बालिका क्यान्सरबाट पूर्ण रूपमा मुक्त भई घर फर्किइन्।

बालिकाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले डा. ऋषिराम आफैँले साथीभाइ तथा विभिन्न संघसंस्थासँग सहयोग जुटाएर उपचार गरिदिएका थिए।

क्यान्सरमुक्त भएपछि ती बालिका विद्यालय जान थालिन् र सामान्य जीवन बिताइरहेकी थिइन्। तर, क्यान्सरजस्तो असाध्य रोगलाई जितेकी तिनै बालिकाले एक दिन एउटा गलत निर्णयका कारण संसार छाडिन्।

आमासँग सामान्य भनाभन भएको निहुँमा केही महिनाअघि उनले आत्महत्याको बाटो रोजेको खबर डा. ऋषिरामको कानमा पुग्यो। यो खबरले उनको मन नराम्ररी पोल्यो।

‘तीन वर्षअघि त्यत्रो मेहनत र जोखिम मोलेर क्यान्सरमुक्त गराइएकी बालिकाले सामान्य कुरामा आत्महत्या गरिन् भन्ने सुन्दा साह्रै पीडा भयो,’ डा. ऋषिराम भन्छन्, ‘त्यसैले बालबालिका तथा किशोर-किशोरीलाई मानसिक परामर्श दिने र उनीहरूको भावना बुझ्ने विषयमा परिवारले विशेष ध्यान दिन जरुरी छ।’

जब घुम्न जाँदा घरमै लगेर खुवाउने बाजेको मृत्यु भयो
उपचारका क्रममा जोडिएका बिरामीलाई बचाउन नसक्दा वा गुमाउनुपर्दा चिकित्सकको मन कति भारी हुन्छ भन्ने अर्को उदाहरण हुन्- अछामका एक बाजे।

घटना करिब पाँच वर्षअघिको हो। अछामका करिब ६० वर्षीय बाजेको हिपको हड्डीमा क्यान्सर भएको थियो। शल्यक्रियाबाहेक अर्को विकल्प थिएन, तर त्यो निकै जटिल थियो। अस्पताल आएका ती बाजेको हिपको जोर्नीमा फैलिएको क्यान्सरको शल्यक्रिया डा. ऋषिरामको टोलीले सफलतापूर्वक सम्पन्न गर्यो। उपचारपछि बाजे निको भएर घर फर्किए।

त्यसको करिब साढे तीन वर्षपछि (डेढ वर्षअघि) डा. ऋषिरामको टोली एउटा कार्यक्रमको सिलसिलामा अछाम पुगेको थियो।

त्यहाँ तिनै बाजेसँग भेट भयो। आफ्नो ज्यान बचाइदिने चिकित्सकको टोलीलाई देख्दा बाजेको खुसीको सीमा रहेन। उनले डाक्टरको पूरै टिमलाई घरमै लगेर मायाका साथ मीठो-मसिनो खुवाए। त्यतिबेलासम्म बाजेको स्वास्थ्य एकदमै सामान्य र राम्रो थियो।

तर, केही समयपछि बाजेलाई एक्कासि श्वासप्रश्वासमा समस्या देखियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई पुनः काठमाडौँ ल्याइयो। डा. ऋषिरामले परीक्षण गर्दा क्यान्सर फैलिएर फोक्सो तथा छातीसम्म पुगिसकेको देखियो।

अछाम पुग्दा आत्मीय स्वागत गर्ने तिनै बाजेको छातीमा क्यान्सर फैलिएको देखेपछि डा. ऋषिराम निःशब्द बने। त्यो अवस्थामा पुगेपछि मृत्युलाई रोक्न सक्ने कुनै चिकित्सकीय उपाय बाँकी थिएन; केवल बाँचुन्जेलको पीडा कम गर्ने बाटो मात्र थियो।

बाजेको आर्थिक अवस्था राम्रो थियो, उनका छोरा आफैँ चिकित्सक थिए। परिवारले बचाउने अन्तिम आशसहित मनको शान्तिका लागि बाजेलाई भारत पनि पुर्यायो। तर, क्यान्सर शरीरभर फैलिसकेकाले बाजेले जित्न सकेनन्। घरमा पाहुना बनाएर खुवाउने तिनै बाजेको मृत्युको खबरले डा. ऋषिरामको मन अझै पनि भारी बनाउँछ।

डाक्टरी रहर र पूर्ण छात्रवृत्तिमा एमबीबीएस
पर्वतको कार्कीनेटामा २०४२ सालमा जन्मिएका ऋषिरामले ३ कक्षासम्म गाउँकै विद्यालयमा पढे। बुवा व्यापारको सिलसिलामा काठमाडौँ बस्ने भएकाले उनी पनि पढ्न राजधानी आए।

गाउँमा ३ कक्षा पढेका उनलाई काठमाडौँको सिद्धार्थ वनस्थली स्कुलमा १ कक्षामा भर्ना गरियो। उनले २०५८ सालमा वनस्थलीबाटै एसएलसी उत्तीर्ण गरे। त्यसपछि क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) बाट प्लस टु पूरा गरे।

पढाइमा अब्बल ऋषिरामको सपना डाक्टर बन्ने नै थियो। उनले एमबीबीएस प्रवेश परीक्षाको तयारी गरे र परीक्षा दिए। योग्यताक्रममा नाम निकालेर उनले भारतमा पूर्ण छात्रवृत्ति कोटामा एमबीबीएस पढ्ने अवसर पाए।

सन् २००५ मा भारतको प्रतिष्ठित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ (एम्स), नयाँ दिल्लीमा भर्ना भएका उनले २०१० मा इन्टर्नसिपसहित एमबीबीएस पूरा गरे।

एमएसको त्यो मोड : जसले बदल्यो बाटो
एमबीबीएसपछि डा. ऋषिरामलाई थप अध्ययनको हुटहुटी भइहाल्यो। उनले भारतमै स्नातकोत्तर (पीजी) को तयारी गरे र पुनः पूर्ण छात्रवृत्तिमै नाम निकाले। विषय थियो- अर्थोपेडिक सर्जरी। आफूले रोजेकै विषय पाएपछि उनी सन् २०११ मा फेरि दिल्लीस्थित एम्समै भर्ना भए र २०१४ मा एमएस (अर्थोपेडिक सर्जरी) पूरा गरे।

सुरुमा उनको रुचि दूरबिनको सहायताले हाडजोर्नीको शल्यक्रिया गर्ने ‘आर्थोस्कोपी सर्जरी’मा थियो।

विशेषगरी छालामा सानो प्वाल बनाएर क्यामेरा र सूक्ष्म उपकरणको मद्दतले भिडियो हेर्दै हात, खुट्टा, घुँडा तथा काँधका लिगामेन्ट, मांसपेसी च्यातिने र भाँचिने समस्याको उपचार गर्ने यो विधिलाई ‘स्पोर्ट्स मेडिसिन’ पनि भनिन्छ। यसमा घाउ छिटो निको हुने, दुखाइ कम हुने र ठूलो दाग नबस्ने भएकाले उनी यसैमा आकर्षित थिए।

तर, एमएस अध्ययनका क्रममा शोधपत्र (थेसिस) लेख्ने क्रममा एउटा नयाँ मोड आयो। उनले ‘बालबालिकामा हुने हड्डीको क्यान्सर’ सम्बन्धी विषयमा शोधपत्र तयार गरे।

क्यान्सरका बिरामीको प्रत्यक्ष उपचार र अध्ययनमा संलग्न भएपछि उनको सोचाइ बदलियो। आर्थोस्कोपी छाडेर उनले हाडजोर्नी तथा मांसपेसीको क्यान्सर शल्यक्रिया (अर्थोपेडिक अंको सर्जरी) रोज्ने निर्णय गरे।

एमएस सकिएपछि उनी तुरुन्तै नेपाल फर्किएनन्। दिल्लीको एम्समै थप डेढ वर्ष बसेर अर्थोपेडिक अंको सर्जरीसम्बन्धी ज्ञान र सीप हासिल गरे। यसरी उनी हाडजोर्नी (बोन सार्कोमा), मांसपेसी, नसा तथा नरम तन्तु (सफ्ट टिस्यु सार्कोमा) को क्यान्सरको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सक बने।

निरन्तर सीप निखार्ने यात्रा
त्यसपछि भारतकै एक अस्पतालमा ६ महिना काम गरेर सन् २०१६ मा उनी नेपाल फर्किए र विराटनगरमा करिब ५ महिना सेवा गरे।

तर, थप सीप सिक्ने भोक मरेको थिएन। त्यसपछि उनी मलेसियाको क्वालालम्पुरस्थित ‘युनिभर्सिटी अफ मलाया’ पुगेर हाडजोर्नी तथा मांसपेसी क्यान्सरसम्बन्धी एकवर्षे फेलोसिप पूरा गरे।

सन् २०१८ मा मलेसियाको फेलोसिप सकेपछि फेरि भारत गएर एक वर्ष ‘अर्थोपेडिक अंको सर्जन’का रूपमा काम गरे। त्यतिले पनि नपुगेर उनले क्यान्सर शल्यक्रियामा अर्को एकवर्षे फेलोसिपसमेत उतै पूरा गरे।

लामो अध्ययन र अनुभवपछि उनी सन् २०१९ मा नेपाल फर्किए। नेपाल फर्किएर उनले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा करिब दुई वर्ष काम गरे। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा एक वर्षभन्दा बढी समय करार सेवामा रहे।

सन् २०२३ मा उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को हाडजोर्नी विभागमा ‘सहायक प्राध्यापक’का रूपमा स्थायी सेवामा प्रवेश गरे। हाल उनी पाटन अस्पतालमै कार्यरत छन्।

बिरामीको शल्यक्रिया र उपचार गर्नु, विद्यार्थीलाई पढाउनु र अनुसन्धानमा जुट्नु उनको दैनिकी हो। उनका तीन दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् भने उनी पाठ्यपुस्तक लेखनमा समेत उत्तिकै सक्रिय छन्।

एक दर्जनभन्दा कम विशेषज्ञ र ‘चक्रीय’ शल्यक्रिया
नेपालमा हाडजोर्नी तथा मांसपेसी क्यान्सरको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सक एक दर्जनभन्दा कम छन्। यद्यपि, जनसंख्या र यो रोगका बिरामीको अनुपात हेर्दा तत्कालका लागि यो संख्या अपुग नै भने नरहेको डा. ऋषिराम बताउँछन्।

हाल पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), वीरेन्द्र सैनिक अस्पताल, बयलपाटा अस्पताल तथा केही निजी अस्पतालमा यो विधाका चिकित्सक कार्यरत छन्।

जटिल प्रकृतिका बिरामी आउँदा यी विशेषज्ञहरू टिम बनाएर शल्यक्रियामा जुट्ने गर्छन्। डा. ऋषिराम र उनका सहकर्मीहरू डा. जनिथलाल सिंह, डा. विनायक ढुंगेल, डा. वसन्त महर्जन, डा. दीपेन्द्र महर्जन र डा. मन्दीप पाठकलगायतको टिमले सहकार्य गर्दै आएको छ।

विशेषज्ञ सीमित भएकाले यो टिमले चक्रीय प्रणाली (पालो बनाएर) विभिन्न अस्पताल पुगेर जटिल शल्यक्रियाहरू सँगै गर्ने गरेको छ, जसले गर्दा शल्यक्रियाको नतिजा निकै राम्रो आउने गरेको उनको अनुभव छ।

जटिल रोग, महँगो उपचार र 'क्रायो सर्जरी' को विकल्प
कूल क्यान्सरका बिरामीमध्ये करिब १ प्रतिशतमा हाडजोर्नी तथा मांसपेसीको क्यान्सर (सार्कोमा) देखिने गरेको छ।

सरकारी अस्पतालमै पनि हड्डीको क्यान्सरको पूर्ण उपचार (केमोथेरापी र शल्यक्रिया) गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गर्छ। यस्तो अवस्थामा सरकारले क्यान्सर बिरामीलाई दिने १ लाख रुपैयाँको सुविधा ‘हात्तीको मुखमा जिरा’ जस्तै हुने डा. ऋषिरामको भनाइ छ। त्यसैले यस्तो क्यान्सरको उपचार पूर्ण रूपमा निःशुल्क हुनुपर्ने उनी माग गर्छन्।

हाडजोर्नीको क्यान्सरमा ‘इन्डोप्रस्थेसिस’ र ‘क्रायो सर्जरी’ गरी दुई विधिबाट शल्यक्रिया गरिन्छ। इन्डोप्रस्थेसिसमा क्यान्सर लागेको भाग निकालेर महँगो कृत्रिम हड्डी राखिन्छ, जुन निकै खर्चिलो हुन्छ। तर, त्यसको विकल्पमा ‘क्रायो सर्जरी’ विधि अपनाउँदा बिरामीको आफ्नै हड्डी प्रत्यारोपण गरिन्छ, जुन धेरै सस्तो र बलियो हुन्छ।

क्रायो सर्जरी विधिमा क्यान्सर लागेको हड्डीको भागलाई शल्यक्रिया गरेर बाहिर निकालिन्छ र त्यसलाई खुर्किइन्छ। त्यसपछि उक्त हड्डीलाई ‘माइनस १९० डिग्री सेल्सियस’ तापक्रमको लिक्विड नाइट्रोजनमा डुबाइन्छ।

यति न्यून तापक्रममा डुबाउँदा हड्डीभित्र रहेका सम्पूर्ण क्यान्सर कोषिका नष्ट हुन्छन् र हड्डी क्यान्सररहित बन्छ। त्यसपछि त्यही हड्डीलाई पुनः बिरामीको शरीरमा लगेर पाता (प्लेट) को सहायताले जोडिन्छ।

डा. ऋषिरामले यही विधिबाट धेरै बिरामीको शल्यक्रिया गरेर जीवन जोगाएका छन्। सरकारी अस्पतालमा लिक्विड नाइट्रोजनको खर्च ५ हजारभन्दा कम पर्छ भने पातासहित कूल उपचार खर्च करिब १ लाख रुपैयाँभित्रै सीमित हुन्छ।

आफ्नै हड्डी जोडिने भएकाले यो कृत्रिम जोर्नीभन्दा धेरै बलियो र दिगो हुने उनको भनाइ छ। बालबालिका र युवाहरूलाई बढी गाँज्ने यो जटिल रोगको उपचार खर्चिलो भएकाले राज्यले विशेष राहत र निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने डा. ऋषिरामको जोड छ।

कात्तिक १४, २०८३ शनिबार ११:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।