युनिशले बलिङ देखाउँछु भन्दा सिकन्दरले भने- ‘भाइ, तँलाई म राम्ररी चिन्छु’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गर्दै जितका साथ प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
प्लेअफ दौडबाट बाहिरिइसकेको कर्णालीको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा आएका युवा स्पिनर युनिश सिंह ठकुरीले जितको खुसीसँगै विश्वचर्चित अलराउन्डर सिकन्दर राजासँगको विशेष भेटबारे रोचक अनुभव सुनाए।
खेल सकिएपछि मैदानमै विपक्षी टोलीका कप्तान सिकन्दर रजासँग लामो समय कुराकानी गरिरहेको देखिएका युनिशले एनपीएलले आफूजस्ता युवा खेलाडीलाई विपक्षी टोलीका विश्वस्तरका स्टारहरूबाट समेत सिक्ने सुनौलो अवसर जुराइदिएको बताए।
सिकन्दर रजासँगको संवादबारे युनिशले भने, “उहाँसँग अस्ति डिनरमा पनि भेट भएको थियो। त्यतिबेला मैले मेरो बलिङ देखाउँछु भन्दा उहाँले ‘भाइ, मैले त पहिलेदेखि नै तेरो बलिङ हेरिरहेको छु, तँलाई राम्ररी चिन्छु’ भन्नुभयो। उहाँजस्तो स्टारले त्यसो भन्दा मलाई एकदमै खुसी लाग्यो।”
राजाले करिब ४० देखि ४५ मिनेट समय छुट्टै निकालेर बलिङ गर्ने तरिका र खेलको ‘थट प्रोसेस’ बारे धेरै कुरा सिकाएको युनिशले जानकारी दिए। “एनपीएलबाट सिकेका यिनै कुरालाई वर्षभरि मेहनत गरेर मैदानमा लागू गर्दा नतिजा पनि आइरहेको छ”, उनले भने।
‘सुरुवात र अन्त्य राम्रो भयो, बीचमा रोलरकोस्टर जस्तो रह्यो’
कर्णालीको समग्र एनपीएल यात्राबारे बोल्दै युनिशले प्रतियोगिताको सुरुवात र अन्त्य राम्रो भए पनि बीचको समय उतारचढावपूर्ण (रोलरकोस्टर) रहेको स्वीकारे।
“डेभिड मिलर आएपछि टिम झन् राम्रो भयो। नतिजा हाम्रो पक्षमा रहेन, तर हामीले आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्यौँ। यस क्रममा धेरै कुरा सिक्ने मौका पायौँ”, उनले भने।
कर्णालीका विदेशी ब्याटर आरिफुल इस्लामबारे सोधिएको प्रश्नमा युनिशले उनको आक्रामक ब्याटिङ र मिलनसार स्वभावको खुलेर प्रशंसा गरे।
“उहाँ अभ्यास खेलदेखि नै निकै आक्रामक र विस्फोटक ब्याटिङ गरिरहनुभएको छ, हेर्न पनि निकै रमाइलो लाग्छ,” युनिशले भने, “उहाँ जति राम्रो ब्याटर हुनुहुन्छ, त्यति नै असल मान्छे पनि हुनुहुन्छ। सबैसँग घुलमिल हुनुहुन्छ र ब्याटिङका राम्रा आइडियाहरू पनि सेयर गर्नुहुन्छ।”
कात्तिक २९, २०८३ आइतबार १७:२३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।