झापामा अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, डेढ लाखभन्दा बढीको क्षति

झापामा अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, डेढ लाखभन्दा बढीको क्षति
फाइल तस्बिर

भद्रपुर : झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाउँदा करिब डेढ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

गएराति घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले भित्र्याएर राखेका धानका दुई वटा कुन्यूमा आगजनी गरिएको हो । आगलागीबाट करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो। घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो।

आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। घटनामा संलग्न व्यक्तिको खोजी तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ३०, २०८३ सोमबार १६:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।