चोरी भएका सम्पदा मूल समुदायमै फर्काउने अभियानलाई बल दिन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव

चोरी भएका सम्पदा मूल समुदायमै फर्काउने अभियानलाई बल दिन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव

काठमाडौं : चोरी भएका धार्मिक तथा सांस्कृतिक सम्पदा मूल समुदायमै फिर्ता ल्याउने अभियानलाई सशक्त बनाउन भक्तपुरको कमलविनायकमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ। सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसनले नोभेम्बर १४ देखि २१ सम्मका लागि महोत्सव आयोजना गरेको हो।

कमलविनायक बसपार्क नजिकको नेपाल भोकेशनल एकेडेमीमा शनिबारदेखि सुरु भएको महोत्सवमा विभिन्न देशका राजदूत, कूटनीतिक प्रतिनिधि र युनेस्कोका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रम संयोजक श्रीना नेपालले चोरी भएका देवमूर्ति राष्ट्रिय सङ्ग्रहालयसम्म मात्र नल्याई तिनको मूल समुदायमै फिर्ता पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताइन्। 

पर्याप्त प्रमाण जुटाउँदा पनि आस्थाका सम्पदा घर फर्काउन ठुलो चुनौती रहेको उनको भनाइ थियो। सन् २००३ देखि एक्लै सम्पदा संरक्षण थालेका फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीले सम्पदा अपराधको जोखिमबारे नागरिकलाई सचेत गराउन र संरक्षणको पक्षमा आवाज उठाउन फाउन्डेसनले प्रत्येक वर्ष यो दिवस मनाउने जानकारी दिए। 

युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सन् १९७० को महासन्धिले सम्पदा संरक्षण, अवैध व्यापार नियन्त्रण र उत्पत्तिस्थलमा फिर्तीका लागि साझा आधार उपलब्ध गराएको उल्लेख गरे। उनले दाबी तथा सूचनाको छिटो पहिचान र सम्बन्धित निकायसम्म सम्प्रेषण गर्न दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नुपर्ने सुझाव दिए।

अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सम्पदा फिर्तीको अभियान नेपालमा मात्र सीमित नभई विश्वव्यापी रहेको धारणा राख्दै यसको कलात्मक मूल्यभन्दा पर रहेको आध्यात्मिक महत्त्वमा जोड दिए। यस्तै, इजरायलका राजदूत श्मुलिक एरी बासले आवश्यक परे सहयोग गर्न तयार रहेको बताउँदै चोरी भएका सम्पदासम्बन्धी कुनै जानकारी प्राप्त भए आफूलाई अवगत गराउन आग्रह गरे। 

नर्वेकी राजदूत डाग्नी म्योसले सम्पदा अपराधबारे सम्बन्धित निकायहरूलाई पनि सचेत गराउनुपर्ने बताइन् भने अस्ट्रेलियाकी पूर्व राजदूत फेलिसिटी भोल्कले सम्पदा फिर्ता ल्याएपछिको सुरक्षा चुनौतीलाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उद्घाटनमा स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल म्युव्लीको समेत उपस्थिति थियो।

विशेष गरी युवा पुस्तालाई सम्पदा हराउने क्रमदेखि अनुसन्धान, फिर्ता र समुदायसँगको पुनर्मिलनसम्मको यात्राबारे बुझाउने उद्देश्य राखिएको महोत्सवमा ढुङ्गा तथा काठमा मूर्ति कुँद्ने कलाकारको प्रत्यक्ष प्रस्तुति, वृत्तचित्र प्रदर्शन, अन्तरक्रियात्मक गतिविधि तथा चोरी भएका सम्पदाका प्रतिकृतिको प्रदर्शनी समावेश छन्।

कात्तिक २८, २०८३ शनिबार २०:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।