मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

धनुषा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतान्त्रिक अभ्यासको रूपमा उल्लेख गर्दै पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। 

जनकपुरधाममा शनिबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा नबुझ्न तथा त्यस्ता अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गरे। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उनको भनाइ छ।

जनताले यस पटक रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै लामिछानेले मधेसका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने घोषणा गरे। जनतालाई झुक्क्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने भन्दै उनले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताए। रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उनले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गरे।

“उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ। म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे”, उनले भने। टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले पार्टीको विधि र विधान विपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताए।

“मधेसले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ”, उनले भने। 

कात्तिक २८, २०८३ शनिबार १९:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।