कात्तिकमा ६४ हजारभन्दा बढी भक्तजनद्वारा पाथीभरा दर्शन, शनिबार तीन वर्षयताकै सर्वाधिक भीड

कात्तिकमा ६४ हजारभन्दा बढी भक्तजनद्वारा पाथीभरा दर्शन, शनिबार तीन वर्षयताकै सर्वाधिक भीड

ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकमा मात्रै ६४ हजार १०६ जना भक्तजन मन्दिर पुगेका हुन्।

चालु आर्थिक वर्षका अघिल्ला महिनाहरूको तुलनामा कात्तिकमा दर्शनार्थीको चाप अत्यधिक देखिएको छ। समितिका अनुसार यसअघि साउनमा २ हजार ४६९, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए।

यसैबीच, कात्तिक महिनाको अन्तिम शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको यो सङ्ख्या पछिल्लो तीन वर्षयताकै सबैभन्दा उच्च हो। यसअघि कात्तिक १७ गते १० हजार ६१६ जनाले मन्दिरको दर्शन गरेका थिए।

पाथीभरा माताको दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही आस्थाका कारण यहाँ बर्सेनि स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी तीर्थयात्रीहरू पुग्ने गरेका छन्।

कात्तिक ३०, २०८३ सोमबार १७:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।