रारा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
मुगु : मुगुको छायानाथ रारा नगरपालिका ७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जु थापालाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौँको बिएण्डबी अस्पतालमा पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए।
यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु भएका काठमाडौं कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शवलाई मुगुबाट सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडाैँ लगिएको छ।
काठमाडौंबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
कात्तिक ३०, २०८३ सोमबार १७:५९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।